हेर बुद्दको दूरुपयोग !

भगवान गौतम बुद्दको शालिक हो यो । करिब दुई वर्ष अघि पत्रकार साथी (हालसालै प्रकाशित मेरो किताब ‘त्यो नेपाल’का सम्पादकपनि) सामाखुशिबाट पश्चिमतिरको चोकमा भेट्ने सहमती गरियो । दुईतिरको सडकको बिचमा गौतम बुद्द ठडिएका । उत्सुकता जाग्यो, यी बुद्द किन त्यहाँ ठडिए । दरबार, घर जग्गा, पारिवारिक मोह र दरवारिया ऐश र सुख त्यागेका उनी । उनैलाई किन रहर लागेहोला सडकको बिचमा उभिन ? वरिपरिका पसलेलाई सोधियो । थाह भयो, राजनितिक पार्टीका नेतालाई प्रयोग गर्ने, सोर्सफोर्स र भनसुन गर्ने मेसो प्रतिकूल हुँदै गएपछि जग्गा हडप्ने धार्मिक हतकण्डा अपनाएका रहेछन्र  चोर फटाहाहरुले ।

सडक बिस्तार हुँदै रहेछ । सडक बिभागले वरिपरि मिचेर बनाएका घर भत्काएर सडक फराकिलो बनाउन थाल्यो । अनि सार्वजनिक जग्गा हडप्नेहरुले चोर जुक्ति निकाले । जहाँ जग्गा र घर भत्काउने चिन्ह राखेको छ त्यहिँ भगवानको मूर्ती बनाइदिने । त्यसलाई भत्काउन मिलेन । भत्कायो भने लौ भगवानमाथि आक्रमण र तोडफोड भयो भन्दै धार्मिक बखेडा झिक्ने, आतंक मच्चाउने । त्यहि दाउले सार्वजनिक जग्गा हडप्ने चोरहरुले रातारात खडा गरेका रहेछन् यो बुद्द मूर्ती ।

धार्मिक आस्था सबैभन्दा बलियो, डरलाग्दो र संवेदनशिल हुन्छ नै । त्यसैले भत्काउनुपर्ने ठाउँमा परेपनि सडक बिभागका कर्मचारी डराए । त्यसलाई हटाउन खोज्दा साँच्चिनै दंगा भड्कियो भने के गर्ने ? त्यसैले सडक बिभागका मान्छेहरुलेपनि अक्किल निकाले, त्यसलाई बिचैमा छोडेर सडक अझ बाहिरपट्टीबाट फैलाएर बुद्दलाइ नछोइ लैजाने । यो बुद्दमूर्ती अहिलेसम्मपनि जहाँको त्यहिँ छ । सडक फराकिलो छ । अहिलेसम्म त्यो फराकिलो सडकमा यातायातको दोहोरो लेन बनाएर गाडी गुडाउन खाँचै परेको त छैन । तर सवारीको चाप बढेर त्यहाँ सडकलाई ट्रफिक नियम अनुसार ब्यवस्थित गर्नु पर्‍यो भने त्यसले पक्कै समस्या पार्छ । राजधानीमै यस्ता सार्वजनिक सम्पत्तीका चोरहरुले देशका अरु भागमा के के गरेका होलान् ? सडक बिभागलेपनि त्यो मूर्तीलाई वरिपरिबाट खनेर सग्लै निकाल्ने र अन्यत्र लगेर स्थपित गराउने अक्किल निकाल्न किन नसकेको होला ? सार्वजनिक जग्गा जमिन हडप्न गौतम बुद्द जस्ता त्यागीलाई दूरुपयोग गर्ने त्यस्ता अपराधीहरुलाई सरकारलेपनि झ्याप्प झ्याप्प समातेर कारवाही गर्न नसकेको किन होला ?

तपाइँको प्रतिक्रिया