आर्थिक उन्नतिनै गर्ने भए विदेशमा सहकारी
● युवराज गुरुङ / बेल्जियम
वेल्जियममा नेपाली समुदायको वसोवासको स्थायीत्व संगसंगै सामाजिक आर्थिक संमृद्धि पनि दिन प्रति दिन बढोत्तरी भै रहेको छ । आप्रवाशन प्रक्रियालाई अरु सहज र संगठित बनाउन हाम्रा सामु धेरै चूनौति त छन् नै, त्यसमा पनि आर्थिक पक्ष सबभन्दा जटील र महत्वपूर्ण छ । यहांका नेपाली समुदायको संवद्र्धन र नेपालको प्रवद्र्धन गर्ने दायीत्व ब्यक्तिगत तहमा मात्रात्मक रुपमा कम संभावना भएको परिप्रेक्षमा सामूहिक लगानी (Collective Investment) समय सापेक्ष हुने भएकोले वेल्जियमका गैरआवासीय नेपाली समुदाय माझ सहकारी व्यवसायको अवधारणा प्रस्ताव वान्छनीय देखिन्छ ।
यहांका नेपाली समुदायमा विद्यमान पूंजीको क्षमताको अभिवृद्धि गर्न, आर्थिक कारोबारलाई बैज्ञानिक तवरमा उपयोग गरिन र वेल्जियमको कानूनद्धारा पूर्ण संरक्षित गराउन सहकारी व्यवसाय उत्तम विकल्प हुन सक्दछ । सामूहिक लगानीले पूँजीको विकास संगसंगै समाजका सामाजिक सांस्कृतिक क्षेत्रमा पनि गुणात्मक फड्को मार्ने निश्चित प्राय छ ।
सहकारीमा धेरै जना मिलेर थोरै पूँजी लगानी गरि ठूला परियोजना संचालन गर्नुले सामूहिक भावनाको विकाश संगसंगै सामूहिक उत्तरदायित्व बहन गर्ने शैलीमा विकास त गराउँछ नै, नेपालको विविध पक्षमा समेत पवद्र्धन गराउने संभावना रहन्छ । हाम्रा अनुशासन, अनुभव, सीप र दक्षताको सामूहिक प्रयोगले सहकारी परियोजना एउटा गौरवको विषय त बन्ने नै छ, भावी पूस्ताका लागि पनि यस्ता आर्थिक व्यवस्थापन शैली अनुकरणीय हुनेछ । सहकारीले भातृत्वको विकाश संगै नेपालीत्वको भावनामा अझ सकारात्मक सोंच बढाउनेछ ।
के हो सहकारी ?
समूहका ब्यक्तिहरुद्धारा आपसी फाइदा हुने गरि गरिने सहकार्य अथवा ब्यापार ब्यवसाय नै सहकारी हो । आफैद्धारा नियन्त्रित र संचालित स्वायत्त प्रवृत्तिको यो संस्थामा स्वेच्छिक रुपमा व्यक्तिहरु साझा अर्थव्यवस्था, सामाजिक र सांस्कृतिक आवस्यकता तथा आकांक्षाहरु परिपूर्ति गर्न पूर्ण प्रजातान्त्रिक पद्धति अवलम्वन गर्दछन् । सहकार्यबाट नै सामाजिक र आर्थिक परिवर्तन संभव छ भन्ने मान्यतामा सहकारीको अवधारणा आएको हो ।
सहकारी किन ?
चरम आर्थिक विकास भएको वेल्जियममा स्थायीत्वको क्रममा रहेको सानो नेपाली समुदायमा समेत उद्यमी व्यवसायीहरु क्रमिक व्यवसायिकीकरणको दिशामा उन्मुख छन् । सबैका आआफ्ना व्यवसायका अलावा सामूहिक लगानी गर्ने आधार तय हुने हो भने व्यक्तिको थोरै लगानी मार्फत् ठूलो स्तरको पूँजीको निर्माण गर्न सकिन्छ र यहाँको बजारमा गुणस्तरिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ । अझ हाम्रो दायित्व नेपालको प्रवर्धन गर्ने पनि भएकोले नेपाली उत्पादनहरुलाई सहकारी मार्फत यहाँको बजारमा ल्याउन सकिन्छ । यहाँका नेपाली समुदायमा कारोबार भै रहेको पूँजीलाई व्यवस्थित र कानूनद्धारा संरक्षित गराउन त झन् सहकारी अवधारणा सान्दर्भिक देखिन्छ । वेल्जियममा सहकारी कानूनको व्यवस्था भएकोले कानूनतः वेल्जियम बाहिरका समेत जो कसैले लगानी गरी फाईदा लिन सक्दछन् ।
सारंश
नेपाली व्यवसायी संघ वेल्जियमले एनआरएन लगायत वेल्जियमका सबै संघसंस्था र नेपाली समुदाय विच सहकारीको अवधारणा छलफल प्रस्तावको लागि सोंच अघि सारेको छ । वेल्जियमको कानूनी व्यवस्थाबारे शुरु गरेको प्रारम्भिक गृहकार्यले सकारात्मक आशा पलाएको छ । ‘नेपालीद्धारा नेपालीकै लागि’ भन्ने मूल भावनाको मर्म बोकेको यो सहकारी अवधारणा विषयमा स्वस्थ्य छलफल, विचार विमर्श सहित निश्कर्षमा पुरयाउन वेल्जियमवासी आम नेपाली समुदायमा हार्दिक अनुरोध गरिन्छ ।
नेपाली व्यवसायी संघ, वेल्जियमका लागि गुरुङद्धारा पेश गरिएको अवधारणा पत्र





