दबाबमा पारेर महायज्ञमा दान माग्ने बेल्जियमका कागजी दानबीरहरु

शेरसिंह धामी / बेल्जियम

कुनै पनि मानव इच्छा बिपरित दबाब र जबरजस्ती जस्ता क्रियाकलाप गर्नु हिंसा, अपराध हुने किटान गर्दै बाचन प्रविण पण्डित पोखरेलले भेलालाई ज्ञान दिई रहँदा संयोजकहरुबाट भने व्यक्तिहरुलाई स्टेजमा बोलाई जबरजस्ती नचाउँदै थिए । र दबाबमा पारेर क्षमता भन्दा बेसी दान दिन घोषणा गराउँदै थिए । यस्ता कार्यहरु पण्डित गुरुको परिभाषा भित्र पर्छन् कि पर्दैनन् ? यसरि जबरजस्ती लेखाएर भोलि रकम प्राप्त हुने ग्यारेन्टी कति छ ? एन आर एन बेल्जियमले घोषणा गरेको दान कसरि प्राप्त गर्ने हो ?

च्यारिटी शो गरेर, ककसलाई मागेर दिन्छौं भन्ने एन आर एनको आकासे कुराको विश्वशनियता कसरि हुने हो ? यस्ता आकासे खेतीको एन आर एन बेल्जियमले कुरा गर्दा एन आर एन जस्ता गरिमामय संस्थाकै छबी माथि आँच आउँछ कि आउँदैन ? आकासे खेतीमा पानी पर्ला नपर्ला ग्यारेन्टी नभए झैँ जबरजस्ती घोषणा गराउँदै यति उठ्यो उति उठ्यो भनेर कागजी दानवीर बनाइएकाहरुले बोलेका रकमहरु प्राप्त भएको भने हेर्न अझै बाँकि नै छ ।

नेपाल देखि अमेरिकासम्म थुप्रै मन्दिर, स्कुल, कलेज बनाउन प्रबचनबाट करोडौं रकम उठाइएको समाचार भने सुनिँदै आइएको छ । तर योजना पुरा भयो भन्ने चाहिँ कतै सुन्नमा आएको छैन ! बरु दान दिन्छु भनेर बोलेका रकमहरु प्राप्त भएन भन्ने चाहिँ सुन्नमा आएको छ । अर्को तिर सात आठ हज्जार दिएर सत्र हज्जार तान्नेहरु, तास जुवा खेलाएर नेपालीले नेपालीलाई टाट पल्टाउने ब्यक्तिहरुनै कार्यक्रममा सर्वेसर्वा थिए । नगद नारायणको लागि सबै धन्दा उचित बैधानिक ठानी जस्तो धन्दापनि गर्ने सबै भगवान नारायणको कृपा सम्झी म बाहेक अरु असामाजिक भए भनि नैतिक शिक्षा पढाउन खोज्ने प्रोफेसरहरुको नै कार्यक्रममा हालीमुहाली रहेको थियो । त्यो देख्दा भने नेपाल हाउस बनाउने सपनामा प्रशस्त शंका गर्नु पर्ने ठाउँ देखिन्छ । नेपाल हाउस बनिहालेमा सबैले खुसि मान्नै पर्छ ।

हुन त  लाखेका मकुटहरु, हनुमान ढोकाका आँखी झ्यालहरु, पशुपतिनाथका गजुरहरु नेपाल हाउसमा देखाएर मात्र नेपालीहरुको पहिचान प्रतिष्ठा नहोला । चाइना टाउन, जापानी पार्कहरुले मात्र विश्वमा उनीहरुको पहिचान परिचय स्थापित भएको होइन होला । पहिलो कुरा त उनीहरुले आफ्नै देश समृद्दिमा पुरयाएको कारणले पहिचान, प्रतिष्ठा पाएको हो भन्ने मलाई लाग्दछ । यदि हाम्रो देश समृद्द बनाउन सक्यौं भने समृद्दी प्राप्त देशहरुले पहिचानको लागि  स्विस हाउस, नर्बेजियन हाउस बनाउन आवश्यक नपरे झैँ नेपालीहरुलाई चिनाउन नेपाल हाउस आवश्यक नपर्ला ।

यस्ता योजनाहरुले देशमा नुन चिनी, पानी खान नपाएर हैजाले सोत्तर पारीरहेको हाम्रो परिवार, बिभिन्न खाले माहामारीहरुको खोप भ्याक्सिन लाउन नपाई अस्वाभाविक अपांग, मृत्यु हुने हाम्रा दाजुभाई दिदीबहिनी, एक छाक खोले खान नपाई पुरै परिवार आत्महत्या गर्न बाध्य परिवार, किट्नी दान पाएर पनि ट्रान्सफर गर्न मात्र लाग्ने खर्च नभएर ढलिरहेका होनहार देशका खम्बाहरु जस्ता सहयोग गर्नै पर्ने अनगिन्ति महत्वका बिषयहरुलाइ पनि ओझेलमा नपरोस भनेर सबै सचेत हुन जरुरि देखिन्छ । बेल्जियममा पनि  भर्खरै किड्नी स्थानान्तरणकोलागि सहयोग मागिएको पर्चा सबैको हातमा परेको हुनुपर्छ । त्यसैले यहाँ नेपाल हाउस बनाउँदा नेपालमा अस्पत्ताल बनाउनु पर्छ भन्ने जोड दिएर देशलाई समृद्दी बनाउनकालागि दान दिइयो भने दानवीरहरुको अझ कदर हुनेछ । अन्तमा हामी नेपालीहरुलाई दान दिनपनि भेडा धपाउने गोठाला झैं प्रबचन आवस्यक नपर्ने गरि मानब हितका लागि स्वबिबेकले स्वस्फुर्त धेरै भन्दा धेरै दान प्रदान गर्ने शक्ति र प्रेरणा मिलोस् । यहि कामना गर्दै दानवीरहरुमा धन्यवाद टक्र्याउन चाहन्छु । सबैको जय होस् !

 

तपाइँको प्रतिक्रिया