थलिएको पत्रकार साथी र फ्रान्सबासीहरुको सहयोग (सहयोग गर्नेको नाम सहित)
• अनुराधा पौडेल
पत्रकार रमेश चालिसेकालागि फ्रान्सबासी नेपाली र सँघसँस्थाबाट उठेको पैसा आज मेरो भाइले नेपाल पत्रकार महासँघलाई हस्तान्तरण गरेको खबर पाएँ । नेपाल पत्रकार महासंघको अगुवाइमा रमेशकालागि भनेर झन्डै सात लाख उठ्यो रे । बाँकी खर्च अब महाँसंघले जुटाउला । यो खबरसँगै अब पत्रकार रमेश चालिसे उपचार गरेर पूर्ण रुपमा स्वस्थ बनुन् । हामी फ्रान्सबासी नेपालीको तर्फबाट कामना छ ।
यो खबरसँगै मैले एउटा सानै सहयोग र केहि जिम्मेवारी र कर्तब्य पुरा गरेँ भन्ने ठानेको छु । रमेश मेरा साथि हुन् र उनी पत्रकार हुन् । हामीले स्पेसटाइम पब्लिकेशनमा सँगै काम गरेका थियौँ सन् २००२ तिर । उनी च्यानल नेपालका लागि काम गर्थे । म स्पेसटाइम दैनिकका लागि । सँगै काम गरेको साथिको नाताले उनी मृगौला फेर्नुपर्नेगरि बिरामी पर्दा कता कता मेरो मन चस्स दुख्नु स्वाभाविकै थियो । उनले आफ्नो उपचारका लागि सबै गुमाइसकेका छन् । उनको भन्नु केहिपनि बाँकी छैन अब । शिर्फ बृद्द र रोगी आमा मात्र उनको साथि ।
यो थाह पाएर पनि मैले ब्यक्तिगत रुपमा केहि सहयोग गर्न सकिरहेको थिइन । फ्रान्समा बसेर पनि आफ्नो साथिलाई सहयोग गर्न नसक्दा यति लाजले पानी भएको थिएँ कि उनले मलाइ लेखका मेलहरुको जवाफ फर्काउने हिम्मत पनि मसँग थिएन । र मेल देखेको नदेख्यै गर्न थालेँ । किनभने म एक्लैले धेरे ठूलो सहयोग गर्न सक्ने अबस्था थिएन । मैले गर्ने सहयोग हात्तिको मुखमा जीरा जस्तो हुन्थ्यो । अनि अरु थप सहयोग माग्न मानिसकोमा जाउँ भने उनीहरुले पत्याउने बातावरण पनि थिएन ।
तर फेब्रुअरी महिनामा नेपाल पत्रकार महासँघले उनको उपचार खर्च जुटाउनकालागि सबै पत्रकारहरुलाई अनुरोध गरेपछि मलाइ सजिलो भयो । संगठीत रुपमा जाँदा । महासँघका तर्फबाट शिब गाउँलेले सहयोगको लागि गरेको अनुरोध र रमेशको फोटो पनि प्रिन्ट गरेँ । अनि फ्रान्सका सबै सँघसँस्थालाई केहि पैसा सहयोग देउ भनि अनुरोध, अपिल र तस्विर मेल गरेँ । आफ्नो तर्फबाट २०० यूरो राखेर पैसा उठाउने कामको शुरुवात गरेँ । समय लिएर फोन गरेँ । अनि पैसा लिन घर घर पुगेँ ।
पैसा उठाउने काम सजिलो होइन रहेछ । बिश्वास जित्न निकै गाह्रो हुँदो रहेछ । केहि तितो अनुभव पनि भोगेँ । मैले उठाएको पैसा सदुपयोग नहुन सक्छ भनेर केहि साथिहरुले त खुलेरै बिरोध गरे । अनि आफ्नो नाम कमाउन गरेकी भनेर आरोप लगाए । तर म एकदमै पारदर्शी छु र मलाइ नामको लागि कुनै धोको छैन भन्ने अहिले महा संघले दिएको जानकारि र पत्रपत्रीकामा आएको खबरले प्रस्ट पार्ला । मैले अनुरोध गरेका सबै संघसँस्था मध्येबाट नेपाली एकता समाज पेरिस र एनआरएन फ्रान्सबाट सहयोग मिल्यो । बाँकी केहि सँस्थाको हकमा त्यहाँ भित्र रहेका साथिहरुको ब्यक्तिगत सहयोग राम्रो सँग प्राप्त भयो ।
मैले फ्रान्सबाट को को महानुभावले सहयोग गर्नुभएको थियो भनि यो लिष्ट प्रकाशित गरेको छु । तर यो लिष्टमा मैले उहाँहरुले दिनुभएको रकम उल्लेख गरेको छैन । किनभने जसले जति सक्नुहुन्छ उति दिनुभएको थियो र कतिपय श्रद्देय दाजुहरुले मलाइ आफूले दिएको रकम प्रकाशित नगरिदिन भन्नुभयो । मलाइ कम्तीमा ५ यूरो र बढीमा ५० यूरो प्रतिब्यक्ति सहयोग प्राप्त भयो । यो सहयोग सूचिमा फ्रान्समा आँफै मृगौला बिग्रेर हप्तामा दुइपटक डाइलोसिस गराइरहनुपर्ने र मृगौला फेर्ने लाइनमा बसेका भाइ दिलिप गुरुँग समेत परेका छन् । मैले उनी समक्ष पैसा माग्ने धृष्टता गरेको थिइन । तर उनी आँफैले एकदिन मलाइ भने « मृगौला रोगीको अवस्था कस्तो हुन्छ मैले भोगेको छु । अनुराधा दिदी मेरो तर्फबाट ५० यूरो राखिदिनुस ल ।» उनको उदार मन देखि म स्तब्ध भएर आँखाबाट किन हो आँशु झरेको थियो त्यो दिन । अहो दुखीहरुले पो मानवियता भन्ने के हो बुझ्छन् भन्ने लाग्यो ।
यसैगरी अर्की एक साबित्री बहिनी पनि हुन् सहयोग गर्ने । “दिजु हजुरले रमेशका लागि पैसा उठाइरहनुभएको मलाइ थाह छ । किन नि हजुरले म सँग नमाग्नुभएको । ल मेरो तर्फबाट पनि राखिदिनुस” भन्दै उनले मलाइ पैसा हातमा राखिदिइन् । यिनले पनि मलाइ लाज बनाइदिइन् । अनि निता (नीता श्रेष्ठ) दिदी जसले स्वस्थानीको साँगेका दिन पारेर रमेशका नाउँमा ५० यूरो दान गर्नुभएको थियो । रमेशका लागि यो पहिलो दान थियो । निता दिदी, साबित्री बहिनी र दिलिप गुरुङ जस्ता अरुपनि धेरै साथिहरु छुटे होलान् जसले यो दिदीले सहयोग मागिन् भने मैले पनि दिन्छु भन्ने ठानेका थिए । म सबै साथिकोमा पुग्न सकिन ।
जतिले बिश्वास गरेर दिनुभयो म उहाँहरुलाई ह्दयदेखि नै धन्यवाद दिन्छु फेरी पनि । पहिला हामी मानव हौँ अनि बाँकी जस्तै मानिसको राजनीतिक बिचार या ब्यक्तिगत रिसइबी भन्ने कुराहरु दोस्रा या तेस्रा कुराहरु हुन् । मानव हुनुको महत्व बुझाउने फ्रान्सका मेरा सबै साथिहरु साँच्चै नै महान छन् जसले नचिनेको साथीलाई र मैले भनेको भरमा बिश्वास गरेर सहयोग गर्नुभयो ।
यहाँबाट सहयोग गर्ने सबै साथिहरुलाई नेपाल पत्रकार महासँघका अध्यक्ष शिब गाउँलेले समेत धन्यवाद दिनुभएको छ आज ।
सहयोग दिने महानुभावहरुको सूची यस प्रकार छ :
• नेपाली एकता समाज फ्रान्स – ३०० यूरो,
• एनआरएन फ्रान्स (घनश्याम पौडेल मार्फत ) – २३६ यूरो
• लक्ष्मण गुरुङ
• निता श्रेष्ठ
• बिनोद ओझा
• राम बहादुर गुरुङ
• चन्द्रकान्त तिवारी
• घनश्याम पौडेल
• बिकास थापा
• निशा लामा
• सन्दीप गुरुङ
• सुमन कार्की
• सुभद्रा घिमिरे,
• रामजी गुरुङ
• हेमन्त उपाध्याय
• सिल्भियन दलाफामी र फँस्वा दलाफामी
• कविन्द्र कायस्थ,
• हेमा गुरुङ
• सुमित्रा प्रधान
•जीता कटुवाल
• रोविन शर्मा
• साबित्री केसी
• दिलीप गुरुङ
• कृष्ण काफ्ले
• श्रीमान श्रीमती नानू गुरुङ
• दीपक महर्जन
• आफ्नो तर्फबाट २०० यूरो
कूल उठेको रकम १५१० यूरो । यो पैसा मैले गएको जुन दुइ तारिख मनिग्रामबाट पठाएको थिएँ । त्यो दिन मनिग्रामको रेट एक यूरो बराबर 106.676 नेपाली रुपैँया थियो ।
नेपाल पैसा पठाउन लागेको खर्च २१ €
१५१०– २१= १४८९ €
१४८९×१०६.६७६ = १५८८४१ रुपैयाँ हिजो नेपाल पत्रकार महासँघले प्राप्त गरेको छ । यो कसैलाई मन लागे नेपाल पत्रकार महा संघमा सिधै सम्पर्क गरेर सोध्नपनि सक्नुहुन्छ ।
समाचारको थप पुष्टीका लागि हिजै अनलाइन खबर डटकममा महा संघका अध्यक्ष शिव गाउँलेको भनाईसहित प्रकाशित तलको समाचार हेर्नुस् ।
पत्रकार चालिसेलाई फ्रान्सवाट झण्डौ एक लाख ६० हजार सहयोग
काठमाण्डौ । दुबै मिर्गौलाले काम गर्न छोडेपछि अस्पतालमा उपचाररत पत्रकार रमेश चालिसेलाई फ्रान्सवाट झण्डै उक लाख ६० हजार आर्थिक सहयोग प्राप्त भएको छ । फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलसहित यहाँ रहेका नेपालीहरुको पहलमा संकलित एक लाख ५८ हजार ८ सय ४१ रुपैयाँ नेपाल पत्रकार महासङ्घले स्थापना गरेको चालिसे बचाऊ अभियानको कोषमा एक लाख ५८ हजार ८ सय ४१ रूपैयाँ डिपोजिट गरिएको हो ।
उक्त रकम पत्रकार पौडेलका भाइ निर्मलराजले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई हस्तान्तरण गर्नुभएको हो । पत्रकार चालिसेको उपचारका लागि हालसम्म करिब सात लाख संकलन भइसकेको महासङ्घका अध्यक्ष शिव गाउँलेले जानकारी दिनुभयो ।





