पातालवासी अलपत्रकार र पत्रकार महासँघ शाखाको रोइलो

लक्ष्मण देवकोटा

ढिलै भएपनि आइफलटावरमुनि बसेर कलम चलाइरहेका मित्र ददीराम सापकोटाको रोइलो काठमाण्डूवासी कलमजीवी झुण्डका अगुवा शिव गाउँलेको समूहले सुनेछ । चरिकोटमा भेला भएका नेपाल पत्रकार महासँघका मित्रहरुले युरोपमा शाखा खोल्न अनुमति दिन्छौँ भनेपछि खुशीले शुभकामना साटासाट गरेका खबरहरुले फेसबुकका भित्ताहरु सजिएका छन् । अखबारी जीवन बिताएर पाताल भासिएका मित्रहरु फेरि लेखनी जाग्ने भो भनेर खुशी भएका भेटिए । एफएम रेडियोमा काम गरेका तन्नेरी मित्रहरु युरोपबाट गाउँका एफएममा कसरी खबरखाबर पठाउने होला भनेर उत्साहित भएका देखिए । यावत् सम्वादको परिवेश भित्र पत्रकार महासँघको युरोप शाखासँग आवद्ध भएका र हुन चाहनेहरु उत्साहित भएको देखेर महासँघको उकाली ओरालीको साक्षीकिनारको यो स्तम्भकार पनि हर्षित हुने नै भयो ।

यो हर्ष बढाइँसँग केही गम्भीरतापनि छन् । उत्साहित हुनु असल पक्ष हुँदै हो । तर जिम्मेवारबोध गर्न सकिएन भनेर बनाउन लागेको घर भत्कन्छ । अब यो सानो घररुपी महासँघलाई सबैको आस्थाको केन्द्र बनाउन के गर्नुपर्छ भन्ने कुरा सोँचिएन भने जगत् हँसाउने काम हुन्छ ।

सूचनाको तिब्र विकास, नयाँ सम्भावनाको खोजी र अवसर खोज्दै हिड्ने मानवीय स्वाभावका कारण नेपालका कमलजीवीहरु पनि युरोप बसाइँ सर्न पुगेका हुन् । पत्रकारको कुनै सीमा नहुने भएकैले अब संसारको जुनसुकै कुनाबाटपनि खबर आदानप्रदान हुने भएकाले युरोपबाट नेपाली संचार माध्यमले धेरै सहयोग पाउन पनि सक्दछ । आमसंचारको विकासको प्रारम्भविन्दू पनि युरोप भएकैले होला यहाँका सँचारकर्मीहरु गोलबन्द हुनु र संचारको विषयमा अझ गम्भीर तरीकाले लाग्ने यत्न गर्नु सबैका निम्ति हितकरको विषय हो ।

उतिबेला पत्रकारिता व्यवसायिक भन्दा पनि मिसन थियो । राजनीतिक मिसन । त्यो मिसन सकिएपछि यसलाई व्यवसायिक बनाउने विषयमा बहसहरु चले । नेपाली आम संचारको विकाससँगै आरोह अवरोहहरु भोगेको छ पत्रकार महासँघले पनि । स्वच्छ पत्रकारिताको निम्ति उदाहरणीय मानिने युरोपको आमसंचार भित्र पसेर पुलको काम गर्न सकियो भने, युरोप छेउछाउका मुलुकका ताजा घटनाहरु बारे आम पाठकहरुलाई सुसूचित गराइयो भनेदेखि र युरोपका संचार माध्यममा नेपालको रिपोर्टिँग गर्न सकियो भने यसको प्रभाव सकारात्मक नै हुनेछ । पत्रकार महासँघले यसको नेतृत्व गर्न सक्दछ ।

प्रवासमा अनलाइनको निकै होडबाजी नै छ । यताको उता तान्ने, उताको यता तान्ने तर खोजी पसेर सशक्त खोजमूलक सामाग्री भने नलेख्ने । यसले साभार पत्रकारितालाई बलियैसँग सघाउ पुर्याएको छ । कम्तिमा युरोपमा बसेर पत्रकारिता गरेको छु भन्ने अनुभूत गर्ने मित्रहरुले अब यो साभार पत्रकारिताको अन्त्य गर्नुपर्छ । अनलाइन र ब्लगहरुमा पत्रकारिताको मानमर्दन गरेर भद्दा किसिमले समाचार अनि फिचर लेखेको पाइन्छ । यसमा पनि गम्भीर हुनैपर्छ ।

हामीहरुलाई कसैलाई चोर भनेर सोझै भन्ने अधिकार छैन तर चोरी गरेको तथ्य खबर बनाएर लेखियो भने पाठकहरुले त्यो चोरै हो भन्ने बुझ्नेछन् । यसमा लेखकीय कला र समाचार सम्प्रेषणका न्यूनतम मान्यताहरु पूरा गरेकोभने हुनैपर्छ । कम्तिमा महासँघमा क्रियाशील हुन चाहने र नेतृत्व गर्न खोज्ने बन्धुहरुले यो न्यूनतम मान्यता पूरा नगर्ने हो भने अर्को जग हँसाइ हुनेछ ।

युरोपमा बसोबास गर्ने नेपालीहरुमा यौटा गजबको रोग देखेको छु मैले । सबैले आफूलाई जान्ने र सुन्ने व्यक्तिको रुपमा दर्ज गरेर छाती तन्काएको पाइन्छ । नजानेको कुरा जानेको छैन भन्दा उचाइ घट्छ भन्ने भय धेरै मानिसमा छ । सकेसम्म कहिल्यै मिल्न पनि नसक्ने र भत्काउन मात्रै जानेका नेपाली राजनीतिक दलका भातृ संगठनको फेर समातेर भाले हुने अनि अरुलाई सिकाउन शुरु गरिहाल्ने रोगले धेरै नेपाली बन्धुहरु ग्रस्त छन् । यो रोगले महासँघमाप्रवेश पायो भने यसले सिँगो सँस्थालाई शिशुपाल बनाउने छ । अन्त्यमा सँस्थाको अवसान हुनेछ । ठूलाबडाहरुसँग खुट्टा हल्लाएर छातीमा बडेमानको ब्याच टाँसेर भाषण गरे ठूलो भइन्छ भन्ने मानसिकता कम्तिमा महासँघका मित्रहरुले त्याग्नै पर्छ । पत्रकारिता त पदका हिसाबले होइन, कर्मका हिसाबले पो पूजनीय हुन्छ । पदको होडबाजी छोडेर कसरी आफ्नो सिप खार्न सकिन्छ भन्नेतिर सोचिएन भने दीर्घकालमा यसले स्वयम्लाई पंगु त बनाउछ नै, सँस्थालाई पनि घाटा पुर्याउँछ ।

पत्रकार महासँघले सोझै भोग्ने समस्या भनेको सदस्यको वर्गीकरण पनि हो । कस्तालाई पत्रकार मान्ने ? त्यसको मापदण्ड के हुने ? त्यसमा अनलाइन पत्रकारिताको कस्तो स्थान हुने ? नेपालका विभिन्न अखबारमा समाचार र लेख पठाइरहेका मित्रहरुको पहिचान कसरी खोज्ने ? भन्ने समस्या समाधान भएन भने गैर पत्रकारहरु हावी भएर युरोप शाखालाई बदनाम बनाउनेछन् । जनवरीमा बनेको नेपाल पत्रकार महासँघ वेलायत शाखाले खासै उल्लेखनीय काम गर्न नसक्नुका पछाडिका कारणहरुबाट हामीले पाठ सिक्नैपर्छ । आफूले सँस्था खोल्ने, अथवा आफ्नो नेतृत्वमा सँस्थाको पकड लिने, आसेपासेहरुलाई जम्मा गरेर कार्यक्रम गर्ने अनि आफैले १५ ठाउँ यौटै समाचार पठाएर चर्चा कमाउने गोयबल्सहरुले महासँघको मर्म भन्दा पनि आफ्नो चर्चामा ध्याउन्न दिनेछन् । त्यसैले यी अलपत्रकारलाई चिन्नु जरुरी छ । तिनको गनगनलाई सुनेर तिनैले अगुवा बनाइयो भने तिनले सँस्था खर्लप्पै खानेछन् । नेपालका विभिन्न शाखाहरुमा देखिएको कब्जा गर्ने प्रवृत्तिबाट पनि हामीले पाठ सिक्नैपर्छ । यो कब्जावाल सँस्कृतिका विरुद्ध पनि हामी उभिनैपर्छ । हामी स्वयम सशक्त भएर सँस्थागत विकासमा निस्वार्थ हुँदै पत्रकारितामा क्रियाशील भइयो भने हाम्रो साख बढ्ने मात्र होइन महासँघको पनि इज्जत रहन्छ ।

(देवकोटा नेपाल पत्रकार महासंघका पूर्व पार्षद नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सचिव हुन् । पाल्पा मदनपोखरका उनी हाल पोर्चुगलमा बस्छन् । )

तपाइँको प्रतिक्रिया