ऐतिहासिक योद्धाहरुको सम्मानमा एउटा प्रस्ताव
-सरोजदिलु विश्वकर्मा
हामी गतीशीलता चाहन्छौं । परिवर्तनलाई स्वीर्कादछौं । परिवर्तनका लागि लड्ने योद्धाहरुको नाम लिन्छौं । सहिद भन्नासथौ शहीर निहुराउँछौं । घाईतेको कुरा गर्छौ । अनि घाईते र सहीदको रगत बगेको गीतहरु धेरैपल्ट गाउँछौ । ज्ञात अज्ञात सहिदका नाममा हजारौंपल्ट मौनधारण गर्दछौं । वर्तमान ब्यवस्था नीति, नेता र त्यसका संयन्त्रहरुलाई गाली गरिरहन्छौं । तर जव घाईतको उपचारको कुरा आउँछ, सहीदको सालिक सफा गर्ने कुरा आउँछ, तव हाम्रा ओठमुखहरु सुक्न थाल्छन् । हामी साथीभाई, पाहुनापासा, मठमन्दिर र गिर्जाघरमा पुगेर दानदक्षिणा गर्दा आफ्नो पुण्य भएको महशुस गर्दछौं । तर घाईतको उपचारमा १० रुपैयाँ सहयोग गर्न हामी फेरि संकुचित बनिहाल्छौं । थाप्लोमाथि ठूलो भार आईरहेकेा जस्तो दिनदुखीलाई सहयोग गर्नुपर्दा हामीले धरैपल्ट कुलेलाम ठोक्यौ ।
हामी आफ्ना सन्ततीको खुशीकेा लागि जायज नाजायज कदम उठाउन तयार भयौं । तर आफूलाई जन्माउने पुर्खा र आफूलाई आजको धरातलमा उभ्याउने विरविराङ्गगानाहरुको लागि एकछाक छोड्न सक्दैनौ । अनि हामी फेरि मञ्च भेट्टाउनसाथ २१औं सताब्दीका चेतनशील सुसंस्कृत मानव प्राणी भनेर फुर्तिला भाषण छाड्न कम छैनौं । हामी घाईते सहिदहरुको ब्यापार गर्ने, परिवर्तनको दलाली गर्ने, पुर्खाको अपमान गर्ने अनि केवल ब्यक्तिगत जीवन जीउन ज्यादा महत्व दिने अन्य गैरमानवप्राणी सरह हुँदै एका छौं, यो २१ औं सताब्दीमा ।
त्यसो होईन मित्रहरु हो ! हामी साँच्चै हाम्रा पुर्खा, ती विरविराङ्गगाना, सहिद एवं हामी शुद्रमा दरिएकाहरुलाई आजको यो सुनौलो दिन दिने हाम्रा पुर्खालाई आत्मादेखि सम्मान गर्ने हो भने अव हामीले तिनको मुल्य चुकाउनुपर्ने पनि हुन्छ । डोम, पाजी भनिएर दुत्कारिने अवस्थाबाट अव हामीलाई समान हिस्सा चाहिन्छ । हामी पनि यो धर्तिका अंशियार हौं भन्ने हैसियतमा हामीलाई डोहोर्याउने हाम्रा दलित योद्धाहरुलाई सानै अंशमा भएपनि हामीले ऋृणतिर्ने संस्कार बसाल्नै पर्दछ । नत्र भने हाम्रा पीढीले हामीलाई पनि त्यसैगरी बिर्सने छन् । त्यसैले परिवर्तनका साँच्चै दलाली नगर्ने हो भने यो परिवर्तन दिने ती घाईेते, ती सहिद, हाम्रा पुार्खाहरुप्रति ईमान्दार हुने हो भने अव तिनलाई सम्मान गर्ने एउटा अभियान शुरु गरौं ।
हामी दलितहरु सर्वहारा मात्र छेनौ, राजधानी सदरमुकामका ठूलाठूला सुनचाँदी, टेलर, जुत्ता कारखानालगायत ब्यापार ब्यावसाय गर्नेदेखि जमिन्दार, युरोप र अमेरिकामा उच्चस्तरीय जीवन बिताउनेसम्मका छौं । हामी राष्ट्रिय, राजनेता पनि भइसकेका छौं । हामी सरकारी, गैरसरकारी उच्चपदस्थ हैसियतमा छौं । उद्येागपतिको हैसियतमा छौं । हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय सम्वन्धसमेत स्थापित भईसकेको अवस्था छ । त्यसैले अलिकता मन फराकिलो पारौं, हुनेले नहुनेहरुलाई सासानो अंशले सहयोग गर्ने संस्कार बसालौं । त्यही नै हो हाम्रो महान मानवता, त्यही नै हो ती सहीद र घाईते, योद्धाहरु प्रतिको साँचो मुल्य ।
यसका लागि ती योद्धाहरुकेा सम्मान गर्ने एउटा फाउण्डेशनको अवधारणा अघि सारेकेा छु, चाहे त्यो भगतसर्वजीतको नाम होस् या टिआरकेा नाममा । यी योद्धाहरूसँग अनेकौ अरु योद्धाहरु लड्दालड्दै आफूलाई सम्पुर्णरुपमा लुटाए । कतिपयका इतिहास भेटिएका छन् । कतिपयको मेटिएकेा छ । कोही जीवित रहेर पनि आज एउटा कुनामा लत्याईएका छन् । तिनको सानो सम्मानका लागि यस्तो फाउण्डेशन महत्वपुर्ण अंगकोरुपमा स्थापित हुनेछ । यस फाउण्डेशनमा टिआर, भगत सर्वजीत वा रुपलाल वा धनमानसिंह मात्र होईन, वांङ्गे सार्की, विषे नगर्ची, डिवि परियार, सहर्षनाथ, मोहनलाल, हिरालाल, लालवहादुर परियार, महादेव दास, झमक राम उमालाल, जदुविर, रिपलाल, मनविरसिंह रसाईली, सन्तराम दिलदास, ठुली कमिनी, गोथी बसेल, जवाहर रोक्का, दीलवहादुर रम्तेल, वेचन मरिक, पद्मसिंह वा मनवहादुरसम्मका योद्धाहरुका इतिहास जिवित रहनेछन् । नयाँ इतिहास बनाउनेहरु पनि यसमा अट्नेछन् । यसमा जीवित रहेका केहीलाई सानोसानो अंशमा सहयोग गर्नसक्ने श्रोत रहँदा भोली हाम्रा लागि सहयोग हुने आधार पनि हुनेछ । यसलाई संस्थागत गरौं र एउटा ठूलो कोष खडागरी यसबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका योद्धाहरुको संग्राहलय बनाऔं यसलाई । जटील रोग लागेकाहरुलाई केही सहयोग गर्ने श्रोत केन्द्रकोरुपमा स्थापित होस्, यो र नयाँ योद्धाहरु जन्माउने प्लेटर्फम पनि होस् । यसरी सरकारी तवरबाट सहयोग जुटाऔं, गैरसरकारी क्षेत्रबमाट सहयोग संकलन गरौं । नेता पदाधिकारी, सभासद कर्मचारी, ब्यावसायी । अन्तर्राष्ट्रिय क्षेत्रमा रहने मित्रहरु, जो जहाँ छौं, जतिसक्छौं मन खोलेर सहयोग गरौं । सकिन्छ भने एकैपल्ट सकिँदैन भने किस्ताकिस्तामा सहयोग गर्न तयार हौं । म पनि मेरो पसिनाबाट १ लाख रुपैंयासम्म सहयोग जुटाउने वचन दिन्छु ।
हामी सबै मिलेर यसको ब्यवस्थापन गरौं । अनि यस फाउण्डेशनको मालिक हामी आफैं बनौं । छविलालजीले भगत सर्वजीतको नाममा सानै अंशमा यसको शुरुवात गरिसक्नु भएको छ । यसैलाई वृहतरुपमा अगाडि लैजान पनि सकिन्छ । यसका लागि हामी साँच्चै तयार छौं भने हामीसँग सरकारी जग्गा हुनेछ । सबै क्षेत्रको त्यस्तो सहयोगबाट हामीसँग आधुनिक महल हुनेछ । त्यहाँ कम्तिमा २ करोडको अक्षय कोष खडा गरिनेछ । त्यसलाई ब्यसायिक बनाई अझअझ वृद्धि गर्दै लगिने छ । यो लगानी सहकारी, हाईड्रोपावर, पर्यटन ब्यावसायलगायत अन्य नाफामूलक क्षेत्रमा लगानी भई त्यसबाट आर्जन गरी हामी यो केन्द्रलाई दिर्घजीवि बनाउन सक्नेछौं । सो रकम दलित योद्धाहरुको सम्मान, दिनदुःखीहरुको सहयोग र आन्दोलनका लागि खर्चने छौं ।
यस मातहतमा विभिन्न योद्धाहरुको कालखण्डको अलगअलग स्मृति केन्द्रहरु हुनेछन् । तिनीहरु आआफ्नै तौरतरिकाबाट स्वतन्त्र ढंगले सचलित हुनेछन् । यसमा हामी विभिन्न विचार आस्था र क्षेत्रका ब्यक्तिहरु आन्दोलनकर्मीहरु संगै बसी छलफल गर्ने चौतारीसमेत हुनेछ । यो फाउण्डेशनभित्र हाम्रा अप्ठारा र हाम्रा दुःखदर्दमा सहयोग हुने वातावरण हुनेछ । साँच्चै भन्ने हो भने र येा टुटेफुटेको दलित आन्दोलनलाई जोड्ने थलोको रुपमा र पुस्तालाई जोड्ने ऐतिहासिक संग्राहलय हुनेछ यो फाउडेशन । यो दलितको एकतादेखि गैरदलितहरु श्रद्धाले झुक्ने र हाम्रो संस्कृति सिक्ने एउटा वृहत केन्द्रकोरुपमा स्थापित हुनेछ । यसका लागि म तपाईहरु सबैसँग विनम्र अनुरोध गर्दछु । यस अभियानमा जसले जति सकिन्छ, सहयोग गर्न तत्पर हौं । आजै गरौं भोली गरौं । जो जुन क्षेत्रमा हुनुहुन्छ आआफ्नो आर्जनबाट कम्तिमा १ प्रतिशतले सहयोग गरौं ।





