पारसको गुण्डागर्दी अहिले’नी उस्तै

कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा हालेपनि उस्ताको उस्तै । पूर्खाले क्या जानेर बनाएका रहेछन् यो उक्ति ! ठूलो बुवाको छोरो मारेर आफैंलाई युवराज घोषणा गरेका पारश शाहलाई ठ्याक्कै मिल्छ यो । कलाकार प्रवीण गुरुङ देखि ट्याक्सी चालक सानुभाई महर्जनसम्मको हत्या गरेका थिए उनले । डिस्कोमा खुकुरी नचाउने, पेस्तोल पड्काउने । गाउँ गाउँमा गएर महिलाहरुलाई अभद्र ब्यवहार गर्ने।  प्रहरी थानामा गएर ड्युटीमा बसेकालाई कुट्ने । सडक बत्ती फोर्ने । बाउसित मिलेर आफ्नो काका ठूलो बुवाको वंश सखाप पारेका पारश शाह यति खेर जेलका छिँडीमा कोच्चिनु पर्थ्यो यदि देशमा बिधीको शासन भएको भए । नेताका खुट्टी दह्रा भएको भए । तर उनी भने हाक्का हाकी हातमा बन्दूक नचाउँदै हिँडेका छन् । त्योपनि विश्वभरिका पर्यटक आउने होटेलमा ।

गणतन्त्र आउनु केहि अघि र गणतन्त्र आइसकेपछिपनि उनले पहिले गरेका ति कूकर्महरुको प्राश्चित गरेका थिए सार्वजनिक रुपमै । लाग्थ्यो, मान्छेले पश्चाताप गर्नु नै महान हो । सुध्रिन पाउनुपर्छ । उनले आफ्नो गल्ति र अपराधको साँच्चै महसुस गरे । उनी सुध्रिए । तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले’नी के सोझिनु ! अपराध, दादागिरी, गुण्डागिरी गर्न के छोड्थे पारशले । जनता लुटेर जोडेको सम्पत्तीको पोज देखाउन किन पछि पर्थे ?

गणतन्त्र नेपालको कानुनलाई चुनौती दिँदै चितवनको पर्यटकिय होटेलमा उनले परराष्ट्र मन्त्रीकै छोरी ज्वाईमाथि हमला गरे । तरपनि खोइ अहिलेसम्म उनमाथि कारवाही हुनुको साटो उल्टो घटनालाई सामसुम पार्न पो खोजिएको छ त ।

उनले हाकाहाकी भनेका छन्- हो मैले बन्दूक पड्काएको हो । लिखितरुपमा त्योपनि । तरपनि उनमाथि कारवाही त के उल्टो गणतन्त्र नेपालका ग्रिहमन्त्री र अन्य सुरक्षा निकाय चुपचाप छन् । नेताका मुख खोलिएका छैनन् ।

अरु त दरबारिया चाकरी गर्ने भैहाले । अचम्म त के छ भने राजतन्त्र फाल्न प्रमुख भूमिका खेलेको माओवादी अहिले प्रमुख प्रतिपक्षी दल हो । पारश शाहको परिवारलाई वीरेन्द्रको वंशनाश गरेको अपराधमा जेल हाल्नु पर्छ । तिनलाई कारवाही गर्नुपर्छ भनेर आवाज उठाउने एनेकपा माओवादीपनि चुप्प छ । आफ्नै ज्वाईमाथि आक्रमण गर्दापनि सुजाताले खोइ कारवाही गराउन सकेकी छैनन् ।

यहि काम अरु समान्य नेपालीले गरेको भए हुन्थ्यो के ? सामान्य नागरिकलाई भने सुसेली हाल्दा र दतिवन भाँच्न जाँदापनि वन्यजन्तुमाथि दखल भयो, चोर शिकारी हुन् भन्दै गोली दाग्ने गरेको छ निकुञ्ज संरक्षण गर्न बसेको सेनाले । तर पारशले चाहिँ जे पनि गर्न हुने ? उनी अहिलेपनि पहिले झैं नेपालको कानुन माथि हुन् ? कि सामान्य नागरिक ? सामान्य नागरिक हुन् भने त्यो गुण्डालाई कारवाही गर्न के ले रोक्छ ?

सुजाताका ज्वाईले लौ केहि नराम्रै बचन लगाए रे । गाली नै गरे रे । के उनीमाथि अन्य कारवाही गर्न सकिन्न ? संसाँझै दरबारिया पोज दिँदै बन्दूक देखाएर आतंक मच्चाउन पाउने अधिकार पारसलाई छ ? कसले दियो त्यो छूट ? प्रधानमन्त्री माधव नेपालले ? ग्रिहमन्त्री भिम रावलले कि रक्षा मन्त्री विद्या भण्डारीले ? यदि पारश शाह सामान्य नागरिक हुन् भने उनलाई तुरुन्त पक्रेर कारवाही गर्नुपर्दैन ?

तपाइँको प्रतिक्रिया