छट्टुहरुकै पञ्जामा पर्ला है अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ
हरेक प्रजातान्त्रिक परिवर्तनमा हिम्मतिला, वास्तविक परिवर्तनमुखि, इमान्दार र आँटिलाहरुले साथ दिन्छन् । तर परिवर्तन हुनासाथ ति पाखा लाग्छन् । लगाइन्छन् । अनि चाटुकारहरुको राइँदलो चल्छ । फटाहाहरुले नयाँ भेष बदलेर क्रान्तिकारी अनुहार देखाउँछन् । जांघर र सिप नभएका, सत्ता र शक्तिको चाकरी गर्ने, आजको भोलीनै आफ्ना आदर्श बिर्सने, कुनैपनि अडान नभएकाहरु संघ संस्थाको नेत्रित्व गर्न पुग्छन् । यूरोप र अझ विश्वका धेरै मुलुकमा रहेका नेपालीहरुको यो रोग स्पेनमापनि उस्तै रहेछ ।
एन आर एन गठनकालागि होस् कि नेपाली कांग्रेसको भगिनी संगठन नेपाली जन संपर्क समिती । एमालेकै नेपालीज डेमोक्रेटिक फोरम होस् । पदकालागि ति लडाभाँती गर्छन् । पछिल्लो पटक यो रोग लिएर फेरी देखा परेको छ, अन्तर्राष्ट्रिय कलाकार संघ । विश्वभरि छरिएका नेपाली कलाकारहरु संगठित हुनु राम्रो कुरो हो । नेपाली कलाकारहरु अहिले अन्य नेपालीसँगै विश्वका कुना कुनामा पुगेकापनि छन् । तिनलाई संगठित गर्दा नेपाली कला र संस्क्रिति ति देशका स्थानिय माझ चिनाउन सहज हुन्छ । हाम्रा नयाँ पिँढीलाई आफ्नो देशको कला र संस्क्रितिमा रस बसाइराख्नपनि सकिन्छ । तर यो संगठन गठन गर्ने हल्ला चलाए अमेरिकाका केहि छट्टुहरुले । त्यो हावा पठाए यूरोप र अन्य मुलुकमा । अनि के के न पाइन्छ झैं गरेर दाम्लो छिनालेका गाइ गोरु झैं बुर्कुसी मार्न थाले तिनै छट्टुहरु ।
आजै राती, अहिलेनै गठन नगरे के के न आँधी बेहरीले ब्रह्माण्डनै उडाएर सत्यानाश पार्ला झैं गरे । हुटहुटी लगाए । एनआरएनले कला र संस्क्रितिको संरक्षण र बिस्तारकालागि पहल गर्ने गाइगुइँ सुन्नासाथ कलाकार नामका केहि छट्टुहरुले रात बिरात सोझासाझालाई उचालेर स्वार्थ सिद्द गर्न हुटहुटी लगाएका हुन् । यहि हुटहुटीको माँखे साङ्लामा स्पेनपनि नपर्ने कुरै भएन ।
अघिल्लो हप्तासम्म कलाकारहरु एक जुट हुनुपर्छ भन्ने गाइँगुइँ चलेछ । स्पेनमा सबैले नाम लिने ब्यक्ति हुन् डिक कार्की र संजय । डिक कार्की त्यहाँको स्पेनिश भाषामा पारंगत मात्रै छैनन् । स्नेपमा नेपाल र नेपाली भनेपछि चासो राख्ने संस्थाले पत्याउने ब्यक्तिपनि हुन् । यो कुनै आग्रह र पूर्वाग्रह होइन कि देखिएको, बुझिएको र नेपालबारे चासो राख्ने त्यहाँका संस्थाले उनलाई पत्याएर बिभिन्न कार्यक्रममा संलग्न गराउने गरेको वास्तबिकता हो ।
स्पेनमा नेपाली कलाकार संस्था गठन हुने भए के नेपाली कला र संस्क्रिति, साहित्य र लोक गाथा भनेर स्पेनका स्थानिय संस्थालाई चिनाउन लागि पर्ने यस्तै ब्यक्ति छुट्छन् ? रातारात त्यहाँ छट्टुहरु मिलेछन् र केहिलाई वास्तबिकता भन्दा फरक जानकारीको भ्रममा संलग्न गराए । केहिलाई ‘लौ यो त अन्तर्राष्ट्रिय संस्था, आजै नभए त बितिहाल्छ, छुटियो भने बर्बादै हुन्छ’ भन्दै गठन गरे सोझासाझालाई हात लिएर । यस्तो संस्थामा स्थानिय भाषा जानेको, नेपाली भाषामापनि पोख्त, आङ्ल भाषापनि मस्काउने, स्थानिय संघ संस्थामा पहुँच भएको डिक कार्की जस्ता मान्छे भए भने न अंग्रेजी जान्ने, न स्थानिय भाषा जान्ने, नत त्यहाँका स्थानिय नागरिक र संस्थाले पत्याउने छट्टुहरुको के काम ? तिनले कहाँ जम्न पाउने ? त्यहि भएर तिनले रातारात कलाकार संघ गठन गरेछन् । पद लिनेलाइपनि कस्तो लाज नभएको ? जुन देशमा संगठन छ त्यहाँको भाषा आउँदैन, स्थानिय संस्क्रिति र संस्थासित पहुँच छैन, नेत्रित्व लिन हातमा कानुनी कागज छैन, बिगतमा काम गरेर देखाएको आधार छैन भने त्यस्ता ब्यक्ति यदि ईमान्दार भए ‘म बस्दिन, योग्य छैन’ भन्नु पर्दैन ? के भन्थे पदका लम्पटहरुले । लाजै नमानी कुखुरा ओथारो बसेझैं पद ओगटे ।
लामो समयदेखि स्थानिय स्तरमा नेपाली कला र संस्क्रितिकोलागि काम गर्दै आएका रहेछन् डिक कार्कीले । उनले त्यहाँका नेपाली कलाकारलाईपनि संगठित गरेका रहेछन् । म स्पेन हुँदापनि नेपालबाट धर्म पुत्रपुत्री बनाएर स्पेन ल्याएका नेपाली वालवालिकालाई नेपाली संस्क्रिति चिनाउन खोलिएको स्थानिय संस्थाले गित र संगित देखाउन डाकेको रहेछ नोभेम्बर २७ का कालागि । उनी त्यसैकालागि कहिले रिहर्शल गर्न बोलाउँथे अरु कलाकारलाई । कहिले जागिरबाट बेला नहुँदै दगुर्थे । आफु बस्ने कोठाका कुर्सी र टेबल पन्छाउँदै त्यहिँ रिहर्सल गराएका थिए । कहिले नेपाली ढाकाटोपी, दौरा सुरुवाल बटुल्दै हुन्थे । तर अन्तर्राष्ट्रिय कलाकार संघ गठन गर्नेहरुका मूली कतै भूतलमा थिए आफ्नै दुनियाँमा ।
किनभने स्पेनमा केहि नेपाली छन् जो आफ्नो सिप, जाँघर, आत्म विश्वास, आफ्नो क्षमता र आत्म सम्मानमा विश्वास गर्छन् । तिनलाई नेपाल र नेपालीको संस्क्रिति चिनाउँदा प्रचारप्रसारको लोभ होइन आत्मसम्मान भए पुग्छ । ति भुसुनो जस्तो काम गरेर भैसीं जत्रा अक्षरले पत्रपत्रीकामा लेखाउँन हतारिँदैनन् । काम गर्यो पुग्यो, तिनलाई प्रचारप्रसारको लोभ हुन्न । ति वास्तबिक नेपाल चिनाउन मरिमेट्छन् । पक्कैपनि केहि अरु कलाकार छन् स्पेनमा जो केहि वर्ष देखि नेपाली संस्क्रिति र कला चिनाइरहेका छन् । तर तिनको प्रचारप्रसारबाट नाम टाढै छ । किनभने तिनले स्वार्थ पर्नासाथ म फलानो पार्टीको भन्दै रातबिरात भेष बदल्दैनन् । तिनले अमेरिकाका वरिस्ठ नामधारी कलाकारलाई फोन गरेर चाकरी गर्दैनन् । तर जसको स्वार्थ भनेको आफ्नो नाम उचाल्नु, आफ्ना करतुत छोप्नु, नेताका अघिपछि लाग्नु, अर्काले काम गरिदिएपछि आफू माइक समातेर ठालू पल्टनु मात्रै हो तिनैले पदका लागि मरिहत्ते गर्छन् । अहिले स्पेनमा यहि भएको छ । अरु देशको अवस्थापनि यस्तै हुँदै छ ।
सुन्दै कति हाँसो लाग्यो भने, बिभिन्न देशका कलाकारले मासिक रकम उठाउने रे । अनि त्यो रकमबाट २५ प्रतिशत चाहिँ अ मेरिका पठाउनुपर्ने रे । किनभने संयुक्त राष्ट्र संघको कार्यालय अ मेरिकामा भने झैं त्यो अन्तर् राष्ट्रिय नेपाली कलाकार संघको कार्यालयपनि अ मेरिकामा छ रे । उनीहरुको निर्देशन, छहारी, दया र चलाखीमा गठन गरेकाले त्यो रकम अ मेरिका पठाउनुपर्ने । यो त नेपालमा ठगेर अ मेरिका पसेका केहि ठगहरुको चाला होइन र फेरी कलाकारलाई ठग्ने ? बेल्जियममा यूनिटीका ठगले ठगे । अब फेरी कलाकारको भेषमा अर्का थरी कलाकारले सोझा कलाकारलाई ठग्दै छन् । किन दिने यूरोपमा कलाकार संगठन खोल्नेले २५ प्रतिशत रकम अमेरिकाका नेपालीलाई ?
अमेरिका धनी देश । त्यहाँ बस्ने नेपाली यसै धनी र सम्पन्न । स्पेन, पोर्चुगल, पोल्याण्ड त गरिब देश अ मेरिका भन्दा धेरै गुणा । अनि धनी देशका सम्पन्न नेपालीले पो बिपन्न देशमा बसेका नेपालीलाई आफ्नो कला र संस्क्रिति बचाउन, फैलाउन कार्यक्रमका लागि आर्थिक र अन्य सहयोग दिनु पर्ने होइन ? नेपालमा ठगेर अमेरिका पसे । त्यहाँका नेपालीलाई ठगे । अझै नपुगेर फेरी कलाकारका नाममा विश्वभरीका नेपालीलाई ठग्ने मेसो त होइन यो कतै ?
प्रजातान्त्रिक आन्दोलन दबाउन लागि परेकाहरु, नेपालबाट अनेक प्रलोभनमा नेपालीहरु बिदेश ओसार्नेहरु, सामाजिक ईज्जत र प्रतिस्ठा गुमाएकाहरु, राजनितिक पार्टीका आवरणमा दिन दिनै भेष बदल्नेहरु अहिलेनै देखापरिसके यो अन्तर्राष्ट्रिय नेपाली कलाकार संघमा । अनेक दल र भगिनी संगठनका नाममा बिभाजित नेपालीहरु छन् । अब कलाकारलाईपनि बिभाजित गर्ने मेसो त होइन यो ? यो संस्थाका पछाडी कस्ता ब्यक्ति छन् ? तिनको प्रिष्ठभूमी के हो ? बिगतमा तिनले के कस्ता ठगी र चाकरी चाप्लुसी गरे र आजसम्म के गर्दैछन् ? आफूले मासिक रुपमा लेवी उठाएर अरु देशका नेपाली कलाकरले किन अमेरिका पैसा पठाउने ?
एनआरएनले हरेक देशका शाखाबाट सिमित रकम केन्द्रमा दिनुपर्ने नियम काठमाडौंको कार्यालय चलाउनकालागि हो मूलत । ठ्याक्कै त्यहि गर्न खोजे झैं देखिन्छ । एनआरएन सित टक्कर लिन खोजेको जस्तोपनि लाग्छ । तर त्यो रकम किन, कहाँ, केकालागि र कसरि खर्च गरिने हो भन्ने स्पष्ठ खुलेको भने छैन । एन आर एनले कला संस्क्रितिलाई बिदेशमा प्रवर्धन गर्ने भन्ने गाइगुइँ सुन्नासाथ केहि कलकार तातेर हतार हतार नेत्रित्व लिन खोजेका हुन् भन्नेपनि निकै छन् ।
कलाकारहरु भनेका गहना झन राष्ट्रका । तिनको सिप, प्रिष्ठभूमी, गरिमा, ईज्जत र प्रतिस्ठाले नेपालको झल्को दिन्छ । त्यसैले कलाकारको नेत्रित्व छान्दा स्वच्छ, क्षमतावान, प्रतिस्ठित, ब्यक्तिगत प्रतिस्ठा भन्दा नेपाल र नेपालीको सेवामा रमाउने ब्यक्ति हुनुपर्छ । स्थानिर भाषा संस्क्रिति जानेको, स्थानिय संघ संस्थामा पहुँच भएको ब्यक्तिले मात्रै संवन्धित देशमा नेपालको संस्क्रिति र कला फैलाउन सक्छ, बिदेशी र स्वदेशीको मन जित्न सक्छ । टपरटुइयाँ, चाकारीबाज, सामाजिक प्रतिस्ठा गुमाएका, निजि स्वार्थ मात्रै हेर्ने, स्थानिय संघ संस्थामा कुनै सरोकार नभएका र भाषाको पहुँच पनि नहुने ज्ञान पनि नहुनेलाई नेत्रित्व दिएर बिदेशमा नेपाली कला र संस्क्रितिको प्रचार प्रसार र प्रतिस्ठा जोगिन सक्दैन । बरु उल्टै नेपाली कला र संस्क्रितिको बेइज्जति हुन्छ । नेपाली कलाकारको मानमर्दन हुन्छ ।
यूरोपका यति धेरै देशमा छरिएका नेपाली कलाकारहरु यसैपनि अमेरिकाका सिमित कलाकारको पारामा दौडिनु उपयुक्त छैन । भलै विश्वभरिकै कलाकार सहि ढंगले समेटिए भने त्यो राम्रो हो। कला, संस्क्रिति र सभ्यतामा यसैपनि अमेरिका भन्दा यूरोप धनी छ । यहाँ संस्क्रितिलाई महत्व दिने संस्कार र परिपाटीपनि बढि छ । त्यसले गर्दापनि यूरोपका कलाकारहरुको महत्व र भूमिका अमेरिकाको भन्दा बरु बढि होला र हुनुपर्छ । कम हुनुहुन्न । त्यसैले संघ संस्था गठन गर्दा एक पटक सोच्ने हो कि कलाकार साथीहरु हो ?





