एमालेसँगका हतियार चाहिँ कहिले बुझाउने ?

माओवादीसितका हतियार राज्यलाई बुझाउनुपर्ने माग जोडतोडले उठाइरहेका छन् नेपाली कांग्रेस, एमाले र अन्य दलले । हतियार बुझाएर माओवादी जनसेना निशस्त्र नभएसम्म संविधान बन्दैन । बनेपनि त्यस्तो संविधान हतियारको त्रासमा पर्छ । हतियार हुनेले त्यसैका बलमा संविधान पेल्छ, आफ्नो पक्षमा प्रयोग गर्छ । प्रजातान्त्रिक तरिकाले राज्य चल्दैन । त्यसैले पहिले देशमा हतियार रहित वातावरण हुनुपर्छ । तर्क यहि गरिरहेका छन् दलहरुले । यी तर्क नाजायज पक्कै होइनन् । तर के हतियार माओवादीसित मात्रै रहेछन् त ? हतियार त नेकपा एमालेसितपनि रहेछन् । एमाले नेतालेपनि आफ्ना कार्यकर्ता पालेका रहेछन् हैयारसहित । अनि एमालेसित रहेका अवैध हतियार चाहिँ कहिले बुझाउने नी ?

पत्रकार खिलानाथ ढकालमाथि एमालेका युवासंघ कार्यकर्ता पर्शु राम बस्नेतको योजनामा आक्रमण भयो । उनीमाथि धारीलो हतियार प्रयोग गरियो । आक्रमणकारीलाई युवासंघ अध्यक्ष महेश बस्नेतले संरक्षण दिएर राखे । तर आक्रमणकारीका हतियार अहिलेसम्म सुरक्षा निकायले कब्जा गर्न सकेका छैनन् । नेपाल पत्रकार महासंघको रिपोर्टले भन्छ- बिराटनगरलगायत पूर्वका धेरै ठाउँमा त्यसरि आक्रमण गर्न युथ फोर्सको यो गिरोह सक्रिय छ । तिनले पेस्तोल र अन्य हतियार चलाउने गरेका छन् । तर ति हतियार कहिल्यै सुरक्षा निकायले कब्जा गरेका छैनन् । आखिर ति हतियार कहाँछन् त ? कसले उपलब्ध गराउँछ ?

बिगतमा पनि महेश बस्नेतकै अगुवाइ र निर्देशनमा यस्ता आक्रमण भएका छन् बिभिन्न ठाउँमा । २०६६ सालको वैशाख २२ गते भक्तपूरमा माओवादीले जुलुस निकालेको थियो । त्यो बेला महेश बस्नेतकै नेत्रित्वमा माओवादी जुलुस माथि गोली हानेको आरोप उनीमाथि छ । मकवानपुरका युथफोर्स कार्यकर्ता राजेन्द्र गौतमबाट त काठमाडौंमा २०६८ असार २ गते काठमाडौं प्रहरीले अमेरिकी पेस्तोल र त्यसको सात राउण्ड गोली समातेको हो । यि त एकाध देखे भेटिएका घटना मात्रै हुन् ।  काभ्रे, मकवानपुर, काठमाडौं, चितवन र पोखरा, सुनसरीलगायतका ठाउँमा यस्ता आक्रमणहरु भएका छन् । त्यस्ता आक्रमणमा हतियार प्रयोग भएको पाइएको छ ।

सुनसरी र त्यस आसपासका ब्यापारी, सञ्चारकर्मी, पेशागत संगठनका ब्यक्ति र नागरिकहरुले बस्नेतको समूह र युवासंघका कार्यकर्ताले बन्दूक लगायत अन्य हातहति यार प्रयोग गरेको देखेका छन् । जिल्ला जिल्लामा यसरि आक्रमण गर्न र समाजमा आतंक फैलाउन हतियार प्रयोग भएको छ । सिमा क्षेत्रबाट अवैध हातहतियार भित्रिएको अनुभव धेरैलाई छ । तर त्यसको सोधखोज र निगरानी कसैले गर्दैन किनभने तिनलाई सुरक्षाकर्मी र उच्च राजनितिक नेताको संरक्षण छ ।

तर के त्यस्ता हातहतियारहरुको खोजि हुनु पर्दैन ? माओवादीले आफ्ना हातहतियार बुझाउँदा जिल्ला जिल्लामा एमालेका युवा संगठनबाट प्रयोग भएका यस्ता हातहतियारहरुको खोजि हुनुपर्दैन ? अवैध ढंगले यसरि राखिएका हतियार राज्यको नियन्त्रणमा आउनु जरुरी छैन ?

माओवादीले बुझाउनु पर्छ भनेर अड्डि कसिएका, शर्त राखिएका हातहतियार त बरु अनमिनले अभिलेख गरेको छ । राज्यसित तिनको अभिलेख छ । तिनको दूरुपयोग हुने संभावना न्युन रहन्छ । तर एमालेका युथ फोर्ससित रहेका यस्ता अवैध हतियार ? त्यस्ता हतियारको अधिकतम दूरुपयोग हुन सक्छ । पत्रकार खिलानाथ ढकालमाथि झैं दूरुपयोग हुन सक्छ ।  हतियार हतियार नै हो । जोसुकैसितको होस् त्यसले क्षतीनै गर्छ । ज्यान लिन्छ । आतंक मच्चाउँछ । त्रास फैलाउँछ । त्यसैले माओवादीसितका मात्रै होइन एमालेका युवा संगठनले प्रयोग गरेकापनि राज्यको नियन्त्रणमा आउनुपर्छ । किनभने तिनले हातहतियार अवैध तरिकाले प्रयोग गरेको स्पष्ठ भैसकेको छ ।

तपाइँको प्रतिक्रिया