विदेश जाने रहरले पुग्नु होला नी नर्कमा !

-राजन रिमाल / कुवैत

हाम्रो नेपाली समाजमा केहि बर्ष पहिला पुरुषहरू मात्र देश छोडी रोजि रोटीका लागी विदेश जाने गर्थे । तर आजको परिवेश त्यस्तो छैन । महिला पनि पुरुष सरह कमाउन र आत्म निर्भर रहन सक्छन् भन्ने कुरा समाजमा प्रष्ट देखिएको छ । आजकल नेपालका कतिपय जिल्ला र गाउँमा महिलाहरू विदेशिने लहरै चलेको छ भन्दा फरक नपर्ला । साँच्चै भन्न पर्दा सबै नेपालीको यो नै मुख्य रोजगारीको आधार बनेको छ । खासगरी नेपाली महिलाहरु बिदेशिनुको कारण हाम्रा नाङगा आँखाले हेर्दा गरिबी मात्रै देखे पनि लुकेका कारणहरू अरू धेरै छन् जस्तै- देशको बिग्रँदो आर्थिक, राजनैतिक अवस्था, अशिक्षा, बेरोजगारी, सम्बन्ध विच्छेद, स्वतन्त्र जिउने चाहना, समाजको भड्किलो देखासिकी, चेतनाको कमी, लैङ्गिक बिभेद र अन्य ।

कुवैतको हकमा दलालहरूको चंगुलमा फस्नु वा विना पैसा घरबाट भागेर पनि कुवैत आउन मिल्ने अवस्था हो भन्न सकिन्छ । खासगरी खाडीमा कुवैत, बहराईन, ओमान, साउदी अरब,कतार र लेबनान जस्ता मुलुकहरूमा नेपाली महिलाहरूले धन कमाउने आशामा कष्टकर जीवन बिताइरहेका छन् । यी मुलुक मध्ये केही मुलुकहरूलाई महिलाका लागी असुरक्षित गन्तव्य भनेर सरकारले बन्द गरे पनि वास्तविके अर्थमा बन्द भएको पाइँदैन । यी देशहरूमा नै बसेर नेपाली महिलाहरूले दैनिक रूपमा श्रम बेचेका छन् । यीनैका लागि नखाउँ भने दिन भरीको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार भन्ने ऊखान जस्तै भएको छ । यी देशमा नेपाली महिलाहरूले पाउने काम भनेको घर सरसफाइ, बूढाबूढीको रेखदेख, बच्चा बच्चीको सुसार, क्लिनर, ब्युटिसियन, वेटर, सेल्स लेडि, अफिस लेडि र केहि एजेन्सी खोलि आफ्नै चेलीबेटीको ओसार पसारको काम विदेशी दलालहरूसँग मिलेर गरेको पाइन्छ ।

कतिपय अवस्थामा (भिसा २० खादिम) मा काम गर्ने घरेलु कामदारहरूको अवस्था अरू भन्दा अझै दयनीय देखिन्छ । उनीहरू निम्न अवस्थामा स्पोन्सरलाई छोडि भागेको भेटिन्छ । जस्तै- कुवैत एउटा विकसित मुलुक हो । यहाँ जे जति कुरा अगाडि बढेका छन सबै प्रविधिले नै अगाडि बढाएको छ । अशिक्षित महिलाहरू जमाना अनुसार चल्न नसक्नु वा (ग्याँस, कुलर, एसि, भ्याकुम क्लिनर, फ्रिज, आईरन) जस्ता सामानहरूको प्रयोग गर्न नजान्दा स्पोन्सरको किचकिच हुनु, विभिन्न खाले मानशिक र शारीरिक यातनाका साथ दबाब पूर्ण व्यवहार हुनु, समयमा तलव नदिनू,फोन चलाउन नदिनू, आफन्तहरू सँग भेटघाट गर्न नदिनू, छुट्टि नदिनू, खानपानमा निगरानी राख्नु, कुट्ने पिट्ने जस्ता समस्या छन । जबरजस्ती यौन शोषण पनि मुख्य कारणमा पर्छ । यी त भए स्पोन्सरका घरमा हुने समस्या । तर यहाँ ती समस्या सुन्ने नेपाली, बंगाली र छिमेकि देशका नागरिकहरुले भित्रको समस्या सुनेपछि दिने सुझाब र मायाको जाल बुनि स्पोन्सरको घरदेखि बाहिर निकालेर खुशी सुखि राख्ने आश्वासनले गर्दा धेरै भन्दा धेरै नेपाली घरेलु कामदारहरु यीनैको बहकाउमा लागि गैह्र कानुनी बनेको पाइन्छ । तिनले बाहिर निकाली बेच बिखन गरेको पनि पाईन्छ ।

भागिसकेपछिको अवस्थामा उनीहरूको चाहना पुलिस र कानुनको नजरबाट बचेर रहने हुँदा कोहि कोठीमा मोबाईल यौन व्यवसाय संन्चालन गर्ने गिरोहकहाँ पुग्छन । कोही बस्नको लागि कुवैतका लागि गैरकानुनी रुपमा विवाह गरि बसेका हुन्छन । तर यो अवस्थाका धेरै महिलाहरूले अवैध बच्चाहरु जन्माएको पनि उदाहरण प्रशस्त पाउन सकिन्छ । कुलतमा फसेर कुवेतको कानुनले बर्जित गरेका काम जस्तै – लागू औषध ओसार पसारमा संग्लग्न रहेको कुवैतका पत्रपत्रिकामा पढन पाईन्छ । केहीले बाध्यात्मकरुपमा वेश्याब्रित्ती गरेका हुन्छन् ।

खासगरी यो पंङतिकारले कुवैतमा रहेका केही महिलाहरू सँग सर्म्पर्क गरेको थियो । ऊनीहरू भन्छन् – यो गल्ती हामी हतारमा बिदेश पसि फुर्सदमा पछुताउने नेपालीको हो भन्ने पनि गरेका छन । यदि हामी विदेश जाँदैछ भने आफैले बिदेश जानु अघि विदेशमा हुने समस्याको बारेमा जान्नु पर्ने हुन्छ । बिदेश गएर गर्ने काममा दक्ष हुनु पर्छ । सबन्धसित देशको भाषा सिकेर मात्र विदेश जानु पर्ने हुन्छ । दलालको बहकाउमा लागी रेल बा बस चढी विदेश जाने सपना साँचेर हिँड्नु नहुने हो । त्यसरी बहकिएर हिँड्दा मुर्म्बईको वेश्यालयमा धेरै नेपाली चेलीबेटीहरू सडेको कुरा अखबारमा पाइएका छन् । आफू जाने देशको नेपाली संघ संस्था, नेपाली दूतावासको नाम ठेगाना र् इमेल आइडि टेलिफोन नम्बर टिपि राख्नु पर्ने हुन्छ । यि सबै आफैले गर्ने काम हुन भने सरकारको तर्फबाट पनि निःशुल्क तालिमको ब्यबस्था मिलाई दिनु पर्ने, अन्य राष्ट्रको एयर पोर्ट प्रयोग गरी महिला कामदारलाई विदेश पठाउन नहुने, श्रम मन्त्रालय र परराष्ट्रले सम्बन्धित देशको नेपाली नियोगले दिएको सुझावलाई मध्यनजर राख्दै नियम र उपनियमहरूलाई परिमाजिर्त गर्नु पर्ने, नेपाल एयर पोर्टबाट सजिलो सँग आवत जावत गर्ने व्यवस्था गरिनु पर्ने बताउँछन् ।

 के नेपाली महिलाका लागि कुवैतमा कुनै अवसर छैन ? 

के नेपाली महिला कुवैतमा असुरक्षित छन् त ? के कुवैतमा नेपाली महिलाहरूलाई कुनै अवसर छैन त ? साँच्चै नेपाली महिला कुवैतमा असुरक्षित छन त ? को हो त यसको जिम्मेवार ? सवै नेपालीहरू भेडा बाख्रा जस्तै बेचिएका छन् त ? त्यसो त यहाँ दक्ष जनशक्तिको खाँचो छ । यदि नर्स, ब्युटिसियन, सेल्स लेडि, बेटर, कम्पनी क्लिनर, (जस्तै- स्कुल, हस्पिटल, सुपर मार्केट, अफिस लेडि) जस्ता काममा भिषा (१८ सुन भिषामा ) कुवैत आउने हो भने उनिहरुले पुरुष कामदारले भन्दा धेरै आय आर्जन गर्न सक्छन् र गरेका उदाहरण पनि प्रशस्त छन् । खास गरि घरेलु कामदारका लागि यो देशमा भयानक खतरा र नर्क सावित रहेको छ । सबैभन्दा पहिला नेपालबाटै आउने समयमा कुवैतमा रहेका खादिम (घरेलु भिषा ) र (सुन भिसा) को बारेमा जानकारी रहेको खण्डमा यि समस्या थोरै कम हुन सक्ला यस बारेमा कुवैतमा रहेका आम नेपाली संघ संस्था र दूतावासले सामुहिक प्रयास गर्यो भने एकाध बर्षा यो समस्याको अन्त्य हुने छ । र फिलिपिनो सहकर्मि मारेको अभियोगमा जेलमा सढेकि डोल्मा शेर्पा जस्तै कोहि नेपाली फेरि जेलमा सढ्ने छैनन । ४ बर्षदेखि फर्वानियाको हस्पिटलमा सढेकि शान्ति कुमारी डोङ जस्तै कोही कुवैतमा बेखबर हुने छैनन । फेरि सिता, सावित्री, जानकीले जस्तै नाजायज शिशु पाउने छैनन । शान्त मायाले जस्तै आफैले पाएको शिशु बेच्ने छैनन् । अस्मिताहरूले जस्तै भ्रूण हत्या गर्ने छैनन् ।

यहाँ उठाउनै पर्ने कुरा त के छ भने कुवैतमा घरेलु कामदारले पठाएको रेमिट्यान्सबाट देश हाक्ने भडुवा मन्त्रीहरुले केहि गर्नेवाला छैनन । कुर्सीका लागि लर्डाई लड्नेहरु जनताको रगतमा होली खेल्नेहरु शहिदका सपना कुठाराघात गर्ने र सत्ता बाहिर हुँदा ननिदाउने र सत्तामा पुगे पछि कुम्भकर्ण जस्तै निदाएको बहाना गर्ने सामन्ती सोच राख्नेहरुले माखो मार्दैनन । यदि कुवैतमा बेचिएका, हेपिएका, अलपत्र परेका थुनिएका, यौन पिपासुहरूको पन्जाबाट नेपाली महिलाहरुलाई निकाल्न चाहन्थे भने पक्कै पनि नेपाली दूतावासले भारतीय बाटो हुँदै कुवैतमा नेपाली महिला कामदार नपठाउनू भनि पटक पटक गरेको आग्रह सुन्ने थिए होलान् । तर त्यसो हुन सकेन । किनकि भारतीय बाटो रोक्नासाथ उनीहरूले त्यस बापत पाउने कमिसन पनि सगै रोकिने हुन्छ । तर्सथ कुवैतमा रहनु हुने सम्पूर्ण बुद्धिजीवी, ब्यापारि, पत्रकार, समाजसेवी तथा सर्वसाधारणहरू सवै एक न एक तरिकाबाट कुवैतमा रहेका सबै नेपाली सँग जोडिएका छौ ।

हाम्रो सानो सूचना र सुझाव पीडितहरूलाई ठूलो हुन सक्छ । सबैलाई कुवैतमा नेपाली दूतावास रहेको जानकारी गराउँ । दूतावासको टेलिफोन नंबर उपलब्ध गर्राई सहयोग गरौं । हामी नेपालीले नै नेपाली चेलीबेटी बेच बिखन तथा घरबाट भगाउने प्रलोभनमा फसाउने थुन्ने, धम्काउने र बेच्ने जस्ता काम नगरौं । यदि कसैले गरेको थाहा पाएमा गोप्य सूचना पत्रकार तथा दूतावासलाई उपलब्ध गराऊँ । किनकी एक नेपाली अर्को नेपालीका लागि हो । दुःख सुखमा साथ सहयोग दिनु हाम्रो कर्तव्य हो ।

तपाइँको प्रतिक्रिया