बेल्जियन नागरिक तिंबोको आँखामा नेपालको घाउ

[मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लो माथी पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि ‘क्लिक क्लिक !!’ दृश्यलाई कैद गर्न थाल्यो ।  उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लिँदै पहाडको टुप्पोबाट गुल्टियो ।]

-लुना / बेल्जियम

    (तिप्लिङ गाउँ, फोटो गूगलबाट लिईएको हो)

बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ । यो उसको पहिलो नेपाल भ्रमण हो । यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धि । यहाँको अनुपम प्राकृतिक सौन्दर्य, फरक किसिमका आआफ्नै सांस्क्रितिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो त्यसलाई प्रत्यक्ष अनुभब गर्न पाउँदा उसको खुशीले हिमाल छोईरहेको थियो । ‘क्लिक ! क्लिक !क्लिक ! क्लिक ! ‘ देखे जति दृश्यलाई उ क्यामेरामा कैद गरिरहन्थ्यो ।  

काठमाडौं हुँदै गणेश हिमाल क्षेत्रमा आईपुगेको ७-८ दिन भएको छ । यहि क्रममा आज उ तिप्लिंग आईपुगेको छ । उ जसै तिप्लिंग आईपुग्यो त्यहाँ एउटै गाउँमा ५-६ बटा क्रस ठड्याईएको चर्च देख्दा उ आश्चर्य चकित बन्न पुगेको थियो । मनभरी प्रश्नहरु उमार्दै केहि बेर हिँड्दा ताल्चा लगाईएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा ।  

बेलुकीपख हुन लागेकोले सायद गाउँका मान्छेहरु आआफ्ना घर काममा व्यस्त थिए । उसले गुम्बाको वरिपरी कोहि भेटेन । केही मिनेट सुस्ताउने बिचार गरि ब्याग गुम्बाको छेउमा राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो । केही सोच्दै गुम्बाको वरिपरी घुमिरह्यो केही बेर, जसरी उसले काठमाडौंमा रहँदा स्वयम्भू घुमेको थियो घडीको सुई झैँ  ।  

केहीबेर घुमेपछी फेरी गुम्बाको बन्द ढोका अगाडी टक्क अडियो । ढोकामा छिद्र छ कि नियाल्न खोजी उ ढोकाको नजिक पुग्यो । जसै उ ढोकाको एकदम नजिक थियो । भित्रबाट एक किसिमको गन्ध आएको महसुस गर्यो । गुम्बाबाट आएको त्यो धुप या तेल-घिउ बत्तिको सुगन्ध थिएन । स्वयम्भू, बौद्दनाथ घुमी हिँड्दा धुप बत्तिको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बाबाट आएको गन्ध ? उसलाई कता कता यो गन्धसँग धेरै पटक परिचित भए झैँ लाग्यो । तर ठ्याक्कै ठम्याउन भने सकेन । उसको मनमा खुल्दुली मच्चियो ‘के छ होला यो गुम्बा भित्र ?’ 

मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लो माथी पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि ‘क्लिक क्लिक !!’ दृश्यलाई कैद गर्न थाल्यो ।  उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लिँदै पहाडको टुप्पोबाट गुल्टियो ।

बिस्तारै वातावरण अन्धकारमय हुन खोज्दै थियो । उसको ध्यान पुन: गुम्बाको बन्द ढोकामा पुग्यो । ‘यहाँका स्थानीय बासिन्दासँग सोध्नुपर्ला’ सोच्दै आजको रात यहिँ कतै बास बस्ने निचोडमा निकाल्यो र उ गुम्बाबाट अल्ली परको घर अगाडी पुग्यो  । 

ढुंगाको गाह्रो, टिनको छानो भएको घरभित्रबाट मान्छेहरु बोलेको आवाज बाहिरसम्म आईरहेको थियो । केही बेरमै ५-६ बर्षको बालक घर बाहिर देखापर्यो । छेउ छेउमा छेडेर गुड्ने बनाईएको कोकाकोलाको टिनको क्यानलाई खेल्ने गाडी बनाउदै “भूम ! भूम !’ खेल्नमा व्यस्त थियो ।  

एउटा फालिएको कोकको क्यानलाई खेलौनाको रुपमा प्रयोग गर्दै असिम सन्तुस्टताकासाथ खेलिरहेको बालक र खेलौनाको दृश्यले तिंबोको ह्रिदय छोयो । ‘क्लिक ! क्लिक !’ उसले उक्त दृश्यलाई क्यामेरामा कैद गरिरहँदा फ्ल्यासको उज्यालो छरिएर बालक झस्कियो र तिंबो तिर हेर्न पुग्यो । बालक झस्किएको देखेपछी हठास ‘सरि !!!’  बोल्दै अकमक्क पर्यो तिंबो । तिंबोको बोलि सुनेपछी बालक उ नजिकै आयो र ‘नमाते ! चक्लेत !’ भन्दै मुसुक्क मुस्कुरायो । बल्ल तिंबोले सहज महसुस गर्यो र उ पनि हाँस्यो ‘हे ! हे ! नमस्ते बाबु ! ‘ भन्दै । 

यति बेलासम्म घरबाट २-३ जना बाहिर निस्कीसकेका थिए । साँझको बेला आँगनमा उभिएको विदेशीलाई देखेपछी उनीहरु नजिकै आए । तिबोंले नमस्ते अभिभादन गर्यो । आफू घुम्दै आएको र साँझ पर्न लागेकोले बस्ने ठाउँ खोजेको बताए पछी उनीहरुले तिंबोलाई आफ्नै घरमा निम्त्याए ।  

केहीबेरको कुराकानीपछी अघि आफूले देखेको गुम्बाको बन्द ढोका सम्झियो । अनि उसले  आफू बसेको घरका सदस्यसँग त्यस गुम्बाको बारेमा बुझ्न खोज्यो । गुम्बाको साँचो उनीहरुको छिमेकीसँग थियो । अनुरोध गरेपछी छिमेकी आईन् र गुम्बाको ढोका खोलिदिइन् । 

गुम्बाभित्र टन्न आलू थुपारिएको थियो । केहि बेर अघिको त्यो चिर परिचित गन्ध आलू भण्डारको गन्ध थियो । बेल्जियममा तिबोका आफन्ती किसानी थिए जसले हरेक बर्ष हजारौ किलो आलू बेचबिखन गर्थे । आलू भण्डारको गन्धसँग परिचित उसले गुम्बालाई आलू

भण्डारको रुपमा प्रयोग गरिएको कल्पना पनि गरेको थिएन । पुरातन महिमा बोकेको गुम्बाको त्यो अबस्था र स्थिति देख्दा तिंबोको मनभरि घाउ लाग्यो ।  

¨¨¨¨¨¨¨¨¨

आज बिहान आईतबार । तिंबो बसेको घरका सदस्यहरु चर्चमा प्राथना गर्न जान तयार हुँदै थिए । उनीहरुले तिंबोलाई पनि निमन्त्रणा गरे प्राथनामा जानलाई । तिंबो चकित भएको थियो नेपाली क्रिस्चियनहरुको यो बिघ्न तत्परता देखेर । क्याथोलिक परिबेशमै हुर्केको भए पनि क्रिसमसको बेलामा आफन्तिहरुसँग बसेर खानपिनमा रमाउने काम बाहेक यसरी हरेक आईतबार प्राथनामा जाने कुरामा उसको कुनै दिलचस्पी थिएन । तर अहिले भने उसलाई अनौठो लागिरहेको थियो, यी तिबेतन अनुहारका तामाङ परिवारहरु यसरी चर्चमा प्राथना गर्न जान लागेको देखेर । उसलाई केही बुझ्ने ईक्षा लाग्यो र हुन्छ भन्दै उनीहरुसँगै चर्चमा पुग्यो । 

त्यहाँ स्थानीय बासिन्दाहरु धेरै थिए । केहीभने काठमाडौंदेखि स्वयंसेबीको रुपमा आएका थिए । प्राथना शुरु हुँदै थियो । ‘ओम मणि पद्मे हूम’ भन्दै शान्त भावमा ओठ चाल्दै जप माला , माने घुमाउने हातहरु दुवै पन्जा फैलाएर आकाश छोउँला झैँ गरि ‘हले लुईया ! हले लुईया !’ गर्दै चिच्याई चिच्याई प्राथना गरिरहेका थिए । खिन्न मन लिएर हेरिरह्यो तिंबोले यी दृश्य । 

केही बेर पछी उसले अर्को दृश्य देख्यो :

काठमाडौंबाट आएका स्वयंसेबिहरुले टिभी / भिडियो देखाउने रहेछन् चर्चमा प्राथना गर्न आउने गाउँलेहरुलाई । जसमा देखाईएको थियो :-

प्रभु जिसस क्राइस्टलाई प्राथना गर्दा बिभिन्न किसिमका रोग ब्याधि हटेर जाने, रोग निको हुने आदि कुराहरु कलाकारमार्फत जिबन्त अभिनय गरेर देखाईएको थियो ।  

त्यसपछी तिंबोले अर्को अनौठो दृश्य पनि देख्यो :

गाउँका मान्छेहरु, महिला / बुढाबुढी / केटाकेटी उपचारको लागी चर्चमा आएका थिए  ।  उनीहरुसँगै पास्टर (पादरी) ले जिसस क्राइस्ट यशुको प्राथना गरिरहेका थिए रोग निवारणको लागि ।  

त्यो दृश्य सकिएपछी यताउता टहलिँदै तिंबो एक जना १७-१८ बर्षको युबक नजिक पुग्यो । तिंबोले ति युबक सँग केहि प्रश्न सोध्यो । तिमध्ये एक प्रश्नको उत्तर यसरी दिदै थिए युबक “हामी यहाँ प्राथना गर्न आउँदा पास्टरले पनि हामी संगै प्राथना गर्छ । प्राथनापछी ‘नि:शुल्क ‘औषधि दिन्छ । प्राथना गरेर दिएको औषधि खाएपछी रोग निको हुन्छ । यो धर्ममा लागे निशुल्क औषधि पाउँछ ‘। 

चर्चको रमिता हेरेर फर्कँदै थियो तिंबो । अघि भर्खर चर्चमा सक्रिय देखिएकी महिलालाई देख्यो उनैको घरमा । तिंबोले त्यहाँ पनि थुप्रै प्रश्न गर्यो । ति मध्येको एक प्रश्नको उत्तर थियो “म क्रिस्चियन बन्नुको कारण मलाई वहाँहरुले खोलेको स्कूलमा काम पाउनु थियो । यो धर्ममा लागेपछी वहाँहरुले विश्वास गर्ने र काम पाउन सजिलो हुने भएकोले ।’ 

गरिब बिपन्न देशका मान्छेहरुलाई सहयोग गर्ने नाममा धमाधम तिनका सनातन धर्म परिवर्तन गराउँदै क्रिस्चियन धर्मालम्बी बनाउने क्रिस्चियन मिसन प्रति खेद जनायो । मनभरि कुरा खेलाउँदै उ पुन : हिजो साँझ देखिएको त्यहि पुरानो गुम्बामा आईपुग्यो जुन गुम्बाआलू भण्डारको रुपमा प्रयोग गरिएको थियो । उसको मनको घाउ फेरी चर्कियो गुम्बा नजिक पुगेपछी ।

त्यो घाउलाई उसले गणेश हिमाल क्षेत्र वरिपरीका गाउँहरु घुम्दा देखेको दृश्यमा समाहित गरेर भिडियो बनायो यथार्थमा आधारित । कस्तो थियो त्यो यथार्थ घाउ ? बेल्जियम नागरिक तिबो सार्पँतिए (Thibault Charpentier) मार्फत बनाईएको यो भिडियो हेरेपछी तपाई आफैं अनुमान गर्न सक्नु हुन्छ नेपालमा धर्म परिवर्तनको भयावह स्थितिबारे ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् : 

http://vimeo.com/11464345 

कतै कतै यो भिडियो हेर्न समस्यपनि देखिएको छ । त्यस्तो समस्या भएमा तलको शब्द लगेर गुगलमा टाइप गर्नुहोस र त्यो शिर्षकको भिडियोमा क्लिक गर्नुहोला । 

  Little Jesus, la christianisation au Népal  

तपाइँको प्रतिक्रिया