नेपालका मदानी र गुर्रा बेल्जियममा सुरक्षित

डाक्टर मोरिस भ्रुग्द । नामनै कति गाह्रो हगि ? अघिल्लो वर्ष बेल्जियम जाँदानै मैले उनलाई ईमेल पठाएको थिएँ । तर दूर्भाग्यवस उनको मेल बदलिएको रहेछ । यस पटक स्टिरनिस लुकले उनीसित भेटको चाँजो मिलाइदिए । त्योपनि अकस्मात । आन्तरपेन शहरबाट उनी बस्ने गाउँ दियुर्न पुग्न मेट्रो चढ्नुपर्थ्यो । साथी प्रेम पाठकले पुर्‍यादिए । विशाल घरमा एक्लै बस्ने रहेछन् उनी । ढोकामा घन्टि बजाउँदा अप्ठेरोरुपमा प्रस्तुत भए । माथिल्लो कोठामा लगे । ठस्स परेझैं लाग्यो उनको प्रस्तुती । मलाई अप्ठेरो महसुस भयो । अलि रसिला कुरा झिक्दै जान लागेपछि उनी खुल्दै गए । मैले कोट्याउँदै गएँ । उनी खुल्दै गए ।

विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंगा । बेल्जियन नागरिकले पहिलो पटक नाप्तै थिए । त्यो टोलीमा उनलाई मेडिकल सुपरभाइजरको भूमिका खेल्ने प्रस्ताब आयो । उनले स्विकारे किनकि उनले ग्रामिण भेगका कठिन क्षेत्रमा अनुभव सँगालिसकेका थिए अफ्रिकामा । नेपाल गए । बेल्जियन आरोहीहरुको यात्रामा सहयोगी बने । यो पहिलो भ्रमणले उनलाई लोभ्यायो । त्यो हिमाल । त्यो प्राक्रितिक सुन्दरता । त्यो कठिन जिवनलाई पैताला मुनी दबाएर मुसुक्क हाँस्ने हिमाली जनता । उनी त्यसपछि पटक पटक नेपाल गइरहे । संवन्ध, नातो र चिनारी फैलिँदै गयो । प्रस्ताब गरे साराले, डाक्टर मोरिस तपाई नेपाल बेल्जियम मैत्री संघको अध्यक्ष हुनु पर्छ”। स्विकारे उनले ।

तर खुशि छैनन् उनी यतिखेर । निस्क्रिय झै रह्यो मैत्री संघ । उनको बुझाईमा नेपालमा द्वन्द चर्किएपछि सामाजिक सेवाका क्षेत्र साँघुरिए । त्रास र ब्यवधानले स्थान लिए । भन्छन् “घुम्न जाने पैसो खर्च गरिगरि, परिवार छोडिछोडि अनि ठाउँ कुठाउँ बाटा घाटामा मारपिट र हानाहान भएपछि को जान्छ त्यस्तो देश ? सामाजिक कामपनि गर्नु, त्रासपनि झेल्नु ?” त्यसपछि सुस्ताएको सामाजिक काम, संस्थागत सक्रियताले गति लिन पाएको छैन ।

७२ वर्षे उनको जोवन पत्यार लाग्दैन उनको सक्रियता हेर्दा । फूलबारीमा कुटो र कुदालोसित रमाउँदै थिए म उनलाई भेट्न पुग्दा । अझैपनि मनास्लु हिमालका उचाइहरुमा जोरी खोज्दै हिँड्ने रहर छ उनलाई । दर्जनभन्दा धेरै पटक नेपाल पुगेका उनलाई हिमाल र हिमाली जनताको आकर्षणले तानिरहन्छ । हिमालका उकाली ओराली गर्दा उनले धेरै घाईते, हात सुन्निएका, गोडा कुहिन लागेका गाउँलेको शल्क्रिया गरिदिएर जिवन दिएका छन् । भन्छन् “मैले बाटाघाटामा अलपत्र परेका धेरै बिरामीको उपचार गरें । अहिले ति अनुहार झल्झली सम्झिन्छु ।”

त्यस्तोपनि अस्पत्ताल हुन्छ ? संखुवासभाको अस्पत्तालको हालत देखेका उनी अचम्म मान्छन् । धारो छैन । भएकोमा पानी चुहिन्न । चर्पी भत्किएको छ । बत्तीको नामनिशान छैन । भित्ता कोरिएका, भत्किएका छन् । उपचार गर्ने सामाग्रि छैनन् । न औषधीको कुनै नामोनिशान छ शल्यक्रिया गर्नुपर्‍यो भने । सुत्केरी हुन नसकेर महिला रातबिरात आउँछन् । तर बच्चा जन्माउन उपचार गर्ने साधन सम्म छैन । भएका औजारपनि कोत्रिएर, खिइएर त्यसै मिल्किएका छन् । यातायातको कुनै सुबिधा छैन । बिमान कहिले आउँछ कहिले आउन्न । आक्कलझुक्कल आएका बेलापनि धनीमानी र पैसा हुनेलाई ओसार्छ । गरिव, पहुँच नहुने दुखियाहरु हेरेको हेर्‍यै।  त्यसको दुखेसो गरेपनि सुनिदिने कोहि छैन । सुन्ने कोहि छन् त वरपरका धुर्सुल र बकाइनोका रुखपात र डाँडापाखा छन् । सरकारी अनुगमनकर्ताका आँखा त्यहाँसम्म पुग्न भ्याउँदैनन् ।

त्यो बेथितिको एउटा कारक त चिकित्सक स्वयंपनि हुन् । मोरिसले देखेका छन्, संखुवासभा पुग्नासाथ चिकित्सकहरुलाई नै पीडा हुन थाल्छ । त्यो बिरसिलो पहाड । यतायातको समस्या । बजारसजारको अभाव । सुबिधाबाट टाढा । औषधी, उपकरण र सिप भएका कर्मचारीबिहिन नाम मात्रको अस्पत्ताल । त्यहाँ पुगेको दिनदेखिनै डाक्टरहरु दिन गन्न थाल्छन् “यहाँबाट कहिले मुक्ति पाइएला ? यो ठाउँ कहिले छोडेर हिँड्ने होला?” चिकित्सकहरुले त्यस्तो अस्पत्ताललाई सुधारको प्रयास गर्नु पर्ने हो । दुखिहरुको सेवा गर्न भित्रै देखि तत्पर र सेवाको भावना जाग्नुपर्ने हो । तर तिनलाई त्यहाँ पुग्नासाथै वाक्क लाग्छ । जब सेवाको भावनानै छैन, त्यो ठाउँ पुग्नासाथै कहिले फर्किउँ झैं हुन्छ भने कसरि तिनले राम्रो काम गर्छन् ? तिनले के सेवा दिने ? “मोरिस भन्छन् “बस्न मननै नगर्ने ठाउँमा पठाउनुनै हुन्न त्यस्ता सुबिधाभोगी र सेवाको भावना नभएका चिकित्सकलाई । तिनले उपचार गरेपनि गतिलो नहुन सक्छ ।”

यहि बेथिति देखेर डा मोरिस र उनका सहयोगी अन्य बेल्जियनले संखुवासभाको अस्पत्ताललाई सुधार गरे । बिग्रिएका सामाग्री बनाए । भत्किएका ठाउँ पूनर्निर्माण गरिदिए । नर्सहरुलाइ गाउँ गाउँ घुम्ती सेवाका रुपमा खटाए । शल्यक्रिया गर्ने साधन जुटाइदिए । मोरिस आफैं बसेर चिकित्सकहरुलाई सिकाए । आफैंले बिरामीको शल्यक्रिया गरेर देखाए । मिल्किएझैं भएको अस्पत्ताललाई जिवन दिए । त्यहि प्रयासपछि त्यो अस्पत्तालले राम्रोसित काम गर्न थालेको छ । उनीहरुले बसालिदिएको थितीले राम्रै काम गरिरहेको देख्दा मोरिस खुशि छन् । “मैले सिकाएकै परिपाटीलाई नै निरन्तरता दिईरहेका रहेछन् अहिलेसम्म” रमाए उनी ।

उनमा गज्जाबको सोख छ । नेपालका गुर्रा र मदानी संकलन गर्ने । हुन त उनले आधुनिकताले मिचेर, अँचेटेर मिल्काएका पुराना वस्तुहरु सबै संकलन गर्न रुचाउँछन् । उनको लामो बैठक कोठामा अफ्रिका र नेपालका यस्तै थरी थरी बस्तुहरु सजिएका छन् । तर नेपालका भने मोहि पार्दा प्रयोग गरिने थरी थरीका गुर्रा संकलनमा उनको विशेष रुची छ । मदानीकापनि सौखिन हुन् उनी । त्यसैले उनका भित्तामा थरी थरीका गुर्रा सजिएका छन् । उनकोमा पाहुना लाग्नेलाई उनी ति किन र कसरि प्रयोग हुन्छन्, कसरि मोहि पार्छन् भनेर बेलीबिस्तार लगाउँछन् । “यसले जिवन र संस्क्रितिको जिउँदो ईतिहाँस बोल्छ नी । आजकालकालाई यस्ता पुराना बस्तुको मतलव छैन, मलाई यस्ता चिजले हुरुक्कै पार्छन्” भन्छन् । हरेक पटक नेपाल जाँदा उनी यस्तै यस्तै पुराना चिजमा आँखा लगाउँछन् ।

तपाइँको प्रतिक्रिया