केहि काम गरौं भन्यो नेपालीका गफै चर्का

युवराज गुरुङ /एन्तर्पेन, बेल्जियम

हामीसितपनि योजना छन् । अक्किल र बिचार छन् हाम्रा उत्पादनहरु यहाँ स्थापित गर्ने । फाइदा लिने र फैलाउने । सुबिधा लिने । आउनुस् बसेर छलफल गरौं । हाम्री तेस्रो मुलुकका नागरिक भएकाले कति सेवा र सुबिधा देलान, प्रतिस्थापन गर्लान् भन्ने आफ्नो ठाउँमा छ । बसेर छलफल गरौं भन्छन् राजदूतले । तर त्यो कुरो कतिखेर हुन्छ त भन्दाखेरि मञ्चबाट भाषण दिने क्रममा । तर त्यसरि भनेर त मान्छे विश्वस्त हुँदैन । पहिले त मान्छेले बुझ्छ । बुझेपछि बल्ल चाख लाग्ने हो ।

मान्छेलाई क्रिकेटमा रस बस्न त क्रिकेटको नियम थाह हुनु पर्यो नी । कुरो त ठिक हो तर त्यो कहाँ जान्छ जान्छ । किनभने हामीसित त्यो विषयमा जानकारी छैन । सामूहिक रुपमा केहि गरौं भन्ने हो भने यहाँ सामान्य महिलाले पनि, त्यो ढुकुटी खेल्नेलेपनि पाँच हजार यूरो निकाल्न सक्ने अवस्था छ । तर उसलाई विश्वास दिलाउन सक्नु पर्‍यो । कि त उसलाई तिम्रो प्रति महिना यति आउँछ भनेर निश्चित गर्न सक्नुपर्‍यो । कि त हामीले शेयरका रुपमा यसरि यति यति लगानी गर्न सकिन्छ भनेर बुझाउनुपर्‍यो । त्यो हामीले पनि बुझाउन सकिएको छैन । राउण्ट टेबल बसेर छलफल नगरेपछि कुरै कुरामा सिमित हुन्छ ।

हामी नेपाली समूदायसित कति हुन्छ त रकम एक मुस्ट उठाउने हो भने ? कम्सेकम यत्ति रकम छ भन्ने त हुनु पर्‍यो कुनै काममा, कुनै संयुक्त व्यवसायमा हात हाल्नको लागि । त्यो निश्चित गरेर जाउँ न त भनेर मैले भनेको हो । हुन्छ हुन्छ त भने । तर अड्डि कसेर अगाडि बढ्ने काम भएन । ठूलो कुरो नगरौं । हामी ५० जना ब्यवसायीले पाँच हजार यूरोका दरले निकालौं नेपाल र नेपालीका लागि भन्ने शिर्षकमा आँख चिम्म गरेर । त्यो निकाल्न सकिन्छ । दुई लाख पचास हजार यूरोको थैली लिएर दूतावास जाने । हामीसित यति छ थैली । यसबाट के हुन्छ ? के गर्न सकिन्छ ? कुन क्षेत्रमा सहयोग हुन्छ ? सरकारी स्तरबाट कतिसम्म गर्न सक्नुहुन्छ ? दूतावासले के कति गर्छ ? शुरुमा त हामी अगाडि बढे पो अरु मान्छेलेपनि लगानी गर्न सक्छ हैन र ?

लगानीपनि यस्तो क्षेत्रमा गरौं कि त्यो जतिपनि फैलाउन सकियोस् । शुरुमा एउटा प्रस्ताब चाहिँ लिएर जाउँ दूतावासमा जति रकम हुन्छ । किनभने राजदूतले पटक पटक आव्हान गरिसक्या छ । ल त एउटा मिटिङ लिउँ भनेर सल्लाहपनि भैसक्या थियो । त्यत्तिकै फेरी अर्को प्रस्ताब आयो । त्यो बेला दूतावासले दशैंको भोज बोलाएको थियो । त्यसमा के कुरो भयो भने ल हामीले एउटा नेपाली घर बनाउँ, नेपाल हाउस । एउटा सामाजिक संस्था दर्ता गर्ने । ठूलो घर किन्ने । ठूलो प्रांगण भएको पुरानो घर । दुई चार सय नेपाली अटाउन सक्ने हलसहितको । अनि नेपाली चाड पर्व र अरु सबै क्रियाकलाप त्यहिँ गर्ने । त्यसलाई सञ्चालन गर्ने एउटा समिति र नियम बनाइदिने । दुई जना हेरचाह गर्ने मान्छे राखिदिने । बैंकले दिने हो ऋण । संभावना भएका आठ दश जना साथी गएर ऋण आबेदन हालेपछि पत्याउँछ । त्यहिँको क्रियाकलापबाट उठेको पैसाले बैंकको ऋण तिर्न पुग्छ ।

बाउ आमाको काज क्रिया ब्रतबन्ध त्यहिँ गरोस् । कसैले ढ्याङ्रो ठोक्छ त्यहिँ ठोकोस् । दूर्गा माताको गरोस् कि साईबाबाको पूजा गरोस् । त्यहि जाओस् । आआफ्नो आस्था अनुसार, प्रचलन र रिति अनुसार गर्छ । कसैले जिन्दाबाद गर्ला कसैले मूर्दाबाद । सर्वसम्मत नियम र परिधि बनाएर गरौं । किनभने बेलायतमा नेपालीले गरिसकेका छन् । देखेर आइयो ।

हामी नेपालीलाई कुनैपनि सार्वजनिक कार्यक्रम गर्न यहाँका सार्वजनिक हलहरु प्रतिबन्धित भैसके । हामीलाई प्रयोग गर्न आउँदैन । चर्पी प्रयोग गर्न राम्रोसित जान्दैनौं । त्यसको मूल्य र मान्यता अनुसार राम्रोसित चल्न सक्दैनौं हामी । एक चोटी हल पायो भने दोस्रो चोटी मरिकाटे पाउँदैन नेपालीले । फ्रान्समापनि हामीलाई मिल्ने खालको हल यहि हो, त्यसैले यहि लिएको भन्दै थिए साथीहरु । लक्जमवर्गको कथा सुन्यो त्यहाँपनि त्यस्तै छ । त्यहाँपनि हल पाउन छोडिसके । शुरुमा राम्रो हल पाइन्थ्यो । हामीलाई खानामा बेसार नहालि हुँदैन । तेल नपोखाए हुँदैन । काँटा चम्चा चलाउन हामीले जान्या छैन । चुइगम खाएपछि टेबलमा लगेर टासिदिइराखेको हुन्छ । त्यो त आज नदेखेपनि भोली त देख्छ ।

हामीलाई खाँचो छ सामूदायिक हलको । हामी किन्नपनि सक्छौं भन्ने कुरो भयो । तर सल्लाह हुँदा कुरो त ठिकै हो भन्ने कुरो भयो फेरी । एन आर एनले हरेक देशलाई प्रेरित गर्छ यस्तो हल बनाउन । तर केन्द्रले बन्नु अघिनै हामीमा त्यो सोच आइसकेको हो । त्यो गर्न सकिन्छ । सकिने कामपनि गरिराखिएको छैन । जस्तो: शुरुमा सानो चमेना ग्रिह जस्तो खोलेर त्यसमा केहिले रोजगार पाउने जस्तो अवस्था थियो । काम गर्ने पेपर नै नभएपनि । म तमु समाजमा हुँदा मेरै कार्यकालमा त्यो शुरु गरियो । किनभने त्यतिखेर तिन चार जना साथीहरु गैह्र कानुनी थिए । युके जान भनेर ति बिहान बिहान हिँड्थे । ट्रक चढेर जान भन्दै । कहाँ लगेर छोड्थ्यो ति सांझ फर्केर आउँथे । ठूलो ठूलो ट्रक रोखिराखेको हुन्छ । ठूलो ठूलो पर्दा लगाएको । दलाललाई भन्यो । उसले पर्दा च्यातेर मालबाहक ट्रकमा भित्र घुसाइदिएर फेरी टेपले टास्ने रहेछ । ड्राइभरलाई थाहै हुन्न । दलालले गर्ने हो त्यो । यो ट्रक लण्डन जाने हो भन्ने अन्दाज गर्ने हो त्यहिपनि ।

त्यसरि छिर्दा कहिले सागै साग बोकेकोमा । कहिले कुखुरै कुखुरा बोकेकोमा पर्ने । ट्रक गएर कहिले फ्रान्सतिर बसिदिने । कहिले जंगलमा रोकेर बसिदिने । निरिक्षण गर्दा पुलिसले देख्यो भने कट्टुसट्टु लगाएर गुतुतु भाग्यो । अनि हिँड्यो । पुलिसले समात्यो भने एक रात राख्छ समातेर अनि फर्काइदिन्छ । चार पाँच वर्ष अगाडिसम्म खुब हुन्थ्यो । यहाँबाट उता जाने सबै त्यहि त हो तरिका । जर्मनीले मान्छे खेद्न थालेपछि भोलीपल्ट बेल्जियम आउने । यहाँको क्याम्पमा दर्ता गरेर बस्ने दिनभरि । त्यसपछि ट्रकमा बेलायत जान शुरु गरिहाल्ने ।

(गुरुङ एन आर एन बेल्जियमका प्रथम अध्यक्ष त हुन नै, स्थानिय नेपाली ब्यापारी पनि । उनी बिभिन्न संघ संस्थामार्फत सामाजिक काममापनि सक्रिय छन् । यहाँ ब्यक्त बिचारहरु केहि महिना अघि मेरो बेल्जियम भ्रमणका क्रममा उनले ब्यक्त गरेका हुन् । उनका विचार अझै सामयिक लागेर यहाँ राखिएको हो । बाँकि प्रसंगपनि राखिदै गइने छ । बेप्रसंगका प्रतिक्रिया नराख्न अनुरोध छ । बरु उनले ब्यक्त गरेका ब्यापार संवन्धि धारणामा बहस चलाउने र आफ्ना धारणा बिचार सामयिक हुन सक्छ )

तपाइँको प्रतिक्रिया