धाक धम्की लगाएर मान्छे ठग्ने बेल्जियममा क्रान्तिकारी नेता

(पेरिसको कन्कर्ड भन्ने पर्यटकिय आकर्षणको थलोमा ताल छेउ टहलाउँदै ‘जित कामरेड’)

बेल्जियममा केहि बेर लेखनका बारेमा गफ हुँदै थियो विष्णु भुजेलजिसित । फर्किनै लाग्दा ‘ल यो लगेर पढ्नुस्, बेल्जियमको राजनिति बुझ्न केहि सहयोग होला’ भन्दै उनले एउटा स्मारिका थमाए । रहेछ, जनप्रगतिशिल मञ्च, बेल्जियमको बुलेटिन । बस चढ्न हतार थियो । त्यसैले सरर पाना पल्टाउँदै गएँ के के रहेछन् विषय भनेर । पुरै पाना नपल्टाउँदै एक ठाउँमा गएर आँखाभौं उचालिए । विश्वास लागेन जे देखिरहेको थिएँ । मैले भोगेको र यो लेखमा आदर्श छाँट्ने जित लामा एकै थिए ।

दिमाख रन्कियो । आँखा तिल्मिलाए । कन्सिलिका रौं ताउरमाउर गर्न लागे । तालु रनक्क भयो । पत्रीकामा छापिएको उसको फोटोमै दुई झाप्पड हानौं झैं भयो । तर त्यतिखेर विष्णुजीलाई केहिपनि भनिन । पत्रीका झोलाको कोखिलामा च्यापेर लुसुक्क बाटो लागें । बसमा चढेपछि फेरी आफैंदेखि शंकालु भएँ, कि हैन गाँठे त्यो मान्छे ? त्यस्तो ठगले यत्रो मुलुक बदल्ने, अरुलाई अर्ति उपदेश दिने, सौम्य समाज निर्माण गर्ने लेख लेख्ने आँट नगर्नुपर्ने ।

निक्कै बेर नियालिरहें । अचम्म लाग्यो । यो त्यहि मान्छे हो मलाई करिब छ सात साल पहिले लिलामणी पोख्रेल र कमानसिं लामा (हाल कोरियाकालागि राजदूत) को धाक लगाएर धम्काउँदै थियो । मेरो सहयोग, सद्भाव, आत्मियता, विश्वासमा लात हानेर उ उल्टै नेताको धक्कुमा सिध्याइदिन सक्ने दुस्साहस गर्दै थियो । कसरि हुन सक्छ यस्तो ? अर्काको पैसो लिएर तिर्नु त कहाँ कहाँ बिनम्रतापूर्वक माग्दा धम्कि दिने यस्तो फटाहा, ठग माओवादीको नेतो ? हे बेल्जियमको गिर्जाघरकी देवी के हो यस्तो ? हे यूरोपकै एक महान प्रजातान्त्रिक मुलुक, कस्ता कस्ता ठगहरुले सात समुद्र पारीबाट टाउको ठाडो पार्डै ‘म मात्रीभूमि बदल्छु’ भन्दै हिँड्ने धरती भेटेका छन् है तिम्रो माटो कुल्चिएर ! सारा देश, समाज, गलत संस्कार, चिन्तन बदल्न त्यत्रो बलिदान गरेको पार्टीले यस्तो प्रजातान्त्रिक मुलुकमा यस्ता ठगलाई नेता बनाउने ? लौन के देख्न परेको यस्तो ?

जति नियालेपनि उनी त्यहि जित लामा थिए । बान्कि परेको अनुहार । सर्लक्क पछाडी फर्काएको लर्के कपाल । कालो कोठीमा मुसुक्क मुस्काउँदै ‘हजुर हजुर ‘ भन्ने बानी । ‘हस, हुन्छ, ए भैहाल्छ नी !, हो र ? ‘ भन्दै सहि थाप्दा थाप्दै नजिक्याइहाल्ने । उनी पेरिस आएका थान्काको ब्यापार बढाउन भन्दै । भेट भयो । उनको मिठो बोली र ब्यक्तित्वले लोभ्यायो । थान्काको प्रदर्शनी गर्न आएका उनले युनेस्कोको भवनमा प्रदर्शनी गर्न खोजेका । दुतावास पुगेछन् । दुतावासले जोड गरिदिए त्यहाँको हल सित्तिमा पाइने । तर त्यो बेला उनलाई सात हजार यूरो पर्छ भनेर मुर्ग्याउन खोजेछन् । मैले सुनें । उनलाई भनिदिएँ ‘ओहो ए पर्दैन है त्यत्रो त’ । पछि अलि सस्तोमा मिलाएँ भनेरपनि कमिशन खाइदिए दुतावासका कर्मचारीले । जे होस उनले जम्मा सात सय जतिमा त्यो प्रदर्शनी गरे । मपनि सहभागि भएँ । उनको प्रदर्शनीको समाचारपनि लेखिदिएँ ।

नजिक भए झैं लाग्यो । फेरी पेरिसमा आफू बस्ने लजमा बोलाए उनले । एक जना फ्रान्सेलीलाई थान्का बेच्दै रहेछन्, त्यहाँपनि लगे । अब धेरै दिन बस्न होटेलमा नसकिने भो । उपाय के त ? बुद्द गुम्बामा बस्ने ठाउँ दिए त्यहाँका लामाले । बुद्द धर्मावलम्भी, नेपालको मान्छे भनेर उनले बस्ने खाने ठाउँ दिएका थिए । गुम्बा खोज्दै मपनि पुर्‍याउन गएँ । उनलाई घरमा बोलाएँ । जानेको कुरो भनें । खानपिन गरियो । उनी नेपाल फर्किने बेला भो । मैले लामाजी यो पैसा नेपाल लगिदिनुस् है भन्दै २६० यूरो हातमा राखिदिएँ । उनी हिंडे । आखिर त्यति नाथे रकम कतिनै थियो र ? तर ठगले पाए लाख, नपाए हजार । त्योपनि नपाए पाँच सय । नभए दश रुपियाँनै होस् किन छोड्थ्यो र ?

उनी नेपाल पुगेको केहि साता सम्म मैले वास्ता गरिन । अपर्झट केहि थिएन । गाह्रो साह्रो भो होला । फुर्सद नमिले होला । केहि खाँचो परेर मासेकै भएपनि तिर्लान् भनेर । मैले सम्पर्क गर्दा कहिले दिन्छु भन्थे । कहिले म काभ्रे गएकोले तपाइको मान्छेलाई भेट्न नपाएको भन्थे । टारे यसै गरेर । बिस्तारै उनले ईमेलको जवाफपनि दिन छाडे । श्रीमतीले फोन उठाएर सधैं ‘हुनुहुन्न’ मात्रै भन्ने । मैले नाम ढाँटेर फोन गरेपछि फेला पर्थे । मैले माग्थें तरपनि उनले दिएनन् । मैले हकारें । ‘तपाइलाई म छोड्दिन, त्यत्रो साथीत्वमा यस्तो बदमाशी गर्ने लामाजी ?’ भनें । उनले मलाई धम्कि पो दिन थाले त उल्टै । म काभ्रेको जनमोर्चाको नेता । म लिलामणी पोख्रेल, कमानसिं लामाहरुको निकट । मैले चाहेँ भने त मान्छे दबाइदिन्छु । ठिक पार्छु । कस्ता कस्ता मान्छे त तह लगाइन्छ । उनले मलाई दिएको धम्कि अहिलेपनि सम्झिँदा कन्सिलिका रौंले भुइँ छोड्छन् ।

बिचमा उनी फेरी यूरोप आउन लागेको कुरो पत्तो लगाएँ । यूरोपमै झ्याप्पै समातेर बेइज्जति गर्ने सोच बनाएँ । उनको धम्कि सम्झेर । तर कसरि ? ठगलाई ब्यापारको लोभ देखाउनुपर्‍यो भनेर यस्सो जुक्ति सोचें । अनि फेक आइ डि खोलें याहुमा । उनलाई एक जना ब्यापारीको रुपमा मेल लेख्न थालें । “लामा जी तपाइको बारेमा मैले थाह पाएँ । एक जना नेपालीले दिएको तपाइको मेल । साह्रै राम्रा थान्का बेच्नुहुन्छ रे । मपनि नेपाली सामानको ब्यापार गर्छु । म यूरोप घुमिराख्छु । ल भेट्नुपर्‍यो ।”

(माओवादी नेता पोष्ट बहादुर बोगटीसित ‘जित कामरेड’। बिचरा यी बोगटीलाई के थाह यसरि फोटो खिचाउँदा त्यो फोटो स्थानिय नेताले आफुलाई शक्ति देखाउन, धमास चुट्न प्रयोग गर्लान् भनेर )
उनले दिए गफ, म यस्तो र उस्तो भन्दै । बेल्जियम, जर्मनी र कता कता पुगें भन्दै मेल गरे । मेरो फिक्स फोन मागे ‘मलाई नम्बर दिनुस् म फ्रान्स आएपछि फोन गरेर तपाईलाइ भेट्न बोलाउँला’ भन्दै । मैले ‘म हिँडेको हिँड्यै गर्ने भएकोले निश्चित हुन्न । बस, रेल, प्लेनमा हुनाले मोबाईल बजेको पनि पत्ता हुन्न । तपाइ आउने दिन र ठाउँ भन्नुस् न म त्यहिँ आउँछु अनि गफ गरौंला”। उनले म पछि दिन्छु सर भने । मेरो दाउ पेरिसमा भेट्न पाए दुइ चार जना लगेर त्यहि कालोमोसो दल्ने थियो । मिलेन ।

उनले बेल्जियममा पुगेरपनि मेल लेखे । अब भेट नहुने भयो भन्ने भएपछि मैले ईमेल लेखेर भनें ‘ए ठग लामा, फलानो इमेलबाट ब्यापारी बनेर ईमेल लेख्ने म ददि सापकोटा हुँ’। नाथे २६० यूरो पनि खाने ? त्यत्तिपनि तिर्न नसक्ने ? के ब्यापार गर्छौ यार मान्छे ठगेर ? पैसो दिएर मसित क्षमा याचन गर्ने हो कि होइन ? त्यसपछि उनले जवाफ दिन छाडे । फेरि मेल लेखें । उनले मेरो घुँडो सुँडो फुत्काउने, दबाउने, सिध्याईदिनसक्ने, लापत्ता पारिदिन सक्ने क्षमता छ म सित’ भन्दै तर्साउन खोजे ।

मलाईपनि झोंक चल्यो “ए रात्तै, मैले उ आउँदा सह्रियका साथ सहयोग गर्ने । साथ र समय दिने । जानेको कुरो बताउने आफ्नो समय खर्चि खर्चि । उसैले पैसो खाएर लासपनि दबाउन सक्ने धम्कि? अनि म चुपचाप सहिरहुँ ? ए बा भएन यो त ल । एक जना यस्तो नेतो हुँ भन्ने ठगसित तर्सें वा चुप लागें भने त यसले ठगीका दाह्रा अझै दुनियाँलाइ धस्दै जान्छ । लामालाई ईमेल लेखेर खबर दिएँ अन्तिम चोटी, अब छोड्दिन कुनैपनि हालतमा भनेर । प्रहरीमा पहुँच भएका एक जना साथीलाई सुनाएँ । साथीलाई सुनाउँनासाथ सोध्यो “ददिजी के गरौं ? ५० जनाको प्रहरी डफ्फा पठाएर तेसको घुँडा फुकाल्दै चौकिमा ल्याउँ ?’ अनामनगर प्रहरी कार्यालयबाट फोन गएपछि होला सायद ‘उसले बल्ला पैसो दियो’।

       नेपालमापनि ठगी

उसले नेपाल गएर मलाई धम्कि दिएपछिको केहि समय उ कस्तो हो ? के गर्थ्यो भनेर साथीहरुसित बुझें । उनी ठमेल ज्याठामा भएको पञ्चबुद्द थान्का को ओपरेटिभ सोसाईटीका मुख्य थिए । त्यसमा मैले चिनेका केहि साथीहरुको पनि हिस्सा थियो । त्यसैबाट ब्यापार प्रवर्धनको भिसामा थान्का बोकेर फ्रान्स आएका । उनको खर्च त्यहि सोसाईटीले तिर्थ्यो । त्यो बेला थान्का पेन्टिङ स्वयम्भुमा गर्थे । पाँच सय जनाको को ओपरेटिब थियो त्यो । साथीहरुले सुनाए, यी जित लामाले त्यहांपनि डुबाउनुसम्म डुबाएका रहेछन् आफ्ना साथीहरुलाई। पैसो खाइदिएका । लटरपटर पारेर गुट्मुट्याएका रहेछन् पैसो । लामा मोटाएको मोटाइ, यूरोप भ्रमणका भ्रमण । उता सोसाइटी धस्सिएको धस्सियै । पेरिस आएका बेला ‘करिब १३ हजार यूरो कमाएँ सर’ भन्थे मैसित लामाले । तर उता सोसाइटीलाई भने घाटा देखाएका रहेछन् । पछि त्यहि पञ्चबुद्दको नामबाट भिसा लिएर उनी बेल्जियमको धरतीमा धसिए । उता पञ्चबुद्द थान्का को ओपरेटिभ सोसाइटी डुब्यो । भलै उनी एक्लै होइनन् होला त्यो डुब्नुको कारण ।

     बेल्जियममापनि धाकधम्की

ब्रसेल्समा गिफ्ट पसल खोलेका लामाले त्यहाँपनि केहि नेपालीलाई ठगेको र दुख दिएको नेपालीहरुले बताएका हुन् मेरो गत बेल्जियम यात्राका क्रममा । नेकपा माओवादीका नेता पोष्ट बहादुर बोगटीदेखि नारायणकाजी श्रेष्ठ सम्मको पहुँच भन्दै देखाउने । ति नेतासित फोटो खिच्ने । तिनै फोटा सोझासाझा नेपालीलाई देखाउने ।

जनप्रगतिशिल मञ्च बेल्जियमका उपाध्यक्ष । माओवादी समर्थक संस्था भो यो । अनि हरेक नेता आउँदा भाषण ठोक्ने गर्छन् । खसीको गर्धन छिनाउला जस्तो धार पारेर सेतो कमिजमा टिलिक्क टाइ ठोक्छन् । यस्सो निहुरी पर्दा जुत्तामा झलक्क अनुहार देखिएला झैं टल्किन्छ । ब्यापार र पहुँचका कुरा गर्दा प्रचण्ड, बाबुराम भट्टराई, घनश्याम शर्मा, नारायणकाजी सबैसित कुम जोडाजोड भनेर फुर्ति लगाउने र धम्कि दिने गर्छन् । अनि कसले सक्ने बोल्न ?

   किन यति ढिलो लेखियो त उनको ठगीबारे ?

बेल्जियम पुग्दा जित लामा भन्ने नाम त सुनिन्थ्यो । तर मैले सुन्ने गरेको र भोग्ने गरेको त्यहि ब्यक्ति हो भन्ने त्यहि जनप्रगतिशिल मञ्चको स्मारिका हेरेपछि प्रस्ट भयो । बुझ्दै जाँदा थाह भयो, उनी जनप्रगतिशिल मञ्च, बेल्जियमका उपाध्यक्ष । त्यतिले नपुगेर प्रचारप्रसार बिभाग प्रमुखपनि । त्यतिमात्रै हो र ? झण्डै एक दर्जन संस्थाका पदाधिकारीपनि । जनजाति सरोकार मञ्च यूरोपका सदस्य । भर्खरै गठित नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका सदस्य । तामाङ समाज बेल्जियमका झन नहुने कुरै भएन । बेल्जियमस्थित नेपाली ब्यवशायी संघका सदस्य ।

एक सामान्य ठग हो भने त्यसको के हैशियत हुन्छ र सार्वजनिक टिप्पणी गर्नु ? भन्ने लागेको थियो । तर उनी त त्यत्रो पद ओगटेका सार्वजनिक ब्यक्ति । हामी जत्तिकालाई त त्यसरि धम्काउँछन् भने उनले सोझासाझा कतिलाई धम्काएका होलान् ? अरु कतिको ठगेका होलान् ? देश, राष्ट्र, समाज बदल्छु भन्दै कसम खाएर हजारौंको बलिदान गरेको पार्टीको भात्री संगठनका सदस्य । अझ यूरोपेली परिषदको कार्यालय भएकै मुलुकमा । अझ प्रचारप्रसार प्रमुख । यो भन्दा बेईज्जति के हुन्छ ? यस्ता ब्यक्तिलाई प्रश्रय दिइराखे हाम्रो समाज कता जान्छ ? दर्जनौं संस्थामा यस्ता ब्यक्तिलाई राखेर कसरि हुन्छ संस्थाको हित ? कतिले दुख पाउँछन् । त्यसैले जुनसुकै पार्टी, संगठन, समूह होस् गलत भनेको गलतै हो । छानी छानी दुरुत्साहित गर्नै पर्छ ।

(नेपाली ठगहरुबारे समाचार आउन थालेपछि अर्का एक नेपाली ठग बेल्जियमै लुकेको केहि सूचना स्पेनका नेपालीले दिएका छन् । उ पहिले स्पेनमा रहेछ। त्यहाँ रेस्टुरेन्ट चलाएको । त्यहि देखाएर नेपालीको पैसो ठगेछ । त्यो पैसा लिएर जर्मनी पुगेको उसले त्यहाँका नेपालीलाईपनि ठगेछ र हाल उ बेल्जियममा रहेछ । भरपर्दो सूचना भए पाउँ। सूचना दिनेको स्रोत गोप्य राखिने छ)

तपाइँको प्रतिक्रिया