सम्झनाको तरेलीमा जन्मथलो र प्रमेथियस
–एस बी छन्त्याल / बेल्जियम
[अक्षर गोलो बनाइ लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औँला र चोर औँलालाई जोडेर ओखर थिचे झैँ थिचीदिएको त झन् अहिले जस्तो नै लाग्छ । सामाजिक शिक्षा पढाउँदा त्यो नरे मोराले क्लासको अर्कोलाई कागजको मट्यांग्रा बनाएर ठोकेछ । अनि यल्ले हो सर भनेर सुराकी लगाइदिँदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुतुक्कै । ]
आफ्नै आँगन । च्याँ च्याँ गर्दै यही धूलोमा झरियो । बामे सर्दै यही ठाउँको माटोमा बल्ड्याङ खाइयो । सिंगान झार्दै भाँडाकुटी खेलियो यही ठाउँमा । बेहुला बेहुली हुँदै जन्ती त कति पटक गइयो गइयो । सिंगान पुछेर भोटो र कछाडमा माम्री पार्न सिकेपछि काठको बडेमानको पाटी बोकेर ढुंगेखरी धस्दै लागियो कपुरी क गर्न यही ठाउँको पाठशालामा । आफू र आफू जत्रै फिस्टेहरू देखेपछि यती मन फुरुङ्ग त भएको होइन त्यो कपुरी क गर्ने ठाउँमा । तुना बाँध्न मिल्ने दौरा फनफनाउँदै थाङ्नाको फुटबल खेलमा गनी नसक्नु पटक खट्टाको नङ सत्यानाश पारियो त्यही बुङबुङे धूलोमा । साहू बुढाको अमिलो चोरी गर्दा सिस्नुको झ्याङमा गुल्टेको बाबै क्या नमीठो पिरो त भएको थिएन ।
अहो एउटा हिसाब मिलाउन नसकेर टेके सरको यती त मार खाएको होइन बाबै अहिले पनि आङै जिरिङ्ग हुन्छ । फलानो माने ढिस्कानो भन्न नजानेर गङ्गे सरले सिस्नुपानी र लौराले पुरै हात भरी नीलडाम हुने गरी हानेको सम्झिँदा अहिले पनि कीबोर्डबाट हात फुत्त तानिएछ । अक्षर गोलो बनाइ लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औँला र चोर औँलालाई जोडेर ओखर थिचे झैँ थिचीदिएको त झन् अहिले जस्तो नै लाग्छ । सामाजिक शिक्षा पढाउँदा त्यो नरे मोराले क्लासको अर्कोलाई कागजको मट्यांग्रा बनाएर ठोकेछ । अनि यल्ले हो सर भनेर सुराकी लगाइदिँदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुतुक्कै । २ दिनसम्म हिँड्न पनि नहुने कैँची खुट्टामा ।
तर एक जना यती मेहनती र मायालु गुरु पनि थिए मेरा त्यही ठाउँको पाठशालामा । म फिस्टे दिनहुँ काठको पाटीमा अङ्गारको कालोले चम्काउँदै र भोटो हल्लाउँदै जाने । उनी १० बजे देखी ४ बजेसम्म त्यही चम चम गर्ने पाटीमा कपुरी क र एक दुई लेख्दै भन्न सिकाउने । जति पटक मेटे पनि लेखि दिने उही खरी ढुङ्गाले । न उनलाई झ्याउ लाग्ने न रिसाएर सातो जाने गरी सजाय दिने । जसले जे नाम र उपनामले बोलाए पनि केही नभन्ने । बस आफ्नो इमान्दारिताको कदर होस् या नहोस् । तर उनको लागि सबै फिस्टे बराबरी, सबै फिस्टे समान । थिए उनी पद र नोकरीको हिसाबले पियन तर मेरो लागि अब्बल दर्जाको गुरु ।
त्यही फिस्टेहरू आज संसारभरिका झिलिमिली हेर्दैछन् । पौरख गरेर खान सिकेका छन । तर उनी भने अझै पनि उही पद र उस्तै गरी कपुरी क सिकाउँदैछन् त्यही ठाउँ र त्यही पाठशालामा । न ढाँट्न जानेका छन न झूट बोल्न । न उनी अरुको मन दुखाउँछन् न लप्पन छप्पन जानेका छन् । गाह्रो सारो पर्दा लौन भने कमजोर ज्यान नै भए पनि होइन भनेर टार्न जान्दैनन् । सबैका प्रिय, सबैका पिउन (पियन) काका : खिम ब. छन्त्याल र मेरो मनका प्रमेथियस ।
प्रवासमा जब जन्मभूमिको याद झन् ताजा हुन्छ मनका हरफहरू यसै त्यसै बरालिन्छन् । शायद त्यो धूलोले मलाई कहिले फर्किएला भनेर बाटो हेरी बसेको होला । पाखो र पहराले सुसेली हाल्दै बोलाउँदो हो । वसन्तको पालुवाले गुराँसको फूल सँगै स्वागतमा पर्खिएको होला । कठै म प्रवासी भने ….. । जे जस्तो र जहाँ भए पनि त्यो धूलो माटो त्यो वन पाखा र मेरो प्रमेथियस लाई मुटु भित्रै राखेको छु त्यही दिनको भेट र पर्खाइमा ।






