पत्रकारितालाई अनुजाको गुन

मोहन मैनाली

धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि खेलिछन् क्या रे) ले रु. ९१ लाख नगद र हिराको हार फेला पारिन। केही दिन घरमा राखिन र जसको हो उसैलाई फर्काइन।

यो नाटक केही समयसम्म सत्य ठहरियो। यस प्रशंसनीय कामको समाचार प्रचारप्रसार भयो। सबैजनाले उनको राम्रो कामको प्रशंशा गरे। राष्ट्रपतिसम्मले फोन गरेर उनको तारिफ गरे।

यसको केही दिनमै अनुजाका बारेमा सञ्चार माध्यमले शंका गर्न थाले। अर्थात पत्रकारहरुले केही दिन पहिले जे समाचार पठाएका थिए त्यो असत्य भएको समाचार पठाए।

“अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,” अंग्रेजी भाषामा लेख्ने साहित्यकार मार्क ट्वीनले भनेका थिए। उनी मरेको १०१ वर्ष भइसकेको छ। उनले कम्तिमा पनि १०१ वर्ष अघिको पत्रकारिताका बारेमा यस्तो टिप्पणी गरेको हुनुपर्छ।

यस घटनाले के कुरा प्रमाणित गर्‍यो भने, मार्क ट्वीनले भोगेको पत्रकारिता नेपालमा आज पनि जीवित छ। अर्थात अखबार पढेन भने, रेडियो सुनेन भने र टेलिभिजन हेरेन भने खबर थाहा पाइँदैन, अखबार पढ्यो भने, रेडियो सुन्यो भने र टेलिभिजन हेरयो भने झुठा खबर थाहा पाइन्छ।”

अनुजाले ढाँट्दा र उनले भनेका झुठा कुरा पत्रकारले प्रचारप्रसार गर्दा नेपाली समाजलाई त्यति धेरै क्षति पुगेन होला। सद्नियतको खडेरी परेका बेलामा यसले केही समयका लागि भने पनि वर्षा गरायो। तर सनकमा झुठा कुरा गर्दा र त्यस्ता कुरालाई पत्रकारले प्रचारप्रसार गर्दा धेरै ठूलो क्षति भएका उदाहरण पनि छन्।

कुरा ११ वर्ष अघिको हो। अहिले अनुजालाई जस्तै गरी त्यतिबेला चितवनका विज्ञान पढ्ने केही युवाहरुलाई चर्चित हुने सनक चल्यो। विज्ञान सम्बन्धी पत्रिका निकालेर त्यो इच्छा पूरा गर्न खोजे जुन असफल हुनु स्वभाविक थियो। त्यसपछि उनीहरुलाई कसैले सल्लाह दियो– पत्रकार बोलाउने। हिन्दी फिल्मको हिरो ऋतिक रोशनले नेपालीलाई मन पराउँदिन भनी दिएको अर्न्तवार्ता कुनै एउटा हिन्दी टिभी च्यानलमा प्रसारण भएको भनी त्यसको विरोधमा अलिकति कागज भेला गरेर डढाउने।

उनीहरुले त्यसैले गरे। चितवनको एउटा पत्रिकाले समाचार छाप्यो। त्यसपछि नेपाली पत्रकारहरुले ऋतिक रोशनले नेपालीको अपमान गरेको समाचार प्रचारप्रसार गरे। अनि ऋतिक रोशनको विरोध गर्नेहरुको स्यालको हुईँया चल्यो। ऋतिकले अन्तरवार्ता नदिँदै नेपालको अपमान गरेको देख्ने पत्रकारहरुले यस्तो हुईँयाको समाचार प्राथमिकतापूर्वक प्रचारप्रसार गरे।

पत्रकारहरुले यसरी चौबाटोमा जुवाको ठूलो खाल खडा गरिदिए जसमा अनेकथरिले च्याँखे थापे। नेकपा (एमाले) त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध खोइरो खन्दै थियो। त्यसका नेताहरुले गिरिजालाई हटाएर आफू सत्तामा जाने सपना देखे। त्यसैले, त्यसका नेताहरुले ऋतिक रोशनले त्यसो भनेकै हो भनेर आगोमा घिऊ थपे। उग्र राष्ट्रवादीहरुले पनि आफनै नाथ्रो फुटाएर देशभक्ति प्रदर्शन गर्ने राम्रो अवसर पाए। हुँदाहुँदा नेपाली कांग्रेसकै एउटा चिरा पनि गिरिजा विरुद्धको यस खालमा च्याँखे थाप्न पुग्यो। गिरिजा विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई बल पुर्‍याउन उसका नेताहरु लागिपरे। ने.वि. संघका केटाहरुलाई उचालेर ऋतिक रोशनले भन्दै नभनेको कुराको विरोधमा उद्दण्ड जुलूस निकाले र यस्तो नारा घन्काए– यसपालिको हैजा, गिरिजालाई लैजा।

नेपाल बन्द भयो। तोडफोड भयो। गोली चल्यो। मानिस मारिए। सरकारले ऋतिक रोशनका फिल्म देखाउन प्रतिवन्ध लगाएको घोषणा गर्‍यो। साम्प्रदायिक दंगा फैलाउने प्रयास भयो। नेपाल भारतबीचको सम्बन्ध निकै तितो भयो। भारतीय प्रधानमन्त्रीले नेपालका मन्त्रीसँग कुरा गर्नुपर्‍यो।

यति भैसकेपछि नेपाली अखबारहरुमध्ये एउटाले सम्पादकीय लेख्यो–  ’भन्दै नभनेको कुराको प्रचारप्रसार गर्नुहुँदैनथ्यो।’ अचम्मको कुरा चाहिँ के थियो भने यस्तो आशयको सम्पादकीय छापिएको दिन सोही पत्रिकाको मनोरञ्जन पेजमा चाहिँ नेपालीको अपमान गरेको भनेर ऋतिक रोशनको दोहोलो काडिएको थियो।

यस बीचमा हुँदै नभएका कति कुरा नेपाली पत्रकारिताले हो भनी प्रचारप्रसार गर्‍यो। धेरै नेपालीले आफू मरेको समाचार सुन्ने, हेर्ने र पढ्ने अवसर पाए। खनीखोस्री गरेर जीविका गर्ने किसान आतंककारी बनाइए। झुठा कुरा गर्नु अपराध हो भने त्यो अपराध नेपाली पत्रकारिताले गर्‍यो। झुठा कुरा गर्दा बेफाइदा पुग्छ भने नेपाली पत्रकारिताले समाजलाई त्यो बेफाइदा पुर्‍यायो। तर ऋतिकदेखि अनुजा काण्डसम्म आइपुग्दा नेपाली पत्रकारिताको आधारभूत कमजोरी कायमै छ। अहिले निश्चित अखबारलाई खुच्चिङ भन्नेहरुले यस अघि यो भन्दा ठूला गल्ति गरेका रेकर्ड उनीहरुकै पत्रिकाका फाइलमा सुरक्षित छन्।

कहिलेकाहिँ अचम्म लाग्छ– यस्तो किन हुन्छ? दैनिक पत्रिकाका समाचार सिमित क्षमता भएका पत्रकारहरुले, सिमित समय (१५/१६ घण्टा) भित्र गर्ने सिमित प्रयासका भरमा तयार हुन्छन्। कुनै घटना हुनु अघि नै समाचार प्रसार गर्ने होडमा लागेका रेडियो र टेलिभिजनले त यति समय पनि पाउँदैनन्। तर जे जति अफ्ठ्यारा भए पनि समाचार साँचो त हुनैपर्छ। साँचो नठहरिएको कुनै कुरा समाचार हुँदैन।

नेपाली पत्रकारितामा साँचो कुरा र हल्लाका बीचमा फरक नदेख्ने प्रवृत्ति अहिले पनि हावी छ। धेरै कुरा विचार गर्दा के लाग्छ भने नेपाली पत्रकारिताले यस प्रवृत्तिलाई बेस्सरी च्यापेर बसेको छ। यस प्रवृत्तिप्रतिको नेपाली पत्रकारिताको आशक्ति देख्दा एउटा डर लाग्छ– कसैले कुनै बेला नेपाली पत्रकारिताको शरीरबाट यस प्रवृत्तिलाई जबरजस्ती निकालेर फालिदियो भने नेपाली पत्रकारिता त्यसैको सति जान तयार हुने पो हो कि?

एउटा तितो अनुभवका आधारमा मैले यसो भनेको हुँ। ऋतिक रोशन काण्ड चितवनबाट फैलनु भन्दा १० महिना पहिले नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल पत्रकार महासंघ चितवन शाखाले चितवनको पर्सामा एक महिने आधारभूत पत्रकारिता तालिम चलाएका थिए। त्यसमा सप्तरीदेखि नवलपरासीसम्मका पत्रकारहरुले भाग लिएका थिए। मैले हस्त गुरुङसँग मिलेर दुई हप्ता प्रशिक्षण दिएको थिएँ। अघिल्लो तालिममा भन्दा पछिल्लो तालिममा आफूले केही न केही नयाँ कुरा जानेको हुनुपर्छ भन्ने ठानेर हामी जुन तालिमका बेलामा पनि पत्रकारिताका नयाँ नयाँ पुस्तक पढने गर्छौँ। यस्तै एउटा नयाँ पुस्तकमा समाचारमा सत्य कुराको कति महत्व हुन्छ भन्ने बारेमा अभ्यास गर्नका लागि गतिलो उदाहरण भेटियो। त्यसलाई तालिम सञ्चालन भएको ठाउँ चितवन (जहाँ कुखुरापालन एकदमै फस्टाएको थियो) का सन्दर्भमा ढाल्यौँ। हामीले पत्रकारहरुलाई भन्यौँ :

मानिलिनुस, तपाईँ समाचार खोजेर पत्रिकाको अफिस पुग्दा सम्पादक तपाईँसँग बम बम भएर बसेका रहेछन्। भएछ के भने हिजो तपाईँले जुन पशु डाक्टरसँग कुरा गरेर समाचार लेख्नुभएको थियो उनले तपाईँको सम्पादकलाई फोन गरेर भनेछन– “तपाईँको संवाददाता हिजो मकहाँ आएका थिए। चितवनको कुखुरामा सरुवा रोग फैलिएकोमा उनलाई चिन्ता लागेको रहेछ। उनले त्यसको रोकथामको उपचार के छ भनेर सोधे। मैले एउटा औषधिको नाम बताएँ र त्यो कसरी लगाउने भन्ने तरिका पनि बताएँ। आज त्यो समाचार तपाईँको पत्रिकामा छापिएको छ। तपाईँको रिपोर्टरले औषधिको नाम त सही लेखेछन् तर औषधि लगाउने विधि भने गलत लेखेछन्। मैले ५० मिलिलिटर औषधि ५०० लिटर पानीमा घोलेर कुखुराको ठुँडोमा लगाइदिनु भनेको थिएँ। तपाईँका संवाददाताले ‘५०० लिटर पानीमा घोलेर’ भन्ने कुरा छुटाइदिएछन्। तपाईँको पत्रिका र मलाई विश्वास गरेर चितवनका कुखुरापालकले तपाईँको पत्रिकामा छापिए जस्तै गरेछन्। फलस्वरुप चितवनमा भए जति सबै ५ करोड कुखुरा मरे।”

माथिको कुरा बताइसकेपछि सम्पादकले तपाईँलाई सोधे, “अव तपाईँ के गर्नुहुन्छ?” यसको जवाफ दिनुस।

पाँच मिनेट जति सोचविचार गरेपछि पत्रकारहरुले उत्तर दिन थाले।

‘भूलसुधार गर्ने।’

‘क्षमा माग्ने।’

‘अवदेखि त्यसो नगर्ने।’

‘त्यसो गर्दा मरेका पाँच करोड कुखुरा ब्यँुतिन्छन्?’ एकजना सहभागीले हाम्रो काम सजिलो बनाइदिए।

‘कुखुराको ठुँडामा जुन औषधि दल्नु भनेर लेखेको थियो त्यही औषधि आफनो नाकमा दलेर मर्ने,’ एकजना सहभागीले समाधान निकाले। एकछिनको छलफलपछि सबै सहभागीहरु के कुरामा सहमत भए भने संसारका सामु मुख देखाउन नहुने खालको गल्ति गरेकाले यस्तो अवस्थामा मर्नु नै बेस हुन्छ।

दस महिनापछि, जुन जिल्लामा यस्तो अभ्यास गरेको थियो त्यही जिल्लाबाट ऋतिक रोशन काण्डको स्याल हुईँया सुरु भयो। यो हुईँया त्यही अखबारबाट सुरु भयो जुन अखबारका एकजना संवाददाता माथिको अभ्यासमा सहभागी थिए।

“त्यस दिन म विदामा थिएँ,” पछि भेट्दा ती संवाददाताले भनेका थिए।

ऋतिक काण्डको दुई महिनापछि नेपाल पत्रकार महासंघले चितवन बोलायो। एक वर्ष पहिलेको तालिमको पुनरावलोकन गर्न। तालिममा जे नगर्नु भन्ने निष्कर्ष निकाल्यो त्यही गर्ने पत्रकार भएको ठाउँमा आउँदिन भनिदिएँ। अलि पछि महसुस गरेँ– यस्तो अडानमा बसिराख्यो भने त नेपालै छाड्नु पर्ने रहेछ। त्यसैले पत्रकारिता तालिम दिन लागिरहेँ।

यसको केही समयपछि भारतको एउटा पत्रिकामा दुई पेजको विज्ञापन छापियो। देब्रेतिरको पेजमा एउटा फोटो थियो जसमा एकजना मानिसलाई एउटा अँध्यारो कोठमा कुर्सीमा बसाइएको थियो। उसको अनुहारमा मात्रै उज्यालो राम्रोसँग परेको थियो। उसका दुवै हात ऊ बसेको कुर्सीमा बाँधिएका थिए। त्यो मानिस डराएको थियो। उसका दुवैतिर दुईजना मानिस उभिएका थिए। एकजनाको हातमा बोकेको बस्तु राम्रोसँग चिनिँदैनथ्यो। सुई हो कि पेस्तोल जस्तो देखिन्थ्यो।

यो विज्ञापन देखेपछि पत्रकारिता तालिममा पत्रकारहरुलाई यो फोटो देखाएर सोध्न थालेँ– कसले, कसलाई, कसरी, किन, के गरेको?

सबैले आआफना ज्ञान र अनुभवका आधारमा थरिथरिका जवाफ दिन्छन् जो यस्तै खालका हुन्छन् :

• अपहरणकारीले बन्धकलाई पैसा चाँडो ल्याउन दवाव दिएको।

• सेनाले माओवादीलाई यातना दिएको।

• प्रहरीले माओवादीलाई सोधपुछ गरेको।

• माओवादीले सुरक्षाकर्मीलाई मार्न आँटेको।

उनीहरुले जवाफ दिइसकेपछि विज्ञापनको अर्को पेज देखाउँछु। त्यसमा माथि ठूला अक्षरमा लेखिएको छ “विजिनेस स्टान्डर्डको संवाददाता बन्न सजिलो छैन।”

यो भारतबाट निस्कने आर्थिक पत्रिका बिजिनेस स्टान्डर्डको विज्ञापन हो।

त्यसको तल लेखिएको छ : “समाचार पास हुनु अघि संवाददाताले हाम्रो परीक्षा पास गर्नुपर्छ।”

त्यसपछि सहभागीहरु जिब्रो काडेर भन्छन्– यातना पाए जस्तो, बयान लिँदै गरे जस्तो देखिने मानिस त संवाददाता पो रहेछ। उसका वरिपरि बसेर यातना दिँदै गरे झैँ लाग्ने मानिस त सम्पादकहरु पो रहेछन्।

दोस्रो पेजको तल पट्टि अरु केही वाक्य लेखिएका छन्।

“हामी उसलाई सोध्छौँ– तथ्याङ्क कहाँबाट लिइएको हो? तथ्याङ् दोहोर्‍याएर चेक गरेको छ कि छैन? समाचारमा जसका बारेमा लेखिएको छ उसलाई सफाइको मौका दिएको छ कि छैन? कसैले एउटा सन्दर्भमा भनेको कुरा गलत अर्थ लाग्ने गरी अर्काे सन्दर्भमा उपयोग गरेको पो छ कि?”

“हाम्रा हातमा भएको अर्काे समाचार पाठकका लागि बढी महत्वपूर्ण छ भने यी सबै कुराको चित्तबुझ्दो जवाफ पाएपछि पनि हामी उसको समाचार नछाप्न सक्छौँ। खुशीको कुरा के छ भने अधिकांश मानिसले यस्तो पत्रकारिता मन पराउँछन्।”

आजभोलि पत्रकारहरुका लागि आधारभूत पत्रकारिता र फिचर लेखन जस्ता जहाँ पनि, जहिले पनि र जुनसुकै विषयमा पनि काम लाग्ने पत्रकारिताका सिपका बारेमा तालिम हुन छाडेका छन्। विभिन्न उपलक्षमा विभिन्न फुर्का जोडेर तालिम दिने चलन चाहिँ बढेको छ। उपलक्ष जे भए पनि मेरो लक्ष चाहिँ पत्रकारिताका आधारभूत कुराका बारेमा अभ्यास गराउने हुन्छ। त्यसैले, सकेसम्म सबै तालिममा प्रसङ्ग मिल्दा र तानतुन पारेर प्रसंग मिलाउन सक्दासम्म बिजिनेस स्टान्डर्डको विज्ञापन देखाउँछु। त्यसको आशयका बारेमा छलफल गराउँछु।

झण्डै आधा घण्टा लगाएर त्यस विज्ञापनमा भएका फोटो र शब्द हेरि/पढि सकेपछि सहभागीहरु भन्छन्– संवाददाताले निकै कठोर तर उपयोगी परीक्षा पास गरेपछि मात्रै समाचार छापिँदो रहेछ भन्ने कुरा बुझयौँ।

त्यतिबेला त मलाई पनि उनीहरुले बुझे झैँ लाग्छ। तर पछि पत्रिका पढ्दा, रेडियो सुन्दा र टिभि हेर्दा लाग्छ यो कुरा त्यति सजिलै बुझाउन नसकिने रहेछ। यो कुरा बुझाउन अझ धेरै जनाले अझ गम्भीरताका साथ अझ कडा प्रयास गर्नु पर्ने रहेछ।

कहिलेकाहिँ चाहिँ, जति वर्ष ढुङ्ग्रोमा राखेपनि बाङ्गै हुने यो कुकुरको पुच्छर ढुङ्ग्रामा राखिराख्ने काम मैले किन गरेको होला जस्तो लाग्छ। पोहरसाल यस्तै कुरा गर्दा पत्रकार तथा पत्रकारिता प्रशिक्षक यज्ञ शर्माले एउटा कथा सुनाए। धेरैवटा कामका लागि वदनाम एकजना पूर्वमन्त्रीको यो कथा साँचो हो रे।

कथा यस प्रकार छ :

उहिले २०३६ सालपछि एकजना ने. वि. संघका नेता ने. वि. संघको प्रचारका लागि धरान पुगेछन्। तिनताक धरान अखिल (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) को गढ थियो। अखिलका त्यहाँका नेताहरुले ने. वि. संघका नेतालाई त्यहाँका विद्यार्थी भेट्न दिएनछन्। “जे भन्नु छ हामीलाई भन्,” क्याम्पसको चउरमा घेरामा पारेर अखिलका विद्यार्थीले भनेछन्।

“मेरो कुरा विद्यार्थीहरुलाई भन्न दिएनौ। ठिकै छ। म आफना कुरा यही चउरलाई सुनाएर जान्छु। एक दिन यही चउरमा ने. वि. संघ कसो नउम्रेला।”

त्यसको धेरै वर्ष पछि एक पटक स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा ने. वि. संघले जित्यो।

आजभोलि बिजिनेस स्टान्डर्डको त्यो विज्ञापन देखाउँदा म सोच्दछु एक दिन न एक दिन कसो त्यो कुरा बुझाउन नसकिएला? न्यायाधीस पछि सबै भन्दा बढी झुठा कुरा सुन्नु पर्ने पेशामा लागेर पनि ‘मानिसले भनेको कुरा कसरी झुठा हुनसक्छ र?’ भन्ने सुधो स्वभाव पत्रकारले कसो नत्याग्लान?

कसैको हानी नहुने गरी ढाँटिदिएर अनुजाले नेपाली पत्रकारितालाई सुध्रने मौका दिएकी छन्। स्याब्बास अनुजा ।

(मैनाली पत्रकार, रेडियोकर्मी, लेखक, डकुमेन्ट्री निर्माता र पत्रकारिताका प्रशिक्षकपनि हुन् । यो लेख मोहन मैनाली ब्लगडटकमा प्रकाशित थियो । साह्रै सान्दर्भिक लागेकाले लेखकसित अनुमती मागेर नेपालप्लसमा साभार गरिएको हो । उनको तस्विर नेटबाट तानिएको हो । सबैले बुझ्ने भाषा, गाउँले शैली, मन छुने विषय, लुकेका प्रसंगलाई चपक्क पारेर उनले लेखेक विविध विषयका लेखहरु एकै ठाउँमा हेर्ने भए यहाँ क्लिक गर्नुहोला) ।

तपाइँको प्रतिक्रिया