कान्तिपुरलाई आक्रमण गरेर पल्कियो भारतीय काल

 निकै पहिलेदेखि सुनिन्थ्यो- कालापानीमा भारतीय सेनाको उपस्थितिबारे मज्जाले बाहिर ल्याइदिएपछि कान्तिपुरलाई भारतीय धम्की आयो । टिस्टा र काँगडापनि नेपालकै हुनुपर्छ भनेर रिपोर्टिङ गर्ने पत्रकारलाई भारतीय दबाब खप्न नसकेर कान्तिपुरले निकाला गर्‍यो । सिमा अतिक्रमण विरुद्ध कान्तिपुरमा समाचार आएको आयै गरेकाले भारतीय सरकारले धम्कि दियो । राजतन्त्र विरुद्ध वकालत नगर्न चेतावनी दियो भारतले । यस्ता अनेक कथा सुनिन्थे रे रे कै रूपमा । तीनको सप्रमाण पुष्टि त कहाँबाट हुन्थ्यो र ? तर कान्तिपुरकर्मी साथीहरुनै भेट हुँदा सुनाउँथे, त्यसमा वास्तविकता छ । अहिले धेरै पछि भारतले साँच्चै कान्तिपुरमाथि सिधा आक्रमण गरेर त्यसको पुष्टि गरेको छ पत्रीका छाप्ने कागजपनि ल्याउन नदिएर । समग्र नेपाली संचार माध्यममाथि भारतीय काल पल्किएको छ ।

नेपाली संचार माध्यममा गर्व गर्न लायकको प्रकाशन हो कान्तिपुर । यसको प्रभाव, विश्वास र पहुँच प्रशंसनीय छ । नेपाली राष्ट्रियताका पक्षमा होस् वा राजतन्त्रलाई पाखा लगाउन । नेपाली मिडियाको समग्र विकासमै पनि कान्तिपुरले गरेको मेहनत, संघर्ष लगानी चानचुने छैन । स्वार्थ नपर्दा गाली गर्ने तर स्वार्थ पर्दा भारतीय दूतावासमै बैठक गर्ने राजनीतिक दलको जस्तो भूमिकामा यो प्रकाशन देखिएको छैन । एकाध कमजोरी र स्वार्थ जसका पनि होलान् । कान्तिपुरपनि दूधले पखालिएको नहोला । तर समग्र रूपमा हेर्दा नेपाली राष्ट्रियताका पक्षमा कान्तिपुरले धेरै काम गरेको छ । भारतीयहरूलाई टाउको दुखेको मुख्य विषयनै त्यही हो ।

कान्तिपुरको साखलाई कमजोर पार्न भारतीयहरूले अन्नपूर्ण पोष्ट दैनिक चलाए । दि हिमालयन टाईम्स ल्याए । लगानी हाले बालुवामा पानी वर्षाए झैँ । तर कान्तिपुरको लोकप्रियता र विश्वसनीयतालाई त्यसले अलिकतिपनि चुँडालेर लान सकेन । कान्तिपुर हेर्दा हेर्दै देशका चार प्रमुख भन्दा बढि र विदेशबाट समेत प्रकाशन हुन थाल्यो । भारतसितको द्विपक्षीय सम्बन्धका आधार, व्यापार घाटा, असमान सन्धि संझौता, सिमा विवाद, भारतीय थिचो मिचो लगायतका मुद्दा उठाइरह्यो । नेपालको राष्ट्रिय हितमा आवाज उठाइरह्यो ।  त्यसैको प्रतिफलले नेपाली जनतामा स्थापित भयो, विश्वास जित्यो । जति चम्कियो, जति स्थापित हुँदै गयो भारतीय स्वार्थमा उति धक्का लाग्दै गयो । किनभने कान्तिपुरले उठाएका विषयहरू जनताले विश्वास गर्ने भए ।

भारत नेपालका धेरै नेता, प्रशासक र राजनीतिक दललाई किन्न सफल भएको छ । तर देशमा जनताको विश्वास जित्ने भरोसा, शक्ति र दम्भ त्यस्ता दलको भन्दा कान्तिपुर प्रकाशनको बढि छ । त्यसैले भारतका लागि कान्तिपुर घाँडो भइरहेको छ । नेपालको राजनीतिक, आर्थिक फाइदा, राष्ट्रिय अखण्डता हड्पिने लगायतका थिचो मिचो लाद्न कान्तिपुर घाँटीको गलगाँड भइरहेछ भारतीय शासकहरुकालागि । त्यसैले भारतीयहरूले कान्तिपुर बन्द गराउन पत्रीका छाप्ने कागज ल्याउन नदिएर दुख दिएका छन् । नेपाल र भारतबिचको व्यापार तथा पारवहन सन्धि र संझौता अनुसार भारतीय शासकहरूले कान्तिपुरको कागज एक घण्टापनि रोकेर राख्न पाउँदैनन् । तर दादागिरीको अगाडि कसको के लाग्छ ? नियतनै पत्रीका बन्द गराउने छ ।

दुखको कुरो, राजनीतिक तहबाट यसको जति विरोध गर्नु पर्ने हो उति भएको छैन । भारतीय स्वार्थ र आशीर्वादमा टिकेको माधव नेपाल सरकारले भारत सरकारसित यक्ष कुरा राख्ने आँट नै पो के होस् । आफ्नो राष्ट्रिय स्वार्थको लागि भारतीय दुतावासको मझेरीमा बैठक बस्ने नेतालाई पनि त किन टेरोस् भारतले ? 

यसको विरुद्ध जति हाम्रा सञ्चार माध्यम, नागरिक तह र सरोकारवालाले जति आवाज उठाउनु पर्ने हो त्यति देखिएको छैन । तर बुझ्नु पर्ने कुरा के हो भने यो केवल कान्तिपुर प्रकाशन माथिको मात्रै आक्रमण होइन । समग्र नेपाली संचार माध्यम, नेपाली पत्रकार, आम नेपाली भावना र नेपाली राष्ट्रियता माथिको आक्रमण हो । कान्तिपुरमाथि आक्रमण गरेर उसले सम्पूर्ण नेपाली सञ्चार माध्यमलाई तर्साउन खोजेको हो । नेपाल माथिको सोझो दादागिरी हो । यसको डटेर सामना नगर्ने हो भने अब भारतीयहरूले भनेको नमान्दासाथ, भारतको अत्याचार विरुद्ध केही लेख्नासाथ अरू संचार माध्यम माथि पनि हमला गर्छन् । काल पल्कियो, भारतीय काल । सबैले बेलैमा चेतुन् ।

तपाइँको प्रतिक्रिया