फ्रान्सेली नजरमा नेपाल

किताब
अनमोलमणी
काठमाडौ, भाद्र २३ –
फरक पेसा, व्यवसाय र सन्दर्भमा घुम्न आएका २९ जना फ्रान्सेलीले नेपालको प्रकृति, समाज, संस्कृति, आर्थिक र विकासका अनेक पाटोबारे गरेको अनुभवहरूको संगालो हो पुस्तक ‘त्यो नेपाल’ । पेरिस बस्ने पत्रकार ददि सापकोटाले नेपाल आएका मानवशास्त्री, हिमाल आरोही, राजनीतिकर्मी, कूटनीतिज्ञ, वैज्ञानिक, पाइलट, रंगकर्मी तथा त्यहाँका सामान्य नागरिकको जीवन बिताइरहेका सित भेटेर गरेको कुराकानीका आधारमा लेखिएको यस पुस्तकलाई संस्मरण कृति पनि भन्न सकिन्छ । मस्ताराम फिरन्ता भएर नेपाल आएका वा राजनीतिक, कूटनीतिक पद बोकेर सम्बन्ध विस्तार र विकासको जिम्मेवारी लिएर आएका फ्रान्सेलीले नेपालबारे धेरै प्रशंसा र थोरै विवादास्पद टिप्पणी गरेका छन् पुस्तकमा । पुस्तक फ्रान्सेली अझ भनौं विदेशी आँखाबाट नेपाल अनुभव गर्ने दस्तावेज हो ।

पुस्तकमा फ्रान्सबाट नेपाली हिमालको प्रथम आरोही बनेका मोरिस होर्गेजदेखि राजा वीरेन्द्रका
फ्रान्सेली भाषा शिक्षक मार्क गाबिरियो, नेपाललाई ओस्करमा पुर्याउने फिल्म  ‘क्याराभान’का निर्देशक एरिक भालीदेखि पर्वतारोही मार्क बाता तथा इसिमोडका संस्थापकमध्येका एक जँ फ्वासँ देबेमसम्म छन् । फ्रान्समा राजा बीरेन्द्रले कुखुरा भुत्ल्याएको प्रसंग पनि रोचक छ । राजपरिवारसित सम्बन्ध भए पनि आफूहरू निरंकुशताको विरुद्ध रहेको फ्रान्सका नेताहरूले बताएका छन् । राजा वीरेन्द्रलाई विद्वान्, ज्ञानी र प्रजातन्त्रिक संस्कार भएका भन्ने फ्रान्सेलीले ज्ञानेन्द्रलाई मन पराएका छैनन् । फ्रान्सका पूर्वसांसद रोबर्ट ल फलले भनेका छन्, ‘उनी (ज्ञानेन्द्र) तानाशाह हुन् । नागरिक होस् या राजा तानाशाह भनेको तानाशाह नै हो ।’ (पृ ७) राजा वीरेन्द्रकी आलन ल ब्रेक नामकी मित्रले भावुक भएर वीरेन्द्रले फ्रान्समा वास बस्ने गरेको कोठा सम्झिँदै त्यसलाई संग्रहालयजस्तै सुरक्षित राखेको सुनाएकी छन् ।

रमाइलो के छ भने एकपल्ट नेपाल छिरेका ती फिरन्ता पटकपटक नेपाल आएका छन् । अनुसन्धान गरेका छन् । पुस्तक लेखेका छन् । समाजशास्त्रीय मानवशास्त्रीय अध्ययन गरेर आफ्नो योग्यता मात्रै बढाएका छैनन्, नेपालीलाई विकासमा सघाएर गुन पनि लाएका छन् । पढाइ र भोगाइ दुवैबाट खारिएको उनीहरूको अनुभवले हामी विकासमा पछि पर्नुको कारण पनि खुलाइदिएको छ । सत्तरीको दशकपछि कूटनीतिक सम्बन्ध स्थापित भएको फ्रान्ससित नेपालले आवश्यकताअनुसारको साझेदारी र सहयोग आदानप्रदान गर्न नसकेको देखाउँछ । नेपाल आउने पर्यटकलाई घुमन्ते मात्रै भनेर कम आँक्नु हुँदैन भन्ने ज्ञान पुस्तकले दिन्छ ।

शिक्षा, सडक, सञ्चारको विकास भइनसकेका बेला आएका विदेशीले नेपालबारे के सोचे होलान् ? प्रत्येक व्यक्तिको संस्मरणले भन्छ, ‘नेपाल प्राकृतिक सुन्दरताको अनुपम नमुना हो । नेपाली फरासिला र सहयोगी ।’ यस्तै सुनेकी माध्यमिक शिक्षिका इसाबेल साकारो श्रीमान्को असहमतिमा नेपाल आइन् जसले उनको सम्बन्ध विच्छेद नै भयो । त्यसपछि फुक्काफाल उनी पटकपटक नेपाल आइन् र पर्यटक भरियाबारे अध्ययन गरिन् । जसले उनलाई माध्यमिक शिक्षकको घेराबाट अनुसन्धानकर्तामा फराकिलो बनाइदियो । उनले भनेकी छन्, ‘हाम्रो देश धनी भएर के गर्नु ? जीवनका धेरै मूल्य, मान्यता र अर्थ हराइसके । ।।।गरिब भए पनि नेपालीहरू हीनताबोध देखाउँदैनन्, आफूमा गर्व गर्छन् । उनीहरूमा गरिमा, प्रतिष्ठा र धार्मिक सहिष्णुता छ ।’ (पृ १४४४५)

भनिन्छ फ्रान्सेलीहरू वास्तविकता सपनाभन्दा सुन्दर हुन्छ भन्ने मान्यता राखेर घुम्न निस्कन्छन् । त्यसमाथि हिमाल उनीहरूको बढी प्रिय देखिन्छ । पुस्तकमा जोडिएका सबैजसो व्यक्ति हिमालबारे बोलेर थाकेका छैनन् । युवा जोशमा नेपाल पदयात्रामा निस्केकाहरू अहिले जीवनको उत्तरार्द्धमा हिमालमा बढ्दो फोहोरप्रति दु:खी भएर नेपाल सम्झिरहेका छन् । हिमाल आरोहणबारेको अर्को रोचक र विवादास्पद कुरा पनि पुस्तकमा छ । त्यो हो सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाबारे । सगरमाथा आरोही मार्क बाताले ‘पैसा कमाउन असफल यात्राको थालनी गराएर पासाङको ज्यान दुरुपयोग गरिएको’ टिप्पणी गरेका छन् ।

ओर्लिन नसक्नुलाई पासाङको असफल आरोहण भन्दै उनी भन्छन्, ‘मेरो मूल्याङ्कनमा पासाङमा हिमाल आरोहण गर्ने पूर्ण दक्षता पुगेको थिएन । उनी धेरै ढिलो हिँड्थिन् र बढी नै भरियाहरूमा भर पर्थिन् । ।।उक्लिन सफल भइन्, ओर्लिन सकिनन् । पासाङसँगै सोनाम छिरिङ शेर्पाको पनि ज्यान गयो । उनको महत्त्वाकांक्षाले शेर्पाको जीवन पनि अन्त भयो । उनीहरूले पासाङलाई टुप्पोमा पुर्याउन ती शेर्पालाई पैसा दिएका थिए ।’

-पृ १९८) २१ वर्षअगाडिको घटनाबारे उनले पासाङका श्रीमान् ल्हाक्पा सोनाम र भाइ छिरिङको ‘व्यापार बढाउने महत्त्वाकांक्षा र पैसाका लागि पासाङ मरेको’ उल्लेख गरेका छन् । उनको भनाइमा अक्सिजन लिएर चढ्ने र टुप्पोमा पुगेर फर्किन नसक्नुलाई सफल आरोहण मान्नु हुँदैन ।

त्यस्तै अर्को प्रसंग पनि सगरमाथाकै हो । नेपाली सञ्चार र प्रशासनले सगरमाथामा हेलिकोप्टर अड्याएको कुराको खण्डन गरिरहेका बेला दिदिए देलसाल नामका फ्रान्सेली चालकले त्यसलाई चुनौती दिँदै पर्यटन र गृह मन्त्रालयले सगरमाथामा हेलिकोप्टर अड्याउन अनुमति दिएको दाबी गरेका छन् ।

‘बिस्तारै लगेर मैले हेलिकोप्टरको स्केट मात्रै अड्याएँ । किनभने सगरमाथाको टुप्पोमा पूर्णरूपमा अवतरण गराउन पुग्ने ठाउँ नै रहेनछ । विश्व कीर्तिमान राख्न कम्तीमा २ मिनेट टेकाउनुपथ्र्यो । मैले चार मिनेटभन्दा बढी टेकाएँ । स्केटलाई थिचेर म विश्वको छानामा अडिइरहेँ । गज्जब भइहाल्यो ।’ -पृ २२५) उनको यो अभिव्यक्तिले नेपालको प्रशासनिक पद्धतिमाथि प्रश्न उठाएको छ । सरकारले त्यो घटनाका बारे सत्यतथ्य बाहिर ल्याउनु आवश्यक छ ।

सरल भाषाशैलीका कारण विनोद ढुङ्गेलको सम्पादनमा पुस्तक सरर बगेको छ । गाउँ, हिमाल र पहाडको प्रसंग दोहोरिए पनि पुस्तकभरि तराईको कुनै पनि व्याख्या भेटिँदैन । तराई नगएकैले होला नेपालका लागि फ्रान्सका महावाणिज्यदूत डा। डिडिए बेर्नाले ‘जियो पोलिटिक्स’ को यसरी गलत व्याख्या गरेका छन्, ‘निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर विजयी भयो भने नेपाल सजिलै भारतीय बन्न सक्छ । नेकपा एमालेलाई अत्यधिक मतका साथ विजयी गरायो भने नेपाल सजिलै चिनियाँ बन्न सक्छ । त्यो नेपालको ठूलो समस्या हो ।’ -पृ ३२) यसले विदेशीले नेपाल हेर्ने दृष्टिकोण बुझाउँछ । यो हाम्रो कमजोरीका कारण भएको हो ।

पुस्तकमा भूकम्पविद् फ्रेदेरिक पेरियले बढ्दो सहरीकरणले भूकम्पीय खतरा बढाएको औंल्याएका छन् । ब्रुस्ले थि्रस्तँले बसाइसराइको प्रभावबारे बताएका छन् । कूटनीतिज्ञ फँसिद द नोइयलले सडक नहुँदा गरेको डोली यात्रा र ट्वीनअटर विमानको रोमाञ्चक यात्राको वर्णन सुनाएका छन् । कसैले पछिल्लो समय नेपाली समाजमा समवेदना र सम्बन्ध पैसासित दाँज्न थालेकोमा दु:खमनाउ गरेर नेपालीलाई प्रश्न छाडेका छन््, हिंसात्मक राजनीतिको प्रभावले नेपाली कठोर बन्दै गएका हुन् ?

लेखक ददि सापकोटाले हिमाली जीवन पढ्न चाहनेका लागि गतिलो खुराक तयार गरिदिएका छन् । यसमा इतिहास छ । सूचना र जानकारी छ । पढ्दा कहीं पट्यार लाग्दैन । हिप्पीहरूले छपक्कै ढाकेको सत्तरीअसीको दशकका पात्रहरू खोज्नु सजिलो काम होइन । ददिले अप्ठेरो काम थालेर नेपालका शुभचिन्तक, सहयोगी मनकारी विदेशीबारे खोज्न अरूलाई पनि हौस्याएका छन् ।

( प्रकाशित मिति: २०६८ भाद्र २४, शनीवार ०३:४८ कान्तिपुर दैनिकमा प्रकाशित)

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=251892

तपाइँको प्रतिक्रिया