पत्रकारिता कि पर्चाकारिता ?

लक्ष्मण देवकोटा

बिद्दुतिय संचार माध्यमको तिब्र विकासले नेपाललाई गजबको प्रभाव पारेको देखिएको छ । टेलिभिजन र रेडियो जनताका निम्ति जति सहज बन्दै गएको छ अब अनलाइन पत्रिकाबाट सँसारभरिका खबर एकै मिनेटमा पाइने सुबिधा उपलब्ध छ । विद्युतिय संचार माध्यमको विकाससँगै छापा पत्रकारिताको मोह घट्नुको साटो उत्तिकै बढेको छ । नेपालीका निम्ति संचार माध्यम जति सहज बन्दै गएको छ, उत्तिकै यसको विश्वसनियतामा प्रश्न उठ्दै जान थालेको छ । वस्तुनिष्ठता, तटस्थता र निष्पक्षता स्वच्छ पत्रकारिताका आयाम हुन् भन्ने कुरो ओझेलमा परेर जसरी पनि कमाउ भन्ने अस्वस्थ होड बढेको देखिएको छ ।

विदेशमा बस्ने नेपालीहरुको निम्ति बिद्दुतिय संचार माध्यमको अनलाइन उपयोगी प्रविधि हो भन्ने कुरामा अब कुनै शंका रहेन । तर अनलाइन पत्रकारिताको नाममा साभार पत्रकारिताले ठाउँ ओट्न थालेको छ । यौटैका नामका समाचार दशतिर पठाउने, अनलाइन सम्पादकहरुले पनि विना काँटछाँट जस्ताको तस्तै राखिदिने, पत्रकारिताको भाषिक पक्षलाई बिल्कुलै बेवास्ता गर्ने र सत्यतथ्य बुझ्दै नबुझि समाचार सम्प्रेषण गर्दा अनलाइन पत्रकारिताको सदुपयोग भन्दा दुरुपयोग हुन थालेको छ । नेपालमा पत्रिकाको सम्पादक हुन र पत्रिका दर्ता गर्न निश्चित प्रकृया पूरा गर्नुपर्छ । तर अनलाइन पत्रिकाको कुनै नीति नियम छैन । एसएलसीको परीक्षामा नेपाली विषयमा फेल भएकाहरु संसारभरी सबैभन्दा धेरै पढिने अनलाइन पत्रिकाको वरिष्ठ सम्पादकको फेटा गुथेर भाषण गरिरहेका भेटिन्छन् । बहुसंख्यक अनलाइन पत्रिका केवल चलाउनको निम्ति मात्रै चलाइएका छन् । कान्तिपुर र नागरिकको समाचार तानेर पाना भर्नेहरुले पत्रकारिता गरिरहेको भन्न मिल्दैन । त्यो त साभार हो । साभार गर्नको निम्ति कुनै मिहिनेतको जरुरी पर्दछ र ?

प्रवासका अनलाइनहरुको अर्को समस्या भनेको राजनीतिसँग जोडिएको विषय हो । नेपालका राजनीतिक दलहरुले विदेशिएका नेपालीहरु माझ सँगठन विस्तार गर्ने क्रम बढिरहेको छ । विभिन्न मुलुकमा राजनीति गतिविधि हुनु, विचार विमर्श गरिनु राम्रो कुरो हो । यो लोकतान्त्रिक अभ्यास नै हो । तर राजनीतिक पार्टीको कुनै नेता विदेश आउँदा उसँग अघिपछि झोले बनेर हिड्नेहरुले सानो समाचार सम्प्रेषण गर्दैमा तिनलाई पत्रकारिता गरेको कसरी भन्ने ?

नेपालमा राजनीतिक पार्टीको हलिया बन्नेहरुले तिनकै चाकरीमा स्तुतीगान गाइएको औपचारिकता विषयले अनलाइनको पातो रंग्याउने प्रवृत्ति भन्दा खोजीपसे पाइने महत्वपूर्ण सामाग्री पो समाचार हो । यसमा जर्मन निवासी (हाल बेलायत) थानेश्वर सापकोटाले सुजाता कोइरालाको चश्मा बारे लेखेको समाचारलाई उदाहरण नै मान्न सकिन्छ । अहिले त कुनै नेता आयो भने उसको पछि लागेर फलाना ज्यू, महामहिम, वरिष्ठ जस्ता शब्दहरुको अनुचित प्रयोग गर्दा पढ्ने पाठकहरु समेत लाजले पानी हुनुपर्ने स्थिति छ । यस्तो स्थितिको अन्त्य गर्नको निम्ति पत्रकारिताको न्यूनतम ज्ञान लिने तर्फ संचारकर्मी हुन तम्सिनेहरुले बल गर्नुपर्यो ।

अनलाइनको सदुपयोग जत्तिकै छ दुरुपयोग पनि उत्तिकै भइरहेको छ । विचार नमिल्दैमा वा कुनै आग्रह पूर्वाग्रहका कारण बदनामी गर्ने नियतले हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेषणले निर्दोष मानिसमाथि अन्याय हुन गएका केही उदाहरण पनि छन् । समाचार लेखेपछि जवाफदेही हुन नपर्ने खालको वातावरणले खराब नियत भएका व्यक्तिहरुले अनलाइनको उत्तिकै दुरुपयोग गरेका छन् । तर सत्य तथ्य छ भने नडराइकन समाचार लेख्नेहरु पाठकका नजरमा पुरस्कृत पनि भएका छन् ।

प्रवासको पत्रकारितालाई हेर्दा साँगोपाँगो पत्रकारिता भन्दा पनि पर्चाकारिता र लहडको माध्यम बन्न थालेको देखिएको छ । उत्कृष्ट नै छैनन् भन्ने होइन । तर पत्रकारिताको ज्ञान भएकाहरु मौन बस्ने र लहडीहरुले मनमौजी कि बोर्डका क्याप्चा चलाउन थाल्दा न सही सूचना प्रवाहित भएको पाइन्छ । न ज्ञान मनोरन्जन पाइएको छ ।

सही र सत्य पत्रकारिता गर्ने हो भने राजनीतिक दलका हलिया हुने दास मानसिकता यी प्रवासी पत्रकार बन्धुहरुले त्याग्नै पर्छ । अर्काको समाचार तानेर आफ्नो पातो भर्ने होइन । चारवटा कुरा भएपनि आफ्नै खोजीले खोजेर छाप्दा राम्रो होला । केही अपवादहरुलाई छोडेर नेपालका सँचार माध्यमहरुमा प्रवासका विषयहरुको सशक्त रिपोर्टिँग भएको पाइएको छैन । नेताको पछाडि दौड्ने नेपाली मिडियाको यो प्रवाहलाई नेपालीसँग सरोकार भएका विषयहरु दिन सकियो भने त्यसको सकारात्मक प्रभाव नै पर्न जानेछ ।

केही बडे छन् प्रवासमा जो त्यसै गजक्क फुल्दछन् । वर्षमा चारवटा समाचार लेखेर नेपाल छँदा म ढिम्को पत्रिकाको सम्पादक र प्रकाशक थिएँ भनी फूर्ति लगाउन छाड्दैनन् । ती ह्याँगओभर पत्रकारहरुले पनि पत्रकारिताको दुरुपयोग नै गरेका छन् । टीभी र रेडियोको होडमा गाउँ सँचारमय भैसकेको छ । ती बडेहरु छयालीस साल वरपरको नेपाल र उस बखतको कर्म सम्झेर फूर्ति हाँकेकै भेटिन्छन् । यो जम्मै कुराको उचित बन्दोबस्त र व्यवस्थापन भएन भने न पत्रकारिताको इज्जत रहला न पत्रकारको । संचार क्षेत्रमा काम गर्ने मित्रहरुले यसबारेमा सोच्ने कि ?

(देवकोटा नेपाल पत्रकार महासंघका पूर्व पार्षद नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सचिव हुन् । उनले आफूलाइ लागेको विषयमा स्वतन्त्रपूर्वक नेपालप्लसमा नियमित स्तम्भ चलाउने बचन दिएका छन् । )

तपाइँको प्रतिक्रिया