बयलगाडामा क्याम्पस प्रमुख

• शिवराज पन्थी / दाङ (तस्विर पनि)

गढवा बहुमुखी क्याम्पसका प्रमुख दीपककुमार यादवलाई मोटरसाइकलभन्दा बयलगाडा (गोरु गाडा) नै मनपर्छ । क्याम्पसबाट घर फर्केपछि हत्तपत्त बयलगाडा चलाएर खेतबारीमा जाने उनले त्यसलाई आफ्नो सारथी नै बनाएका छन् । नेपालको तराई मूलका सदियौ पुराना आदिवासी जनजाति यादव समुदायका बासिन्दा दीपक देउखुरीस्थित गढवा–४ बालापुरमा वस्छन् । सादा जीवन उच्च विचारका धनी उनी बिहानै पैदल हिँडेर क्याम्पस जान्छन् ।  दिउँसो नजिकैको उच्च माविमा अध्यापन गर्छन् । घर फर्केर हत्तपत्त बयलगाडा चलाएर खेतबारीमा मलखाद तथा गोबर बोक्नु उनको दिनचर्या हो ।

परिश्रमी जीवन बिताउने उनलाई ऐस / आराम कहिल्यै चाहिएन । न त टाईसुट नै चाहियो । उनको यस्तो दिनचर्याले स्थानीयबासी दङ्ग छन् । ‘तीन बिगाहाभन्दा बढी जग्गा छ । सबै जग्गामा म आफैं खेती गर्छु । उत्पादन पनि राम्रो हुन्छ । बयलगाडाले गोबर मल तथा बीउ खेतमा लैजान्छु । उत्पादन भएको खेती बयलगाडामा नै राखेर ल्याउँछु ।’ यादवले बताए, ‘घर बनाउँदा इँट्टा, बालुवा, गिट्टी, सिमेन्ट, छड सबै बयलगाडाबाटै ढुवानी गरें ।’ मिहनेती यादवले यस वर्ष १० कट्ठामा उखु रोपेका छन् । मेहनत गरेर न त सानो भइन्छ, न त अरुले के भन्लान् भन्ने लाज नै लाग्छ उनलाई । दुई दर्जन बढी पशुपालनसमेत गरेका क्याम्पस प्रमुख यादव आफ्नै मिहनेतबाट फलाएको धान मकै गहु“ मसुरो गरी ३० क्विन्टल बढी अन्न बेच्छन् ।

२०६४ सालमा त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर गरेका ३४ वर्षीय यी युवा भूगोलमा त्रिवि कीर्तिपुरमा उत्कृष्ट स्थान हासिल गरी विदेश पढ्न जाने अवसरसमेत पाएका थिए । तर उनले आफ्नै गाउँमा बसेर शिक्षण पेशामा लाग्ने निधो गरे । क्याम्पस पढ्ने बेलामा पनि अध्यापन कार्यमा खटेर आर्थिक जोहो गरी पढ्न सफल भए ।

यादव साहित्य लेखन र समाजसेवा, राजनीतिमा पनि रुचि राख्छन् । कोमल कविता संग्रह (नेपाली) र कोमल गीतमाला (अवधी) गरी दुई वटा कृति प्रकाशन गरेका उनी विभिन्न साहित्यिक संघ संस्थामा समेत संलग्न छन् । देउखुरी साहित्य तथा सांस्क्रितिक मञ्चको कोषाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको सचिव, यादव संस्कृति एक परम्परा नामक पुस्तकको कार्यकारी सम्पादक, अवधी भाषा विकास परिषद, नेपाल अवधी सांस्कृतिक

संरक्षण प्रतिष्ठान र अखिल नेपाल शिक्षक संघ दाङका सल्लाहकारसमेत छन् । विद्यार्थी संघ दाङका पूर्वसचिव र तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्यसमेत रहेका यादव राजमो दाङ देउखुरी क्षेत्र नं. १ बाट गत संविधानसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारसमेत थिए । स्थानीय कृषि तथा सहकारी संस्थाहरुमा पनि सम्बद्ध यादव सामाजिक सेवातर्फ सक्रिय र पक्का किसान हुन् । उनको घरवरिपरी फलफूलको सुन्दर बगैंचा छ । बहुप्रतिभाका धनी यादव गीत / संगीत साहित्य र कलाप्रति पनि रुचि राख्ने व्यक्तित्व हुन् । क्याम्पस प्रमुख भएर पनि उनको बयलगाडा जीवन यस क्षेत्रका लागि निकै चर्चा परिचर्चाको विषय बनेको छ । यादवले जस्तै कृषि पेशाप्रति सबै शिक्षित वर्गले ठालु मानसिकता त्याग्न सके देश उभो लाग्न सक्छ । यसरी क्याम्पस प्रमुखको वयलगाडा दिनचर्या सामाजिक अनुकरणीय विषय बनेको छ ।

(जनपहुँच चैत्र २०६८ बाट)

तपाइँको प्रतिक्रिया