कात्रो, खल्ति र आर्थिक घोटाला

अकेला श्रेष्ठ

अंग्रेजी शब्द corruption का अनेकौं पर्यायवाची छन् । तीमध्ये बढी dishonesty, bribery, sleaze, fraud, vice आदि प्रचलित छन् । ती सबैको एउटै नेपाली अर्थ भ्रष्टाचार हो । ओहोदामा बस्ने व्यक्तिले कानुन मिचेर गर्ने जुनसुकै काम, चाहे त्यसबापत आर्थिक लाभ होस वा नहोस, त्यो भ्रष्टाचार हो । तर जन्मदेखि मृत्युसम्म नै मानिसहरु भ्रष्टाचारमै लतपतिने भएकाले यसको अन्त हुन नसक्ने र न्यूनिकरण मात्र हुनसक्ने घुमाउरो तर्क दिग्गजहरु गर्ने गर्दछन् ।

आफ्ना छोराछोरीलाइ पढाउनुपर्छ भन्नेवारे अभिभावकहरु एकमत भए पनि छोराछोरीलाइ पढाउनु, लेखाउनुको तात्पर्य दाम, नाम वा काममध्ये के हो भन्नेवारे सबैको मतैक्यता नहुन सक्दछ । किनभने, बहुसंख्यक अभिभावकहरु छोराछोरीलाइ दाम कमाउने साधन ठान्दछन् र उनीहरुलाइ कुन क्षेत्रमा लगाउँदा दाम कमाउन सकिन्छ भन्नेमै उनीहरु समय बर्बाद गर्दछन् । तर कुनै क्षेत्र पनि नराम्रा हुँदैनन् । किनकि, दिलोज्यानले लागे सबै राम्रा छन्, सबैमा सफलता छ ।

दाम र नामप्रति मानिसको आकर्षण नै भ्रष्टाचारको जड हो । सुन्दा, भ्रष्टाचार अरुचीकर वा अस्वस्थ्यकर जस्तो लागे पनि योप्रति मानिसको प्रगाढ विश्वास छ । भ्रष्टाचारसंगै खेल्ने, भ्रष्टाचारीसंगै रमाउने हुँदा मान्छेको पूरै जीवन यसमा समर्पित छ । सायद अव यो शब्द त्यत्ति अमर्यादित र अप्रिय पनि रहेन, जति कि हुनुपर्दथ्यो ।

लेनदेनका हिसावले पात्रहरु असार मसान्तलाइ पर्व जस्तै ठान्दछन् । यो सिद्धिए लगत्तै साउनको रमाईलो रिमझिम वर्षा सुरु हुन्छ । त्यसपछि दाम कुम्ल्याउन भ्याउनेहरुमध्ये कोही बोलबमतिर लाग्दछन् भने कोही असारमा लुँड्याएको अपच खान्की पचाउन साउन बार्ने गर्दछन् । जतिवेला लाटागाँडाहरु आफ्नो सुसेधन्धामा मस्त हुन्छन्, ठीक त्यति नै वेला यो देशको एउटा ठूलो जमात दाम चप्काउने तानावानामा लाग्दछन् र कसैले पत्तो नपाउनेगरी दाम चप्काउँदछन् ।

र, असार मसान्त लेनदेन अफरको सिजन पनि हो । यतिखेर कसले, कसलाइ, कति दाम बुझाउँछन्, कसले कति बुझ्दछन्, यसको एकिन हिसाव नहुने भएकोले सायद यो सिजनलाइ पात्रहरुले पर्व मानेका हुनसक्दछन् । र, योे मात्र एक यस्तो महिना हो, जतिखेर पात्रहरु ईमानको एक्सचेञ्जसंगै ढुकुटीमा ताण्डव मच्चाउने गर्दछन् ।

त्यसोत, दाम सबैलाइ चाहिएको छ । दाम नचाहने, नचाहिने कोही हुँदैन । र, दाम बढी पनि कसैलाइ हुँदैन । सारा दुनिया एकातिर, दाम अर्कोतिर राखियो भने पलडा भारी दामकै हुन्छ । दाम बिनाको दुनिया, दाम बिनाको जीवन कल्पनै गर्न मिल्दैन । दाम नचाहने, दाम चप्काउने कला, पौरख नजान्ने, नेता, मन्त्री वा हाकिमलाइ तेल लगाउन नजान्ने पात्र सर्वत्र निन्दित हुन्छ । चाहे घरभित्र, चाहे बाहिर ! दाम छ त घर छ, परिवार छ, साथीसङ्गी, कुटुम्व छन् । नत्र केही छैन । कोही छैन । दाम छ, सबै छ, सबै छन् । छैन त कोही छैन । केही पनि छैन ।

कात्रोमा खल्ति नहुने हुँदा मर्दाखेरी आजसम्म कसैले केही लगेका छैनन् । तर दाम बिना दुनियादारी त चल्दैन । दुनियादारी निभाउनकै लागि भए पनि मानिसहरु दामका पछाडि यसरी लाग्दछन्, जसरी हड्डीका पछाडि कुकुरहरु । आज यो सिलसिला त यसरी चल्दैछ कि मानौँ मानिसहरु कात्रोमा खल्ति राखेर मृत्युपर्यन्त पनि दाम कुम्ल्याएर जाने तर्खरमा छन् ।

दामको मुख्य स्रोत राजनीति हो जुन नेताज्यूहरु वा मन्त्रीज्यूहरुको खल्तिमा हुन्छ । ऋग्वेदका ऋचाहरुले पनि दाम कुम्ल्याउने कला सिकाएको हुँदा त्यसलाइ लाज शरम, ईमान, धर्म सबै बिर्सेर ईन्द्ररुपी नेताज्यू, मन्त्रीज्यू या हाकिमको झुठ्ठा तारिफ गरेर होस, जुत्ताको तलुवा चाटेर होस, मनग्गे दाम कुम्ल्याउन सकिन्छ । जस्तै, ऋग्वेदको ३९३८ (१) ऋचा ले सिकाउँछ कि यदिन्द्र चित्र मेहनास्ति त्वादातमद्रिवः । राधस्तन्नो विदद्वस उभयाहस्त्या भर (अद्भूत बज्र धारण गर्नेवाला ऐश्वर्यशाली हे ईन्द्रदेव, हामीसँग हजुरलाइ समर्पण गर्नयोग्य दामको अभाव छ, तसर्थ खुल्ला हातले हामीलाइ पर्याप्त दाम प्रदान गर्नुहोस) ।

छोराछोरी महङ्गा कलेजहरुमा पढ्ने रहर गर्छन्, श्रीमतीज्यू जापानी सारीमा बेरिएर छड्के तिलहरी भिरेर सङ्गीहरुको मेख मार्न चाहन्छन् वा छोरो बाईकमा गर्लफ्रेण्डसँग डेटिङ्गमा जान चाहन्छ वा आफु स्वयं पनि ईहलोक बाहेक उहलोकमा समेत कब्जा जमाउन चाहनुहुन्छ भने कुम्ल्याईएको दामको दशौँद मठ मन्दिर, अनाथालय वा वृद्धाश्रमहरुमा दिनुहोस र कमाउनुस पुण्य ! जमाउनुस कब्जा उहलोकमाथि पनि !! र हुनुहोस अमर !!! तर कुण्ठिएर किमार्थ नबस्नुस !!!! कदाचित, बेश्यालाइ पोस्ने तपाईँको त्यो दामले वृद्धाश्रमकी एउटी असहाय वृद्धा मात्र खुशी भई भने मान्नुस कि यहाँको वैतरणी भयो ।

आफ्नो घरसंसार सबैलाइ प्यारो लाग्छ, जसलाइ चलाउन दाम चाहिन्छ । र दाम प्राप्त गर्ने तरिका पनि ऋग्वेदको ऋचा नं. ९०८५ (१) ले सिकाएको छ । वने न वा यो न्यधायि चाकञ्छुचिर्वाँ स्तोमो भुरणावजीग, यस्येन्दिन्द्रः पुरुदिनेषु होता नृणां नर्यो नृतम्ः क्षपावान् । (हे चाँडै गमनशील अश्वनीकुमारहरु, जसरी चराचुरुङ्गीहरु फलको ईच्छाले आफ्ना बचेराहरुलाई वृक्षमा सावधानसँग राख्दछन्, त्यसरी नै यो अति पवित्र स्तोत्र हजुरको लागि समर्पित छ । कैयौँ दिनसम्म हामी यसै स्तोत्रबाट ईन्द्रदेवको आह्वान गरिरहेका छौँ, त्यो ईन्द्रदेव नेतृत्व प्रदान गर्नेवालामध्येको सर्वश्रेष्ठ, पराक्रमी, नायक तथा रात्रीकालमा पनि सोमपान गर्नेवाला हुनुहुन्छ)

रात्रीकालमा सोमपान गर्ने हाम्रा आदरणीय नेताजीहरु, मन्त्री—मन्त्राणीज्यूहरुको कृपाबाट । सुरा—सुन्दरीले लठ्ठिएका बखत मनोवाञ्छित माग राख्न सकिन्छ । जागीर, ठेक्कापट्टा, सरुवा, बढुवा आदि आदि । केही सीप नलागे जिल्लाको कुनै जनवर्गीय संगठनकै कुनै पद भए पनि माग्नुहोस र देखाउनुस जिल्लामा दादागिरी । रात्रीकालमा सोमपान गर्ने हाम्रा आराध्यदेवहरु दयालु भएकाले जे जे मागिन्छ, त्यो त्यो प्राप्त हुन्छ ।

यस्तै, ऋग्वेदको ऋचा नं. १४५८(४७) ले पात्रको निम्ति मात्र नभई तिनका आसेपासे एवं सेवकहरुका लागि समेत दह्रो व्यवस्थाका लागि सिफारिस गर्नसकिने मन्त्र बताएको छ जसअनुरुप पात्रले आफ्ना सहयोगीहरुको जीवन नै कायापलट गर्न सक्दछन् । अग्ने त्वं नो अन्तमक उत त्राता शिवो भवा वरुथ्यः, वसुरग्निर्वसुश्रवाक अच्छा नक्षि द्युमत्तम रयिं दाः । तं त्वा शोचिष्ठ दीदिवः सुम्नाय नूनमीमहे सखिभ्यः ।।४७।। (हाम्रा निकटस्थ हितैषी हे अग्निदेव, हजुर हामीलाइ देदीप्यमान ऐश्वर्य प्रदान गरी हाम्रो कल्याण गर्नुहवस । सत्कर्ममा निरन्तर हाम्रो दुराचारीहरु एवम् हिंसा गर्नेहरुबाट रक्षा गर्नुहवस । हे द्युतिमान् अग्ने, हाम्रा सहयोगीहरुका लागि दाम, ऐश्वर्य एवम् सुख प्रदान गर्नुहवस, यसको लागि हामी हजुरको प्रार्थना गर्दछौँ) ।

ऋग्वेदको एक मन्त्र (पृष्ठ १४०३ मन्त्र ८) बाट ज्ञात हुन्छ कि त्यसका कूल १५ हजार मन्त्रमध्ये केवल १० हजार ४ सय ६७ मन्त्र मात्र शेष रहेका पाईन्छन् । बाँकी मन्त्रहरु वेद धर्मद्रोहीहरुद्धारा नष्ट गरिएका हुनसक्ने आशङ्का गरिन्छ । त्यस्तै वैदिक साहित्यका पुस्तकहरुको एक विशाल भण्डार र अरु मन्त्रहरु पनि नष्ट गरिएका हुनसक्दछन् । नत्र कात्रोमा खल्ति राख्न चाहने पात्रहरुका निम्ति मार्गप्रशस्त हुनेथियो ।

दाम बिना काम, काम बिना माम र माम बिना जीवन सम्भव छैन । तर दाम, काम र माम यत्ति पनि होईन कि त्यसले घोटालाको रुप लेओस, भ्रष्टाचार कहलाओस । किनकि, भ्रष्टाचारको अर्थ आर्थिक आतङ्कवाद हो, जसले देशको विकासमा कम, व्यक्तिको विकासमा ज्यादा जोड दिन्छ र समग्र पद्धति नै पक्षघातको शिकार बन्दछ ।

भ्रष्टाचार व्यक्ति, समाज र राज्यको सोँचमा भरपर्दछ । हामीकहाँ यो मर्यादित र सम्मानित हुनुको अर्थ पनि यही सोँच हो र यहाँको कानुन व्यवस्था पनि यही सोँचद्वारा निर्देशित छ । टाउको लुकाउने छाप्रोदेखि खोस्री खाने जमीन नहुनेहरुको यो देशका भ्रष्टाचारीहरुलाइ पदमुक्त नगरी, कठोर कारावास नतोकी करोडौँको झिटीकै आधारमा उन्मुक्ति दिईनु यसको दृष्टान्त हो, विडम्वना हो ।

हामीकहाँका ७० % मानिसहरुलाइ छाडी भ्रष्टाचार आज सर्वत्र निन्दित छ । अमर्यादित छ । आर्थिक घोटाला ३० % मानिसहरुका लागि सामान्य कुरा भए पनि चामलको भात र सिटामल नदेखेका ७० % मानिसहरुका लागि सामान्य होईन । यसले गर्दा भविष्यमा ठूलै मूल्य चुकाउनुपर्ने स्थिति बन्न सक्दछ । बत्ति, बाटो, पानी, स्वास्थ्य, शिक्षा केही नभएका, भए भत्के—भत्काईएका, बच्चा र आमाहरुको ठूलो हिस्सा कुपोषित र रक्त अल्पताका शिकार रहेको, युवाहरु दुव्यर्सनी र बेराजगार रहेको र किसानहरु आत्महत्या गर्नुपर्ने अवस्थामा रहेको यो देशमा यसरी भ्रष्टाचार फष्टाउनु र त्यसका पात्रहरु मोटाउँदै जानुले आर्थिक आतङ्कवाद मात्र होईन, हामीकहाँ कात्रोमा खल्ति राख्ने होडबाजी पनि चल्न थालेको प्रतित हुन्छ ।

तपाइँको प्रतिक्रिया