तामाको तरकारी खाँदापनि बेल्जियममा अपराध ?

 ● सिद्धार्थ / बेल्जियम

शान्तिका दुत गौतम बुद्धको जन्म स्थल पबित्र लुम्बिनीलाई हामी नेपालीहरुले नै ओझेलमा पारेका छौं | जसको ज्वलन्त सानो उदाहरण फ्रान्सको पेरिसमा हुन गैरहेको “एकल नृत्य प्रतियोगिता” को लोगोले पनि दर्साउँछ | नेपाललाई संसारको जुन कुनामा पनि चिनाउनुपर्यो कि सगरमाथालाई हत्त न पत्त ठ्याक्क अगाडी तेर्साईहालिन्छ | सगरमाथा भन्दापनि अग्लो नेपालीहरुको मन छ | तर त्यो अग्लो मनमा सगरमाथा बाहेक नेपालका अन्य धरोहरहरु कहिले बस्न सकेनन  | त्यसैले बर्सौदेखि भारतले हाम्रो लुम्बिनीलाई गिद्धे दृस्टी लगाएर अनुचित लाभ लिईरहेको छ | भारतले बुद्ध जन्मिएको ठाउँ लुम्बिनी भारतमा पर्छ भन्ने भ्रम सिर्जना गरि बुद्ध जन्मिएको ठाउँ हेर्न नेपाल आउनुपर्ने लाखौ पर्यटक भारत भित्राईरहेको छ र पर्यटकहरुबाट हुने अथाह आर्थिक तथा अन्य लाभलाई मध्यनजर गरि नक्कली लुम्बिनी निर्माणमा भारत लागिपरेको छ | जसको फलस्वरूप सक्कली लुम्बिनीको नाम निसान हराउला भन्ने त्रास बढदो छ |

हामी नेपालीहरुले आफ्ना धरोहर, संकृति तथा चाडवाडहरुका प्रचार प्रसार गर्ने प्रसस्त बाटोहरु पाउँदापनि हामी चुक्ने गर्छौ | पछिल्लो समय “धुमधामले मनाइयो पेरिसमा फागु” शीर्षकमा ददीजीले “सम्भबत यूरोपको नै पहिलो फागु” पनि भन्नु भयो र त्यति ठुलो कार्यक्रम हुँदापनि के कार्यक्रम हो यो ? के पर्ब हो यो ? भन्ने सामान्य कुरा सहित स्टेजमा टाँगिएको ब्यानरमा उल्लेख थिएन । ददीजीले लेख सहित प्रकासित गर्नु भएको फोटाहरु हेर्दा फ्रान्सेलीहरुको पनि जमघट देखियो । बुझ्न अगाडी सर्नेले त सोधखोज गरेर पनि कुन नेपाली पर्बमा सहभागिता गर्दैछु भन्ने पत्तो पाए होलान । नत्र अलि संकुचितहरुले त रंग दले । नाचेको हेरे । खाना खाए । गए ।

हामी विदेशमा बसेका नेपालीहरुले हाम्रो संस्कार र संस्कृति झल्किने कुनैपनि कार्यक्रम गर्छौ भन्ने खिल्ली उड्ने तरिकाले कहिले गर्नु हुन्न । हामी विदेशमा बसेका नेपालीहरुले कुनैपनि चाडबाडको कार्यक्रम सस्थागत रुपमा गर्छौ भने खाने, पिउने र मोज गर्नेमा मात्र सिमित नरहोस् । जब यस्ता खाले कार्यक्रम हुन्छ त्यो बेला मा हाम्रो समाजमा बेदेशीहरुको पनि अबश्य सहभागिता हुन्छ । त्यो बेलामा खाने पिउने बाहेकपनि त्यस कार्यक्रमको मुल चुरो उनीहरुले हेर्न खोजेका हुन्छन । मुल चुरो भनेको हामीले संस्क्रितिको जगेर्ना गर्दै हाम्रा चाडबाडहरु ति मान्छेहरुका माझ चिनाउनु हो । मुख्य गुदी चखाउनु हो । हामी नेपालीहरु जे कुरा गर्न पनि तम्तयार हुन्छौ । तर हामीमा योजनाबद्द, दुरदर्सिताको कमि छ । आलोकाचो काम गर्ने सस्कारले ग्रसित छौ । त्यसैले हामी जुनै क्षेत्रमा पनि थलिएका छौ । हाम्रा धेरै कुरा हरु राम्रा हुँदाहुँदै पनि हामीहरुले बिदेशीहरुलाई कुरो बुझाउन नजानेर हामी र हाम्रा रहन सहन तिरस्कृत भएका छन् ।

कुरो २००५ सेप्टेम्बर तिर को हो । साथी अन्जनले खाना खान घर मा बोलायो । “टिपिकल नेपाली खाना” खाने सहमति भयो । सबै कुरा संगै तामा, बोडी र भेडाको मासु मिसाएर बनाएको परिकार बिसेष हुने भयो । काठमाडौँको रैथाने ज्यापू अन्जनले त्यसको जिम्मा लियो र मैले अरु कुराको । खाना पाक्ने क्रम चलिरहेको थियो । एक्कासी अपार्टमेन्टको ‘डोर बेल’ बज्यो । अन्जनले को रहेछ मैले त कसैलाई पनि बोलाएको त छैन भन्दै ढोका खोल्यो । करिब ३७-४० वर्ष जतिको एउटा बेल्जिक रिसाए जस्तै गरि सोध्यो “तिमिहरु के पकाउँदै छौ ? यसको नमिठो गन्धले म मेरो कोठामा बस्न सकिन । तुरुन्त बन्द गर भनेर हाम्रो केहि कुरा पनि नसुनी सरक्क त्यहाँबाट गयो ।

कुरो बुझ्दा बिल्डिंगको एकै तलामा रहेको अर्को अपार्टमेन्टमा बस्ने मान्छे रहेछ । तामाको गन्धले पुरा तल्लो नै हाम्रो लागि बास्नामय र उसको लागि दुर्गन्धमय भएको रहेछ । मानव अधिकारको जगजगी भएको यूरोपको यो एउटा सानो देश बेल्जियमका ति नागरिकको हामीले तामाको गन्ध मार्फत उसको आफ्नो कोठामा बस्ने अधिकार हनन गरेर बेल्जियमको कानुन उलंघन गरि अपराध गरेका थियौं । अब के गर्ने दोधार भयो । आफ्नो नेपाली खाना खाने रहर चौपट हुन लागेको देख्दा रिस उठिरहेको थियो । तर पनि यी सबै कुराको बीच भित्र तामा र बोडी ९० % पाकिसकेको थियो । पछिल्लो समयमा थपेको पानी मात्र उम्लिन बाँकि थियो । पानी नउम्ले पनि तामा, बोडी र मासुको परिकार कस्सिएर तातो नै थियो । त्यसैले चल्छ भन्ने सहमति भयो र स्वादले भोजन पनि गरियो किनकि हामीले अरु पकाउनतिर लागेको भए झन गन्ध फैलिन्थ्यो र ति मान्छेले पक्कापनि पुलिसलाई खबर गर्थे । त्यसैले हामीहरुले जोखिम नमोल्ने निर्णय गरेका थियौं । त्यसपछि म अर्द्ध मज्जा सहित आफ्नो घर आएँ ।  २ दिनपछि अन्जनले मलाई फोनमा यस्तो कुरा सुनायो । त्यो कुरा सुनेर मन खुसि भयो । तामाको गन्ध मार्फत गरेको अपराध माफ भएछ । कुरो यस्तो थियो ।
 
बोडी र तामा पकाएको भोलि पल्ट सोहि मान्छे सित अन्जनको फेरी कुरा भएछ । र अति नम्र भाबमा तिनले त्यो गन्ध बारे जिज्ञासा राखे छन् । साथी अन्जनले ति बेल्जिकलाई आफ्नो कोठामा स्वागत गरि तामाको बारेमा सबै कुरा अर्थ्याएछ । जसको लागि अन्जनले इन्टरनेटको सहयोगपनि लिएछ । इन्टरनेट खोलि बाँसका टुसाबाट बन्ने नेपाली परिकारका फाइदा बेफाइदा र पकाउने बिधिहरु छर्लंग पारेपछि पो ति बेल्जियमका नागरिक दङ्ग परेछन र पछिल्लो तितो व्यवहार प्रति खेद प्रकट गर्दै तामा र बोडीको त्यो नेपाली परिकार उनलाई पनि चखाउन अनुरोध गर्दै बिदा भएछन । अहिले सुनिन्छ, उनि मात्र होइन उनको ससुराली घरमा सहित बासका टुसा फ्रिजमा स्टक सहित हुन्छ रे “टिपिकल नेपाली खाना” बोडी र तामाको तरकारी बनाउनलाई ।

प्रसङ्ग हामी विदेशमा भएका नेपालीहरुले हाम्रा धरोहरहरु तथा चाडपर्ब, कला र संस्क्रितिको सम्मान र हामी बसोबास गरिरहेका देशका बासिन्दाहरुमा के कस्तो तरिकाले हाम्रा रहन सहनको सहि जानकारी गराउन सक्छौ भन्ने हो । नेपालप्लसका अन्य पाठकहरुले पनि यस्ता जानकारी मुलक र नेपाली सांस्क्रितिक कार्यक्रममा भएका त्रुटीहरुलाई इंगित गरिएका लेख तथा प्रतिक्रिया पठाई ददीजीलाई सहयोग गर्न अनुरोध गर्दछु ।

तपाइँको प्रतिक्रिया