घुस्याहालाई चिनाउन हामीपनि स्पाई क्यामरा बोक्ने कि ?

राजबरसिं थापा / क्यानडा

गत हप्ता स्वदेश हो या बिदेश श्रीमान भेट्न अमेरिका जान लागेकी डिचेन डोल्मा शेर्पाको समाचारले खूव चर्चा पायो । अझै यसको बारेमा चर्चा हुँदै छ नै । कुरो चर्चामा मात्रै सिमित होइन । प्रधानमन्त्रिको कार्यालयमा जानकारी भयर प्रधानमन्त्रिबाट कारबाहीको लागि आदेश भैसकेको छ । चर्चा डोल्मा बैनीले अमेरिका जान लागेकोले होइन । उनको चलाखिपूर्ण तरीकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने खुल्लम खुल्ला भ्रस्टाचारको प्रमाण सहित को खुलासा ले गर्दा हो । यो समाचार अहिले सप्रमाण रूपमा अडियो र भिडियोमा  सुन्न देख्न र डोल्मा बैनी आफुलेनै लेखेको समाचारको रूममा पढन पाइएको छ ।

 यो त एउटा सानो नमूना मात्र हो जो नेपालको अझ प्रस्ट रुपमा भन्नुपर्दा सरकारी कार्यालयमा हुने भ्रस्टाचारको  नमूना मात्र हो जहाँ डोल्मा जस्ता हजारौ हजार सोझा सीधा नेपालीलाई दिनदहाडै यी कर्मचारी नामका जुकाहरुद्वारा अनेकौ बहानामा चुसीन्छ । देशको करोडौ अरबौ कर यस्ता लुटाहा जुकाहरुबाट आफ्नो गोजीमा भर्ने गरिन्छ । डोल्मा नेपाली हुन् भन्ने प्रस्ट खुल्दा खुल्दैपनि र भएको प्रामाण जुटाइसकेपछिपनि जसरी लुटियो त्यों सरासर घिन्लाग्दो र अपाच्य कर्तुत हो ।

 अध्यागमनका निर्देशक ऋषि ढकालका अनुसार अमेरिकामा रहेका नेपाली शरणार्थीको परिवारले पाउने भिसा भएकोले जाच गरिएको बताएका छन । तर अध्यागमनको नियम अनुसार सबै प्रक्रिया पुर्‍याइसकेपछिपनि किन त्यस्तो घिन लाग्दो तरीकाले त्यति ठूलो रकम माग भो ?

अर्को कुरा डोल्माले यो पोल खोलेपछी नेपाल र देश बाहिर रहेका केही संघ संस्थाहरुले अलिकती राजनीती घुसाउने काम पनी गर्न खोजे । यी बस्नेत जस्ता जुकाहरुले कुनै जात भात, समाज, रास्ट्र हेर्ने भए किन यस्तो घिनलाग्दो र लुटाहा काम गर्थे ? डोल्माले त सप्रमाण जुटाउने हिम्मत गरिन र पो यो कुरो प्रस्ट  भएर बाहिर आयो । नत्र त दिनहुँ यसरी यी जुकाहरुले कती नेपाली जनता, कती गरीब जनता, कती खाड़ीमा पसीना चुहाएर देशलाई अरबका अरब रेमिट्यान्स भित्र्याउने देशका छोरा छोरीलाई लुटेका छन । २/४ वर्ष हात का नंग्रा खियाएर आफ्नो घर र परिवार हेर्न घर फर्केका नेपाली छोरा छोरीलाई कसरी दुःख दिएका छन त्यों हिसाब गरेर सकिन्न ।

 बेक्कार मा किन हुने नहुने नाना थरिका अरु घुसाउने ? हुने नहुने अरु कुरोमा हामी किन अल्झने ? सारा नेपाली जनता यी जुकाहरुको कालो कर्तुत को बिरोधमा लागौ न ।यी त देशका जुका हुन । देश र जनताको खाएर तिनै जनता र देशलाई लुट्ने लुटाहा र वैरी हुन् । गरीब जनताले आफ्नो गाँस कटाएर दिएको करको तलब खाएर तिनै जनतालाई नाना भातिको दुःख दिने डाँका हुन् । सलाम छ डोल्मा बैनीलाई यत्रो हिम्मत गरेर सप्रमाण जुटाएर सबा २ करोड नेपालीलाई राम्रो कामको सुरुवात देखाइदिनु भएकोमा ।

 प्रधानमन्त्रि बाबुराम भट्टराईले प्रस्ट रूपमा घुस खाने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको भन्ने पढ़न पाइएको छ । हाँस्यास्पद कुरो के छ भने त्यति ठूलो नाटक बनाएर घुस खाने कर्मचारी कार्यालय सहयोगी मात्र रहेको भन्ने सार्वजनिक गरिएको छ । यदि यी घुस खाने कर्मचारी कार्यालय सहयोगी मात्र हुन भने उनि नेपाली कर्मचारीको हैसियतमा पियन सरह का कर्मचारी परे । कसरी उनी डेस्कसम्म पुगेर अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो देशको उडान भर्न लागेको यात्रीको कागज पत्र चेक गर्न पुगे ? के यौटा पियन स्तरको कर्मचारीले गर्दै आएको छ हाम्रो देशको अन्तर्राष्ट्रिय विमानस्थल डेस्कको चेक जाँच ? यसले नै बताउँदैन हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा स्थिति स्थिति ? देश सम्हालेर बस्नेहरु हो दिमाग मा घण्ट बजाए हुन्छ फेरो अर्को प्लेन अपहरणको कहाली देशले बेहेर्नु नपरोस । 

डेचेनको दाबीअनुसार उनीसँग रकम असुल्न विमानस्थलका चार कर्मचारी, जिल्ला प्रशासनका कर्मचारी र अध्यागमन कानुन शाखाका कर्मचारीसमेत प्रत्यक्ष संलग्न देखिएका छन् । अध्यागमनका निर्देसकका अनुसार अहिलेसम्म अध्यागमनले बस्नेतलाई मात्र निलम्बन गरेको किन ? जिल्ला प्रशासन जाँदा अध्यागमनका एउटा कार्यालय सहायकले कसरी सीधा गएर फाइलबाट कागज पत्र चेक जाँच गर्न सक्छ ? प्रसासन कार्यालय का कर्मचारीको सहयोग या मिलेमतो बिना यो संभव छ ? किनकी यो लहरोंको जरो धेरै भित्रसम्म गढ़ेको छ र यसलाई सकेसम्म भित्रसम्म खन्नु जरुरी छ जसले गर्दा चुरो फाल्न सकियोस । 

डोल्माले ७० हजारमा काम गरीदिनु भन्दा २५ लाख खर्च गरेर बिदेश जान सक्ने तर त्यति तिर्न नसक्ने भन्ने हाकिमलाई घुस लिने बस्नेतसंगै किन निलम्बन गरिएन ? कसको आसिर्बाद छ उसलाई ? कि लहरोले माथिसम्म कै पहरो थर्काउने भएर हो ? यस्ता निन्दनिय काम गर्नेहरु निकै छन् जो पर्दा पछाडि लुकेर, छिपेर र लुकाएर राखिएका छन् । कड़ा भन्दा  कड़ा कारबाहीको निर्देशन दिने प्रधानमन्त्रि बाबुराम भट्टराईलाई धन्यबाद । तर भोलीको दिनमा कस्तो किसिमको कारबाही हुने हो त्यो त हेर्न बाकि नै छ । सकेसम्म समाजमा धेरै अगाडीदेखि गढेर रहेका यस्ता कुक्रिती र जुका प्रबितीलाई हाँगा मात्र होइन जरो देखि उखेलेर फाल्नु जरुरी छ । 

क़ानूनी रुपमा कारबाही त होला तर यस्ता समाजका कलंकहरुलाई अबदेखि अरु कोही कसैले यस्ता कुकार्य गर्ने आँटै नगर्नेगरि पाखा लगाउनुपर्छ । यसको मतलब बस्नेत र तिनका मतियारहरुलाई निलंबन मात्रै न्यायोचित सजाय हुन सक्तैन । समाजमा सबैको अगाडी यस्ता कर्तुत बहादुरहरुको चर्तिकलालाई नेपाली प्रेसले गतिलोसंग झापड खुवाउने हिसाबले पर्दाफास गराउनु पर्दछ नकि अर्को बहादुरले फेरी यस्तो कु कार्य गर्ने आँट गरोस । प्रधानमन्त्रि भट्टराई साहेब खबरदार यी जुका र यी जुकाका मतियारहरुले कुनै पार्टीको नक्कली खोल ओढेर उम्कने प्रयास गरेमा र गराइएमा यी नेपाली गरिव जनता र नेपाली धर्ति आमाको सरापले सधैंलाई पोल्ने छ जसले उम्काउने प्रयास गर्ने छ । 

देशका कर्मचारीतंत्रमा अलिकती पनी देशका नागरिक प्रति सहानुभूति आदर मान, सभ्य शिष्ठब्यवहार प्रकट गर्ने सभ्यताको बिकास पटक्कै भएको देखिन्न । देशको जिम्मेवार नागरिक र कर्मचारी भइसकेपछी एक अर्को नागरिकको सामुन्ने ठुलो जात सानो जातको कुरा गर्न सुहाउँदैन । अझ अध्यागमनमा त जान लागेको देश, पासपोर्ट, अनुहार हेरेर हेप्ने गरिन्छ । अझ खाड़ी मुलुक जाने यात्रुलाई गरिने वेबहर सारै निंदनीय र अपाच्य छ जून कुरा अब आउने दिनहरुमा एक एक गरेर सुन्न र पढ्न पाइने छ । 

संसारको सबै देशले अपनाएको सिसि टिवी क्यामेरा किन हाम्रै देशको अध्यागमनमा छैन ? यी जुकाहरुकै करामतले गर्दा त होइन सम्बन्धित निकायको ध्यान कहिल्यै नगएको ? अब आउने दिनहरुमा हामी जिम्मेवार नागरिकको हैसियत ले डोल्माझैं साहस गरेर यी जुकाहरुको भ्रष्ट काम र चर्तिकलाको भण्डाफोर किन नगर्ने ? यदि हामीले चाहेमा भने पक्कै गर्न सकिने छ । जो कोही नेपाली बिदेशबाट फर्कँदा वा नेपालबाट बिदेश लाग्दा होस, साधारण क्यामरा भएको फ़ोन नै किन नहोस अडियो सहित प्रयोग गरौं । अझ सकिन्छ भने विडियो नै किन भिडियो नै किन नखिच्ने ? र अन्य भ्रष्टाचारीलाई पनि त्यहि बस्नेतलाईझैं किन ननंग्याउने ?

तपाइँको प्रतिक्रिया