गुमनाम सापकोटा, आगो र कब्जावालहरु
● लक्ष्मण देवकोटा
यौटा याम थियो, काठमाडौंका गल्ली गल्लीमा थानेश्वर सापकोटाको बम्बे डायरीको चर्चा हुन्थ्यो । त्यही डायरीको डायरीवाला हिजोआज गुमनाम सापकोटाको भेषमा पाताल प्रवासका खबरहरु लेखिरहेको देख्दा विगतका अनुभूतिहरुले कोट्याउन थाल्दा रहेछन् । फेरि यौटा पूरा हुन नसकेको रहर, अनि उही पुरानो मातले मन भरिएर आउँदो रहेछ ।
ददीजीले फेरि त्यो नोस्टाल्जियामा पुर्याइदिएका छन् एकबार लेखनको जीवनबाट पाताल हानिएका हामी जस्ता प्रवासीहरुलाई । पत्रकार महासँघको युरोप शाखा बनाउने हुट्हुटी पहिले पनि धेरैलाई जागेको थियो तर यसपल्ट पेरिसबासी मित्रको सपनाले साकार रुप लिने भएको छ ।
मलाई के थाहा ? तिब्बती शरणार्थी सम्बन्धी वृत्तचित्र बनाएर विश्वव्यापी प्रतियोगितामा पुरस्कार थाप्न लायकको काम गर्ने खबरकर्मी श्रीभक्त खनाल मेरै छेउमा वर्षदिनदेखि छन् भन्ने ? रातविरात आदर्श समाज दैनिकका सम्पादकीय घोटेर मध्यरातमा सत्यम् वदको कर्ममा गर्व गर्दै झुपडीमा स्वाभिमान लिएर फर्कने भेषराज आचार्यजी मेरै छेउमा हुनुहुन्छ भन्ने ?
हामीसँग स्वाभिमान थियो, त्यसैले त हाम्रा बीचमा पेशागत प्रेम जिवित छ । भोलिको सुनौलो सम्भावना बोकेर डेनमार्कको विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका प्रकाश ढकाल जस्ता सिर्जनशीलहरु चुपचाप छन् भन्ने ?
मानव सभ्यताको विकाससँगै आप्रवासीको अभियान चलेको हो । भाषा, सँस्कृतिको लेनदेन, रुपान्तरणको यो सिलसिलाका हामी केवल अभियन्ता मात्रै हौँ । विद्रोहको आगोले समाज जलिरहेको बेला, नयाँ सम्भावनाहरु खोजीमा निस्किएका फिरन्ता यात्री हौँ हामी । राजनीतिको बूटी घोलेर सत्ता चढ्ने लिस्नू बनाउने हाम्रा समाजका इन्जिनहरुको आदेश अवज्ञा गर्ने निडर हौँ हामी । के कसैलाई कसैको रहरले बाँधिएको सीमानामा बस्नैपर्छ भन्ने छ ? शायद सुत्केरी भत्ता समेत बाँकी नछाड्ने हरामहरुका नजरमा हामीहरु पलायनवादी भयौँ हौँला तर यो गोल विश्वमा हामीले राजनीतिक स्वार्थका निम्ति बनाइएका सीमाहरुलाई भूगोल भनिदिएका छौँ । त्यसैले त दमास्कसमा गोली लागेर ढलेकी जापानी सँचारकर्मी हुन् या वीरेन्द्र शाह, सबैको मृत्युमा हामीले कलम भाँच्न खोज्ने आततायीहरुको कालो स्वार्थ देख्दछौँ । फेरि प्रवासी सँचारकर्मीहरु एक हुने आशाले हाम्रा आशाको धिपधिपे दीयो बालिदिएको छ । त्यो दीयोमा तेल हालेका छन् ददीजीले ।
केही मानिसहरुका निम्ति उनी समस्याको पोको भएका छन् । हो त, चाकरी चाप्लुसी चल्ने हाम्रो समाजमा निर्भिक भएर उभिने मान्छेले उसै पनि चुनौति भोग्नैपर्ने हुन्छ । अँध्यारो कुनामा बसेर सम्पर्क सूत्र समेत नदिएर वेभ साइटमा नेपाल पत्रकार महासँघ तदर्थ समितिका सँयोजकलाई कार्यक्रम स्थलबाटै गिरफ्तारी गराउने कायर शब्दहरुले भद्दा अनलाइन भरेका छन् ती मानिसहरुले । ती मानिसहरुसँग मेरो सानो प्रश्न छ, वेभ साइट चलाउने रहरै छ भने प्रशिक्षकहरु भएर काम गरेका खबरकर्मीहरु पेरिस आउँदैछन्, कृपा गरी मुकुण्डो उतारेर मैदानमा आउनु भए हुन्छ महाशय । हामी पनि हेर्छौँ कसरी हाम्रा सँयोजकलाई गिरफ्तारी गराइने रहेछ ।
यसो भनिरहँदा नेपाल प्लसका सम्पादकले लेखेका सबै कुराहरु उत्कृष्ट छन् भन्ने मेरो आशय होइन । उनका पनि सुधार्नुपर्ने कुरा धेरै छन् । तर जुन प्रवृत्तिका विरुद्ध उनी लडिरहेका छन् । त्यो प्रवृत्ति आम नेपाली समाजलाई अन्धकारमा राख्ने, जनतालाई सचेत हुन नदिने, शक्ति र सत्ताका बलमा समाज भ्रष्ट पार्ने नेपाली समाजको अग्रणी प्रवृत्ति विरुद्ध हो भन्ने हामी बुझ्दछौँ । प्रवृत्ति न हो त्यो बेलाबखत विभिन्न रुप आकारमा प्रकट हुन्छ ।
अहिले पत्रकार महासँघको अधिवेशनका सामुन्ने दुईवटा चुनौति छन् । यौटा नेपाली समाज खोक्रो पार्ने प्रवृत्ति विरुद्ध लड्ने होइन कि उसैको गुलामी गरेर स्वार्थ पूरा गर्ने प्रवृत्ति । अर्को राजनीतिक दलहरुका युरोपमा छरिएर रहेका भातृसँगठनको आदेशमा महासँघलाई कब्जा गर्ने दुस्साहस गर्नेहरुको झुण्डबाट आउन सक्ने चुनौति । हिज पेशागत रुपमा काम गरेका र अहिले पनि क्रियाशील सिर्जनशील अनि स्वाभिमानी साथीहरुले यी दुवै प्रवृत्तिलाई खुइल्याउन जरुरी छ । पेशागत रुपमा पत्रकारितामा लाग्ने र साँच्चै उदाहरणीय पत्रकारिता नै गर्ने हो भने युरोपमा यति धेरै अवसरहरु छन्, तिनलाई किन उपयोगमा नल्याउने ? होइन राजनीति नै गर्ने हो भने त्यो पनि स्वागतयोग्य छँदै छ । यहाँको लोकतान्त्रिक अभ्यासबाट सिकेर आफ्नो ज्ञानलाई नेपालमा उपयोग गर्न सके कति राम्रो हुँदो हो ?
पाल्पा तानसेनबाट कुनैबेला नेतृत्व साप्ताहिक निकाल्थेँ मैले । त्यसमा एकपल्ट छापेको यौटा समाचारको झल्को आयो । जनता हाइस्कूलका हेडमास्टरको बारेमा मैले लेखेको थिएँ । उनले मलाई निकै माया गर्थे पनि । उनी आवद्ध सँस्थाहरुको सूची सहित मैले हेडमास्टरका १६ अवतार शिर्षकमा खबर लेखेको थिएँ । उनी लायन्स क्लब पाल्पाका उपाध्यक्ष थिए । नेपाल शिक्षक सँघका जिल्ला नेता । बुद्धिजीवी परिषदका सदस्य । नेत्रहिन सँघका कोषाध्यक्ष । द रेयूकाई नेपालका सल्लाहकार । आदि आदि । र उनी महत्वपूर्ण जिम्मेवारी लिएर बसेका थिए । यूरोपमा हेर्छु मानिसहरु यौटा विषयमा उत्कृष्टता हासिल गर्न आफ्नो जिन्दगी समर्पण गरेका भेटिन्छन् । कम्तिमा युरोपमा जीवनको उर्वर समय बिताउने हामीहरुले नेपालबाट बोकेर ल्याएको यो प्रवृत्तिलाई छोड्नैपर्छ । त्यो रोगबाट महासँघलाई मुक्त पार्दै सशक्त सँगठन बनाउन जरुरी छ ।
फेरि गुमनामलाई सम्झन्छु, एनआरएनलाई राजनीतिक दलको अखडा बनाइएकोमा उसभित्रको नैतिकता उम्लिएको यौटा समाचार केही साता अघि पढेको थिएँ । जर्मनबाट लण्डन पुगेपनि उ गुमनाम रहेछ । कलम चलाउँदै रहेछ उ बेलाबखत ।
फेसबुकको भित्तामा उसले टाँगेको यौटा सिख्रो बूढो रुखसँग आफूलाई तुलना गर्दै टाँगेको फोटामा मैले पात उम्रिएको पो देखेँ । पत्रकारहरु कवि पनि हुन् । ती भावुक हुन्छन् । तिनीभित्रको स्वाभिमानमाथि कसैले खेलवाड गर्यो भने ती खरानी हुन कत्ति बेर लाग्दैनन् । सुजाता कोइरालाले लाखौँ पर्ने झोला किन्दा झण्डै कुर्सीबाटै खसालिदिएको थियो गुमनामले सुजातालाई । केही मानिसहरु अझै पनि आगोसँग निहुँ खेल्न खोज्दैछन् ।
मदनपोखरा ७, दमकडा, पाल्पा
हाल पोर्चुगल





