“बाबै’नी नसकिने भो यो शेर्पासित”

उता सगरमाथाको टुप्पोमा धेरै पटक पुग्ने, बिना अक्सिजन आरोहण गर्ने लगायतका उच्च हिमाली आरोहणमा विश्व किर्तीमान राखिरहेका छन् नेपाली शेर्पाले । यता बिदेश भासिएका शेर्पालेपनि आफ्नो देश, समाज र जातिको नाम राखेर फ्रान्सेलीलाई छक्क पारे । थाङ्काको कलासित रमाउने साँगे शेर्पाले फ्रान्सको बेसकँसो क्षेत्रमा भएका दुई भिन्न दौडमा फ्रान्सेलीलाई उछिनेर प्रथम भए । हिमालका हिउँमा सुत्ने, हिम पहिरोसित लुकामारी गर्ने; हिमाली सिरेटोसित पौंठेजोरी खेल्ने, खुकुरीका धार जस्ता भिराला र अलकत्रा जस्ता दाह्रे चट्टानमा ग्रप ग्रप नांगा खुट्टालेपनि हिँडेर पश्चिमेलीलाई जिल्ल पारेका शेर्पा बारे सोच्थे, यी शेर्पा सम्म ठाउँमा हिँड्न पर्‍यो भने सक्दैनन् । तर त्यसलाई हिउँका पारखी शेर्पाले भ्रम साबिद गरिदिए । माध्यम बने साँगे शेर्पा । एक पटक भए त लौ एउटा शेर्पाको छोरोले झुक्किएर जित्यो भन्ने थिए होला । दुई पटकनै अरुलाई पछारेर उनी प्रथम भएपछि त फ्रान्सेलीले जिब्रो टोके ‘बाबै नी नसकिने भो यो शेर्पासित ।’ अनि त फ्रान्सेलीहरु भन्न बाध्य भए “आबुई यो नेपाली भाई त कति दह्रो बाइ”। साँगे शेर्पाले लेखेको ब्लग र प्रतियोगिताका केहि तस्विर हेर्नुस् है त ?

साङ्गे शेर्पा / बेसकँसो, फ्रान्स

उफ…….. कति काम काम मात्रै भनिराख्नु पर्ने । बिहान उठ्यो । काममा गयो । काम सिद्दिनु पाछैन घर फर्किने चिन्ता । टक टक टक घडीको सुइले फन्को मारेको हेर्दा हेर्दा आफूलाई उल्टै रन्को चलेर आउँछ । सधैं उही एकोहोरो दैनिकी, दिक्क लाग्दो….. । दिमागलाई अली हल्का गराउन केही न केही त गर्नैपर्‍यो ! साथिभाइसँगको भेटघाट । मनोरन्जन अनि स्वस्थ रहन अली अली शारीरिक ब्यायाम गर्न लागियो ।

दिनभरीको कामले बोझ भएको शरीरलाई आधी घण्टा मात्रै भए पनि दौडिन पाए कति आनन्द हुन्छ । दुई बर्ष अघि १/२ किलोमिटर दौडिनलाई स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै दौडिनुपर्थ्यो । तर आज लगातारको मेहेनत पछि ३०/४० किलोमिटर आरामसँग पार गरिँदो रहेछ् । हरेक सप्ताहन्तमा नयाँ नयाँ ठाउँहरूमा दौड प्रतियोगिताहरू भैराख्छ । मौका मिल्यो भने यसो म पनि भाग लिन्छु । नौलो ठाउँ घुम्न पाइने । नयाँ साथीहरु पनि बनाइने । लौ अब त यो दौडिने बानीपनि नसा सरिनै पो हुन थाल्यो मेरो लागि । यो बर्ष त झन् दुई वटा प्रतियोगितामा प्रथम हुने मौका पाएँ । “आबुइ ! यो नेपाली भाइ त कति दरो बाइ” सबैजना मेरो बारेमा कुरा गर्थे । अझ यहाँको स्थानिय पत्र पत्रिकाहरुले पनि खबर छापेर नेपाल र नेपालीहरूको बारेमा चर्चा गरेको देख्दा त नाक फुलेर घिरौला जस्तै हुँदो रैछ भन्या …..!

तपाइँको प्रतिक्रिया