पत्रकार र गाउँमुखी पत्रकारिता

-कुमार नेगी

एक दशक यता नेपालमा पत्रकारिताको क्षेत्रमा राम्रै विकास भएको छ । मुलतः ऐतिहासिक छयालीस सालको जनआन्दोलनको उपलब्धीको रुपमा २०४७ सालको संविधानले मौलिक हकअर्न्तर्गत विभिन्न धाराहरुमा सूचना, छापाखाना, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता जस्ता कुराहरुको संबैधानिक बाटो खोलिदिएपछि पत्रकारिताले अझ फस्टाउने मौका पायो । प्रजातन्त्रलाई संस्थागत गर्दै जनतालाई सूचनासम्पन्न बनाउन पत्रकारहरुको ध्येय र व्यवसाय संगै अगाडि बढ्यो । संचारमा लगानी बढ्दै गयो । विभिन्न पत्रपत्रिकाहरुको प्रकाशन तीव्ररुपमा बढेर गयो । व्यापारिक तथा सामुदायिक एफ. एम. रेडियोहरुको प्रशारण शुरु भयो ।

अहिले आएर मुलुकको क्षेत्रफल र जनसंख्याको आधार लिने हो भने नेपालको मिडिया संख्याका दृष्टिले विकसित मुलुकहरुभन्दा कम छैन । अहिले संचालनमा र अनुमतिमा रहेका पत्रपत्रिका, एफ. एम. रेडियो, टेलीभिजन, अनलाइन पत्रिका आदिको संख्यात्मक तुलना गर्दा  यहाँ विकास भएको मान्न सकिन्छ ।

विकासको महत्वपूर्ण मापकहरुमध्ये संचार पनि हो । संचार माध्यमहरुको उपयुक्त नियमन र विकासले राष्ट्रको समग्र विकासलाई अभिव्यक्त गर्दछ । राष्ट्रको विकास भन्नु नै सम्पूर्ण जनताको विकास हो । लोपोन्मुख सीमान्तकृत आदिवासी/जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र लगायत विकासको मूलप्रवाहबाट पर रहेका समुदायको समान अवसर र सहभागिताबाट राष्ट्र बलियो हुन्छ । सबैको भावनात्मक एकताबाट सम्भव हुने राष्ट्रिय एकता राज्यका तर्फाट सबैप्रतिको समान व्यवहार, आधारभूत आवश्यकताहरुको परिपूर्ती, सुशासन र पारदर्शिता, मानवअधिकारको प्रत्याभूति आदिबाट मात्र सम्भव हुन्छ । यसका सम्भावनाहरुको वृद्धि गर्न तथा तिनै पिछडिएकाहरुको पक्षमा लेख्न र बोल्न वा तिनीहरुको बोलीलाई राज्यका महत्वपूर्ण निकायसम्म पुर्‍याउन पत्रकारिताको महत्वपूर्ण भूमिका हुन्छ ।

अहिले मुलुकको पत्रकारिता झन् कष्टकर भैरहेको छ । गणतान्त्रिक व्यवस्थाको यो संघारमा आइपुग्दा सम्म पनि पत्रकारिता क्षेत्रले मुख्यतः व्यक्तिगत तथा व्यवसायिक सुरक्षाको चर्को माग गर्नु परेको छ । यसको ग्यारेन्टी हुन सकिरहेको छैन । जहाँ पत्रकारहरु असुरक्षित हुँदै जान्छन्, यसको संकेत यो हुन्छ कि मुलुकको अवस्था सामान्यतिर गैरहेको छैन । पत्रकारहरुमाथि अपराधी प्रवित्तिहरुको निसानाको अर्थ यथार्थमा मुलुकमा लोकतन्त्र छैन, जनतामा अमनचैन छैन र कुनै राजनीतक, सामाजिक, आर्थिक प्रणालीले काम गरिरहेको छैन भन्ने नै हो । यस्तो विषम परिस्थितिमा एकातिर पत्रकारको दायित्व अझ बढेको  छ भने अर्का तर्फ उसका सामु अनगिन्ति चुनौतिहरु छन् । 

 पत्रकारका दायित्वहरुको दायरा फराकिलो हुँदै गइरहेको बेला सोहीसँगै प्रष्टिँदै गएका चुनौतिहरुको सामना गर्न खासगरी सदरमुकाम केन्द्रित पत्रकारहरुहरुले आफूलाई विस्तारै गाउँमुखी बनाउँदै लैजान आवश्यक छ । यसका थुप्रै कारणहरु छन् । पहिलो, संघीयताको कुरा चलिरहेको मुलुक अहिले पनि केन्द्रिकृत छ । मुलुकको दृष्टिले राजधानी केन्द्रित छ भने जिल्लाका दृष्टिले सदरमुकाम केन्द्रित छ । सदरमुकाममा बसेर सदरमुकामकै पत्रकारिताले समग्र जिल्लाको प्रतिनिधित्व गर्न सकिरहेको देखिँदैन । यसले हाम्रो पत्रकारिताले सामान्यतया गाउँ र शहरलाई राम्ररी जोड्न सकेको छैन । 

 ग्रामीण जनजीवनको महत्वपूर्ण पक्षहरुलाई शान्ति पत्रकारिताको दृष्टिकोणले सकेसम्म उजागर गर्ने प्रयास गर्ने हो भने विकास, अवसर, पहुँच र सहभागिताहरुको समान वितरणमा सघाउ पुग्नेछ । यसबाट पत्रकारिता पनि अझ बलियो हुँदै जानेछ । दोस्रो, वर्तमान सर्न्दर्भमा ग्रामीण क्षेत्रका समाचारहरु आउँदै नआएका होइनन् भन्ने प्रश्न पनि छ । यसले एकातिर ग्रामीण क्षेत्रलाई केही मात्रामा पत्रकारिताले समेट्न खोजेको त देखिन्छ यसलाई अझ वृद्धि गर्नुपर्छ भन्ने हो । दर्ुगमका समाचारहरु लेख्ने क्रममा सदरमुकामका पत्रकारहरुलाई उपयुक्त र भरपर्दो श्रोतहरुको अभाव, शहरमै भेटिएका गाउँका कतिपय व्यक्तिहरुको अपूरो वा एक पक्षीय विवरण, तथ्य तथा सूचनाहरुको निष्कर्षा लागि अर्को श्रोतको अभावजस्ता कुराहरुले प्रभाव पारेको छ र स्वतः पत्रकारिताको क्षेत्रलाई साँघुरो तुल्याइदिएको छ । यो पनि एउटा कारण हो जसले नचाहेर पनि पत्रकारको आत्मशक्ति पनि साँघुरिएको छ । 

 लेखक नेपाल पत्रकार महासँग, जिल्ला शाखा मकवानपुरका सदस्य हुन्

तपाइँको प्रतिक्रिया