नाक छोप्नुपर्ने खबर: प्रधानमन्त्रीलाई एशियाली पुरस्कार
हैन पुरस्कार जे गर्दा’नि पाइन्छ भन्या ? के गरे हँ हाम्रा प्रधानमन्त्री माधवकुमार नेपालले त्यस्तो उदाहरणीय पुरस्कार नै पाउने काम ? एसियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनले हिजो कम्बोडियाको राजधानी नुमपेनमा ‘आइक्याप लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पुरस्कार दिएको छ । यो पुरस्कार उनी बाहेक अन्य तिन जनाले पाए । यो एसियास्तरको सम्मान हो । फिलिपिन्सका पूर्व राष्ट्रपति जोसे रामोश, इण्डोनेसियाकी पूर्व प्रधानमन्त्री सुकार्नो पुत्री र आइक्यापका सह-अध्यक्ष तथा फिलिपिन्सका पूर्व सभामुख जोशे भेनेसिया हुन् यो पुरस्कार पाउने अन्य तिन जना ।
तिनको त सायद सहि मूल्यांकन भयो होला । आफ्नो देशको लागि कुनै न कुनै सकारात्मक काम गरेका हुँदा हुन् । कुनै सकारात्मक परिवर्तन ल्याएका हुँदा हुन् । तर माधव नेपालले किन पाए ? के चाहिँ राम्रो गरेको हुनाले दिइएको होला माधव नेपाललाई यो पुरस्कार ?
एसियामा नेपाल सबै भन्दा समस्या ग्रस्त मुलुक बन्दै गइरहेको छ । शान्ति संझौता कुन दिन भंग हुने हो भनेर सबै त्राहिमाम छन् । देशमा आतंक, भय, नारा जुलुस, व्यक्ति हत्या, भ्रष्टाचार, प्रशासनिक मनपरी, दण्डहिनता मौलाएको छ । उनी संविधान बनाउने मूल उद्देश्य लिएर त्यही कसम खाँदै प्रधानमन्त्री बनेकी थिए । तर संविधान दोस्रो पटक तोकिएको समयमा त के बन्ने बरु बन्दै नबन्ने अवस्था देखिँदै छ । पार्टीहरुबिचको अविश्वास बढ्दो छ । तिब्र विरोधका बाबजुत अध्यादेश बाट बजेट घोषणा भएको अवस्था छ । प्रमुख प्रतिपक्षी र दोस्रो प्रतिपक्षी दुबै संसद अधिवेशन बोलाउने निर्णयमा पुगेका छन् । तर प्रधानमन्त्री भने देशदेशावर घुम्दै हिँडेका छन् । प्रतिपक्षीलाई त के आफ्नै पार्टीका नेतासम्म उनको भ्रमणबाट सन्तुष्ट छैनन् । सभामुख स्वयं उनको भ्रमणबाट रुष्ट छन् ।
नत पटक पटक सत्तामा गएको उनको पार्टीलेनै जनताका पक्षमा कुनै सकारात्मक काम गरेर देखाउन सकेको छ । न उनी प्रधानमन्त्री भएपछि जनताले कुनै राहत पाए । बरु राजनितिक पार्टीका नेता र मन्त्रीहरुनै कर्मचारी कुट्ने, लुट्ने, हाकाहाकी ठग्ने काममा संलग्न भए । प्रधानमन्त्रीले त्यसैलाई प्रश्रय दिए । अनि के का लागि हो उनलाई पुरस्कार ?
कमसेकम पुरस्कार त कुनै न कुनै राम्रो कम गर्ने, देश र जनताको पक्षमा सकारात्मक परिवर्तन ल्याउनेलाई दिने होइन र ? आफ्नो दलको नेत्रित्व लिँदा होस् कि प्रधानमन्त्रीको भूमिकामा होस सधैँ असफल । र जनताको मत बाटपनि असफल व्यक्तिलाई पुरष्कार दिएर के सन्देश दिन खोजिएको होला ? सेवा अनुसारको मेवा पो मिल्नु पर्ने होइन र ? देश उता भड्खालोतिर जाँदै छ । उनी चाहिँ पुरस्कार थाप्दै हिँडेका छन् । त्यो पुरस्कार थाप्दा उनलाई लाज लागेन, असहज महसुसपनि भएन होला ? माधव नेपालले यो पुरष्कार पाउनु ईज्जत हो कि बेइज्जत हो ?





