काठमाडौंलाई नपचेको चितवनलाई पच्छ ?
काठमाडौंलाई विश्वकै अति प्रदुषणयुक्त शहर मध्येको एक भनिन्थ्यो। त्यो प्रदुषण फैलाउने सबैभन्दा बढि कारक मानिएको थियो बिक्रम टेम्पो । सरकारले यो वास्तबिकता जान्दा जान्दै पनि हटाउन सकेन तिनलाई । बरु ति काग कराउँदै छ पिना सुक्दैछ भनेझैं थपिएको थपियै गरे । सरकारले हटाउन थाल्यो कि तिनले पुरा सडक जाम गरिदिन्थे सडकमा तेर्साएर । अनि दिन दिनै घण्टौ घण्टा सडक जाम गराएर सरकार कति टिक्ने ? जाबो बिक्रम टेम्पोले सरकार हल्लाउँथ्यो । कानुन झुकाउँथ्यो । ट्राफिक नियमलाई धोती लगाइदिन्थे । त्यसको मार जनताले तिरि रहे वर्षौंसम्म । त्यस्तो समस्यालाई सरकारले निमिट्यान्नै पार्नु पर्ने होइन ? तर नेपालका नेताहरु न हुन कति लाचार, कति अदूरदर्शी, कति मूर्ख हेर्नुस त । तिनले त्यो समस्या काठामाडौंबाट त हटाए बल्लतल्ल । तर त्यसलाई लगेर थन्क्याए चितवनमा । अहिले तिनै जनताको स्वास्थ्य र वातावरणलाई खराब भनिएका बिक्रम टेम्पोहरु शानसँग चलिरहेका छन चितवनमा ।
ति चितवका गाउँ गाउँ कुदिरहेका छन् । ट्या र्या र्या र्या गर्दै कालो मुस्लो फाल्छन । ध्वनी प्रदुषण उत्तिकै छ । नाक, घाँटी र आँखा उस्तै पोल्छन तिनको धुवाँले । चितवनको सुन्दर, सफा र स्वच्छ गाउँ हरेक दिन तिनले प्रदुषण गरिरहेका छन । तर अहँ त्यसको कुनै मतलब स्थानिय प्रशासनलाईपनि देखिएको छैन । केन्द्रिय सरकारले त काठमाडौंको समस्या पन्छाउन मात्रै अन्यत्र जे सुकै गरुन भने होला । तर के स्थानिय राजनीतिक नेता, दल, नागरिक समाज, मानव अधिकारकर्मी र नागरिकहरुपनि चुप लाग्ने ? काठमाडौंका जनतालाई नपचेको खराब चिज के चितवनका जनतालाई पच्छ ? काठमाडौंमा तिनले प्रदुषण फैलाए भने के चितवनमा फैलाइरहेका छैनन ? चितवनलाई झन मेडिकल स्थल टुरिजम (स्वास्थ्य पर्यटन) का रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठिरहेको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले यो प्रस्ताब दशक पहिल्यै गरेका हुन पनि नेपाली कांग्रेसको सरकारसमक्ष । के प्रदुषण नै प्रदुषणले गाँज्यो भने भोली चितवनलाई त्यो रुपमा विकास गर्न सकिएला ? बेकारमा सडक जाम गर्ने, वाहियत काममा हरेक दिन सडक र क्याम्पसमा मारपिट गरेर आतंकित बनाउने बिद्दार्थी संगठनहरुले यस्तै रचनात्मक काममा ध्यान दिए कस्तो हुन्थ्यो होला ?






