बेल्जियमको नेपाली दूतावासबाटै नेपालीहरू पीडित
● बडाका थारु / बेल्जियम
कसैको नामै फरक, कसैको थरै फरक, कसैको नामको हिज्जे फरक त कसैको जन्म मिति नै फरक वा नमिलेको । विदेशमा उही त हो कहिले के कागज नमिल्ने, कहिले के । यीनै र यस्तै किसिमका कागजी समस्याहरू विदेशमा बस्ने नेपालीले ब्यहोर्नुपर्छ । यस्ता विभिन्न कागजपत्र बनाउने सिलसिलामा आफ्नो र अरूको लागी म पटक पटक नेपाली दूतावास ब्रसेल्स पुगेको छु । त्यहाँका कर्मचारीहरूको काम गराइको तौर तरिका देख्दा नेपालको तत्कालीन पंचायती व्यवस्थाको स्मरण सहजै आउँछ । मैले जानी नजानी यो कलम चलाउन पर्नाको कारण त्यही नै हो ।
म कुनै पत्रकार होइन न त कुनै लेखक । एक साधारण लेखपढ गर्न जान्ने सामान्य किसान परिवारमा जन्मेको सामान्य नेपाली नागरिक । बेल्जियममा साधारण मजदुर । नेपालमा रोजगारी माग्दै धेरै ठाउँमा आवेदन भरेँ । तर उही त हो नि जता गए पनि नातावाद, कृपावाद, घूसखोरी, भ्रटाचारी आदि इत्यादि । अन्तमा केही उपाय नलागेपछि विदेशिन बाध्य भएँ । आफ्ना विभिन्न समस्या लिएर दूतावासमा पटक पटक जाँदा थुप्रै सेवाग्रही नेपाली मित्रहरू सँग भेट पनि भयो । धेरै नेपालीहरू दूतावासको काम गर्ने तरिकाबाट सन्तुष्ट भएको पाइएन ।
सर्वप्रथम त दूतावास भित्र पस्ने वितिकै त्यहाँ रिसेप्सनमा नेपाली बोल्न नजान्ने एक जना बेल्जीक महिलासँग सम्पर्क गर्नु पर्दछ । यो कहाँको, कस्तो व्यवस्था वा चलन । यहाँ नेपाली दूतावासमा बेल्जीक नागरिकले किन काम ग-यो भनेर भन्न खोजिएको होइन । तर नेपाली दूतावासमा काम गर्ने त्यसमा पनि रिसेप्सनमा काम गर्ने कुनै पनि कर्मचारीले नेपाली बोल्न जानु आवश्यक छ की छैन ? रिसेप्सनको कर्मचारी गोरी नै हुनु पर्छ र ? होइन भने अहिले फ्रान्सेली, डच लगायत अन्य भाषा जानेका नव युवा नेपालीहरू तयार भइसकेको अवस्थामा नेपाली फुट्टो नजान्ने गोरीलाई किन राखी राख्न प-यो ? नेपाली हुँदा हुँदै नेपाली नबोल्ने फिलीपिनो किन ? विदेश स्थित नेपाली दूतावासहरू नेपाल सरकारका प्रतिनिधि संस्था भएको हुँदा त्यहाँ कार्यरत कर्मचारीले नेपाली भाषा अनिवार्य हुनु पर्ने हो की होइन ?
बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जमबर्ग) मा रहेका नेपालीहरू मध्ये कतिपय अंग्रेजी भाषा पनि राम्ररी बोल्न सक्ने छैनन् । फ्रान्सेली र डचको त कुरै छाडौं । म स्वयंपनि राम्रो अंग्रेजी बोल्न जान्दिन । यस्तो अवस्थामा समस्यामा परेका नेपाली दाजुभाइहरूले आफ्नो समस्या रिसेप्सनमा कसरी व्याख्या गर्न सक्छन् ? एक पटकको घटना हो, एक जना रुकुम तिरका मित्र राहदानी बनाउन दूतावासमा पुगेका रहेछन् । विचरा अंग्रेजी फुट्टो जान्दै नजान्ने । रिसेप्सनमा काम गर्ने महिलाले भन्दै थिइन- कागज के के छ ? उनले ‘केही पनि छैन ‘ भनेपछि महिलाले जवाफ दिइन् – पुलिसको रिपोर्ट चाहिन्छ । पुलिस भने पछि ती मित्रलाई डर लागेछ । अनि उनी झन् हडबडाए । किनकी उनीसित बेल्जियम बसाई र काम गर्न पाउने वैधानिक कागज रहेनछ । त्यही वैधानिक गराउने फारम भर्नको लागी राहदानी बनाउन गएका रहेछन् । तर ती भाईले उसको कुरा बुझ्नै सकेनन् । उनलाई समस्यामा परेको देखे पछि मैले सहयोग गरेँ । यसरी दूतावासमा काम विशेषले जाँदा थुप्रै नेपालीहरू पीडित भएका छन् र हुने क्रम अझै जारीनै छ ।
निश्चित रूपमा समस्याहरू जहाँ पनि आउँछन् । दूतावासमा आउने नेपालीहरूका प्रमुख समस्या कागजी समस्या नै हो । कागजी प्रमाणहरू उपलब्ध गराउँदा दूतावासले पनि आफ्ना निश्चित प्रक्रियाहरू पुरा गर्नु पर्ने हुन्छ । तर प्रक्रिया पुरा गर्ने नाममा अनावश्यक रूपमा नेपालीहरूलाई दुख दिन मिल्छ ? अनि प्रक्रियाको अवधि कति हो ? प्रक्रिया कसले पुरा गर्ने ? सेवाग्रहीले वा दूतावासले ? मेरै आफ्नै छोरीको राहदानी बनाउन पनि बुझ्नु पर्छ भन्दै चार महिना लगाइदिए । चार महिना बित्दा पनि दूतावासले आफै बुझ्न सकेन । म आफैले नवलपरासी जिल्ला कार्यालयबाट राहदानी लिएको कागज झिकाएपछि बल्ल दूतावासले राहदानी दियो । खास गरि राहदानी पाउने विषयमा नेपालीहरूलाई दूतावासबाट दुख दिने गरिएका घटना सुन्न पाइन्छन् ।
दूतावास भित्र देखिएका समस्या मध्ये फोटो कपी मेशिनको पनि हो । दूतावास जस्तो कार्यालयमा सेवाग्रहीको लागी एउटा फोटो कपी मेशिन छैन । अनेकौँ चाडपर्वहरूमा चियापान गरेर बजेट सक्नुको सट्टा कुनै एक पर्वको चियापान बजेट एउटा फोटो कपी मेशिन खरिद गरि दिए हामी जस्ता सेवाग्रहीहरुलाइ सुविधा हुने थियो । यदी दूतावाससँग फोटो कपी मेशिन खरिद गर्ने सामर्थ्य नभए बेल्जियममा थुप्रै नेपाली संघ संस्थाहरू छन् । उनीहरूसँग सहयोग मागोस् भन्ने मेरो सुझाव ।
पछिल्लो समयमा दुई महिलाहरू रिता धिताल र प्रथमा उप्रेती आइसकेपछि सेवाग्रहीको काम छिटो छरितो भएको सुन्नमा आएको थियो । तर गत २१ सेप्टेम्बरमा जाँदा एक जना हाकिम नुहुँदा उप्रेती बहिनीले छिटो छरितो काम गर्न चाहँदा चाहँदै पनि सेवाग्रहीले त्यहाँ दिनभरि बिताउनु पर्दा दूतावासको काम गराइको तरिका पंचायतलाइ संझने किसिमको थियो ।
काम नपाए नेपाली दूतावास आउनु, न्याय नपाए गोरखा जानु
मलाइ मेरो छोराको लागी दूतावासबाट एउटा नाम र थर प्रमाणित भएको पत्र आवश्यक थियो । त्यसैले एक हप्ता अगाडी नै मैले दूतावासमा फोन गरेर समय मागेको थिएँ । किनकी यस अघिका प्रथम सचिव दुर्गा भण्डारीले दूतावासमा आउँदा फोन गरि समय मिलाएर आउन सल्लाह दिनुभएको थियो । किनकी दूतावासमा कहिलेकाहीँ कुनै कर्मचारी नहुन सक्छ ।
मैले फोन गर्दा मलाइ २१ सेप्टेम्बर मंगलवार ११ : ०० बजेको समय दिइयो । त्यही अनुसार मैले आफ्नो काममा छुट्टी मिलाएँ । दूतावासले दिएको समयमा म त्यहाँ पुगेँ । तर त्यहाँ पुग्दा रिसेप्सनमा नेपाली बोल्न नजान्ने गोरीले गाई खाने भाषामा मलाइ भनिन – यहाँ त कोही पनि कूटनीतिज्ञ छैनन् । आज केही काम हुँदैन । म अचम्म परेँ । अपर्झट केही जरुरी काम परेको हुन सक्छ भन्ने मनमा लाग्यो । फर्कने विचार गरेँ । तर फेरी पनि मनमा आयो – म त त्यसै आएको होइन । फोन मार्फत समय मागेर आएको । ती रिसेप्सनिस्टसित भनेँ – वहाँले समय दिनु भएको थियो । यो त अचम्म भयो नि । त्यस पछि ती गोरीले फोन घुमाइन । फोनमा एक जना महिलासँग सम्वाद भएको सजिलै सुनिन्थ्यो । मैले फोन माग्ने वाला नै थिए । तर उतैबाट म सँग कुरा गर्ने शर्त आयो । मैले आफ्नो कुरा राखिसकेपछि मलाइ भनियो – ल एकैछिनमा म फेरी फोन गर्छु ।
हामी कति खेर फोन आउला र हाम्रो कामको छिनोफानो होला भनेर तल रिसेप्सन हलमा कुर्यौं । अत्यास लाग्दो पर्खाइमा केही किताब पत्र पत्रिका त्यहाँ वरिपरि खोजेँ, केही पाइएन । टेबुलमा राहदानी लिनको लागी दिने निवेदनको एउटा नमुना रहेछ । त्यहाँ एउटा हस्तलिखित वाक्य “काम नपाए नेपाली दूतावास आउनु, न्याय नपाए गोरखा जानु ” भन्ने पढ्न पाएँ । यो वाक्यबाट सजिलै अनुमान लगाउन सकिन्थ्यो की कुनै सेवाग्रहीले यहाँ हाइ हाइ गर्दै लामो समय कुर्नु परेको रहेछ ।
करिब ४० मिनेट पछि हाम्रो लागी फोन आयो । हामीलाई माथि बोलाइयो । ती महिला जो प्रथमा उप्रेती नै हुनु पर्दछ । वहाँको बोली नम्र नै थिए । र आफ्नो काममा पनि व्यस्त देखिनुहुन्थ्यो । म र मेरो छोरालाई आफ्नो टेबुल अगाडीको कुर्सीमा बस्न आग्रह गर्नुभयो । हाम्रो निवेदन माग्नु भयो । पल्लो कोठामा काउन्सलर दीपक धितालकहाँ तोक लगाउन पठाउनु भयो । तर त्यो कोठामा जाँदा कोही भेटिएन । तोक लगाउने हाकिम नभेटिएपछि फर्केर फेरी उप्रेती बहिनीकहाँ आएर बसियो मनमा अनेक कुरा खेलाउँदै । मनमा लाग्यो, नेपालमा त्यत्रो परिवर्तन भएको छ । तर दूतावासको हाकिमको काम गराइ त्यही पंचायती तरिका । त्यही पंचायती तोक सोक । तोक लगाउनको लागी वहाँको कोठामा आधा दर्जन पटक गएँ तर वहाँ भेटिनु भएन । जसरी पंचायती कालमा एउटा हाकिमले मन परे कार्यालय जान्थ्यो, मन नपरे ससुराली पनि जान्थ्यो । कामको समयमा चिया पसलमा गफ गरेर बस्थ्यो । कामको समयमा हिउँदमा घाम तापेर पनि बस्थ्यो । त्यस्तै पारा । हाकिम साहेब कतै टाढा निस्कनु भयो की भनेर प्रथमा उप्रेतीलाई सोध्दा ‘यहीँ कतै हुनुहुन्छ, आइहाल्नु हुन्छ’ भन्ने जवाफ दिन्थे ।
म दूतावासमा त्यसै गएको थिएन । भेटघाटको समय तोकेरै गएको थिएँ । एउटा विकसित, सभ्य, समयलाई असाध्यै ख्याल गरिने मुलुकमा रहेको दूतावासले यहाँको प्रजातान्त्रिक आचरण र काम गराइको तौर तरिका अवलम्बन गर्ने की नगर्ने ? मलाइ दिइएको भेटघाटको समय भुल्नेले अरूको भुल्दैन भन्न सकिँदैन । नेपाली दूतावास बेल्जियम कूटनीतिक हिसाबले युरोपका अन्य दूतावास भन्दा शक्तिशाली मानिन्छ । किनकी यसको कार्यक्षेत्र बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जमबर्ग) पर्दछ । यसले तिन वटा प्रजातान्त्रिक मुलुकसँग प्रत्यक्ष अनुभव साटासाट र कूटनीतिक सम्बन्ध गरिरहेको छ । यस कारणले पनि नेपाली दूतावास ब्रसेल्स नेपाल र नेपालीको लागी एउटा उदाहरणीय प्रजातान्त्रिक केन्द्र बन्नुपर्ने ठाउँमा उही पंचायती शैलीकै तोक लगाउने र फेरी सही गर्ने चलन नेपालमा कहिलेसम्म रहने ? जनतालाइ दुख दिइरहने ? त्यसमा पनि तोक लगाउन जाँदा ४ घण्टा हाकिम नै बेपता हुने यो कस्तो चलन ? यो कस्तो दूतावास ?
(नेपाली दूतावास, नियोग वा कन्सुलर कार्यालयबाट नेपालीले भोगेका दुख, सताइएका घटना, पासपोर्ट बनाउँदा वा नाता प्रमाणित गर्दा दिइएका हैरानी, भिसा दिँदा लिइएको घुस, दूतावासका कर्मचारीका धाक धम्की, चाकरी र चाप्लुसीआदि बारे रिपोर्टहरू आउँदै छन् । ढिलो चाँडो ती प्रकाशित हुनेछन् । तपाइहरूले देखेका, भोगेका, सुनेका यस्ता बेदनाहरु साझेदारी गर्नुहोला । आफ्नै नाम राख्न असहज लागे नाम परिवर्तन गरिने छ । तर नेपालप्लसले सम्पर्क गर्न सक्ने हुनुपर्ने छ । तपाईहरुले आफू उपलब्ध हुने दिन र समय तोकेर मलाई खबर गर्न सक्नुहुन्छ । ल्याण्डलाइन फोन दिन सक्नुहुनेछ । तपाइको ठेगाना र परिचय गोप्य राखिने छ । तपाईले नेपालप्लसको जिमेल ठेगाना ([email protected]) सेभ गरेर भ्वाईस च्याट गरौं भन्ने प्रस्ताव पनि राख्न सक्नुहुने छ । त्यसको लागि म उपलब्ध हुने छु – नेपालप्लस डट कम ।





