नेपालको संविधान बनिसकेछ, तर भारतमा
प्रचण्डलाई भारतमै बस्दा सुरक्षित लाग्ने । गिरिजा कोइरालालाई भारत धाउनु पर्ने । बीपी उतै लालित पालित र निर्देशित भए । एमालेका नेता झन् नदी बेचेर पैसो झ्वाम पार्ने देखि छोराछोरी पढाउने र आफ्नो उपचारसम्म भारतमै निर्भर छन् । कांग्रेसका असी प्रतिशत नेता कि त भारतीय दुतावास, भारतीय एनजिओ वा कुनै न कुनै भारतीय लगानी वा भरमा छन् । त्यसैले तिनले कहिल्यै भारतको रचनात्मक बिरोध सम्म गर्दैनन् ।
माओवादी खुब कुर्लन्थे । बेला बेला अझै कुर्लन्छन् भारतलाई विस्तारवादी र साम्राज्यवादी शासक भनेर । तर कांग्रेस, एमाले र माओवादीका बिचमा भएको १२ बुँदे संझौता आफ्नो देशमा गर्न सकेनन् । भारत नै चाहियो । आफ्नै देशका पार्टीहरु मिलेर मात्रै पुगेन । तिनले भारतीय शासक वर्गलाई सँगै राखे । भारतीयहरुको प्रत्यक्ष संलग्नताबिना तिनलाई भएन । त्यहि भएर तिनले भारतलाई मियोका रुपमा माने । आफूहरु वरिपरि बसे र १२ बुंदे संझौता गरे । उतै बसेर तिन मुख्य दलले राजा फाल्ने संझौता गरे । माओवादीले जनयुद्द त्याग्यो । अहिले संविधान सभाको म्याद तिन वर्षबाट पनि कट्यो । संविधान बनाउन भनेर भत्ता, सुबिधा लिए । बिदेश सयर गरे । तर बनेन । किन होला भनेको त हाम्रो संविधान हाम्रा नेताले दुखै नगरि बनिसकेको रहेछ । भारतीयहरुले बनाइदिइसकेका रहेछन् ।
अरुतिर औंला सोझ्याउन र आरोप लगाउन कांग्रेस माहिर देखिन्छ । तर तिन वर्ष बित्दापनि नेपाली कांग्रेसलाई नेपालको संविधान कस्तो बनाउने भन्ने मेसो छैन । आफ्नो देशको संविधान यस्तो हुनुपर्छ भन्ने नै छैन । त्यसैले नेपाली कांग्रेसले अहिलेसम्म नेपालको संविधान यस्तो हुनुपर्छ भनेर सार्वजनिक गर्न सकेको छैन । संविधान बनाउन कांग्रेस जिम्मेवार छ भनेर कुर्लेको त जनताका अगाडि फेरी भ्रमको खेती मौलाउन हो उसले । एमालेलाई हाइसञ्चो छ । कांग्रेस र माओवादी हुँदा हुँदै एमालेलाई केको टाउको दुखाइ झन ? त्यसैले एमालेलेपनि अहिलेसम्म ‘हाम्रो पार्टीले चाहेको नेपालको संविधान यस्तो हो’ भनेर सार्वजनिक गर्न सकेकै छैन । तिनले लेखेकै छैनन् । कांग्रेस र एमाले पहिलेदेखिनै ढुक्क रहेछन् नेपालको संविधान आफूले बनाउने होइन । नेपालीको चाहना अनुसार बन्ने होइन । नेपाललाई कस्तो संविधान चाहिन्छ भारतले ट्याक्क लेखिदिन्छ । नेपाली जनताका आकांक्षा नेपाली नेताले बुझ्दैनन् भारतीयले बुझ्छन् । हाम्रा आवश्यकताका बारेमा भारतीय नेतालाई जानकारी छ हाम्रालाई छैन । त्यहि भएर नेपाली कांग्रेस र एमालेले बुझेरै संविधान लेख्ने लेठो नगरेका हुन् ।
माओवादी नयाँ जोगी पर्यो । यस्सो खरानी सरानी पनि बढि नै चाहियो । समयपनि अलि चाहियो । तिमीहरुसित सुरुङ युद्द गर्छम् भन्दै खाल्टाखुल्टी पारेको धेरै भएको छैन । नेपाल र भारतको सिमामा गएर चोर औंला तेसार्दै तथानाम गाली गरेको पनि आलै छ । त्यहि भएर अलि समय लाग्ने भो । तैपनि माओवादीका उपाध्यक्ष मोहन बैध्य ‘किरण’ ले पार्टी अध्यक्ष प्रचण्डले भारतीय शासक वर्गको स्वार्थ र निर्देशनमा प्रचण्डले पार्टी ध्वस्त पारेको भनेर हाकै भनिसके । भरतीयसित मिलेर हाम्लाई थुनाकोसम्म भने । तैपनि जनतालाई गुमराहमा राख्ने त आआफ्नै कला हुन्छन् । कांग्रेसले १४ वर्षसम्म अनेक कला देखाएर लुट्यो । एमालेले त्यसै गर्यो । अब एमाले र कांग्रेसका सबै रुप छताछुल्ल भए । बाँकी माओवादी । एकाएक पार्टीकै नेताले खोल्दै छन् । तर यो पटक चाहिँ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेले खोलेका हुन् तिनको गोप्यता । नेपालको संविधान भारतीयले बनाएका छन् भन्ने उनलाई जानकारी रहेछ । बिजुक्क्षेले नेपालको संविधान भारतीय शासक वर्गको स्वार्थ अनुसार बनिसकेको ठोकुवा नै गरे । संविधान त्यहिँको एउटा अन्तर्राष्ट्रिय स्तरको गैह्र सरकारी संस्थाले तयार पारेको दाबी गरेका हुन् ।
उनको दाबी सहि किनपनि हुन सक्छ भने साँच्चिनै हाम्रा दलहरुले भत्ता पचाउने दाउ मात्रै गरे । कुर्सीमा पुग्ने । पालैपालो बिदेश भ्रमण गर्ने । तालिमका नाममा भत्ता पचाउने । तर संविधान बनाउनकालागि गम्भिर भएर एक दिनपनि लागेनन् दलहरु । प्रमुख दलहरु बसौं, गम्भिरताकासाथ छलफल गरौं भनेर एक दिनको समय पनि बिताएनन् । माओवादीले संविधानको ड्राफ्ट तयार पार्यो । त्यो संविधान कस्तो छ । त्यसका कुन धारा राम्रा । कुन नराम्रा । कुन काट्नु राम्रो । कुन थप्नुपर्छ । कांग्रेस र एमाले न त आफूले बनाएका छन् । न माओवादीले बनाएको संविधानको ड्राफ्टमा कुनै टिप्पटी गरेका छन् । किनभने तिनलाई थाह छ, यो संविधान लागू हुने होइन । नेपालका दलले बनाएको, हाम्रा नेताले लेखेको संविधान जारी हुने होइन । भारतीयहरुले नै तयार पारेकाले किन टाउको दुखाउने ?
संविधानको मस्यौदा बनाउने काम निलाम्बर आचार्यले गरिरहेका छन् । तर उन लाई कुनैपनि दलका नेताले, कुनैपनि पार्टीले सहयोग गरेका छैनन् । उनको कार्यालयमा नेताहरु जाँदै जाँदैनन् । आचार्यले दशौं पटक भनिसके, मलाइ पार्टी र नेताले सुझाव दिनुपर्यो, रचनात्मक सहयोग गर्नुपर्यो भनेर । तर अँहँ कुनैपनि दललाई, नेतालाई चासोनै छैन । संविधान नै अर्काले बनाएर तयार पारिदिएको रहेछ । आफ्नो देश र नागरिकका स्वार्थ अनुकुल होइन भारतीय स्वार्थ सुरक्षित हुने गरि बनेको रहेछ संविधान अनि किन संविधान बनाउन लाग्थे हाम्रा नेता ?




