राहत कार्यक्रममा पर्यटनलाई उपेक्षा

देश कि त बैदेशिक रेमिटेन्सले चलेको छ अहिले कि पर्यटन व्यवशायले धानेको छ । दैनिक एक हजार यूवा बिदेशिएका छन् रोजगारीको लागि । पर्यटन ब्यवशायपनि नहुँदो हो त कति युवा बिदेशीने थिए होला ? नेपालको अझ कति ग्रामिण भागमा विविध समस्या निस्कने थिए होला ? तर भर्खरै सरकारले घोषणा गरेको राहत कार्यक्रममा पर्यटन ब्यवशायको कहिँ कतै उल्लेख छैन । साँच्चै सरकारको ध्यान नपुगेको हो कि ? कि पर्यटन ब्यवशायमा कुनै समस्या छैनन् जो तत्कालै हल गर्नुपर्ने देखिन्छ ? पर्यटनको बिकासबारे निकै चर्कि चर्कि गफ हाँक्नेहरुले किन ध्यान दिन सकेनन् यसतर्फ ?

सरकार यस वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने भनेर नेपाल पर्यटन वर्ष २०११ मनाइरहेको छ । तर यसको औचित्य काम गरेर पुष्टि गर्न सकेको छैन । मुख्य गरि बिदेशबाट कसरि धेरै पर्यटक लैजाने भन्ने योजना हुनुपर्ने हो । त्यसकालागि सरकारले कम्तिमा सरकारको तर्फबाट नेपाल बायु सेवा निगमलाई प्रभावकारि बनाउनुपर्ने हो । यात बिदेशी कम्पनीलाई सुविधा र सहज पहुँच दिएर बढि मात्रामा आकर्षित गर्नुपर्ने हो । तर देशभित्र झाँकि र र्‍याली मै दंग परेका थिए अहिलेसम्मका सबै सरकार । यो सरकारले पनि त्यसकालागि कुनै ठोस योजना ल्याएन । 

‘पिक सिजन’ मानिने महिनामा बिदेशका मुख्य शहरबाट नेपाल जान चाहने पर्यटकहरुलाई बिमानको ब्यवस्था कसरि गर्ने ? भारतमै लाखौं लाख बिदेशी पर्यटक निकै पुग्ने हुनाले तिनलाई केहि रातका लागि भएपनि कसरि नेपाल लैजान पहन गर्ने ? भारतीय पर्यटकहरुको संख्या लाखौं भएकाले कसरि स्तरिय भारतीय पर्यटकलाई आकर्षण गर्ने ? अफ सिजन मानिने वर्षादका समयमा पर्यटक संख्या सुन्य झैं हुनाले त्यो याम सुहाउँदो कस्तो कार्यक्रम र सुविधान दिएर वर्षादको मौसम सुहाउँदा पर्यटक तान्ने ? सरकार कुनै ध्यान दिएको देखिएन । 

नेपालमा पर्यटक लगेर मात्रै हुँदैन । गएका पर्यटकको सुविधान, सवारी साधनको उपलब्धता र सहज आवागनपनि उत्तिकै महत्वपूर्ण कुरो हो । अक्टोबर, नोभेम्बर, डिसेम्बर, फर्वरी, मार्च र अप्रिल महिनामा पर्यटको खचाखच भिड लाग्छ । पर्यटकहरुको पहिलो छाप पर्ने ठाउँनै त्रिभुवन विमानस्थल हो । त्यहिँ पर्यटकले ट्रली नपाउने, ट्याक्सीहरुले ठग्ने, गाइडहरुले दुख दिने, तान्ने र अध्यागमनकै कर्मचारीले हैरानी दिने गरेका छन् । बिमानस्थल ओर्लिनासाथै पर्यटकहरुमा एक खाले त्रास स्रिजना हुन्छ । सिजनका बेला पर्यटकहरुले सजिलोसित सवारी साधन पाउँदैनन् । अन्नपूर्णपछि बढि पदयात्रा चल्ने सगरमाथा क्षेत्रको लुक्ला जान हप्तौं कुरेर बल्ल हवाई टिकट पाइन्छ । सरकारले नयाँ चुलीहरु खोलेको छ । तर त्यहाँ जानकलागि न त यातायात न त हवाई सुबिधा उपलब्ध छ ।

हप्तै पिच्छे हुने बन्द, हड्ताल र चक्काजामले पर्यटकहरु बिच बाटोमा हैरनी भोग्छन् । त्रसित बन्छन् । त्यसलाई कसरि रोक्ने हो कुनै योजना छैन । मुखले लुम्बिनी, पाल्पा, ईलाम, स्वर्गद्वारी आदिको बिकास गर्ने त भनिएको छ । तर त्यहाँ पुग्न सुविधायुक्त पर्यटक सवारीको सुबिधा छैन ।

भएका स्थानिय सवारी साधनहरुले पनि ढाँट्ने, छल्ने र कहिलेकाहिँ बिच बाटोमै लगेर छोडिदिन्छन् । पर्यटकलाई गतिलो जानकारी दिने सूचना केन्द्र पोखरा र चितवनमैपनि छैन । वार्षिक हजारौं पर्यटक जाने चितवनमै हात्ती चढ्न पर्यटकले पिक सिजन भनिएका महिनामा सहज तरिकाले पाउँदैनन् । स्थानिय पर्यटकलाई भ्रमणमा आकर्षण गर्न कुनै योजना ल्याएन । कतै भ्रमण गए नेपाली भन्नसाथ हेप्ने, बिदेशी पर्यटकलाई पाएसम्म नेपालीलाई कोठा नदिने र दिएपनि मनपरी मूल्य असुल्ने चलन छ । काठमाडौं पोखरा जस्ता प्रमुख पर्यटकिय शहरमै पर्यटकहरुलाई सहज तरिकाले घुमाउने ब्यवस्था छैन । बत्ति, पानी र अन्य वासका समस्या त भए नै । 

गत दश वर्षे द्वन्दमा पर्यटक ब्यवशायीपनि नपरेका होइनन् । कसैका होटेल आगो लगाइएका छन् । कोहि बैंकको ऋण तिर्न नसकेर थलिएका छन् । कसैका होटेल, रेस्टुरा र लजहरु द्वन्दको बेला पर्यटक चलाउन नसकेर ऋणसमेत तिर्न नसक्ने भएका छन् । कत्ति ब्यापारीहरु बिस्थापित भएका छन् लाखौंको सम्पती त्यत्तिकै छोडेर। त्यस्ता ब्यापारीहरुको लागि के गर्ने ? सरकारले तिनको समस्या हेर्नु पर्छ कि पर्दैन ? पर्यटक जाने ठाउँको बाटो भत्किएको छ । पूलहरु भाँचिएर उस्तै छ । 

नेपालको पर्यटन विकास साँच्चै गतिलोसित गर्ने हो, पर्यटन वर्ष २०११ सफल अपर्ने हो भने बिदेशका दूतावास र नेपाली नियोगहरुलाई पुरानै ढर्रामा चलाएर संभव छैन । तिनलाई नयाँ सोच, नयाँ नीति र नौलो रचनात्मक ढंगले चलाउनुपर्छ । खाली नेपाली दूतावास र नियोगरुमा भाते भोज गर्ने र नेपाली कार्यक्रममा पर्यटन बिकासका गफ हाँकेर पर्यटकहरुलाई नेपल जान लोभ्याउन सकिन्न । तर सरकारले यसमापनि चुँ सम्म बोलेन ।

अहँ सरकारले पर्यटकिय विकासकालागि कुनै कार्यक्रम घोषणा गर्न सकेन । कुनै राहत दिन सकेन । पर्यटन ब्यवसायीका मर्का र समस्या, पर्यटकको सुख र सुविधा पटक्कै हेरेन । सरकार जानेर, नजानेर अहिलेको राहत बितरणमा पर्यटन बिरोधी झैं देखियो । साँच्चै सरकार पर्यटन बिरोधी हो ? कि डाक्टर प्रधानमन्त्रीले नेपालमा पर्यटन बिकास, पर्यटकको सुख र सुविधाका लागि सबै भरिपूर्ण देखेका हुन् ? नत्र पर्यटनलाई बेवास्था गरेर डा सापको आर्थिक विकासको नारा कति सहजै पूरा होला ?

तपाइँको प्रतिक्रिया