०६६ साललाई फर्केर हेर्दा
-रामजी बलामी
बज्रवाराही २, मकवानपुर
सदा झै यो वर्षपनि विविध घटनाक्रमहरुलाई अँगाल्दै अन्तिम अवस्थामा आईपुगेको छ । लाग्छ, अरु वर्षभन्दा यो वर्षअलि बढि नै घटनाहरु घट्न पुगे जसको कारणले समग्र नेपालले नै गहिरो क्षती ब्यहोर्नु पर्यो । यस्तै हत्या, हिंसा लगायत राजनीतिक कारणले सृजना भएका मानव अपहरण र हत्याको श्रृखंलाले पनि निरन्तरता पाई नै रह्यो । भूकम्प जस्तो महाप्रलयबाट विश्वका चिन लगायतका मुलुकहरुमा अरबौ को क्षती भयो । भारतमा माओवादी हमला तथा श्रीलकांमा तमिल टाइगरको आतङ्कले प्रभावीत बनायो । यसरी यो वर्ष मानविय र प्राकृतिक गरी प्रशस्त दुर्घटनाहरु भएका छन् । नेपालको सर्न्दर्भमा केलाउँदा संक्षेपमा यसरि हेर्न सकिन्छ ।
नयाँ वर्षो शुरुवातमै बढेको गर्मी र बाढी जस्तो प्राकृतिक प्रकोपको कारण जिवनजलको अभावमा जाजरकोटका कयौ जनताले मृत्यु वहन गर्नु पर्यो भने देशका विभिन्न भागमा गएको बाढी,पहिरोको कारण लाखौ धनजनको क्षती हुन पुग्यो । जेठ ९ गते भनिमण्डल स्थित एजम्सन चर्चमा दिउसै बम विस्फोट हुदा २ जनाको मृत्यु भयो भने कयौ घाइते भए । यो घटनाको समाचार सेलाउन नपाउँदै २२ जेठमा ख्याती प्रकरणले ठुलै हलचल ल्यायो । अपहरण पछि हत्या गरेर शब टुक्रा टुक्रा बनाई देशका विभिन्न ठाँउमा र्छने काम भयो कुख्यात अपराधी विरेनद्धारा ।
यो सँगै यस वर्ष दशैका लागि घर गएका कयौको ज्यान बिच वाटोमा नै शबमा परिणत भएको थियो । हिन्दु धर्मालम्वीहरु दशै मानिरहदा इसाइ धर्मावलम्वीहरुको प्राथर्नासभाको (सियोन चर्च ) भवन भत्किएर २३ जनाले ज्यान गुमाए भने कयौ घाइते बने । यस्तै आफ्नै सहकर्मीबाट बलात्कृत सुन्तली धामीले अझै न्यायको सास फेर्न पाएको छैन । वर्षको अन्त्य तिर आएर सञ्चारकर्मी जमीम शाहको हत्या भयो भने जनकपुरमा अर्का पत्रकार अरुण सिंहानियाको पनि हत्या भयो । टिका विष्ट लगायतको पत्रकारहरुलाई पनि हत्याको ससक्त प्रयास भयो । चेतावनी त अहिलेको सर्न्दर्भमा खेलौना जस्तो भैसकेको छ ।
यो वर्षा खासै प्रगती भएको देखिदैन । सगरमाथाको आधार शिविरमा जलवायु परिवर्तनको वैठक बसेर विश्व माझ चर्चामा आउने पात्र बन्न सफल भयो नेपाल । त्यस्तै सागमा तेक्वादो खेलाडी दिपक विष्ट लगायतको प्रगतीले नेपालको शान बढाउने काम त भयो । तर त्यो भन्दा नराम्रो त सागमा नेपालीहरु बिच देखिएको हात हालाहालको अवस्था र पुरानो राष्टि्य गान तथा उल्टो फहराइएको नेपाली झन्डाले बेइज्जती कमाउने काम भयो । यता दशकौं देखि देशका लागि भनेर लडेका लडाकुहरुको विदाइले अर्को चर्चाको विषय बनायो । अन्तमा फाल्गुन ७ गते घटेको असामयीक घटनाले सिंगो मुलुक नै शोकमा डुब्न पुग्यो । लोकतान्त्रीक आन्दोलनका शिखरपुरुष स्व.गिरिजा प्र.कोइरालाको देहावसान संगै नेपाली राजनीतिमा देखा परेको किचलो र कुर्सी तानातानको अवस्थाले अझ यो वर्ष चर्चा बनाइदियो ।
यस्तै सेनाद्धारा गरिएको बर्दिया घटना पनि कम चानचुने देखिएन । यति मात्र होईन रामदेवले आफ्नो पुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको भनेर प्रचार गरेर भारतलाई पनि मख्ख बनाउने अनि यता नेपाल आएर मौखिक रुपमा बुद्ध नेपालकै हुन भनेर मख्ख बनाउने काम भयो । यो पनि एउटा सन्देशमुलक हास्यास्पद नै हो । अझ छुटाउनै नहुने कुरा त माओवादी लगायतले गरेको नेपाल बन्द र सिंह दरवार घेराउको क्रममा देखिएको रेखा र प्रचन्द बिचको नाचले चर्चाको पात्र बन्न पुग्यो ।
सरकारको नेतृत्व गर्न पल्केका हाम्रा महान नेताजनहरुलाई चिल्लो कुर्सीको जति प्यार लाग्छ । हामी जनतालाई पनि नेपाल राज्यको त्यती नै मायाँ लाग्छ । सरकार नेतृत्वमा पुग्नासाथ सुत्केरी महिलाको उद्धार गरे वापत सवैको वाह वाहको पात्र बन्न पुगेका प्रधानमन्त्रीज्यु क्रमशः व्यक्तीवादी र दलवादी सोच तर्फ अग्रसर हुँदैगएका छन । जसको कारण पछिल्लो समय पार्टीभित्र र बाहिरबाट समेत राजिनामाका स्वरहरु चर्को सुनिन थालिएको छ । उहां आफै पनि अलमलमा परेर राजिनामा दिने मनशाय राख्नु भएको छ । जे होस यो वर्ष विश्व सम्प्रदायले नै महाप्रलयको अवस्था भोग्नु परेको यथार्थ छ भने हामी भने राजनीतिक प्रलयबाट प्रताडित भएका छौ । त्यसैले आँउदो नयाँ वर्ष भने सम्पूर्ण नेपालीको लागि शुभ रहोस शुभकामना ! !





