प्रहरीकै घुसपैठ त छैन ईस्लामिक महासचिवको हत्यामा ?
इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको अज्ञात बन्दुकधारीले प्रहरी कार्यालयकै अगाडि गोली हानेर ज्यान लिए । हत्या हुँदा बरु त्रीचन्द्र क्याम्पसका बिध्यार्थीले देखे । तर महानगरीय प्रहरी प्रभाग रानिपोखरीका प्रहरीले भने सुइँकोसम्म पाएनन् । प्रहरी कार्यालयको आगाडी नै गोली हानी हत्या हुँदा प्रहरीले पत्तोनै नपाउनु के संभव छ ? छ भने कस्तो सुरक्षा संयन्त्र हो हाम्रो ? कि उनको हत्यामा कतै प्रहरीहरुनै संलग्न त छैनन् ?
उनलाई घण्टाघर अगाडिको मस्जिदमा नमाज पढेर फर्किरहेको बेला पैदलमै आएका हतियारधारीले ड्याङ ड्याङ गोली हाने । मान्छेहरु ओहोरदोहोर गरिरहेका बेला दिउँसै निर्धक्कले गोली प्रहार भयो । अनि खुरुखुरु हिँडेरै बाटो लागे अपराधी । सुरक्षाका दृष्टीले त्यो ठाउँ संवेदनशिल भन्छन् । अपराधीका लागि यति निर्धक्कको ठाउँ कसरि संवेदनशिल भयो सरकारकालागि ?
मलाई चाहिँ यो घटनामा कतै प्रहरी संयन्त्र नै संलग्न छ कि भन्ने किन लागेको भने एक त आक्रमणकारीहरु दिउँसै आए पैदलमै । जति ढिलो भएपनि कसैले पक्रिन सक्दैन, सुरक्षा अधिकारीहरु कोहि आउँदैनन् झैं गरेर आए । ओहोर दोहोर गरिरहेका सयौं मान्छेका अगाडि सब्जी किन्न आए झैं मान्छे मारेर निर्धक्कले बाटो लागे । अर्को कुरो घटना जहाँ भएको छ त्यसको वरिपरि चारैतिर प्रहरीहरुको बिट छ । घटनास्थल अगाडीनै महानगरीय प्रहरी प्रभाग भनिने प्रहरीको कार्यालय छ । त्यसैको अगाडि प्रहरीको भ्यान २४ घण्टै तैनाथ रहन्छ । त्यसैको अलिकति अगाडि मात्रै महानगरीय प्रहरी वृत्त भनिने दरबारमार्ग प्रहरी छ । त्यहाँपनि प्रहरी तैनाथ हुन्छन् । उता कमलादीतर्फ (जता आक्रमणकारीहरु भागे) पनि २४ घण्टा नै प्रहरीहरु तैनाथ रहन्छन् । त्यसैगरि नजिकै रहेको अमेरिकी राजदूतको निवासलाई सुरक्षा दिन त झन अत्याधुनिक हतियारले सुसज्जित सशस्त्र प्रहरीको टोली चौबिसै घण्टा खटिएको हुन्छ ।
यसरि हेर्दा आक्रमणकारीहरु सजिलै त कहिँ कतै भाग्ने ठाउँ नै छैन । आक्रमणकारीहरुलाई यो सबैको ज्ञान नहुने कुरै छैन । तैपनि चारैतिर सुरक्षा अधिकारीहरु हुँदापनि कसरि निर्धक्कले गोली हानेर ति सुरक्षाकर्मी भएकै दिशातिर पैदलमा गए ? शंका गर्नुपर्ने ठाउँ यहिँ छ । अर्को कुरो केपनि हो भने ईस्लाम धर्मप्रति केहि कट्टरबादीहरु अनुदार थिए । पहिलेपनि यो जामे मस्जिदमा आक्रमण भएको थियो । हिन्दू अतिवादीहरुले तारो बनाएका थिए । धम्कि दिएकै थिए । यति हुँदा हुँदैपनि सुरक्षाकर्मीको ध्यान किन गएन ? त्यसैले गर्दापनि यसको सुरक्षा र इस्लाम धर्ममा आस्था राख्नेप्रति सुरक्षाकर्मी यसैपनि चनाखो हुनुपर्ने हो । अनुदारबादीको आक्रमणमा परेको मस्जिदको अगाडिनै दिनदहाडै हत्या हुँदा एक बित्ता अगाडि सुरक्षामा तैनाथ सुरक्षाकर्मीले कसरि पत्तो पाएनन् ?
हुनत, भ्रस्टाचार नहुने थलोनै छैन नेपालमा । न्यायालय भ्रस्टाचारी । सेना, प्रहरी, सभासद, मन्त्री, जिविस, गाविस, प्रशासक, शिक्षक, जिल्ला प्रमुख, खानेपानी सबैका सबै भ्रस्ट । देश चलाउने नेतानै भ्रष्ट भएपछि अरु क्षेत्र बाँकि रहने त कुरै भएन । त्यसैले कतै यो घटनामा धार्मीक अतिवादीको घुसपैठ र खरिदबिक्रिमा सुरक्षा अधिकारीहरु नै परेका होइनन् ? शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ ।
जब कलंकित, भ्रष्ट, अपराधीका संरक्षकनै ग्रिह मन्त्री भएपछि कसरि सुरक्षा अंग गतिलो हुन्छ ? फिरौती उठाउनेहरु, गुण्डा र डनहरुलाई ग्रिहमन्त्रीले आफ्नो पार्टीमा भर्ति गरेर सम्मान गर्छन्, पाल्छन् भने कसरि सुरक्षा अधिकारीहरुको मनोबल उच्च रहन्छ ? कलंकित ग्रिहमन्त्रीमा कसरि नैतिकता रहन्छ सुरक्षा क्षेत्रलाई गतिलोसित परिचालन गर्न ?
सरकारसित भने गज्जबको अस्त्र छ कसैको हत्या भयो भने त्यसलाई साम्य पार्ने । ब्यक्तिगत रिसराग, हमला, भैंसीले हानेर, भिरबाट लडेर, ऋण नतिरेर वा कुनै समूहगत झैंझगडाले कोहि किन नमारियोस् । उसलाई शहिद घोषणा गरिदिने, पैसो तिरिदिने । देश र जनताकालागि, राष्ट्रिय मुक्तिकोलागि, आन्दोलन गर्दा गर्दै गोली थापेको हुनु पर्दैन । शहिद सस्ता भएका छन् । भैंसीले बालीनाली खाएको रिसमा कुटपिट गर्दा कसैको ज्यान गयो भनेपनि शहिद घोषणा गर्नुपर्छ भन्ने माग राख्ने र सरकारले पनि हत्त न पत्त स्विकार गर्ने गरेपछि किन शहिदको माग नबढोस् ? इस्लामिक संगठनका फैजाद अहमदलाईपनि शहिद घोषणा गर्न सरकार तुरुन्तै राजि भयो ।





