सिंहनै हुने भए नेपालका प्रथम राष्ट्रपति ?
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति ! चानचुने कुरा हो र ? पहिलो कुरा त त्यत्रो शक्तिशाली पद । अर्को महत्वपूर्ण कुरा राष्ट्रिय इतिहास बन्ने अवसर । यस्तो पदको लोभ कसलाई नलाग्नु ? त्यहि भएर त दैनिकजसो अक्सिजन र औषधीका भरमा टिकेका गिरिजाप्रसाद कोइराला मरिहत्ते गरेका । ३० हजार जनतालेपनि नपत्याएका माधवकुमार नेपालले र्याल काढेका । रामराजा प्रसाद सिंहले मुख मिठ्याउँदै उम्मेदवारको फारम लगेका । नभन्दै आज नेकपा माओवादीले रामराजा प्रसाद सिंहलाइनै राष्ट्रपतिमा समर्थन गर्ने पार्टीगत निर्णय गरेपछि उनी राष्ट्रपति बन्ने संभावना बढेको छ। माओवादीले आधिकारिक उम्मेदवार मानेका रामराजालाइनै समर्थन गर्ने पक्षमा पुगेका छन तिनवटै मधेशवादी दलपनि । अनि जाग्ने भएन त भाग्य रामराजाको ?
नेकपा (माओवादी) ले माधवकुमार नेपाललाई हरुवा भन्दै राष्ट्रपति नमान्ने अड्डि लियो । गिरिजा प्रसादको नाम त झन सुन्नपनि नसक्ने माओवादीहरु । एमालेले घुर्की त लगायो नेपालनै बन्न पाउनुपर्छ भन्दै । तर माओवादीले हुँदैन कि हुँदैन भन्दै अड्डि कसेपछि एमालेलाई फसाद । कसरि छोड्ने त्यत्रो मुखैमा आएको पद ! यसैउसै अडान नभएको पार्टी भन्ने आरोप लागिरहेकै छ। त्यस्तो स्थिति स्रिजना भएपछि एमालेले बिल्कुलै चर्चा बाहिरका रामप्रित पासवानलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको थियो । तर यो कार्डलेपनि काम गरेन । माओवादीले माछो माछो भ्यागुतो गरिदियो एमालेलेलाई । किनभने माओवादीले एमालेसँगको सहकार्यलाई गोलीमार भनेर रामराजाप्रसाद सिंहलाई अगाडि सार्यो।
उता नेपाली कांग्रेसले आफ्ना बयोब्रिद्द नेता गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत राष्ट्रपति बनाउन नपाउने करिब करिब पक्कापक्कि जस्तै भएपछि मधेशी नेता डा. रामवरण यादवको नाम अगाडी सारेको छ । उपराष्ट्रपतिमा मान बहादुर विश्वकर्माको नाम ल्याएको छ । उनी पूर्वमन्त्रि हुन । माओवादीले भने उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई अगाडि सारेको छ ।
माओवादी र मधेशी दलहरुले समर्थन गरेपछि रामराजा प्रसाद सिंह राष्ट्रपति बन्ने बलियो संभावना देखिएको छ। किनभने माओवादीसँग २२९ सिट छ । उता मधेशावादी तिन दलसँग भएको ९१ सिट जोड्दा कूल ३२० पुग्छ । हुनत नेपालको राजनिति हो, अन्तिम क्षण सम्ममा पल्टा खान सक्छ । एकाएक नाटकिय सहमति हुनसक्छ माओवादी-एमाले, माओवादी-कांग्रेस माओवादी-मधेशी जनाधिकार फोरम, कांग्रेस-एमाले-फोरम र एकाएक झन गुपचुपे कसैले पड्काउनपनि बेर लाग्दैन । तर अब भने त्यो संभावना अलि झिनै देखिएको छ । तपाईलाई कस्तो लाग्छ सिंह राष्ट्रपतिका रुपमा ?




