घुस नदिँदा आतंककारी !
● सोम नारायण थनेत / बेल्जियम
मोटरसाइकलको यात्रा । रातको समय । सुइय सुइय सिटी बज्यो । प्रहरी चौकीको अगाडी सिटी बजेकोले ट्राफिककै सिटी हो र उसले रोक्न आदेश गरेको हो भनेर अनुमान लगाउन कठिन भएन । आफ्नै गती र तालमा दौडिरहेको मोटरसाइकल, ठयाक्कै प्रहरीको अगाडी रोक्न सकिएन । लगभग १०० मिटर पर रोक्न भ्याइयो । हामीतिर १०, १२ जना लौराधारीहरु आए । ति डण्ठेहरुले मदिरा सेवन गरेको सजिलै अनुमान लगाउन सकिन्थ्यो । घटना बिकट ठाउँको सानो गाउँमा नभएर नवलपरासी जिल्लाको क्षेत्रीय प्रहरी कार्यालय कावासोतीमा भएको हो । मूख्य राजमार्गमा रहेको प्रहरी कार्यालय । हजारौं गाडी र मानिस ओहोरदोहोर गर्छन् दिनदिनै ।
हामीसँग मोटरसाइकलका कागजपत्र र लाइसेन्स मागीयो । कागजपत्र सबै ठिक छ । उनीहरुले जे जे मागे फटाफट दियौं । तर पनि लौराधारीहरुले घुसखाने बाटो निकाले ।
‘सिटी बजाउँदा किन नरोकेको ? जरिवाना तिर । ‘
‘ठिकै छ, बरु जरिवाना तिर्छौ, बरु कति दिन पर्ने हो सर ? नरम स्वरमा बोल्नै पर्यो ।
‘५०० रुपियाँ ले साले ‘ पुलिसले हकार्यो ।
‘अनि रसिद पाइएला नि सर’ गाली खाएपनि हामी अझै नरम बन्यौं ।
‘अँ तँलाइ अझै रसिद ?’
‘ला रसिद’ भनेर हामी माथि लाठी र मुक्काले सांघातिक आक्रमण गरियो ।
त्यतिलेमात्र नपुगेर ‘तिमीहरु आतंककारी हौ’ भन्दै चौकीमा लगियो । त्यहाँ लगीसकेपछि हामीलाइ आतंककारी प्रमाणित गर्न खोजियो । म त्यतीखेर आकाशबाट खसे जस्तो भएँ जतिखेर प्रहरीहरुले हामीलाइ २, ३ वटा पेस्तोल देखाउदैं ‘यो हतियार तिमीहरुको खल्तीबाट फेला परेको’ भनेर आरोप लगाए । ‘तिमीहरु आतंककारी हौ’ भनि हामीलाइ आरोप लगाइयो । उनीहरुको बोली वचनपनि कति रुखो, कति अश्लील, कति अमानविय । मानौं तिनीहरु सडक छाप बाल बालिका हुन, जसलाइ हामी खाते पनि भन्ने गर्छौ । जो सडकमा हुर्किन्छन् । त्यहिँको भाषा सिक्छन् । आचरण सडकमै देखे भोगेको नक्कल गर्छन् । तिनलाई नैतिक आचरण, भाषा र मिठास के हो सिकाउने कोहि हुन्न । सडक समग्र तिनको बिध्यालय जस्तो ।
तल्लो स्तरका सिपाहीका त कुरै छोडौं, स्वयं डि एस पी देवमान लोहनीको बोलीपनि खाते पाराको नै थियो । मेरो खल्तीबाट ‘हतियार फेला पारेको’ भनिसकेपछि मलाइ डरपनि लाग्यो, कतै बदमासहरुले बित्याँस पो पार्ने हुन् की ! साथसाथै रिसपनि उठ्यो । तर म चुप लाग्न विवश भएँ । किनकी उनीहरुले हातहतियार खरखजाना मुद्दापनि लगाउन सक्ने भए । दुखि त थियौं नै । अचम्मितपनि परियो, यो कस्तो नयाँ नेपाल जहाँ निहत्था मानिसलाइ जबर्जस्ति आतंककारीको आरोप लागाइन्छ ? प्रहरीको यस्ता किसीमका काम कारवाहीबाट सर्वसाधारणलाइ प्रहरीप्रति घृणा जाग्नु स्वभाविकै होइन र ? प्रहरीको काम शान्ति सुव्यवस्था कायम गर्ने हो की उल्टै शान्ति खल्बल्याउने ? स्थानिय मान्छेको जिउ ज्यानको सुरक्षा गर्ने हो कि उल्टै सडक सडकमा सवारी रोकेर आतंकित पार्ने ?
आतंककारी कसलाइ भनिन्छ ? कसैले भन्लान, समाजमा शान्ति बिथोल्ने ब्यक्ति वा समुहलाइ । कसैले भन्लान, नियम र कानुन आफनो हातमा लिने आतंककारी । कसैले भन्लान, बम पडकाउने आतंककारी । खैर ! यो प्रश्नको उत्तर मानिसहरुले आआफ्नै तरिकाले व्याख्या गर्लान । प्रहरीलाइ घुस नदिँदा आतंककारी भएको चाहिँ कहीं कसैले सुन्नु भएको छ ? तर हाम्रो नेपालमा सवारी नियमको उलंङघन गरेको व्यक्तिले प्रहरीलाइ घुस नदिँदा आतंककारी भइँदो रहेछ । प्रहरीबाट अपशब्द खाइने रहेछ । सुरक्षा दिनेबाटै असुरक्षित भइने रहेछ ।
रातको समयमा मादक पदार्थ सेवन गरेका वा मातेका व्यक्तिहरुलाइ प्रहरीले लुट्छन् भन्ने त सुनिँदै आएको हो । साथै भाडाका सवारी चालकहरुलाइ नेपालका ट्राफिक प्रहरीहरुले निकै समस्या र दुख दिन्छन भन्ने कुरा मैले सुने, देखे र भोगेको छु । यसपालीको भोगाइ वा अनुभव भने अलि बेग्लै किसीमको रह्यो । र अलि कडा र तितो । सायद यतिखेरको संक्रमणकालिन अवस्थामा प्रहरीले आफुलाइ शक्तिशाली ठानेकोलेपनि हुन सक्छ ।
यतिखेर मुलुकमा गणतन्त्र स्थापना भएको छ । भनिन्छ, लोकतन्त्र आएको छ । समग्रमा भन्ने हो भने मुलुकमा परिवर्तन आएको छ । यस्तो बेला त प्रहरीहरुले यस्ता आरोप लगाउन तम्तयार हुन्छन भने संकटकाल र जनयुद्दकालमा झन के के गरेका होलान । के गरेनन् होला ? कस्ता कस्ता सास्ती दिएनन् होला ? कति घूस कुम्ल्याए होलान् ? कतिलाई आतंकित पारे होलान् ? कतिका टाउकामा फत्तुर आरोप लगाइए होला ? कल्पना गरेर साध्य छैन ।
त्यो घटनाले के देखाउँछ भने नेपाल प्रहरीमा केहीपनि परिवर्तन भएको छैन । उनीहरु अझै पनि पंचायती शैलीमानै प्रस्तुत भइरहेका छन । मानौं उनीहरु जनयुद्दकालमा माओवादी जनसेनाबाट भोगेको पीडाको बदला अहिले सर्वसाधारणसँग लिँदैछन् । उनीहरु जनताका सच्चा प्रहरी बन्न सक्षम छैनन । जनताको जिउ धनको शुरक्षा गर्ने मानसिकता तिनमा अझै पलाएको छैन । जनताको सम्मान गर्न जानेका छैनन । मानव अधिकार भनेको यिनलाइ थाहा छैन । यस्ताबाट देशको कानुन र मानव अधिकारको रक्षा होला भनेर कसरी सोच्न सकिन्छ ? जनताको पसिना र रगतबाट उठेको राजस्वबाट सरकारले ती प्रहरीहरुलाइ विभिन्न किसीमका शारिरीक तथा मानसिक विकासको लागी तालिमहरु दिलाउँछ । तर ति प्रहरीहरु उल्टै जनतालाइ मान्छे नै नमानेपछि के हुन्छ ? अनि प्रहरीप्रति जनमानसमा नकारात्मक सोच किन नपलाओस् त ? त्यसैले सोध्न मन लाग्छ, अब कुनै समुहले प्रहरी चौकी आक्रकण गरे भने मैले ठिक भनौं वा गलत ?





