उपलब्धिमुलक रह्यो बेल्जियम यात्रा

रेलबाट ओर्लिनासाथै साथी शेर बहादुर छन्त्याल लिन आए । फटाफट एउटा कोठामा उकाले । ओहो, थुप्रै नेपाली भेला भएका । झण्डै सबै जनजातिका साथीहरु । आफ्नो जातिय, क्षेत्रिय र सांस्क्रितिक पहिचानकालागि एकजुट भएका रहेछन् । आफ्ना मुद्दा उठाउँदै, बहस गर्दै थिए । बेल्जियमका नेपाली सुखि छन् । प्रचण्डले भने झैं सुकिला मुकिला । पैसा कमाउँछन् । मस्ति छ । ह्याँ मस्ति गरेर भाषण छाँट्छन् । यसै भन्थे ।

तर त्यहाँ उपस्थित ५० भन्दा बढि जनजातिका साथीहरु देख्दा त्यो कुरो पत्यार लागेन । कसैका चाम्रिएका हात । चिरिएका औंला । थकित अनुहार । कता कता पुग्नुपर्ने हुटहुटी । पाकेको केस । परिवार उतै नेपालमा छोडेको वर्षौं भैसकेको । शरिर यता । मन जति हुटहुटिएर उता नेपाल । झन राजनितिक अवस्था साह्रै बिग्रिएको । उनीहरुको अवस्थाले बताउंथ्यो, ति सजग छन् । देशको चिन्ता गर्छन् । साह्रै मेहनति छन् । गफास्ट पाराले खान पुग्दैन । काम गर्न, मेहनत गर्न सिकेका छन् । पौरखी हातहरुलाई जाँघरिलो बनाएका छन् ।

ति संस्कितिक रुपमा सचेत छन् । वर्गियरुपमापनि सचेत छन् । पूर्खौं देखि थिचिएको, मिचिएको, अँचेटिएर खिइँदै गएको पहिचानलाई अब लिनुपर्छ भन्ने बुझेका छन् । बिकसित देशको झिलिमिलि । चिल्लो गाडी । सभ्य सडक । आधुनिक सुबिधामै रमाउन पुग्दो हो । तर बँचेको थोरै समयमापनि ति देशमा के भैरहेको छ भनेर बुझ्छन् । कम्तिमा हामीपनि छौं है भनेर ढाडस दिन्छन् । त्यसदिनपनि उनीहरु त्यहि छलफल गर्दै थिए । स्वदेशम होस् कि बिदेशमा । आफ्नो अधिकार, आफ्नो पहिचान, आफ्नो संस्क्रिति र सचेतता जहाँ बसेरपनि सरोकार हुन्छ । सुकिला मुकिला, चिल्ला र चिप्लेटी खेल्न मिल्ने ठानिएका अनुहार होइन रहेछ बेल्जियमका नेपालीको । मैले पहिलो पटक देखेको हुँ सामूहिक जमघट त्यहाँ । अघिल्लो पटक युवराज गुरुङको यति रेस्टुरेन्टमा नेपाली कांग्रेस बेल्जियमको रडाको देखिएको हो। तर राती परेकाले उति मेसो भएन ।

नेपालप्लसका पछिला लेखहरु बेल्जियममा चाख, चर्चा र बहसका नौला विषय बनेका रहेछन् । माया गर्ने, असल र घ्रिणा गर्ने, तर्सिने हरुको संख्या बढेको रहेछ । खुशि लाग्यो । घर एकै ठाउँ, क्याम्पसपनि केहि समय एउटै पढेका साथी प्रेम पाठकसित त्यहिँ भेट भयो । नेपालप्लसम आक्कलझुक्कल लेख्ने सोमनारायण थनेत त्यहिँ मुस्कुराउँदै गर्दा भेटिए । विष्णु भुजेल त्यहिँ रहेछन् । श्रीप्रसाद गुरुङ, मेघ गुरुङ, राम गुरुङ सबै भेटिए । यूरोप स्तरिय लोक दोहोरीमा प्रथम भएका कुल मगर मन्द मन्द मुस्कानमा त्यहिँ थिए । लेखन र फोटोग्राफीमा नाम बढाएका शेर बहादुर “क्या यार मलाई नेता बनाए” भनेर हाँस्दै थिए । “राजनीति गर्न त पत्रकारलेपनि गर्छन् । तर यो राजनिति होइन बढि जातिय अधिकारकालागि हो, लाग्नुस् लाग्नुस्। फेरी सबै जनजातिको संयुक्त कार्यक्रम र पहल ।” मैले भनें । बेल्जियमको मम त्यहिँ चाखियो । सुरेन्द्र भुसालको नेपाली दुतावासमा दादागिरी त्यहिँ सुनियो । आफ्नो मुख्य सुर नेपालीलाई माया गर्ने, नेपाल जानेबुझेका केहि बेल्जियनसित अन्तरंग गर्नु पर्ने । केहि छानिएका नेपालीसित छलफल गर्नु पनि थियो आगामी पुस्तककालागि । छुट्टियौं भेला सकिएपछि ।

साँझ प्रेमजी र सोम नारायणजीले लगे एन्तर्पेन शहर घुमाउन । रातको आन्तर्पेन शहर । बहुलाए झैं सडकका पेटी पेटी छिचोलेर खुब हिँडियो । थनेत जी “तपाइ चुप लाग्नुस् न मलाइ थाह छ” भन्थे केहि बोल्यो भने । यो यस्तो हो यो यस्तो हो ब्याख्या सुनाउँथे । हाफ प्यान्ट र टिसर्टमा हिँड्न पाएको मौसम अनुकुल भैदिएकाले । “नाहि सङहातिओक साथ बडहीँ” फोनमा सायद सोध्दा हुन् परिवारले “कता हो यति ढिला सम्म ?” भनेर । उनी त्यसैको जवाफ दिन्थे “हैन साथीहरुसित छु” भन्दै । म त गम्भिर, उति नबोल्ने होलान् भन्ने सोचेको थनेत जी । ओहोहो, साह्रै रमाइला । मुसुमुसु हाँसि राख्ने । कामपनि ज्यान फालेर, कस्सिएर गर्ने । रमाइलो पनि उस्तै गर्नुपर्ने । अग्लो न अग्लो टावरबाट सुन जसरि धपक्कै बलेको शहर चखाएर फर्किँदा बिहान हुन लागेको थियो ।

दोस्रोदिन ढिलो उठियो । २ बजे आइपुगे स्टिरनिस लुक । नेपाललाई औधि माया गर्ने । विश्वकै लामो पदमार्ग नेपालमा पत्ता लागाउने नेपालप्रेमी । उनीसित गफ मार्दा मार्दै साँझ परिहाल्यो । अनि युबराज गुरुङको यति हाउसमा गइयो । केहिबेर गफ सुनियो । लुकले विकास गैह्र सरकारी संस्था मार्फत नेपाललाई सहयोग गरेका । नेपालको उच्च हिमाली आरोहणमा थुप्रै आरोहीको टोलीसित चिकित्सक बनेर हिँडेका र खाँदबारी अस्पत्ताल बनाउन सहयोग गरेका डा मौरिस भ्रेग्दसित चिनाए । फोनमा कुराकानी गरिदिएर भोलिपल्टकालागि समय मिलाइदिए भेटघाटको ।

साँझ गइयो भेट्न तिनै चिकित्सक मोरिसलाई । उनका नेपालबारेका कहानी सुनियो । यो बिकसित मुलुकको यत्रो सुबिधा भोगेका यी अजिवका प्राणीले नेपालका डाँडा पाखा भोकभोकै हिँडेको, नेपाली वालवालिकाको उपचार गर्न पाउँदा दंग पर्दै दूर्गम गाउँमा बिताएको तिनका मुखबाट सुन्न पाउँदा मन्त्रमुग्ध बनाउँछ । डा मोरिसलेपनि कति हो कति अनुभव सँगालेका नेपालको ।

बुढाले नेपालमा भोगेका, अफ्रिकामा बिताएका क्षणहरु सुन्दा दुई घण्टा बिताएको त पत्तै भएन । साँझ एक नेपाली चेलीले बिदेशमा डलर कमाउन भन्दै आउँदा भोगेका दर्दनाक कहानी सुन्नु थियो । मिलाएका थिए युवराज गुरुङले । उनैको यति रेस्टुरेन्टमा धपेडिँदै आएँ । रातको १२ बज्यो । यतिखेर कहाँ जाने ? रेस्टुरेन्ट बन्द भएको दिन । कुक छैनन्, अन्य काम गर्ने कोहि छैन । युवराजजी आफैं कस्सिए खाना तताउन । निकैबेर गफ गरियो । केहि नीजि केहि सामाजिक । केहि संस्थागत । केहि एन आर एनको नेत्रित्व, एन आर एनको काम । गफ गर्दा गर्दै त बिहान चारलाइपनि उछिनेछ घडीको सुइले ।

आगामी लेख : कहिले सिक्ने बेल्जियमका नेपालीले यस्तो कुरो ?

तपाइँको प्रतिक्रिया