दशैं संझँदै आमालाई लाहुरबाट पत्र
-हेम प्रसाद दाहाल / जर्मनी
शास्टाङ दण्डवतसेवा
म आराम छु । हजुरहरूलाई पनि आराम नै होला भन्ने ठान्छु । यो पल्ट पनि हाँस्दै खेल्दै रमाइलो दशै घर आँगनमा भित्री सक्यो होला । घरमा सबै जना खुशी हर्ष र उमंगले दंङ परेका होलान् । मलाई कहिले आउँछ भन्दै बाटो हेर्दै हुनुहुन्छ होला । तर आमा म यसपालीपनि यो दशैंमा हजुरले दिएको आशीर्वाद लीन, हजुरका मर्मस्पर्सी हातहरुले मेरो निधारमा ती रङिएका अक्षता लगाउँदै मेरो उन्नति र प्रगतिको आसिर्बाद दिएको सुन्न नपाउने भएको छु ।
आजसम्म धेरै बर्ष बितिसकेछन नि आमा ति तपाईं ले यसो गर्नु, उसो गर्नु, सधैं भरी प्रगती नै प्रगती होस्, भनेर मलाई आसिर्बाद दिन नपाउनु भएको । मैले पनि आसिर्बाद लिन नपाएको । के गर्ने आमा, देशको बिग्रिएको नराम्रो अवस्थाका कारण म बिदेशिएको छु । यहाँ त एक दिनपनी नबिराई काम गर्नु पर्छ । सबैले काम गर्छन् । कोही पनि फुर्सदमा हुँदैनन् हाम्रो देशमा जस्तो यहाँ । काम नगर्नेलाई त यहाँ नराम्रो मान्छे ठान्छन् । त्यहाँ त चिया पसल, चौतारी, हाट बजार, स्कुल कलेज जहाँ त्यहिँ राजनीति गफ मात्र चल्छ । मानिसहरुपनि सबै फुर्सदैमा हुन्छन् । तर यहाँ त कोहिपनि फुर्सदमा हुँदैनन । भए पनि दिनभरी राजनीतिक गफ गरेर समय बर्बाद गर्दैनन् आमा ।
म यत्तिका बर्ष भइसक्यो त्यहाँबाट हिंडेको, अहिले त गाउँका सबै केटाकेटीहरू ठूला भए होलान् । ए अस्ति मैले सुनेको गाउँमा त अहिले कोहीपनि छैनन् अरे नि त आमा ! सबै पढे लेखेका केटाकेटीले काम नपाएर विदेश नै हानिँदै छन् रे । नेपालको डिग्रीको प्रमाणपत्र बोकेर ४५ डिग्रीको तातो गर्मीमा बेल्चा चलाउँदैछन रे अरबतिर । कत्तिले त विदेश जानपनि पैसा नभएर त्यही काम गर्छु भन्दा त भोक भोकै बस्नु पनि परेको छ रे गाउँमा । विभिन्न प्रकारका रोगहरू देखा परेका छन् रे । कत्ती गाउँलेहरू त उपचार नै नपाईकन अकालमा मरेका मर्यै छन् रे । तर त्यो रोगलाई नियन्त्रण गर्ने औषधी पठाउने बेलामा मन्त्री त विदेशमा सयर गरी रहेका हुन्छन् रे । कसै कसैले कहाँबाट पैसा ल्याउँछन् ? रातारात ठूला ठूला महल बनाउँछन् रे । के यो सबै साँचो हो आमा ?
राजनीति गर्नेहरुलाई त मालामाल भएको रहेछ नि त आमा । अस्ति मैले न्युज २४ सुनेको थिएँ इन्टरनेटबाट । ९ वौ पटक पनि प्रधान मन्त्री चुनिएन । के यस्तै अन्योल रही रहन्छ त अब देशमा आमा ? देशको एक सामान्य नागरिकका आँखाले तराईले के देख्नु भएको छ ? के भोग्नु भएको छ आमा ? के लाग्छ हजुरलाई ? अलिक बर्ष यसो विदेशमा बसुँला अनि आफ्नै मातृभुमीमा आएर केही गरुँला भन्ने सोचेको थिएँ । के त्यो सम्भव हुँदैन त अब ?
म यहाँ विदेशमा हेर्छु हरेक कुराको विकास भएको छ । शिक्षा, स्वास्थ्य, बाटो घाटो, पानी, बिजुली केहीको अभाव छैन । तर नेपाल त जलस्रोतको देश भनेर १८ घण्टा लोड सेडिङ भन्ने सुन्दा त लाजै लागेर आउँछ आफ्नो देश भन्नलाई । न बाटो छ, न बिजुली । न पानी नै सुद्द पिउन पाइन्छ । किन यसरी देशलाई राजनीतिका नाममा ठप्प पारेको ? यो त अचाक्ली भई सक्यो नि त आमा । यस पालिको विजयादशमीमा मलाई दिने हजुरका ती आसिर्बादहरु यी नेता भनाउँदा देशमा ठगी खानेहरूलाई दिनु न आमा कतै यिनीहरुको सद्बुद्दी फिर्छ कि ?
आमा हजुरलाई पनि त थाहै छ नि म पनि त्यस बेला रहरले विदेश आएको हो त । म त बाध्यताले हिँडेको त हो नि । राजनीति गर्नेहरुले हामी जस्ता शिक्षकहरूलाई बस्न दिएनन् । नत्र हजारौं बालबालिकालाई भविष्य निर्माण गर्ने म जस्ता शिक्षकहरू आफ्नै भविष्य खोज्दै विदेशमा पलाएन हुनु पर्थ्यो र ? यो त म जनताको नाममा राजनीति गर्छु र देशको राष्ट्रिय ढुकुटी कुम्ल्याउँछु भन्नेहरूको षडयन्त्र पो रहेछ । उनीहरूको राष्ट्रिय ढुकुटी माथिको कुद्रिष्टी पो रहेछ । तर जे होस् आमा यस पालिको दसैँमा नेताहरूलाई सद्बुद्दी आउने आसिर्बाद दिनुहोला । सबै नेपाली एक भएर बस्ने फेरी मौका आओस् । विदेशीको भरमा मात्र टिक्नु पर्ने दिन फेरी नहोस् । सबै नेपालीले नेपालमा नै रोजगार पाउन सक्ने वातावरण बनोस भनेर आसिर्बाद दिनु होला है आमा नेताहरुलाई ?
हजुर मेरी जन्म दिने आमा हजुरलाई देश को यो थन्थिलो कचिङलले कत्ती पिरोलेको छ भन्ने त हजुरले भनेका कुराहरुबाट थाहा पाउँछु । तर नेपालआमा जन्मभुमीलाई यो पिडाले कत्तीको सताएको होला ? नेपाल आमा त हजुरको पनि आमा । बिदेसी र स्वदेसी दलालहरुले रगताम्मे हुनेगरी चिथोर्दा कत्ती पोलेको होला ? कत्ती आसु बगेका होलान । यो आँसु पुछ्नलाई मातृभुमिकै रक्षा हुने आसिर्बाद चाहिएको छ आज । त्यो आसिर्बाद नेपालका सबै नेताहरु पुग्नेगरी दिनु होला है आमा ? ए म त हजुरलाई चिट्ठी लेख्दा लेख्दै काममा जाने बेला पो भइसकेछ । हेर्नुहोस् न यस्तो ब्यस्त हुनु पर्छ यहाँ त । कम फुर्सद बढी मेहनत गर्ने ठाउँ हो । ल त म हजुरलाई मेरो खबर लेख्दै गरुँला । आज लाई बिदा ।
उही तपाईं को छोरा
हेम






