पत्रकारका कलम किनेर गरिव मार्दै छन् डाक्टरहरु
हिजो गोरखापत्रमा एउटा समाचार छापिएछ- ओम नरसिं होममा जचाउने पत्रकारलाई २५ प्रतिशत् छुट । किन दियो होला निजि अस्पत्तालले यत्रो छुट ? फेरी पत्रकारहरुलाई नै ताकेर किन ? देशमा पत्रकार भन्दा पिडित शहिदका परिवार छन् । अपांग छन् । अशक्त छन् । एउटा सिटामोल किन्न नसक्ने गरिव धेरै छन् । पिडित महिला र वालवालिका धेरै छन् । तर तिनलाई सुको पनि सहुलियत घोषणा गर्न नसक्ने ओम नर्सिंहोमले किन पत्रकारलाई २५ प्रतिशत छुट दिने घोषणा गर्यो ? स्पष्ठ छ – पत्रकारका कलम किनेर गरिवहरु मार्न ।
सुत्केरी ब्यथाले च्यापेका महिला बढि आउँछन् ओम नरसिंह होममा । डा भोला रिजाल महिला रोगमा नाम कमाएका । त्यहाँ त्यस्तै महिलाको झन बढि भिड लाग्छ । तर लोकप्रियता र सेवाको नाममा चर्को शोषण छ त्यहाँ । मनपरी यति सम्म छ वच्चाको रगत दिँदा राम्रोसित नहेरिदिंदापनि ज्यान गएको छ । (चित्रमा हेर्नुस् केहि महिना अघि ओ म नरसिं होममा लापर्वाहीले ज्यान गएको बच्चाको समाचार । यो नयाँ पत्रीका दैनिकमा प्रकाशित थियो ।)
सुन्दर बिहानी हेर्न आतुर वालवालिकालाई सहज तरिकाले धरती टेकाइदिने थलो हो त्यो । थुप्रै नानीहरुको त्यहि धरतीमा अवतरण सँगै सयौं बाबु आमाहरुको मन हाँस्छ । आत्मा रमाउँछ । तिनले घर खेतै बन्दकी राखेर, भैंसी हल गोरुनै बेचेर भएपनि उपचारका लागि आउँछन् । मागेको तिर्छन् । ज्यान सुम्पिन्छन् ।
त्यहि अनुसारको सेवा र ब्यवहार आशा गर्नु बिरामीको अधिकार हो । चिकित्सकको धर्म हो । त्यहि कसम खाएर ति चिकित्सक बन्छन् । तर अहिले के गर्दै छन् ति ? सकेसम्म बिरामी लुट्ने । मनपरी उपचार गर्ने । हेल्च्क्र्याइ गरेर, गलत औषधी दिएर बिरामीको हत्या गर्ने । पैसा लिने तर समयमा उपचार नगर्ने । ओम नर्सिंहोमले यसरि मनपरी गरेका घटना सञ्चार माध्यममा आए । देशभरि चिकित्सक र निजि अस्पत्तालको मनपरी नै चलेको छ । त्यसको खबर दिने, खबरदारी गर्ने, प्रशासनलाई जानकारी दिने, कानुनका आँखा सम्म पुर्याइदिने काम गरिरहेका छन् पत्रकारले । यस्ता घटना सार्वजनिक भएपछि ति सुध्रिनु पर्ने हो । तिनले आफ्नो सेवा र सुविधामा परिवर्तन र सुधार गरेर विरामीको मन जित्नु पर्ने हो । तर सेवा र उपचारका नाममा लुट्ने पसल न परे ।
तिनको लुटको स्रोत के हो ? राज्यविहिन अवस्था । अहिले देशमा कतै सरकार छैन । छ त केवल सिंगदरबार वरिपरि र पजेरोमा कैद छ । कानुनहरु छोपिएका छन् । जनतालाई जति लुटेपनि छुट छ । ज्यान मार, त्योपनि जायज छ । चिकित्सकले गलत औषधी देओस् केहि हुन्न । मनपरी गरेर ज्यान लेओस् कसैले छुन सक्दैन । ज्यानमारा डाक्टरलाई कारवाहीको माग गरे सारा चिकित्सक त्यसैको समर्थक बनेर हडतालमा उत्रिन्छन् र भन्छन्- हामि चिकित्सकको हातबाट जखम भएको ज्यान चाहिँ सामान्य हो, त्यो सदर हुनुपर्छ । लाग्छ- चिकित्सक नामका ति ज्यानमारा हुन् । तिनले त्यो मनपरीलाइ अधिकारका रुपमा स्थापित गर्न जाँगे खोलेर कस्सिएका छन् ।
तिनको त्यो अपराधिकरणको बाधक को ? त्यो मनपरी तन्त्रमा भाँजो हाल्ने को ? पत्रकार । सरकारको अनुपस्थिति । स्थानिय प्रशासनको पुरै भ्रष्टिकरण । चिकित्सकको अपराधीकरणको बिरोध गर्ने, औंला उचाल्ने माध्यम नै सञ्चार हो । तिनले लुट्दा, अनाहकमा ज्यान लिँदा आवाज उठाउने माध्यम नै पत्रकार हुन् । जनतालाई थोरै साथ दिने, तिनका पीडा बाहिर ल्याउने अलिकति केहि बाँकि छ देशमा भने सञ्चार माध्यम छ । त्यसैले अब चिकित्सकहरु पत्रकार खरिद गर्न चाहन्छन् । तिनलाई उपचारमा सहुलियत दिने नाममा तिनका कलम भाँच्न चाहन्छन् । कापी थुत्न चाहन्छन् । उपचारको लेपनमा तिनको शक्ति बोदो बनाउन चाहन्छन् । पत्रकारलाई सहुलियत दिएपछि ति नुनको सोझो बन्छन् । जसको नुन खायो उसैका बिरुद्द बोल्न सुहाउन्न ।
त्यति गर्न सकियो भने तिनको लूट, अपराधीकरण, भ्रष्टाचार, मनपरीतन्त्रको बिरुद्द बोल्ने सारा मुहानमाथि भोटे ताल्चा ठोकिने छ । र अझ बढि ज्यान मार्दापनि सजिलै सदर गर्न पाइन्छ । अझ लुट्न पाइन्छ । गरिव दुखिमाथि चिकित्सकको आवरणमा अझ अत्याचारको राज्य फैलाउन पाइन्छ ।
तर पत्रकारहरुले के गर्लान् ? गरिवका ज्यान लिएर आफू सुबिधामा रमाउलान् ? कलम सलम जेसुकै होस् पाको सुविधा कहाँ छोड्ने भनेर लुरुक्क पर्दै स्विकार गर्लान ? पत्रकारिता भनेको आवाज बिहिनहरुकालागि आवाज हो । आफ्नो सुविधाकालागि आवाज विहिनका आवाज लेख्ने हैन भएकोपनि निमोठ्न लागे भने तिनको पत्रकारिताको के अर्थ रहला र ?





