‘छोरा जन्मिएको खुसी एचआईभीले उर्डाईदियो’
-शिवराज खत्री/धनगढी
कैलाली जिल्लाको चौमाला गाविस-२ की मनमती साँउद (नाम परिवर्तन) ले तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिँदा उनको घरमा निकै खुसीयाली छाएको थियो । तर उनको घरमा त्यो खुसीयाली धेरैदिन रहेन । घरका सबै परिवारलाई निकै खुसीयाली पार्ने गरेर जन्मिएको छोरा आमाको पेटबाटै एचआइभी संक्रमित भएर जन्मिएपछि मनमतीको घरको खुसीयाली हराएर गयो । छोराको जन्म हुँदा पहिले नै आफु एचआइभी संक्रमित भएको उनलाई थाहा थिएन् । दुई बर्ष पहिले आफ्नो र छोराको रगत जाँच गर्दा दुबै आमा छोरा एचआइभी संक्रमित भएको थाहा पाएको उनले वताईन् । उनको छोरा अहिले छ वर्षको छ ।
सेती अञ्चल अस्पतालको एआरटी सेन्टरमा एआरभी औषधी लिन आएकी मनमतीले आफ्नो छ जनाको परिवारमा तीनजना एचआईभी एड्स संक्रमित भएको वताईन् । ‘दुई छोरीपछि छोरा जन्मिदा घरमा निकै खुसियाली छाएको थियो’ आँखा रसाउँदै मनमतीले आफ्नो ब्यथा सुनाईन् । भनिन् ‘त्यो खुसि त चार बर्ष नपुग्दै कता हरायो ।’ जेठी र माहिली छोरीको रगत जाँच गर्दा एचआइभी संक्रमित नदेखिएको उनले वताईन् ।
मनमती संक्रमित हुनुको कारण पनि एचआईभी संक्रमित अधिकांश सुदूरपश्चिमेली महिलाहरुको कारणसँग मिल्दोजुल्दो छ । धन कमाउने आसले भारतमा नोकरी गर्न गएका श्रीमानले उतैबाट कहिले निको नहुने रोग साथमा बोकेर ल्याएपछि त्यसैबाट निर्दोष मनमती एचआईभी संक्रमित बनेकी हुन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारणले १५ वर्षदेखि भारतमा नोकरी गर्दै आएका उनका श्रीमानले कुनवेला एचआईभीका जिवाणु ल्याएर मनमतीलाई सारे उनलाई पत्तै भएन् । उनले आफ्नो गालामा घाउ देखिएपछि उपचारकालागि अस्पतालमा आँउदा डाक्टरको सल्लाहमा रगत परिक्षण गरेपछि दुई बर्ष पहिले आफू एचआईभी संक्रमित भएको पत्तालागेको वताईन् ।
‘म त संक्रमित भएँ तर छोरा संक्रमित नभएको भए हुन्थ्यो’ उनले भनिन् । ‘मैले यसरी बाँच्नु भन्दा त मर्नु नै जाती थियो, कालपनि आँउदैन ।’ आफू एचआइभी संक्रमित भएको देखिएपछि डाक्टरको सल्लाहमा श्रीमानको रगत जाँचगर्दा उनी पनि संक्रमित देखिएको मनमतीले बताईन । एउटा मात्र छोराको भर हुँदैन भन्ने सासु ससुरा तथा श्रीमानको गलत सोचाई र उनीहरुको दबाबका कारण अर्को छोरा पाउने आसमा उनले फेरी अर्को छोरीलाई जन्म दिईन् । ‘हे भगवान यो छोरीलाई एचआइभी एड्स संक्रमण नभईदिए हुन्थ्यो’ आफ्नो १० महिनाकी छोरीको टाउको सुम्सुम्याउदै सेती अञ्चल अस्पतालमा मनमतीले भनिन । ‘रगत जाँच गराउँदा अहिलेसम्म यसलाई एचआईभी एड्स संक्रमण भएको देखिएको छैन ।’
छोरापछि जन्मिएकी कान्छि छोरीलाई एचआईभी संक्रमण नहोस् भन्ने कामना उनी गरिरहेकी छिन् । ‘डाक्टरले छोरीलाई आफ्नो दुध नखुवाउन भनेका छन् । तर छोरीले रातभर रोएर निदाउन दिन्न’ उनले भनिन । ‘आमा भएर छोरीलाई दुध चुसाउनपनि पाईन भन्ने लाग्छ र दुध खुवाउँछु । यती सानो छोरीलाई के खुवाएर पाल्ने ? घरमा अन्य खुवाउने चिज केही छैन । बाध्यताले आफ्नो दुध खुवाउने गरेको छु ।’ मनमतीले आफ्नो बाध्यता सुनाईन् । भारतमा नोकरी गर्ने श्रीमानले आफूले कमाएको पैसा जाँड रक्सीमा सिध्याउने गरेकाले आफूलाई घर खर्च चलाउन निकै समस्या परेको सुनाईन् । आफ्नो श्रीमानका ६ जना दाजुभाई भएपनि उनीहरुका श्रीमती तथा छोराछोरी कसैलाई एचआईभी नभएको मनमतिले वताईन् ।
आफ्ना तीनैजना परिवार एचआइभी संक्रमित भएपछि आफ्नो जेठानी देउरानी तथा छिमेकीहरुले हेलाको दृष्टिले हेर्ने गरेको उनको गुनासो थियो । उनी दुई वर्षदेखि नियमित रुपमा एआरभी औषधी खाईरहेकी छिन् ।
गरिबीका कारणले घरपरिवारको लालन पालन खर्च जुटाउन भारत जाने नेपालीहरुले त्यताबाट एचआइभी/एड्स जस्तो भयानक रोग ल्याएर घरमा श्रीमतीलाई सार्ने गर्नाले आफू त्यसको सिकार हुन्छन् । त्यो भन्दापनि एचआइभी संक्रमित आमाबाट जन्मिने बच्चाहरु जो यो संसारमा जन्म लिनुभन्दा पहिलेनै आमाको गर्भमै एचआइभी संक्रमति हुन्छ्न् ।
त्यस्ता वालबालिकाहरुको संख्या सुदूरपश्चिममा झण्डै दुई हजार रहेको यस क्षेत्रमा कामगर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको भनाई छ । भारतमा रहँदा त्यहाँ प्रायजसो असुरक्षित यौन सम्पर्क गर्नाले नेपालीहरु एचआइभी एड्सको सिकार बन्ने गरेका हुन् ।
सौजन्य : एचआईभी खबर बुलेटिन, धनगढी, कैलाली ।





