मधेशीको जित = भारतको जित

एकलाल यादव

                         “म पहिले नेपाली हुँ  मधेशी होइन”

[तपाईलाई लाग्ला, यो उपेन्द्र यादव कति तगडा रहेछ । प्रचण्ड, माधव नेपाल, गिरिजा, बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता नेतालाई सजिलै झुकाउन सक्ने, हराउन सक्ने, खेलाउन सक्ने । तर त्यो भ्रम हो । यादव र गच्छदार, राजेन्द्र महतो र महन्त ठाकुर, जयप्रकाश गुप्ता र ह्रिदयश त्रिपाठी आफ्नो बुद्दि बिबेकमा त्यसरी नत चम्केका हुन नत तिनको बिबेकले त्यो सक्छ । त्यसको पुरै पछाडी सिंगो भारत लागेको छ ।  उसैको बलमा सकेसम्म पुरै नेपाललाई भारतमा गाभ्ने, नसके टुक्र्याएर भएपनि मधेशलाई गाभ्ने । अनि सोझा साझा मधेशी जनताको टाउकोमा बिदेशीको बुट बजारेर सानो मुलुकको छोटी राजा बन्ने । त्योपनि संभव नसके सधैं अशान्ति मच्चाएर आफुले फाइदा लिने बिदेशीलाई फाइदा दिने । भारतको शक्ति, उसैको आशिर्वाद, उसैको स्रोत र अर्थमा नाचिरहने ]।

शुरुमै स्पष्ठ गरौं, मैले भन्न खोजेको आम मधेशी जनताको जित भारतको जित होइन । मधेशी पार्टीहरुको जित भारतको जित भन्न खोज्दै छु । देशले राष्ट्र प्रमुख खोजेको महिनौं भएको थियो । देशका प्रमुख तिन दल, नेकपा (माओवादी), नेपाली कांग्रेस र एमालेले त्यसको लागि महिनौं महिना दर्जनौं बैठक गरे । तैपनि पाएन । तर बल्लतल्ल पायो-पहिले उपराष्ट्र प्रमुख । त्यत्रो धेरै बैठक र छलफल गरेका राजनितिक पार्टीका नेताले नजितेर मधेशी जन अधिकार फोरमका नेताले पो जिते । जित फेरी त्यस्तो ब्यक्तिको भएको छ-जसले मधेशी जनताको लागि नत कुनै भलो गर्‍यो । न कुनै आवाज उठायो । न त मधेश मुक्तिको मुद्दा उठायो । न त उ मधेशी जनताको आँखामै भिजेको नेता हो । बरु देशकै सबै भन्दा ठुलो लागु औषधको तस्करलाई कानुनको खिलाफमा गएर छुटायो । र मधेशी न्यायाधिशले यसो गर्‍यो भन्ने एउटा कलंक मधेशीसँग जोड्यो । न्याय र अन्यायको छिनोफानो गर्ने थलोनै अपवित्र बनायो एउटा मधेशीले । मधेशमा जन्मिएको त्यहि एउटा कलंकित पात्र उपराष्ट्रपति बन्यो   

 तर कम्तिमा पनि जित्नुपर्ने त कि त्यस्ता विवादास्पद ब्यक्तिले भन्दा पहिले रामराजा प्रसाद सिंहले हो कि डा रामवरण यादवलेनै । तर किन प्रमुख ठुला पार्टीकै नेताले जित्न सकेनन ? किन जनताका प्रतिनिधीलेनै गन्हाएका ब्यक्तिलाई पहिलो प्राथमिकता दिएर उपराष्ट्रप्रमुख बनाए ? दशकौंदेखि राजनिति गर्दै आएका पार्टीकै नेता किन पछारिए ? किन संविधान सभाको चौथो ठुलो दलले सारा देश घुमाइरहेको छ ? उ कहिले माओवादीसित मिल्छ त कहिले एमालेलाई हरियो घाँस देखाउँछ । रातारात नेपाली कांग्रेसकहाँ पुगेर गुलियो चखाउँछ त कहिले मधेशका अन्य दललाइ फकाउँछ ? उ सबैलाई लोप्पा खुवाउन सफल हुन्छ । उसको न अडान छ, न देश बनाउने स्पष्ठ नीति र योजना । तैपनि उसले सारा संसद, पार्टीहरु र नेता नचाइरहेको छ  

के यो सोचनिय कुरा होइन ? त्यहाँ मत दिने के अबुझ थिए ? के अनपढ थिए ? सिंह र यादव के कस्तो भनेर छुट्याउनै सकेनन ? देश हाँक्नेहरुलेनै मतदान गर्दा किन देश बिखण्डन गर्न चाहने झालाई नै पहिले बिजय गराए ? के हाम्रा बहुमत नेता बिखण्डकारीको पक्षमा छन ?

फोरमका झा कलंकित छन भन्ने कुरा हामीले भनिरहनै परेन । उनैले देखाए । किनभने गत मंगलबार राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार गएर आफ्नो उम्मेद्वारीको औचित्य सावित गर्ने कोसिस गरे संसदमा । तर उनी एक्लाले त्यहाँ गएर अनुहार देखाउने कोसिस नै गरेनन । सकेनन । आफ्नो उम्मेद्वारीको औचित्यबारे बताउन नसक्ने नेताले २ करोड ४० लाख जनताको अगाडि कसरि मुख देखाउला ? आफैले मुख देखाउन नसकेका नेतालाई जिताउने को को हुन ? कसको ईशारामा त्यसरि जिताइयो ?

तिन प्रमुख पार्टीलाई पछार्न भरखरको शिशु दल फोरम कसरि सक्षम भयो ? त्यत्रा बैठक, छलफल गर्दापनि कहिल्यै पुछिएन उसलाई । तर उसैको हात कसरि तिन दिन भित्रैमा माथि पर्‍यो ? त्यत्रो हत्या, हिंसाबाट शान्तिको मार्गमा लाखौं जनतालाई ल्याउन सक्ने प्रचण्ड र गिरिजा जस्ता अनुभवी नेता किन पल्ट्टिए ? डा रामवरणले जिते तर पनि गिरिजा हारेका छन । उनले हारेरै त यादवलाई अघि सारेका हुन । अर्को कुरा उनले अगाडि सार्दापनि पहिलो खेपमै जिताउन सकेनन । मधेश स्वतन्त्रता, मधेशी जनताको अधिकार, एक मधेश एक प्रदेश, समाबेशी राज्य आदि सबै बकबास हुन अहिले देखिएका प्रमुख मधेशी पार्टीका । बिदेशी राजदुतावसमा बसेर बिदेशी कै इशारा, योजना र निर्देशमा बम्किनेहरुको जित हो यो । मधेशी जनताको जित होइन । 

तपाईलाई लाग्ला, यो उपेन्द्र यादव कति तगडा रहेछ । प्रचण्ड, माधव नेपाल, गिरिजा, बाबुराम भट्टराई, झलनाथ खनाल जस्ता नेतालाई सजिलै झुकाउन सक्ने, हराउन सक्ने, खेलाउन सक्ने । तर त्यो भ्रम हो । यादव र गच्छदार, राजेन्द्र महतो र महन्त ठाकुर, जयप्रकाश गुप्ता र ह्रिदयश त्रिपाठी आफ्नो बुद्दि बिबेकमा त्यसरी नत चम्केका हुन नत तिनको बिबेकले त्यो सक्छ । त्यसको पुरै पछाडी सिंगो भारत लागेको छ।  उसैको बलमा सकेसम्म पुरै नेपाललाई भारतमा गाभ्ने, नसके टुक्र्याएर भएपनि मधेशलाई गाभ्ने । अनि सोझा साझा मधेशी जनताको टाउकोमा बिदेशीको बुट बजारेर सानो मुलुकको छोटी राजा बन्ने । त्योपनि नसके सधैं अशान्ति मच्चाएर आफुले फाइदा लिने, बिदेशीलाई फाइदा दिने । भारतको शक्ति, उसैको आशिर्वाद, उसैको स्रोत र अर्थमा नाचिरहने । 

नत्र यतिका वर्ष यि नेता कहाँ थिए ? मधेशलाई अहिले बल्ल चाहिएको हो स्वतन्त्रता ? मधेशका जनताले बल्ल खोजेका हुन मुक्ति ? पहिले सुखि थिए त मधेशीजनता ? किन मधेशको स्वतन्त्रता राजतन्त्र ढल्ने निश्चित हुनु पहिले यिनको प्राथमिकता थिएन ? किनभने यिनलाई मधेशको हितसँग कुनै सरोकारनै छैन । हित बिदेशीको गर्नु परेको छ मधेशलाई माध्यम बनाएर । हिजो यि गोप्यरुपमा राजतन्त्रका खम्बा थिए । तर आज त्यो समाप्त भयो राजतन्त्र । अनि यि लागे बिदेशीको गोटी बन्न  

तपाईलाइ लाग्ला-यो त मधेश बिरोधी रहेछ । होइन, म मधेशवादी नै हुँ । हो, मलाई मेरो आँगन प्यारो लाग्छ । मेरो टोल प्यारो लाग्छ । मेरो जिल्ला, मेरो मधेश, मेरा मधेशी जनता प्यारो लाग्छ । तर म पहिले नेपाली हुँ कि मधेशी हुँ ? नेपाली हुँ म मधेशी होइन ? म नेपाली पछि बल्ल मधेशी हुँ ? पहिले नेपाल हो अनि बल्ल मेरो आँगन । जब नेपाली रहिन म भने कसरि मधेशी रहौंला ? सिंगो नेपाल अशान्त हुँदा मेरो गाउँ मात्रै कसरि शान्त रहला ? सारा नेपाली रोएर बसिरहदा बिदेशी पैसाको भरमा म मात्रै हाँसेर बस्न सकौंला ? मेरो देश नै बिखण्डन भयो भने मेरो मधेश रहला ? मेरो गाउँ रहला ? त्यसैले देश बिखण्डन गर्ने यस्ता रंग फेरेका बिखण्डनवादी हामीलाई चाहिएको छैन । मधेशी जनताको हक हित र स्वतन्त्रतापनि नभइभएको त छैन तर हाम्रो राष्ट्रियता र हाम्रो सार्वभौमसत्ता जोगाएर मात्रै  नेपाल बाहिरको स्वतन्त्र मधेश होइन कि नेपालभित्रैको ।

(यहाँ ब्यक्त बिचार लेखकका निजी हुन । यसमा नेपालप्लस पुरै सहमत वा असहमत दुबै छैन-नेपालप्लस)

तपाइँको प्रतिक्रिया