बंगलादेशको यात्रा : भत्ताकै जात्रा

सरोजदिलु विश्वकर्मा

सन् २०११ नोभेम्वर १८ देखि २२ सम्म बंगलादेशको ढाकामा साउथ एशिया सोसल फोरमको आयोजना भइरहेको थियो । विश्वबाट हजारौ मानिसहरुको भीड त्यतैतिर बढ्दै थियो भने नेपालबाट पनि करिव २०० जना विभिन्न समुहमा त्यतातर्फ जाँदै थियौं । त्यस मध्येको सवैभन्दा ठूलो टोली दलित गैरसकारी संस्था महासंघ थियो र यसको निमन्त्रणा पत्र माग्नेदेखि भिसा लगाउने, त्ससपछि ढाका लैजाने र ल्याउने संयोजन मैले गरिरहेको थिएँ । ढाका सम्मेलन हुन १५ दिन अगाडिदेखि नै विहानदेखि वेलुकी ९ वजेसम्मै यसैका लागि मेरो समय गुज्रन्थ्यो ।

तथापि बंगलादेशको ब्यवस्थापनको कमजोरीले आयोजकले समयमै त्यहाँको सरकारसंग कार्यक्रमको वारेमा जानकारी नलिएको कारणले बंगलादेश दुतावासले हामीलाई भिसा दिन साह्रै गाह्रो मान्यो । बंगलादेशी आयोजकदेखि पराराष्ट्र मन्त्रीसम्मलाई फोन हान्न लगाएपछि मात्र वल्ल भिसा खुल्यो । नत्र विगत ३ दिनदेखि सयौं पासपोर्ट झोलामा हालेर ल्याउन र लैजान पर्ने बाध्यताले मेरो भोकनिद्रा हराईसकेको थियो । अन्तिम दिन तथा हिड्ने अघिल्लो दिन ९ वजे राती मैनवत्ती बालेरै भएपनि दुतावास कर्मचारीले हाम्रा पासपोर्टहरुमा भिसा लगाईदिए, तव मात्र हामी तयार भयौं बंगलादेशको यात्राको लागि ।

बंगलादेश जाने जाँगरले सवैलाई उद्धैलित बनाएकै थियो । तर हिड्ने १ घन्टा अगाडिसम्म पनि आयोजक महासंघमा १ रुपैयाको ब्यवस्था भइसकेको थिएन । महासंघको परियोजनामा केही पैसा भएतापनि खातामा सही गर्ने हाकिमहरु काठमाडौं वाहिर रहेकोले हामीलाई चटारो थियो । तर वाहिर भने सवैलाई कतिवेला बंगलादेश हिड्ने भन्ने हतारो थियो । हतार गर्नेलाई म लगायत साथीहरुले सूचित गरीरहेका थियौं– ‘पैसाको अभाव हुन्छ, त्यसैले लाग्ने आधा खर्च चैं आआफ्ना खल्तीमा तयार पार्नोस्’ भन्दै । यद्दपी, केही दाताद्धारा पालितपोषित संस्कारका ब्यक्तिहरु भने डिएन्एफ आफैंले भित्र पैसा छाप्दैछ भन्ने जसरी हामीलाई जसरी भएपनि लैजानुपर्छ भनेर चर्का कुरा गर्दै थिए ।

नोभेम्वर १७ को बंगाल एअरको मेरो टिकट । तर पैसाको अभावले सवै बसमा जाने भएपछि मैले पनि प्लेन क्यान्सिल गरी बसको सीट समाउनु पर्ने भयो । तदनुरुप ठिक ४.२० वजे सातदोवाटोबाट बसले गियर मार्यो र अघि बढ्यो । यद्दपी कामी–दमैको फुर्सद घाट पखाल्ने बेलामा मात्र भने झैं बसले डाँडा काट्ने वेला भइसक्दा पनि केही साथीहरु घरबाट निस्केकै थिएनन् । तथापि उनीहरुलाई पर्खेरै भएपनि हामीले लानैपर्ने थियो । सोही अनुरुप कलंकीबाट बस छुट्दा करिव साढे ६ बज्यो । द्रुतगतिको बसले मुग्लिन, नारायणघाट, भरतपुरमा केही सहयात्रीहरु टिप्दै काकडभिट्टातिर हाँकियो । केही साथीहरु आफ्नै खर्चमा भएपनि जाने भनी बसमा चढेका हुन् । तिनलाई पनि हार्दिकताका साथ महासंघकै लिष्टमा विनाभेदभाव बसको अग्रभागमा राखि सामुहिक खानपीन गराउँदै लगियो ।

अनुभूतिहरु

विहान ठिक ७ वजे हासी खुशीका साथ हामी नेपालको पुर्वी सीमानाको अन्तिम विन्दूमा पुगीसकेका थियौं । काकडभिट्टाबाट छुट्नासाथ रिक्सादेखि ट्याक्सीड्राइभरसम्म र इमिग्रेशनमा हामीमाथि कमीशन र दलाली शुरु भयो । विहान फुर्सदको समयमा कोही खानपीनतिर कोही सरसफाइतिर लागे भने वंगलदेशसम्म पुग्ने बसको चाँजापाँजो मिलाएपछि म, रणेन्द्र वराली, मोती नेपाली र अमृत विश्वकर्मासंग स्थानीय ब्यापारी नारायण वरालीको घरतिर लाग्यौ । नारायण वरालीले जनयुद्ध कालमा पुर्वी भारतमा भूमिगत भइ नेपालका माओवादीलाई हतियार सप्लाई गरेको, पैसाको बन्दोवस्त गरिदिएको तर अहिले आफ्ना सहकर्मी उच्च ओहदामा पुग्दा आफूलाई सवैले बिर्सेको र आफ्नो फोनसमेत नउठाएको गुनासो ब्यक्त गरेको सुन्दा फेरि एकपल्ट वाहुनवादी सत्तालाई गाली गर्न मन लाग्यो । वाहुनवादको विषले भरिएको आन्दोलनमा जति नै वलिदानी र कुर्वानी दिएपनि नारायण वराली र हामीजस्ता दलितहरु कति घाईते हुन्छौं कति मारिन्छौं । कति चैं तिनै वाहुनहरुको जजमानी गर्दै जीवन गुजार्दैछौं । तर जव वाहुनले सत्ता र शक्ति प्राप्त गर्दछ, त्यसवेला यी होनहार दलित योद्धा र विराङ्गानाहरु उही अछूत नै हुन्छन् ।

४ वटा भारतीय सुमो, भारत, वंगलादेश वोर्डरसम्मको लागि लियौं । तर चारैवटामा हामीभन्दा अग्रज नेताहरुलाई सवैले छोडेको पछिल्लो सीटमात्र बाँकी रहेपछि नारायणजीले आफ्नो कार लैजान आग्रह गर्नुभयो । सवैलाई खुकुलो पनि हुने भन्ने हिसावले हामी केही चैं उक्त कारमा चढ्यौ भने साथीहरु सुमो गाडीमा हामीभन्दा अगाडि बढे । पानीटंकी वोर्डरमा नेपाली नै कमिशार भएको कारणले हाम्रो काम विनाघुस छिटोछरितो भयो । हाम्रो कार ड्राइभर ठिटो, आफूलाई सवै जानेको बुझेको भन्ठान्थ्यो तर जलपाईगुडीको मुल सडक बिर्सेर कहिले सिलीगुडीभन्दा माथि त कहिले जलपाईगुडीभन्दा तलसम्मको पातलो गाउंवस्तीको गल्लीमा कार नचाउन थालेको रिसमा मैले पनि उसको झाँको झारेपछि मात्र बल्ल ठाउंमा आयो र बाटो समायो । अनि मात्र हामी च्यांग्रावन्दको बोर्डरमा पुग्यौं ।

बंगाल वोर्डरमा पुग्नासाथ घुस कमिशनको शुरु भारतीय प्रहरीबाटै भयो । उनीहरुले विभिन्न एजेन्ट लगाएर हामीबाट ३०।३० आईसी असुलीरहेका थिए । तर मैले कि त वील दे की त म इण्डियन एम्वेसीसंग कुरा गर्छु भनेपछि त्यसले छोडीदियो र हामी वोर्डर क्रस गर्न सफल भयौं । बंगलादेको बस नेपालमा पाईने लक्जरीयस् टुरिस्ट बसभन्दा दश गुणाले सुविधायुक्त र सानदार । साच्चै भन्ने हो भने गुड्ने नै भएपनि आकाशमा उड्ने भन्दा २ गुणा आरमदायी सेवा पाइने ।बुरीमारीको लामो बस पर्खाईंपछि हामी आआफैं बसमा चढ्नका लागि कुकुरले हड्डी लागि आपसमा लडेजस्तो लुछाचुडी गर्न थाल्यौं । सीटका लागि तछाडमछाड गरेको देख्दा हामी मात्र होईन, बुढीमारीका टहरा पनि लज्जित भएर एकपल्ट हासे होलान् ।

दलित आन्दोलनका अग्रणी युवा, जसले आम उत्पीडित, उपेक्षित र शोषित यी जनसमुदायको मुक्तिको अभिभारा बोकेका छौं । हामी विभिन्न राजनीतिक दलको प्रतिनिधित्व पनि गर्दछौं त धेरैजसो कुनै न कुनै संस्थामा पदाधिकारी भइ दलितको समृद्धि र समानताको पक्षपोषण पनि गर्दै आइरहेका छौं । दलित समुदायको सम्मुनत र सम्मानित जीवनका लागि हामी शत्रुहरुसंग लडिरहेका छौं । यही ब्यक्तिहरुको ठुलो जमात, नयाँदेखि अग्रणी पुस्तासम्मका योद्धाहरु बंगलादेश जाँदै थियौं । तर हामी भित्रको त्यो त्याग र जुझारुपना रामनगरको बासी भात र  दुइ फिर्का बोइलरको हड्डीसंगै फिका पर्न थाल्यो । महासंघको नेतृत्व भन्नसाथ सामान्य मुल्य मान्यता भन्दा वाहिर गएर केही साथीहरु त्यही बोइलरको हड्डी पनि जतिसक्दो थपीथपी चपाउन थाले । यसले गर्दा महासंघको वजेट बढ्दै गयो । त्यहीक्रम काकडभिट्टा, च्यांग्रावन्द, बुरीमारी ढाका यात्रासम्म देखियो । सित्तैमा पाईन्छ भने अलकत्रा पनि निल्छन् भने झैं अधिकांश साथीहरु आयोजकसंग केकति हिसाव छ र आफ्नो दायित्व के हो भन्ने वास्तै नगरी दनादन चाख्दै र बजाउँदै गर्न थाले ।

हामी १९ तारिक विहान ठीक ७ वजे ढाका युनिभरसिटीको टिसिएस भवनको रजिष्टे्रशनतर्फ लाग्यौं । अस्तब्यस्त सम्मेलनका आयोजक, कुनै कुराको सूचना सहीरुपमा कसैले दिन नसक्ने, एकले अर्कोलाई सोध भन्दै पन्छाउँथे । सम्मेलनको सेवामा खटिएका भोलेन्टीयर र रजिष्ट्रेशनका कर्मचारीहरुलाई न हामीले बुझाउन सक्ने न उनीहरु नै कुरा बुझ्ने । दुवै पक्षको अबुझता र केही साथीहरुको वैयक्तिक स्वार्थका कारणले ५० डलरमा हुने तमाम काम करिव ४५० डलर तिर्नुपर्ने भयो । साथीहरुको यो सहभागितामूलक निर्णयलाई सम्मान गर्ने हुँदा हामीलाई थप ब्ययभार बढीरहेको थियो । यो एउटा सिकाई पनि भयो कि नेतृत्वले निर्णायक समयमा आफ्नै स्वविवेकमा सही निर्णय लिन सक्नुपर्दोरहेछ ।

ढाकातिर बसमा आउँदै गर्दा अग्रजहरुका लागि अगाडिको सीट छोडिदिनु आग्रह गर्दा केही साथीहरुले संयोजकलाई नै बंगरा खुस्काएर फर्काईदिने धम्की दिन चुकेनन् । भुक्ने ककुरले टोक्दैन भने झैं त्यो धम्कीको कुनै तुक नभएपनि मैले जवाफ फर्काउनु उचित हुन्नथ्यो । तर विडम्वना, हिजोसम्म उनीहरुको लागि म भरिया झैं बनेर ३।३ दिन पासपोर्टको थाक बोकी सातदोवाटोदेखि महाराजगञ्ज धाईरहेँ, विहान ८ वजेदेखि रातको ९ वजेसम्म कार्यालयमा बसी निमन्त्रणा मगाईदिएँ, उनीहरुको खर्च पानीको लागि आफ्नै प्रोजेक्टको लाखौ रकम निकालेर लैजाने बोझ उठाएँ, तिनले अग्रणी नेताहरु र अशक्त महिलाको लागि एक सीट पछाडि सरिदिनुस् भन्ने आग्रह गर्दा त्यो कुखुरे दादागिरी देखाए । तर नेतृत्वले यस्ता कुराको सामना गर्नैपर्दोरहेछ, सायद मैले पनि यसैका लागि गरेँ ।

ढाका युनिभर्सीटीको टिसिएस टेक्न नपाउदैं साथीहरुबाट भत्ता मगाई शुरु भयो, स्टार होटलको रोजाई भयो । हिड्ने आधाघन्टा अगाडि मात्र थोरवहुत पैसा ऋृणपान जुटाएर नेपालबाट पाईला छाडेको जम्वो टोली, टोलीका प्रत्येक सदस्यको खल्ती मोटोमोटो नभएको पनि होईन । फेरि सवैलाई महासंघको अभावका कारणले केही पैसा बोक्नु भनि अग्रिम सूचना गरेकै हो । तर मलामी जाँदापनि भत्ता माग्ने बानी विदेशी दाताहरुले बसाली दिईसकेकाले यो कुलत र लालचले साथीहरुलाई छोड्न सकेन । परिणामतः होस्टलसम्म पुगेर बिसाउन नपाउदैं महासंघका केद्रिय सदस्य र दलितको शीर सगरमाथामा लगेर ठड्याउछु भनेर जुटेका एक युवा साथीवीचमा यसै विषयमा झण्डै हात हालाहालको स्थिती बन्यो । महासंघको रासनपानीमा महासंघलाई नै बिन्ति बिसाउँदै टोलीमा परेका मेरा प्रिय मित्रले महासंघका जिम्वेवार ब्यक्तिले ‘म डिएन्एफ्को केन्द्रिय सदस्य हुँ, चिनेनौ’ भन्दा भौतिक आक्रमणकै तुजुक देखाउनु वहादुरी हो या अनुशासनहिनता ? हामीले बुझौं । तथापि, कोही कम थिएनन्– आक्रमण र प्रत्याक्रमण गर्न । जस्तालाई तस्तै र त्यो भन्दा पनि ठूलो दनक दिने साथीहरु पनि पुर्वतयारीमै थिए । तर परदेशमा, अन्तर्राष्ट्रिय जगतमा आएर यो दरिद्रता प्रदर्शन नगरौं भन्ने मानसिकतामा हामी सजग थियौं, त्यसैले यस्ता विवाद जसरी आए, त्यसैगरी गए ।

यता महासंघका केही साथीहरु पनि कम चैं थिएननन् । संयोजकसंग केकती पैसा छ, पैसा दिने नियम के कसो छ, विना आधार पैसा बाढ्न नहुने र अभावै अभावमा आएको थाहा पाउँदापाउँदै सुटुक्क बोलाएर मलाई चैं पैसा देऊ, अरुलाई जेसुकै गर, नभए तुरुन्त छापेर भएपनि देऊ भन्ने, गोजीमा कुस्त पैसा लुकाएर भात खानै पाईन भन्ने दरिद्रता दर्शाउने ब्यवाहारले मलाई लज्जित बनायो नै । आपतकालिन स्थितीको कुनै जिम्मा लिन नसक्ने, कार्यक्रमलाई प्रभावकारी बनाउन कुनै छलफल नगर्ने, तर घुम्न, डुल्न र खानका लागि पैसा मागीहाल्ने, भत्ता खोजीहाल्ने संस्कारले नेपालका दलित समुदायलाई नै लज्जित बनाएको हुनुपर्दछ । महासंघ भित्र परियोजना बढाउन कुनै पहल नगर्ने, कर्मचारीको मिहिनेतले प्राप्त उपलब्धीले मालिक बनि खाने संस्कार त्यहाँपनि देखिइरहेको थियो । नेपालको दलित आन्दोलनलाई कसरी अन्तर्राष्ट्रियकरण गर्ने चिन्ताभन्दा टीम संयोजकले पैसा खायो कि भनेर छिनछिनमा हिसाव माग्नै आतुर, सोही अनुसारको दरिद्र मानसिकता । आयोजक भित्रका सदस्य साथी पनि उही ड्याङका मुला । विश्वास गरेर जिम्मा दिनै नसकिने । होटल खोज्न पठायो होटलमै हराउने, समुहलाई खाना खुवाउन पेश्की दियो, उतै सिध्याएर आउने ।

केही, जसको पासपोर्टमा यो नै पहिलोचोटी भिसा लागेको हो, तिनीहरु पहिले पनि यस्ता अनगिन्ती अन्तर्राष्ट्रियस्तरका फाईवस्टार होटलमा भएका सानदार कार्यक्रममा भाग लिएको पाङ्दुरे फुईं समेत लगाईरहेका थिए त केही साथीहरु ढाका मात्र होईन, यस टिमलाई अमेरिका पुर्याएर कुशल ब्यवस्थापन गरि ल्याउने वतासे गफ पनि दिदैं थिए । तर जव मैले तिनैहरुसंग ‘पैसा नपुग्ने भो, २।४ सय सापट उठाउँन’ भनेर अनुरोध गर्दा तिनको मुखमा बुझो लाग्यो । लिने ठाउँमा १० हात हाम फालेर आउनेहरु दिनुपर्छ भने पछि हरिया दाँत ङिच्याएर कुलेलाम ठोके ।

जागरणका साथीहरु, जसले दलित आन्दोलनमा ‘दलन’ जस्तो ऐतिहासिक उपहार दिए, तिनबाट सहयोग र सद्भावको ठूलो अपेक्षा गरिएको थियो । तर तिनमा अझपनि पोखरा सम्मेलनमा देखिए झैं एकोहोरोपना हटेको रहेनछ । आफ्नो अनुकुल भए सवै ठिक, नभए सवै खतम्, आफू मात्रै सही अरु सवै वेठिक भन्ने सोचाई फेरिपनि उनीहरुबाट दोहोरियो । त्यसैगरी हाम्रो राजनीतिक कित्ता पनि स्पष्ट छुट्टियो, एकले अर्कोलाई कमजोर पार्न दुवै पक्षले नचाहेका होईनन् । तथापि यसलाई वाहिर देखिन नदिन विवेकले भ्याएसम्म कोशिष मेरो तर्फबाट भएजस्तो लाग्छ । यता, हाम्रो स्टल पनि त्यस्तै बेवारिस भयो, हामी भत्ता खोज्न, महासंघको पैसा सित्तैमा प्राप्त गर्न जतिवेला पनि तयार हुने, होटलमा पस्नासाथ, ४।५ प्लेट मासु र माछा चाख्दै फाल्दै गर्न नहिक्चिाउने तर पालैपालो स्टलमा बसेर विदेशीसंग नेपालको दलित आन्दोलनका वारेमा कुरा गरौ भन्दा धेरैलाई फुर्सद नहुने । कामको मुल्यांकन गर्नेभन्दा आयोजककै टुपी समाएर घुमाउन खोज्ने हामी दलितको संस्कार वाटोबाटोमा, होटलमा, बसमा, कार्यक्रममा जताततै छताछुल्ल भयो । यसर्थमा म स्वभाविकरुपमा चिसो वरफमै पग्लिन वाध्य भएँ ।

मसंग भएको ट्राभलचेक नसाटिएको कारणले हिड्ने वेलामा हामी करिव पैसा सकिएको अवस्थामा थियौं, ढाकामा संयोजकको पैसा सिद्धिए सापटी दिने वचन दिएका साथीहरु धोतीले मुख छोपेर उम्किना लागि गलफत्ति गर्दै थिए । ४२ टाकाले सामान्य होटलमा भने जस्तै ननभेज खाना ३ पल्ट थपेर खान पाईन्छ । दलित आन्दोलनका एउटा जिउँदो योद्धा रणेन्द्र वरालीसहितका साथीहरुले अधिकांश समय त्यही खायौं । तर धेरैजसो साथीहरु दिनको तीनसय तेत्तीस टाका पाउँदा पनि खानै पाएनौ भनेर भोकमरीका गीत गाईरहे । तिनीहरुको यावत् र तुच्छ हरकतलाई हामीले दुखका साथ भन्नैपर्छ– तिनीहरु दलितको नाम गरेर चरिखाने बाहेक केही होईनन् न त तिनीहरुबाट आन्दोलनले केही पाउनेवाला नै छ । तिनले यो आन्दोलनलाई पाउन्जेल डकार्दै खाने र फल झर्न छोडेपछि ‘दलित न सलित, गोलीमार’ मन्दै कुनाकोन्द्रामा पस्ने डिवि सागर, तिर्थवर्माहरुकै मार्कामा हराउने प्लेटफर्म मात्र बनाउदै छन् । यस्तैयस्तै पात्रहरुको आरोप सहँदासहदै कुनै कार्यक्रममा पुगेर नत मैले दलितको वारेमा केही बोल्नै पाएँ न त नियमसंगत तरिकाले तिनको ब्यवस्था गर्नै सकेँ ।

अन्य देशका डेलिगेट्सहरुमा हाम्रो जस्तो दरिद्र संस्कार मैले कहिँकतै देखिन । भारत र पाकिस्तानका सामाजिक आन्दोलनका अगुवाहरु हामीसंगै एउटै होस्टलको उही विस्तरामा सुते, त्यस्तै क्यान्टिनमा खानपीन गरे । बंगलादेशी किसान आन्दोलनका वरिष्ठ नेताहरु त्यो कवर्ड हलको भुईंमै अधिकांश रातहरु बिताइरहेका थिए । उनीहरु सौहार्दता ढंगले साथसाथै हिँडे, कार्यक्रममा भाग लिए, मिलेरै आआफ्ना खल्तीबाट खर्च गरेर केही सिके र केही सिकाएर गए । हामीसंगै त्यहाँ पुग्ने टोलीलाई (एक्सनएड वाहेक) कसैले पनि लानेलाई सित्तैमा लगेको र तिनलाई आयोजकले एक पैसा दिएका थिएनन् । तिनीहरु ब्यक्तिगत खर्चले त्यहाँ पुगे, सोही अनुसार नै फर्किए । तर हाम्रा भुसतिघ्रेहरुलाई चै स्टार होटल नै चाहियो, विभिन्न देशबाट मेडिसिन पढ्न आएका विद्यार्थीले खाने क्यान्टिन अस्वस्थ लाग्यो । यी दलित योद्धाहरुलाई भने दैनिक भत्ता नभइ भएन । यसैले मैले विचार गरेँ– भत्ता भन्दा हामी सत्ताका लागि लडेका, वाहुनवादी सत्ताको अन्त्यका लागि पटकपटक मर्दै आएका । यसो हो भने सवै साथी समुहमा एकै किसिमले किन नबस्ने ? किन एकै मेसमा एकै किसिमले नखाने ! भत्ता लिने र भत्ता दिदै नदिने वीचको यही द्धन्द्धमा बंगलादेशको ५ दिन ठ्याक्क र ठुक्क, ठुस्का र ठुस्कीमै बित्यो ।

केही सकारात्मक पक्ष

यतिका वावजुद पनि धेरै साथीहरुमा आफू अन्तर्राष्ट्रिय डेलिगेट्स भएर गएको गाम्भिर्यता थियो । उनीहरुले आयोजकको समस्या, त्यहाँको वस्तुस्थितीलाई मनन गरे र जे जस्तो निर्देशन र अवस्था थियो, त्यसैलाई शिरोधार्य गर्दै विभिन्न फोरमहरुमा आफ्नो सक्रीयता दर्शाए । कार्यक्रम गर्न होस् या स्टलमा बसेर डिलिङ् गर्न सहयोग गरे । तिनीहरुबाट दलित आन्दोलनले पक्कै केही अपेक्षा गरेको छ ।

हामीले विशेषगरी तीनवटा फोरममा दलितका मुद्दाहरुलाई उठायौं । एक्सनएडको सहकार्यमा दोश्रोदिन नेपालको दलित आन्दोलन, उपलब्धी र अवको कार्यदिशाका वारेमा छलफल गर्यौं भने चौथोदिन दक्षिण एशियाई दलितहरुको समस्या र चुनौती र निराकरणका विषयमा ५ राष्ट्रका दलित नेताहरु, पत्रकारहरु, विज्ञ ब्यक्तिहरुसंग छलफल भयो । त्यसैगरी अन्तिम दिन बंगलादेशकै नागरिक उद्योगसंगै अर्को कार्यक्रम आयोजना गर्यौं, जसमा नेपालको दलित आन्दोलनको वारेमा महासंघका उपाध्यक्ष रालखन हरिजनले आफ्नो विचार राख्नु भएको थियो । समापन समारोहमा सानै भएपनि मोहसिन गार्डेनको स्टलबाट टावरप्लाजाको सोहरवार्डी उद्यानसम्म समापन र्याली बढेको थियो, जसमा कोक्याप लगायतका अन्य संस्थाहरुको सहभागीता रह्यो । तर या गर्छु त्या गर्छु भन्ने ती गफाडी राजाहरु भने त्यहाँ देखिएनन् । त्यसैगरी स्टलमा बसेर हामीले नेपाल र नेपालको दलित आन्दोलनको विषयमा विभिन्न ब्यक्तिहरुसंग छलफल गर्यौं, हाम्रा प्रकाशनहरु दियौं, उनीहरुका प्रकाशनहरु लियौं । उनीहरुले सामाजिक आन्दोलनमा गरेका प्रगतिका वारेमा अनुभव र अनुभूति गर्यौं ।

यस वाहेक बंगलादेशले भ्रष्टाचारै भ्रष्टचारको दलदलमै भएपनि भौतिक विकासको पाटोमा फड्को मार्दै गएको कुरा निर्माणाधिन ढाका शहर, बजार र फराकिला सडकहरुले बताउँथ्यो । आर्थिक विकासमा समेत बंगालले १९९८ मा जाँदा भन्दा निकै फड्को मारिसकेछ जवकि सो वेला बंगलादेशसंग नेपालको मुद्रा विनिमय दर रु. १०० बरावर १७२ टाका थियो भने अहिले १०० टाका बरावर १०८ नेपाली रुपैया पुग्न जान्छ । अनि ढाका युनिभर्सीटीको ब्याख्या गरेर भ्याईदैन । यति नै भन्न सकिन्छ, वंगलादेशले शिक्षामा अधिक लगानी गरेको छ भन्ने कुरा किर्तीपुर नगरपालिका वरावर ओगटेको उसको क्षेत्रफलले जनाउँछ । त्यसैगरी झुपडपट्टीमा हारालुछ हुने बंगोबजारमा यतिवेला तीनवटा भब्य मल निर्माण भइसकेछ र पैसा भए त्यहीबाट बंगाली साडी र कुर्तासुरुवाल पोकोपार्न सकिँदोरहेछ । यद्यपि, रिक्साहरुको दवदवा र दादागिरीले कार मालिकहरु निरीह, उनीहरु सडकमा गाडी चलाउन पनि साईत हेरेर मात्रै निस्कनु पर्ने ।

बंगालीहरु आफ्नै राष्ट्रियता चाहन्छन्, विदेशी सिको र शिरोधार्यभन्दा स्वाधिनता चाहन्छन् भन्ने सत्य बजारका साईनवोर्डहरुले जनाउँथ्यो, जवकि सवैजसो साईनवोर्ड बंगाली भाषामै लेखिएका छन् । हाम्रोजस्तो अंग्रेजी लेख्न र बोल्नसाथ आफू दुई कदम अगाडि होईन्छ भन्ने मानसिकताबाट उनीहरु मुक्त छन् । ढाकाले आयातभन्दा आफ्नो खपतको लागि आफैं उत्पादन गर्छ भन्ने कुरा हामीले खाने खानेकुरा, पानी र अन्य प्याकेट फ्रुटहरुले प्रमाणित गर्दथ्यो । आफ्नै उत्पादनमा उनीहरु गर्व गर्थे तव न ढाकामा खानेकुरा सस्तो पाईन्थ्यो ।

बंगलादेशमा नारीलाई स्वतन्त्रता पनि छ, शोषण पनि  ।  मुश्लिम राज्य भएपनि अन्य देशमा जस्तो वुर्का लगाएरै हिड्नु पर्ने बाध्यता छैन । नत उनीहरुलाई पतिको लागि सतिसम्म गईदिनुपर्ने हुन्छ । उनीहरु आफूले मन पराएको जोकोहीसंग विवाह गर्नसक्छन, चाहे तिनका घरमा चारवटा सौता नै किन नहोस् । त्यसैगरी पुरुषले पनि कानुनतः २ वटा विवाह गर्न सक्दछन् भने कसैले उजुरवाजुर नगरेमा ७ वटा पनि विवाह गर्न पाईन्छ रे । तर दुःखलाग्दो कुरा बंगलादेशमा कुनै पनि पार्टीको केन्द्रिय कमिटीमा आजसम्म कुनैपनि दलित पुग्न पाएका छैनन् भन्ने सुनियो । त्यसैले दलित जति लडेपनि फायदा अभिजात वर्गहरुले नै लिएकाले अव लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र होईन, सोसल डेमोक्रेसी हुनुपर्दछ भन्ने माग उठ्न थालेकोछ ।

नकारात्मक पक्ष

● प्रथमतः हामी हतारमा भएको कारणले अन्तर्राष्ट्रिय सहभागिताका लागि लैजाने सही डेलिगेट्सहरु छनौट गर्नै गलत गर्यौं । हामीले दलित आन्दोलनमा तिनको सहभागीता, त्याग र समर्पणको मुल्यांकन गरेर मात्रै जाने मानिसको छनौट गर्नुपर्दथ्यो । एउटा एन्जीओको सदस्य वा अध्यक्ष भएको हैसियतले मात्रै छनौट गर्ने मापदण्ड विल्कुल गलत थियो । साथै जानुभन्दा अगाडि जम्मा लाग्ने आधा रकम उनीहरुबाट संकलन गर्नुपर्दथ्यो वा त्यहाँ बस्दा खाँदाको खर्च आफैंले बेहोर्नु पर्ने भनि दिनुपर्दथ्यो । यसले गर्दा उनीहरुमा दाताले दिने पैसा प्रतिको मोहभङ्ग हुनेथियो ।

● हामी डेलीगेट्सहरु प्रत्येक कार्यक्रममा छरिनुपर्दथ्यो, केही सिक्नुपर्दथ्यो, नेपाली दलित आन्दोलनका विषयमा अरु देशका मित्रहरुलाई केही सिकाउनु पर्दथ्यो । तर खानै पाएनौ मात्र भन्ने झगडामै हामी अलिझरह्यौं, यही निहुँलाई पटकपटक बल्झाईरह्यौं ।

● गोपाल सिवाकोटी चिन्तनले लगेको डकुमेन्ट्री ‘जनयुद्ध’ले धेरै देशीविदेशीको मन छोयो । हामीले पनि दलितका विषयमा यस्ता मन छुने डकुमेन्ट्रीहरु बनाउनु पर्दथ्यो, बनाएकै डकुमेन्ट्री भएपनि त्यहाँ प्रदर्शनमा बोकेर जानुपर्दथ्यो । तर न जागरणका साथीहरुले चर्चित फिल्म दलन नै लगे, न त महासंघले बनाएको अछूत नै हामीले बोक्यौं ।

● हामीले नेपालको राजनीतिक समस्या, हाम्रा नेताका कमजोरीहरु अन्तर्राष्ट्रिय प्लेटफममा उठाउन हुन्नथ्यो । तर केही नेपालीहरुले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै सुझो न बुझो त्यहापनि पार्टीलाई गाली गरे, नेतालाई सरापे, एन्जीओ आईन्जीओको भत्ता खाएको भन्ने आरोप लगाए ।

● प्रायजसो भाषणकर्ता चाहे ती नेपालका हुन् या विदेशका, ती चरी खाने चरन्ते र मञ्च पाउनासाथ डुक्रन्ते खालका थिए । तिनीहरु चुरोट उडाउदै कार्यक्रम कहाँ छ भनेर चाहर्दै हिड्थे । अनि अतिथी बन्थे, अंग्रेजी छाँटथे र भाषण सकिएपछि अर्को फोरम खोज्न निस्किहाल्थे । उनीहरुको ब्यस्तता यसैमा बित्दथ्यो ।

अन्त्यमा

हामी आयोजकसंग सहभागीहरुलाई बंगलादेशको चटगाऊं, सिटागाउं, आरिचागेटदेखि भारतको दार्जेलिंगसम्म घुमाउने योजना थियो, सो अनुसारको बजेट । तर साथीहरुमा लोभ, लालच र भत्तामोह नै ज्यादा जाग्न थालेपछि यी योजनाहरु जर्वजस्त रद्द गर्नुपर्ने भयो । यसरी एउटा तीतो, खै के खै के भनेजस्तो स्मृति बोकेर २२ तारिक राती हामी नेपाल फर्किर्यौ । फेरी बसमा उही लुछाचुढी, फेरी खानपीनमा हारालुछ । भोलीपल्ट दुवै बोर्डरमा घुसखोरी प्रहरी प्रशासन र उनीहरुद्धारा सञ्चालित दलालहरुको मुखबुझो भर्दै हामी साझँ काकडभिट्टा आइपुग्यौं ।

काकडभिट्टामा हामी फेरिपनि दलित कै दलालीमा फस्यौं । हामीले वेखर्ची भएकोमा सहयोग याचना गर्दै स्थानीय मित्रलाई बसको ब्यवस्था गरिदिन अनुरोध गरेका थियौं । उनले पनि अर्को दलाललाई भिडाईदिए । फलतः त्यो दलालले यही मौका हो भन्दै हामीलाई महंगो भाडा तिर्नैपर्ने त्चबउ मा पार्यो । यद्दपी, एउटा अचम्म ! नेपाल प्रवेश गर्ने वितिक्कै सवैमा उही एकता र सम्मान, बंगलादेशसम्मको रिस, द्धैष, अन्तद्र्धन्द र कटुताको सवै अवसान । साथीहरुमा हार्दिकता, सहिष्णुता र पहिलेकै जस्तो मित्रता । मलाई लाग्यो– सायद विदेशको माटो र बाटो नै यस्तै हुन्छ कि क्याहो ! नेपाली दलितलाई लोभलालच देखाई लडाउने भिडाउने । त्यही बाटोबाट नेपाल आएकाहरुले हामीमा त्यस्तो संस्कार बसाईदिन्छन् कि के हो !! यिनै तितामिठा स्मृतिलाई नेपालको बोर्डरमा बिसाउदैं हतारहतार बस ब्यवस्था गरी हामी काठमाडौंतिर लाग्छौं । यद्दपी मित्रहरुलाई सम्पुर्ण खर्च गरि लानु छ, खुवाउनु, सुताउनु, उठाउनु, दिसापिसाव गराउनु छ, फेरि फर्काएर ल्याउनु छ तर अझ पनि मलाई भत्ता माग्नेहरुको भीडले छोड्दैन ।

तपाइँको प्रतिक्रिया