“विहेको खर्चले स्कूल बनाउने” कस्तो उदाहरणिय काम !
मुख्य त शहर बजार र हुने खानेले आफ्नो बिहेमा खुब तडक भडक देखाउँछन् । निकै खर्च गर्छन् । रमाइलोका नाममा फजूल खर्च गर्छन् । हजारौं मानिसलाई बोलाएर करोडौं खर्च गर्ने परम्पराको अहिले विकास भईरहेको छ । तर शहरमा केही त्यस्ता मान्छे पनि भेटिँदै छन् जसले विवाहमा लाग्ने सम्पूर्ण खर्च सामाजिक सेवामा प्रयोग गरेर अरुलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्दै छन् । आफ्नो रमाइलोकालागि भन्दा सामाजिक हित हेर्दै छन् । एकाध मान्छेको क्षणिक स्वार्थ भन्दा सामुहिक हित हेर्दै छन् ।
विवाह खर्च सकारात्मक काममा प्रयोग गर्न प्रोत्साहन गर्नका लागि गैर आवसीय नेपाली संघ (एनआरएन) का निवर्तमान अध्यक्ष तथा हालका प्रमुख संरक्षक देवमान हिराचनले आफ्ना छोरा आसुका हिराचनको विवाहमा लाग्ने सम्पूर्ण खर्च एक विद्यालय भवन निर्माणमा प्रयोग गरेका छन् । बिध्यालय जस्तो ज्ञानको ज्योतिमा लगानी गरेर विवाहमा लाग्ने खर्चको सहि सदूपयोग गर्न अरुलाई प्रेरित गरेका छन् । समाजलाई अझ भड्किलो हुनबाट बचाउन सकिन्छ र त्यो समाजका प्रतिस्ठित ब्यक्तिबाटै शुरु हुनुपर्छ भन्ने उदाहरणिय कामको थालनी पनि हो यो ।
छोरा हिराचनको गत हप्ता सम्पन्न विवाह कम खर्चमा गरि त्यो रकम कास्कीमा रहेको एक विद्यालयको भवन निर्माणमा प्रयोग गर्ने घोषणा हिराचनले गर्दा त्यहाँका स्थानिय जनतामा खुशिको सिमा नाघेको देखियो । गरिब वस्तीमा विद्यालय मार्फत सेवा गर्ने उदेश्य रहेको उनले स्थानियमाझ बताए । ‘गरिब जनताहरुको जिवनस्तर उकास्न र शहरमा बढ्दै गएको विवाहको तडक भडकलाइ नियन्त्रण गर्न अरुलेपनि सिकुन् भनेर नयाँ कामको सुरुवात गरिएको हो’ उनले भने । विवाहमा लाग्ने खर्च दुबै (केटा र केटी) पक्षबाट कटाएर सामाजिक सेवामा प्रयोग गर्न गर्न पाउँदा दुबै खुशि देखिएको उनले बताए । हिराचनका छोरा आसुका हिराचनको विवाह यही माघ १३ गते बौद्ध परम्पराअनुसार सम्पन्न भएको थियो ।
हिराचन परिवारले कास्कीको चापाकोट गाविस वडा न ९ को बरंगास्थित पिपलडाली देउराली प्राथमिक विद्यालयको भवन निर्माण गर्ने योजना बनाएका छन् । करिब १४ लाख खर्चमा सो विद्यालयको ७ कोठे पक्की भवन निर्माण हुने छ । भवन निर्माण कार्य आगामि चार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । २०२९ सालमा स्थपना भएको सो विद्यालयको भवन अहिलेसम्म जिर्ण अवस्थामा छ । त्यसलाई भवनलाई भत्काएर ७ कोठे भवन बनाउने तथा करिब ८ आना जग्गा समेत विद्यालयको लागि खरिद गर्ने योजना छ । त्यसको लागि लाग्ने सम्पूर्ण खर्च हिराचनले छोराको विवाहमा लाग्ने खर्च कटाएर गर्न लागेका हुन् ।
विवाहको खर्च कटाएर समाजिक कार्यमा खर्च गर्नको लागि हिराचनका छोरा आशुका हिराचन र बुहारी अन्जु हिराचनले समेत पहिलेदेखिनै योजना बनाएका थिए । विवाह सानो खर्चमा छरितोसित गरेर बाँकि रकमले विध्यालय निर्माण गरि हस्तान्तरण समेत छोरा बुहारीले गर्ने योजना हिराचन परिवारको छ ।
‘हामीले उदाहरणको रुपमा मात्र यो कार्य गर्न लागेका हौं’ भत्किन लागेको भवन अगाडि स्थानिय जनतामाझ छोरो आसुका सँगै घेरिएका हिराचनले भने ‘अहिले शहरमा हजारौं मानिस बोलाएर करोडौ खर्च गर्ने प्रचलनको विकास भईरहेको छ । यस्ता कार्य रोकेर विवाहमा लाग्ने खर्च मात्रै सामाजिक काममा लगाउने हो भनेपनि त्यसबाट गरिव जनतालाई धेरै सहयोग गर्न सकिन्छ र नराम्रो संस्कार दुरुत्साहित हुन्छ भन्ने देखाउनपनि यस्तो काम गरेका हौं ।’
हिराचनसित संवन्धित तलका लेखपनि पढ्नुस्
● बिपन्न परिवारलाई सहयोग लिएर गाउँ गाउँमा हिराचन






