पत्रकारको काम पिडितलाई पन्छाएर ठगलाई बचाउने हो र ?

बेल्जियम नेपाली समूदायका लागि सधैं तात्छ । यतीखेर फेरी सुदाम लम्साल भन्ने एक जना ठगले सयौं नेपालीलाई बिचल्ली पारेको घटनाले तातेको छ । अनि जो पिडित हुन् तिनका आवाजालाई स्थान दिनु भन्दा पिडकलाई चोखिन पाउने आधार मिलाइदिने, स्पष्ठिकरण दिने चौतारी मिलाइदिने पत्रकारको साहसलेपनि तातेको छ । यसमा अनेक पाटा रहेका छन् । पत्रकारिताको आचार संहिता, मर्म, भावना र जिम्मेवारीसितपनि संवन्धित छ ।

सुदाम लम्साल ठग हो भन्ने कुरो दिनको घामभन्दा छर्लंग छ । किनभने अनेकौं तिकडम लगाएर सयौं नेपालीलाइ ठग्ने र समस्या सुल्झाउनु भन्दा दम्पट हुने ठगको प्रमाण यो भन्दा बढि के चाहियो ? जसले मुख चपाउँछ तिनका आआफ्नै बाध्यता र अनेक खाले स्वार्थ होलान् । अनेक खाले अप्ठेरा र बुझाइ होलान् । किनभने उसैको विश्वासमा परेर सयौं नेपालीले टिकट किने । यूरोपमा कम्तिमा बैंक कार्डबाट पैसा तिर्न पाइने नियमलाई घोती लगाएर उसले सबैसित नगदमा पैसा माग्यो । त्यो ठग्ने नियतलेनै थियो । ट्राभल कंपनीले टिकट बेचेपछि प्राय ७२, ३६, १२ घण्टा अगाडि फेरी रिकन्फर्म गराउनुपर्छ ।

आफ्ना ग्राहकबाट पैसा असुलेपछि ति नउडेसम्म टिकट के कसो भैरहेको छ भनेर बुझ्ने र ग्राहकलाई जानकारी दिने, आफुले गरेको ब्यापारको जिम्मेवारी लिने र कुनै समस्या आए सुल्झाउने जिम्मेवारी हुन्छ ब्यापारगर्ने ट्राभल एजेन्सीको । त्यहि सेवाका लागि त मानिस ट्राभल एजेन्सि खोज्दै जाने हुन् । नत्र बिमान टिकट लिन बिमान कंपनीमै सिधै जान सक्थेनन् ? ट्राभल एजेन्सीले त्यस्तै सेवा दिए बापत शुक्ल र कमिशन लिने होइन र ? ग्राहकको थैलीनै मासेर, ढाँटेर, ठगेर, लुटेर, बिचल्ली पार्नकालागि हो ट्राभल एजेन्सी चाहिने ? यदि उ ईमान्दार हुन्थ्यो भने उसले त्यतिखेरै नेपालीहरुलाई भन्ने थियो । उसले ठगेको अर्को बलियो प्रमाण के भने उसको एकाएक फेरिएको भूमिगत शैली हो । किन उ फोनको जवाफ नदिई, जिम्मेवारी बहन नगरि लुकि लुकि भाग्यो ? किन नेपालीहरु बिमानस्थल पुग्नासाथै पहिलो फोन कलदेखिनै उसले उठाएन ?

तर यस्तो अवस्थामा एउटा पत्रकारको भूमिका के हुन्छ ? कतिबेला चाहिन्छ पत्रकार ? पिडितहरुका आवाजलाई बाहिर ल्याउने काम होइन र पत्रकारको ? तर बेल्जियमबाट केहि पत्रकारले त्यसो गरेनन् । बरु त्यहि ठग सुदाम लम्सालको अन्तर्वार्ता दिए । जसमा उसलाई प्रशस्त स्पष्ठिकरणको अवशर दिईयो । उसलाइ चोखिने मौका दिईयो । भलै त्यसमा जानेर वा नजानेर जेपनि हुन सक्ला । त्यसले गर्दा पिडितलाइ न्याय दिलाउन, डकैती गर्नेलाई दुरुत्साहित गर्न र कारवाही गराउन खोज्ने, त्यहिँ बसेर लेख्नेको मनोबलमाथि हतोत्साहित गर्ने काम भएको छ । पिडितका आवाजलाई बाहिरै छोड्ने र पिडकलाई स्पष्ठिकरण दिनाले आम नागरिकका अगाडि बिचरा, यसलाइपनि अप्ठेरो परेको रहेछ भन्ने अवशर मिलेको छ । यहि उ सरल, इम्मान्दार हो भने लौ नेपालप्लसलाई फोन गरेर अन्तर्वार्ता दिने हिम्मत गरोस् । के छ तपाइको बिचार भनेर उसका सारा स्पष्ठिकरण र सफाई दिने होइन नेपालप्लस दोहोरो वार्ता गरेर लम्सालसितको अन्तर्वार्ता राख्न तयार छ । हिम्मत छ लम्सालको ? मेरा मित्र तपाइ माध्यम बनिदिए म ज्यादै आभारी हुने छु ।

तर बुझक्कि, बरिष्ठ पत्रकार मित्रहरुसँग मेरो बिन्ति छ, म कनिष्ठ पत्रकार हुँ । एक सिकारु । तर सिकारु अवस्थामा मैले जानेको के हो भने पिडितलाई बेवास्ता गरेर पिडकलाई चोख्याउन स्थान दिने काम, यो मान्यता पत्रकारको आचार संहिता, मर्म र भावनासित कहिँ कतै मेल खाँदैन ।

सयौं नेपालीले उसको साहु को हो, कुन एजेन्सी हो भन्ने आधारमा पैसा तिरेका थिएनन् । समस्या आयो भने म लुक्ने छु, साहुलाइ देखाउने छु भन्ने शर्तमापनि उसले पैसा असुलेको नहुंदो हो । उ स्वयंले थरी थरी दर र अनेक प्रलोभनमा पैसा लिएको थियो । जब समस्या पर्‍यो (परेको होइन उ आफैंले नियतबस योजनानै बुनेको हो) तब उसले स्वयं कम्पनीका तर्फबाट समस्या हल गर्नुपर्थ्यो । तर उसले त त्यो टिकट बेच्ने कंपनीनै किर्ते प्रयोग गरेको रहेछ । अनि यसलाई ठगी नभनेर के भन्ने ? ईमान्दार मान्छेले बिमान कंपनीमा दर्ता नगराई, कन्फर्म नगराई कम्प्युटरबाट उडान टिकट निकालेर दिन्छ ? यदि उपनि फसेको हो भने लुकु लुकि भाग्ने काम गर्छ ? ठूल ठूला बेभ साईट चलाउने बरिष्ठ पत्रकार मित्रहरुलाई यत्तिपनि हेक्का नहुँदा आफैंलाई टिठ लागेर आउँछ ।

म जान्न चाहन्छु मित्रसित, सयौं नेपालीको रुवाबासी हुँदा, सयौं नेपालीको बिमानस्थलमै बिचल्ली हुँदा, सयौं नेपालीको हजारौं रकम गुम्दा तिनको पीडा, तिनको समस्या, तिनका गुनासाले एक हरफ पाउन नसक्ने । ति मध्ये कसैकापनि आवाज आम पाठकले सुन्न नपाउने । तिनका बिलौना भरिएका बोली र आक्रोश जान्ने बुझ्ने पत्रकार मित्रका दुर दराजमै कैद हुने । तर जो आरोपित हो उसैको लागि पत्रकारिताको चौतारो मिल्ने ? कुन देशको, कहाँको पत्रकारिताको नियम, आचार संहिता र मर्मले यसलाई जायज मान्छ ? पिडितका आवाजहरु दमित र ठगलाई कारवाही गराउने भन्दा अझै चोखिने चौतारी दिने पत्रकारिता कुन देशकोसित मेल खान्छ ? म नाथे सानो ब्लग चलाउने कनिष्ठ पत्रकारधारी भएकाले पो अनुभव नपुगेको हो कि ? बरिष्ठहरुबाट यत्ति ज्ञान पाए न कनिष्ठहरुलेपनि सिक्न पाउने हो ।

हामीले जान्नु पर्ने कम्तिमा नेपाल पत्रकार महा संघ र प्रेस काउन्सिलको आचार संहिता हो । त्यसमा त पिडितलाई झन पिडित बनाउने र पिडकलाई झन बचाउने, उत्साहित बनाउने काम पत्रकारको आचार संहिता बिरुद्द हो भनिएको छ त । अनि मित्र के त्यो पालना गर्ने काम वरिष्ठहरुको भागमा पर्दैन र ? हामी कनिष्ठहरुलेमात्रै हुबहु मान्नु पर्ने ? कि बेल्जियमको पत्रकारिताको आचार संहिता पालना गर्दै हुनुहुन्छ जहाँ पिडकलाई चोखिने स्थान दिनु पर्छ भनेर लेखिएको छ ? एक चोटि खुलाइदिए भलोनै हुँदो हो । “लौ न ठगहरुलाई झन चोखिने वातावरण पो मिल्यो त” भन्दै गुनासा गर्ने बेल्जियमका केहि मित्रहरुलाईपनि म यहि सिक्न स्मरण गराउँदो हुँ ।

एउटा स्वतन्त्र पत्रकारको लागि त समाचारका हिसावले ब्यापारी र सामान्य नागरिक समान हुन् । पत्रकारिताको धर्मले त्यहि भन्छ । पत्रकारिता अवाजबिहिनहरुकोलागि आवाज हो । हामीले त सुन्दै, पढ्दै र अग्रजहरुबाट भोग्दै आएको यहि हो । त्यसलाई मान्ने हो भने त पत्रकारिता अवाजबिहिनहरुका लागि भयो र ? ब्यापारीका लागि भयो । पैसावालकालागि भयो । जसले ठगेको छ उसैकालागि पो भयो । ठग भनेर आरोपितले स्थान पाउँदा किन पाएनन् त ठगिने मध्ये एक जनालेपनि ? के पिडित पक्षका कुरा सुन्नु पर्थेन र ? यो बिमान टिकट ठगी काण्डमा त पिडितले न्याय पाउने र ठगी गर्नेहरुले सजाय पाउने गरि पो प्रस्तुत हुनु पर्ने हो पत्रकारिता । तर यहाँ त उल्टो भएन र ? पत्रकरिता गर्दा गर्दै सिमलका भुवा झै कपाल दाह्री फुलाएका गुरुहरुले हामीलाई त्यसै भन्थे । गलत पो सिकाएछन् कि के हो ? मित्रको लेखन र दाबी हेर्दा त अब ति बुढाहरुलाई धारे हात पो लाउनु पर्ने हो कि ?

हो, कुनै बेला, कतिपय अवस्थामा देखि देखिपनि बोल्न सकिन्न । पाएको समाचार लेख्नपनि हात कमाउनु पर्छ । आँखा चिम्लिनुपर्ने अवस्था आउँछ । तर त्यस्तो अवस्थामा कुनैपनि पक्षलाई अन्याय नगरि बस्न सकिन्न र ? लुकि लुकि हिँडेको ठग मित्रको मेडियामा प्रस्तुत हुने तर बेल्जियमको बिमान स्थलमा बिचल्ली परेर रुँदै र कराउँदै हिँडेका नेपालीहरुसित भेट सम्म नहुने यो कस्तो पत्रकारिता पर्‍यो मित्र मैले त बुझ्न सकिन । सायद बिकशित मुलुकको पत्रकारिताको उदाहरण पो रहेछ कि ? कि पत्रकारिताको यो पछिल्लो ट्रेण्ड भन्छन् नी त्यसमा पो म पछि परेछु कि ?

तर म स्मरण गराउँ मित्रलाई अघिला यस्तै ठगीका घटनापनि ? यस अघिपनि बेल्जियमका ठग र मानव तस्कर क्रिष्ण खतिवडा जस्ताको कुक्रित्यमा धावा बोले पत्रकार सन्तोस न्यौपानेले । उनले पिडितका आवाज र ठगी, अनि किर्ते कगजका प्रमाण सहित दोहोलो कढ्दापनि मेरा प्रिय मित्रले त्यसै गरि ति ठगलाइ स्पष्ठिकरणका लागि चौतारो दिएको म अहिलेपनि झल्झली सम्झिरहेको छु । के हरेक पटक पिडितहरु पिडितनै हुने, फटाहा र चोरहरु सतहमा देखिनासाथ तिनले भने स्पष्ठिकरणका लागि पत्रकारिताको चौतारो पाउनु जायज हो र ? कि संयोग मात्रै हो ?

बरु मलाई हाँसो लागेको कुरो त के हो भने मेरा बरिष्ठ मित्रले लेखमा हुने र प्रतिक्रियामा पाठकले उठाउने के हो ? कस्तो हो ? पाठक र लेखक आफ्ना भनाईमा कति स्वतन्त्र हुन्छन् भन्ने भेउनै पाएनछन् । उनले त नेपालप्लसको समाचारमा पाठकद्वारा जातिय प्रसंग उल्लेख गरेको पाठकका प्रतिक्रियालाई लेख सरह पो टिप्पणी गरेछन् ।

बरु चोरलाई चोर, ठगलाई ठग, यूनिटि चलाएर गैह्र कानुनी काम गर्नेको हुर्मत लिँदा कसरि बेल्जियममा मानव तस्कर, चोर फटाहा मात्रै छन् भनेर लेखेको भयो ? चोरलाई चोर भन्दा साधुलाई किन पिर ? के हो टाउको दुखाई ? बेल्जियमबासीले सोच्नुपर्ने छ भनेर कसलाई उचाल्न र कसको चाकरी बजाउन खोजिएको हो ? ठग र चोरको हुर्मत लिँदा बेल्जियमबासी नेपाली खुशि होलान् कि तिनलाई चौतारी दिँदा ?

राजनितिक रुपमा आवद्द भएका मान्छेलाई तिनको संस्थागत आवद्दताबारे उल्लेख गरिदिँदा बरु ति संस्थालाई फाईदा हुन्न र ? गलत मनसिकता भएकाहरु संगठनमा नपसुन् भनेर सचेत हुन पाउँदैनन् र ? पसिसकेकाहरुलाई कारवाही गरुन् भन्ने सूचना भएन र ? के उसो भए संस्थामा अझै यस्तै ब्यक्तिहरु पर्खाल लगाएर बसुन् भन्ने चहना हो मित्रको ? पत्रकार हुँ भन्ने मित्रलाई अन्य संस्थाको नाम आयो, मुछियो भनेर ज्वरो आ उनुको कारण के होला ? त्यो त तिनै संस्थाका नेत्रित्वकर्ताको चासो हुनुपर्ने होइन र ? बेल्जियमबासी नेपालीले भुल्लान् र खरब काम गरेका ब्यक्तिबारे लेख्दा नेपालप्लसले तिनको संस्थागत आबद्दता बारे यस अघिपनि जानकारी दिने गरेको ? हो निर्भिकताकासाथ भन्छ, नेपालप्लस कसैको चाकरी बजाउँदैन । मुखमा लड्डु राखेर बोलेझै कामेर लेख्दैन । छेरुवा पाराले कलम समाउँदैन । बिज्ञापनमा लोभ गर्दैन । गल्ति गरे माफी माग्छ सहर्ष । सधैं पिडित र मर्कामा पर्नेको, सत्यको पक्षमा हुन प्रयास गर्छ । पत्रकारिताको आचार संहितालाई सकभर पालना गर्छ । यसमा कसैलाई टाउको दुख्छ भने नेपालप्लसले किन काम्रो बान्ने, टाउको दुख्नेलेनै बाँध्छन् ।

नेपालप्लसको सस्तो लोकप्रियता हो कि मित्रहरुका गोडा काम्ने गरेकाले, आ किन बिबादमा पर्नु, किन गाली सुन्ने लेठो गर्नु भन्ने आफ्नो मानसिकताले गर्दा त्यस्तो आरोप लागेको हो ? बास्तबिकता केहो ? पाठक र पत्रकारिताको अनुगमन गर्नेले छुट्याउन् । बरु बेल्जियममा अन्य साईटलेपनि यस्तै चौतारी दिएको प्रसंग नाम नलेखि उल्लेख गर्दा मित्रको मन पोलेर  आफ्नो साईटमा पीडा पोख्नु संयोग हो कि ? वा चोरको खुट्टो काट भन्दा स्वाट्ट खुट्टो तानेको हो ?

मैले त भनिहालें नी, म कनिष्ठ पत्रकार । मेरो नाथे एक रौं । मित्रको त लाखौंले हेर्ने ठूलो वेभ साईट । वरिष्ठ, पाका र लेखनमा जादू झैं क्षमता हुनेको नभएर हामी सिकारुको हुन्छ त ? कति नेपालीले दुख पाउँदा दुख सुखमा साथ दिएको । तर स्मरण गराउँ ? राजा ज्ञानेन्द्रकापनि थुप्रै पत्रीका थिए । नेपालै, त्यत्रो भूखण्डनै उनको थियो । तर खै त टिकेन । उनलाई काँध थाम्नेहरु सबै लाखा पाखा लागे । र पत्रकारिताका न्याधिश त पाठक पो हुन् । आफैं न्यायाधिश भईने हो र ? त्यसैले यो कनिष्ठलाई दुखिहरु रुँदा दुई हरफ लेखेर तिनका पक्षमा उभ्याउने र जे पर्ला पर्ला, कलम समातिसकेपछि के को टाउको कन्याइ कन्याइ समाउनु भनेर हिम्मात कस्ने यहि नाथे ब्लग नै प्रिय छ सयौं नेपालीको बिचल्ली पर्दा ठगलाई चोख्याउने साह्रै लोकप्रिय वेभ साईट भन्दा । तरपनि यो कनिष्ठ हिम्मत हार्दैन । भन्छ, यसै कनिष्ठ उसै कनिष्ठ । बरु गरौं नत बरिष्ठ र कनिष्ठबिच लेखनका केहि विषयमा बहस, छलफल र परि आए प्रतिस्पर्धा नै । हारे यसै कनिष्ठ । जिते बरिष्ठलाई जितेको भनेर नाक ठड्याउन पाइने ।

तपाइँको प्रतिक्रिया