शान्तिको खोजी गर्दै नेदरल्याण्ड्सका नेपाली

पुष्प बरुवाल / आमस्टरडम, द नेदरल्यान्डस

के गर्नु धन मात्रै भएर शान्ति छैन भने ? उच्च शिक्षा छ मनमा शान्ति छैन । भौतिक सुविधा सबै छ तर मन अशान्ति छ । जुनसुकै सफलता हात लागोस् मन हुटहुटिन्छ । मन अस्थिर हुन्छ भने मानव जिवन कसरि खुशि हुन सक्छ ? सुखि बन्छ ? समाज चेतनायुक्त तब हुन्छ जब उसले आफू मात्र होइन यो चराचर जगतलाई बुझ्नसक्छ । त्यो कसरि बुझ्ने त ? यसका लागि आध्यात्म ज्यादैनै जरुरी हुन्छ भन्ने कुरो मानिसहरुले बल्ल बुझ्दै आएका छन् । त्यहि आध्यात्मिक ज्ञानको मूल सन्देशका साथ राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डसले नेदरल्याण्डसको एम्सटरडम सहरमा मधुर शन्ति यात्रा (बिज्ञानयुक्त आध्यात्मिक यात्रा) कार्यक्रम गर्‍यो। 

आखिर शान्ति को खोजिमा त सबै छन् । सबैलाई शान्ति  चाहिएको छ । आध्यात्मिक ज्ञानको खाँचो छ शान्तिकालागि । यस्तो कार्यक्रममा चासो नहुने त कुरै छैन । नेपालीहरुले खुब चासो दिए । मानिसमा बिभिन्न कारणले हुने तनावबाट आफूलाई कसरि मुक्त राख्ने ? त्यसका तरिका के के हुन् ? अबलम्बन गरिनुपर्ने उपायहरु कस्ता छन् ? यी लगायत मानव-मानव बीचको सुमधुर सम्बन्धको बिकासमा आध्यात्मवादको महत्व र यसको प्रभावलाई दर्शाउने उद्देश्यले आयोजित गरिएको थियो। कार्यक्रममा राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डसका अध्यक्ष  फणिन्द्र पन्तले सूर्य प्रणायम लागायतका योगका भौतिक अवयवहरुबारे जानकारी दिए । महासचिव गोबिन्द खरेलले आध्यात्म र बिज्ञानका बिच योगको महत्वको बारेमा प्रष्ट पारेर धेरैको कौतुहलता मेटाइदिए । दूवैजना आफै पनि योगका अनवरत साधक भएकोले तिनका ज्ञान साझेदारी गर्न पाउँदा सहभागिहरु खुशि हुने नै भए ।

महत्वपूर्ण के थियो भने यो कार्यक्रम प्रवचन जस्तो मात्रै थिएन । बरु योगको महत्व र तरिकाहरुका साथै योगले मानव जीवनमा पार्नसक्ने प्रत्यक्ष असरहरुका बारेमा शिक्षा प्रदान गरेर सचेत त पारियो नै, सहभागिहरुलाई योगाभ्यास समेत गराइएको थियो ।

कार्यक्रममा मानव र मानवीय स्वरुपको बनावट, व्रम्हाणीय सृष्टि तथा बाहिरी जगत र आध्यात्म बीचको सम्बन्धका साथै यसले मानव जीवन र समाजमा ल्याउन सक्ने परिवर्तनका बारेमा समेत वैदिक र वैज्ञानिक ढंगबाट प्रष्ट पारियो । यसप्रकारको कार्यक्रम नेदरल्यान्डसमा रहेको नेपाली समूदायमै पहिलो भएकाले पनि यसको विशेष चासो र महत्व हुने नै भयो । त्यसैले गर्दापनि होला, उपस्थित सम्पूर्ण सहभागिहरु ज्यादै खुशी देखिए । आफ्नो कार्यव्यस्तता र अन्य कारणबाट सिर्जित आन्तरिक तनाव दूर गरी आध्यात्मिक शान्ति प्रदान गर्ने यसप्रकारको कार्यक्रमलाई उदाहरणीय मात्र नभै भावी पिढिका लागि सत्मार्ग देखाउन सहायक हुने भएकाले पनि यो कार्यक्रममा उपस्थित सबैले आयोजक संस्था र योगका गुरुहरुलाई बिशेष धन्यवाद दिए ।

राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डस बिदेशमा स्थापित भएर पनि नेपाली कला, संस्कृति एवं सांस्कृतिक उत्थानका लागि धेरै अघिदेखिनै लागिपरेको संस्था हो । अझ यसप्रकारको बिशुद्ध आध्यात्मिक र सामाजिक चेतनामूलक कार्यक्रमको शुरुवात गरेर यसले आफ्नो स्थापनाको महत्वलाई अझ प्रष्ट पारेको छ । आध्यात्मिक ज्ञानका माध्यमबाट समेत समाजमा एउटा साकारात्मक सोचको बिकास गर्न सकिने र भावी पुस्तालाई उचित संस्कारका बारेमा ज्ञान दिनसकिने हुँदा आगामी दिनहरुमा समेत यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन संस्था पछि नपर्ने कुरा उक्त अवसरमा संस्थाका पदाधिकारीहरुबाट जानकारी गराइयो ।

तपाइँको प्रतिक्रिया