गुमनाम मृत्यु
बेल्जियमको इपेर निवासी अधिवक्ता महेश थापा फुर्सद हुनासाथ प्रथम विश्वयुद्धमा मारएिकाहरूको सम्झनामा निर्मित त्यहाँको युद्ध स्मारक पुग्छन्। प्रथम विश्वयुद्धमा बेलायती सेनामा रही युरोपमा युद्ध लड्दा मारएिका नेपाली सैनिकहरूको नालीबेली खोजीनीति गर्नु उनको उद्देश्य हो।
प्रथम विश्वयुद्धमा जर्मनी र बेलायती गठबन्धनबीच युद्ध भएको थियो। त्यसबेला विश्वमा बेलायती साम्राज्य मातहत जति पनि देश थिए, तिनका सैनिक लड्न आएका थिए इपेरमा। भारत बेलायतको उपनिवेश थियो। नेपाली सैनिकहरू गोरखा रेजिमेन्ट्स अन्तर्गत त्यतिखेर भारतमा तैनाथ रही बेलायतका लागि काम गर्थे। प्रथम विश्वयुद्धमा गोर्खा रेजिमेन्ट्स मात्रै नआएर राजपूत रेजिमेन्ट्स, शिख रेजिमेन्ट्स, बर्मा मेलिटरी पोलिस रेजिमेन्ट्स, असम रेजिमेन्ट्स पनि युरोपमा लड्न आए। तर, इपेरमा आइपुग्दा ती सबै शिख रेजिमेन्ट्समा सामेल थिए। प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपालीहरू भने सन् १९१५/१९१६ मा मात्रै इपेर पुगेको अभिलेखमा देखिन्छ।
इपेरमा कति नेपाली आए होलान्? थापा भन्छन्, “यति नेपालीहरू युद्धमा आए भन्ने तथ्यांक नै छैन। तर, यहाँ नेपाली आएको प्रमाण भने स्पष्ट छ।” बेल्जियमस्िथत नेपाली राजदूत प्रमेशकुमार हमाल पनि इपेरमा कति नेपाली आए भन्ने आँकडा नभएको बताउँदै धेरै नै नेपाली आएको अनुमान गर्छन्। भन्छन्, “करबि ७०/८० जना नेपालीको मात्रै स्मारकमा नाम कुँदेको देखिएको छ।” तर, त्यो युद्धसम्बन्धी अध्ययन र अनुसन्धानमा लागेकाहरू त्यसभन्दा बढी नेपालीले युद्धमा वीरगति पाएको उल्लेख गर्छन्। त्यहाँका पुराना फाइलहरू हेर्दा इपेरमा करबि १० हजार नेपालीको उपस्िथति थियो भन्ने अनुमान छ। त्यो लडाइँमा यति धेरै मान्छे मरे कि अनुसन्धाताहरूले ती सबैको नाम अहिलेसम्म खोजी गर्दा पनि भेटेका छैनन्। त्यतिखेर झन् नेपालीको अभिलेख राख्ने चलनै थिएन। थापा भन्छन्, “युद्धपछि नेपालीहरू फर्केर आफ्नो रेजिमेन्ट गएको भन्ने तथ्य अनुसन्धानकर्मीहरूले पाउन नसकेकाले पनि सबै नेपालीको त्यहीँ ज्यान गएको अनुमान छ।” तर, नेपालमा कसको घर कहाँ? कसरी आए? पारविारकि पृष्ठभूमि के? त्यसबेला कस्तो थियो? भन्ने तथ्य फेला पार्न नसकेकाले अध्येताहरूले यस विषयमा अध्ययन/अनुसन्धान जारी राखेका छन्।
प्रथम विश्वयुद्धले कति क्षति पुर्यायो भन्ने अध्ययन गर्न बेलायतीहरूले एउटा संस्था खोलेका थिए, ‘कमन वेल्थ गे्रभ कमिसन्स’ नामको। यसले उनीहरूतर्फ के कति क्षति भयो, खोजबिन गरेर अभिलेख राख्ने काम गर्यो। जानकारी पाएसम्मका मृतकको नाममा चिहान बनाइयो। अहिले पनि गे्रभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मत-सम्भार र त्यो घटनासित सम्बन्धित सबै अभिलेख राख्ने काम गर्छ।
इपेरस्िथत स्मारकले भने बेलायती गठबन्धनलाई मात्रै समेटेको छ। बेलायत र बेलायती उपनिवेश अन्तर्गतका देशहरू, उसको नजिकका मित्र देशहरूले इपेरमा लड्दा मारएिका आपmना सैनिकको नाम सकेसम्म यस स्मारकमा उल्लेख गर्ने प्रयत्न गरेका छन्।
बेलायतीहरूले बनाएको स्मारकमा गोर्खा राइफल्स रेजिमेन्ट्स भन्ने उल्लेख छ। र, त्यसको मुनि केही सैनिकको नाम छ। स्मारकमा उल्लेख भए अनुसार मनधोज थापा भन्ने हवल्दारको नेतृत्वमा नेपाली सैनिक रहेछन्। र, उनी इपेरमै मारएि भन्ने देखिन्छ। फोर्थ गोर्खा राइफल्स्, शिख रेजिमेन्ट्स, बर्मा मिलिटरी र असम मिलिटरी रेजिमेन्ट्सका तर्फबाट पनि नेपालीहरू आएको त्यही स्मारकको सूचीले देखाउँछ।
सन् १९१४ देखि १९१८ सम्म जर्मनहरूले केही युद्धबन्दीहरू बनाए। तिनमा केही नेपाली पनि थिए। जर्मनहरूले तीमध्ये कतिपय युद्धबन्दीको स्वर अभिलेख गरेका थिए। त्यसको एकप्रति इपेरको स्मारक हेरचाह गर्ने र प्रथम विश्वयुद्धमा इपेरमा भएका क्रियाकलापको अनुसन्धान गर्ने स्थानीय संस्थामा आइपुग्यो। त्यसको अनुवाद गर्ने जिम्मा महेश थापालाई दिइयो। त्यसमा चार-पाँच युद्धबन्दीको स्वर सुनिन्छ। बन्दीहरूले एउटा गीत पनि गाएका छन्। गीत पूरै ठम्याउन त सकेनन् थापाले तर एउटा शब्द बारम्बार सुन्दा ‘चिल गाडीमा उडी आएका’ प्रसंग छन्। ‘युद्धमा किन आयौँ, के गर्न आयौँ पनि थाहा छैन।’ ‘जबरजस्ती आउनुपर्यो, जबरजस्ती लड्दै छौँ। हामीलाई हाम्रो घरपरविारको स्िथति के छ, यहाँबाट फर्केर फेर िघरपरविारलाई भेट्न सक्छौँ कि सक्दैनौँ, मेरो अवस्था कस्तो छ भन्ने नै मैले परकिल्पना गर्न सकेको छैन’ भन्ने भावना र वेदना त्यस क्यासेटमा छन्।
त्यसो त, जर्मनहरूले नेपालीका साथै भारतीय सैनिकहरूलाई पनि पक्रेर लगेका थिए। नेपालीको मात्रै नभएर भारतीय युद्धबन्दीका पीडा पोखेका स्वर पनि थापाले अनुवाद गरेका छन्। भन्छन्, “भारतीय युद्धबन्दीहरूले बोलेको अनुवाद गरेर सुन्दा हामी धुरुधुरु रुन्छौँ।” प्रथम विश्वयुद्धमा जति पनि नेपाली इपेर आए, कोही पनि फर्केर गएको अभिलेखबाट नदेखिने हुँदा सबैको यहीँ मृत्यु भएको उनी बताउँछन्। नेपाली राजदूत हमाल पनि भन्छन्, “सबै नेपाली कहाँ गए भन्ने पत्तो लाग्न सकेको छैन। यो खोजबिनकै विषय हो।”
दोस्रो विश्वयुद्धमा बर्मा र जापानसम्म नेपालीले लडेका एतिहासिक कुरा सुन्न र पढ्न पाइन्छ। बेलायती सेनाबाट लडेका नेपालीहरूले बेलायती सरकारबाट सेवासुविधा लिइरहेका छन्। आफन्तहरूले क्षतिपूर्ति पाइरहेका छन्। नपाउनेले अहिलेसम्म दाबी गररिहेका छन्। दोस्रो विश्वयुद्धमा बेलायती सेनामा लड्नेका सन्तानहरू सिंगापुर, हङ्कङ् र बेलायती परचियपत्र मागेर हिँडिरहेका छन्। तर, बेलायती सेनाबाटै पहिलो विश्वयुद्धमा ज्यान गुमाएका नेपालीमाथि न्याय दिलाउन त परै जाओस्, तिनका बारेमा कसैले चर्चासम्म गर्दैन।
पहिलो विश्वयुद्धमा अभिलेख राख्ने चलन निकै कम भएकाले पनि ती नेपालीबारे थाहा पाउन मुस्िकल परेको राजदूत हमाल बताउँछन्। भन्छन्, “इपेरमा कति नेपालीको क्षति भयो भन्नेबारे जानकारी लिनु सरकारको दायित्व हो। तर, त्यो सायद प्राथमिकतामा नपरेकाले ओझेलमा छ।”
त्यसो त इपेरमा गएर बुझ्ने काम नेपालका नीतिनिर्माण तहमै बसेका उपल्लो तहका राजनेताहरूले समेत नगरेका होइनन्। बेल्जियममा रहेका संघसंस्थाका नेपाली पनि त्यहाँ पुग्छन्। पछिल्लोपटक उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला पनि इपेर पुगिन्। उनले भ्रमणका बेला ‘यसलाई प्रचार/प्रसारमा लैजानुपर्छ, हामी केही चीज गराँैला’ भन्ने आश्वासन पनि बाँडिन्। तर, त्यहाँबाट फर्केपछि उनका आश्वासन त्यसै बिलाए। “उहाँले आश्वासन त दिनुभयो तर कति प्रचार हुन सक्यो? के काम भयो, गर्भमै छ अहिलेसम्म,” थापा दुःखेसो गर्छन्।
सबैभन्दा महत्त्वपूर्ण र दुःखलाग्दो कुरा के भने भूतपूर्व बेलायती सैनिकहरू आफ्नो हक र अधिकारका बारेमा निकै चर्को स्वरमा आवाज उठाइरहेका छन्, गोर्खा सैनिकका सन्दर्भमा। गोर्खा राइफल्स भन्नेबित्तिकै बेलायती सरकारका पक्षमा युद्ध लड्ने हो। जो जहाँ मारएि, ती बेलायती साम्राज्यका लागि लड्दा मारएि। पेन्सन र सुविधादेखि हरेक कुरामा भूतपूर्व गोर्खा सैनिकहरूले बेलायती सरकारसँग एक किसिमको युद्ध लडे। मुद्दा मामिला गरे। तर, इपेरमा आएर लडेका हजाराँै भूतपूर्व गोर्खा सैनिकका बारेमा चाहिँ उनीहरू चुपचाप छन्।
राजदूत हमाल प्रथम विश्वयुद्धमा बेल्जियममा भएको नेपालीको क्षतिबारे तथ्य संकलन गर्ने, त्यसलाई त्यतिबेलाको अन्तर्राष्ट्रिय प्रावधान र प्रचलन अनुसार क्षतिपूर्ति दाबीको मुद्दा बनाउन सकिने बताउँछन्। भन्छन्, “पाइन्छ कि पाइन्न त्यतिबेलाको अन्तर्राष्ट्रिय प्रचलनमा भर पर्ला। क्षतिको सही तथ्य खोजी गर्न सके क्षतिपूर्तिको मुद्दा बनाउन सकिन्छ।”
बेलायती गोर्खा सैनिकहरूसँग मिलेर युद्ध लडेका नेपालीबारे भूतपूर्व गोर्खा सैनिकहरूले नै बढी खोजीनीति र आवाज उठाउनुपर्नेमा हमाल जोड दिन्छन्। भन्छन्, “बेलायती सैनिकहरूको प्रथम विश्वयुद्धसम्बन्धी सैनिक अभिलेखमा खोजी गर्ने हो भने नेपालीहरू कति आए, कति फर्किए भनेर पत्ता लगाउन सकिएला। चाहेमा त्यो काम भूतपूर्व बेलायती सैनिक संगठनहरूले गर्न सक्छन्।”
तर, पूर्वगोर्खा सैनिकहरूको संगठन -गेसो)लगायत बेलायती गोर्खाका प्रतिनिधिले अहिलेसम्म आफ्नै धरोहरलाई प्रचारप्रसारसम्म गरेको देखिएको छैन। यो पनि बेलायती गोर्खा सैनिककै एउटा वास्तविक इतिहास हो भन्ने तथ्यलाई उनीहरूले बिर्सिएको गुनासो गर्छन् थापा। किनभने, भूतपूर्व बेलायती सेनाका निकायहरू नै लागेको खण्डमा त्यहाँ मारएिका नेपाली सैनिकको पहिचान गर्न सकिने उनको भनाइ छ।
इपेरमा ज्यान गुमाएका नेपालीका परविारले क्षतिपूर्ति पाउने कुरा त परै जाओस्, त्यहाँ कति नेपालीले ज्यान गुमाए भन्ने तथ्यसमेत पत्तो लाग्न नसक्दा यो विषय त्यसै ओझेलमा पर्दै आएको छ। ढिलै भए पनि सरोकारवाला पक्षहरूको कानमा बतास लाग्ला भन्ने आशसम्म गर्न सकिन्छ ।
(मेरो आफ्नै नाममा प्रकाशित यो लेख कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकको अंक: ४२६, २०६७ पुस १८ आइतवार | जनावरी २, २०११ बाट साभार गरिएको हो) ।





