नारायणगोपाललाई श्रद्धाको फूल

-मोहन स्वरूप /उत्तराखण्ड, भारत

नेपाली संगीतका ध्रुवतारा नारायणगोपालको पार्थिव देहले हामीहरूलाई छोडेर गएको आज अर्थात् मंसिर १९ गते १९ बर्ष पुरा भएको छ । उनले काठमाडौंको किलागलमा आज भन्दा ७१ बर्ष पहिले संगीतज्ञ आशागोपाल तथा रामदेवी गुर्वाचार्य का माईला पुत्रका रूपमा संसारमा पदार्पण गरेका थिए । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायणगोपाल, सानामा लजालु स्वाभावका थिए । त्यस समय काठमाडौंका विभिन्न टोलहरूमा तथा घर-घरमा गएर भजन गाउने भजनमण्डलीहरु थिए । उनी भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोराले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए ।

दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको लत लागेको थियो । यो त्यो बेला थियो, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु, उमेरमा केही सानो भए पनि योगेश वैद्यजस्ता सङ्गीतप्रेमीहरु अर्का एक सङ्गीतप्रेमी लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे ।

 लक्ष्मण श्रेष्ठ सम उमेरका र उनी दिनभर पसलमा बस्ने हुनाले उनीसँग थोरबहुत पैसा हुने गर्दथ्यो । कहिलेकाहीं लक्ष्मणको निगाहले त्यो समूह साँझ परेपछि मनपर्दी खान पाउँथे । उनको घरमा गीतकार राममान तृषितले एउटा कोठा भाडामा लिएका थिए नवकला परिवार संस्थाका लागि । क्लबजस्तो थियोत्यो कोठा । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन
अनुरोध गरे भने लजाउँथे । तर बेञ्जलाई तबला जसरी बजाएर अरुलाई गाउनमा
स्वर खाप्न भने खप्पिस थिए ।

साथीहरूले “नारायण रेडियो मा जाँउ” भन्दा लजाउँने नारायणगोपाल, गायनमा प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खरै दशवर्ष मात्र पुगेको थियो । दश वर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित तथा बालसखा प्रेमध्वज प्रधानको संगीतमा “पाँचइको पंखामा धर्तीको याद आयो” बोलको गीत गाएर स्वर परीक्षा पास गरेका गायक नारायणगोपालले पाँच वर्ष भित्रै रेडियो नेपालका एक स्तम्भ बन्ने सौभाग्य हासिल गरे । कलेज जीवनमा उनका साथीमा रत्नशम्शेर थापा र अन्य केही थपिएका थिए । यो समूहले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।

 यसबीचमा उनले आँखाको भाका आँखैले…

मधुमास यो दिलको बाग नफुलिकन…

म भोरका किरणहुँ…

स्वर्गकी रानी मायाकी खानी…

भो भो नसोध मलाई…

कुञ्जमा गुञ्जियो…जस्ता लोकप्रिय गीत गाए । यीमध्ये अधिकांश गीत रत्नशम्शेरका थिए
। यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका
थिए ।

यस्ता गीतहरू लोकप्रिय भएपछि एक पटक नगेन्द्र थापालाई नारायणगोपालका पिताले भने- “ए, थापाकाजी लौ न मेरो छोरो त सस्ता गीत गाएर बिग्रन थाल्यो । अलि राम्रा गीत गाउन लगाउनु पर्यो ।” छोरो प्रेम-प्रणयका गीतमा मात्र अल्झ्यो, शास्त्रीय सङ्गीतमा रत्ति मन दिएन भनेर आशागोपाल चिन्तित थिए । आफ्ना पिताको आग्रहमा भारतको बडौदामा शास्त्रीय संगीतको अध्ययन थालेका नारायणगोपालले अध्ययन पूरा नगरी छाडेका थिए । तर उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नारायणगोपालको उदय भन्दा पहिला तलत महमुद, के एल सहगल, करण देवान, मन्ना
डे जस्ता गायकहरूका हिन्दी गीतहरू नै नेपालमा सुन्ने गरिन्थे यहाँसम्म कि प्रेमध्वज प्रधान माणिकरत्न जस्ता गायकहरूले रेडियो नेपालको स्वर परिक्षा हिन्दी गीत गाएरै पास गरेका थिए । त्यस समय हिन्दी गीतहरूको प्रभाव त थियो नै, साथै सन् १९६० को दशकमा पश्चिमी जगतमा बब डायलन, बीटल्सका आदि समुहका गीतको राज शुरु मात्र भएको थिएन त्यसको प्रभाव पनि आइसकेको थियो ।

यस्तो अवस्थामा किशोर अवस्थाको रेडियो  नेपाल तथा बामे सर्दै गरेको नेपाली सुगम संगीतलाई बचाउँनु आवश्यक थियो । हिन्दी तथा पश्चिमी प्रभावलाई जीत्न नेपाली गीतीजगत्‌मा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो । यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसँग मीत लागाएर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीतहरू गाए ।

बिर्सेर फेरि मलाई नहेर,

चिनारी हाम्रो धेरैपुरानो,

तिम्रो जस्तो मुटु मेरो पनि,

लौ सुन म भन्छु मेरो रामकहानी,
चुमेर पानाभरि यति म लेखिदिन्छु जस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा बिशेष स्थान बनाए । र उनी एकाएक नेपालीहरूका आँखाका नानी बन्न पुगे । उनका गीतहरू यति लोकप्रिय भए कि, भनिन्छ नारायणगोपाल एकदिन रेडियो नेपाल पुगे गीत नबजेर हैन धेरै बजेर । उनको “यो सम्झिने मन छ म बिर्सउँ कसोरी तिमी नै भनिदेऊ हे जानेनिष्ठुरी” बोलको गीत रेडियोमा धेरै बज्न थालेपछि उनले रेडियोमै गएर कृपया मेरो एउटै गीत लाई यतिधेरै पटक नबजाइदिनुहोला । यसले मेरो गीतको लोकप्रियता घट्छ भनेका थिए रे ।

यतिमात्र होईन २०४० साल तिर तत्कालिन महिला आयोगले उनको “चुमेर पाना भरि यति म लेखिदिन्छु प्रीतिका बातहरू जाने जति लेखिदिन्छु” बोलको गीत केही समयका लागि रेडियो नेपालमा बजाउँन प्रतिबन्ध लगाएको थियो भने दार्जिलिङ्गमा भएको एक कार्यक्रममा एक युवती उनको गीत सुनेर मुर्छित भएकी थिईन् । हिन्दी गीतहरू सुनेर आनन्द लिने र हिन्दी गीतहरू कै अनुवाद गरेर भर्खरै जन्मिएको रेडियो नेपालको समयलाई पुर्ति गर्ने तत्कालिन युवाहरूलाई नारायणगोपालले नेपाली संगीतको सगरमाथा चुल्याएर दिए । मुक्तकण्ठले भन्ने हो भने नेपाली संगीतको उद्धार तथा नेपाली सुगम संगीतको स्थापनाका निम्ति नारायणगोपाल नेपालमा नारायण कै अवतारका रूपमा अवतारित भए । करिव ५००
गीतहरूमा कालजयी स्वर दिएका तथा करिब ३०० गीतहरूमा संगीत भरेका
नारायणगोपालले शब्दातीत गुन लगाएर गएका छन् । हामीहरू सँग उनले लगाएको
गुनको वर्णन गर्ने शब्दहरू छैनन् ।

श्रद्धाको फूल चढाईदिनु आएर लाशमा

नपाए फूल भईगयौ तिमी रोईदिनु आशमा………
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन

पिरती चोखो लाएको भए बन्धन पर्दैन………
हो नारायणगोपालको यो सुमधुर गीतले भने झैं केवल श्रद्धाका फूलरूपी उनकै आवाजहरूबाट पोषित यी शब्दहरू मात्र हामीहरू माझ छन् उनलाई अर्पण गर्नका लागि ।

तपाइँको प्रतिक्रिया