नेपाली दूतावासमा कुटाकुट
–सीताराम बराल, काठमाडौं ।
नेपालको कूटनीतिक इतिहासमै सबैभन्दा लज्जास्पद घटना लन्डनस्थित दूतावासमा घटेको छ । दुई अर्दलीबीचको झगडालाई आधार बनाएर बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माले दूतावासभित्र प्रहरी हस्तक्षेप गराएका छन् । घटना गत जुन २३ (असार ९) मा भएको थियो । शर्माले लन्डन प्रहरीलाई दूतावासमा बोलाएर दूतावासका काउन्सिलर झविन्द्रप्रसाद अर्यालका अर्दली होमनाथ लम्साललाई निकाला गराएका थिए । घटनाको सूत्रधार भने राजदूत शर्माको अर्दली बनेर गएका उनका भान्जा गोविन्द चापागाईं थिए । लम्साल पनि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिसकेका अर्यालका नातेदार भएको बताइन्छ । शर्मा राजदूत भएपछि अर्दली बनाएर लगिएका भान्जा गोविन्द र अर्याल कावा राजदूत हुँदा लगिएका लम्सालबीच को ठूलो भन्ने विवाद थियो । मामा राजदूत भएकाले लन्डन गएदेखि नै भान्जा चापागाईंले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै फूर्ति देखाउने गरेको बताइन्छ । अर्यालका अर्दली लम्साल पनि के कम, पहिला आएकाले आफूलाई सिनियर देखाउने गर्थे । राजदूतको खाना पकाउनेदेखि लिएर अन्य निजी कामका लागि लगिएका यी दुइ अर्दलीबीचको झगडाले असार ८ (जुन २२) मा उत्कर्षरूप लिन पुग्यो । त्यसदिन बेलुकी दूतावासकै पार्टीहलमा भएको रात्रिभोजमा खटिएका यी दुइ अर्दलीबीचको वैमनश्यता कुटाकुटमा परिणत भयो । राजदूतका भान्जा अर्दलीले झविन्द्रका अर्दलीमाथि हात हाले । त्यसपछि लम्साल गोविन्दमाथि के जाइलागेका थिए, चापागाईं दौडूदै राजदूत निवासकक्षभित्र पसे र ढोकाको चुकुल लगाउन खोजे । उनलाई खेद्दै पछ्याएका लम्साल र जोगिन खोज्दै गरेका चापागाईंबीच ढोकामै घम्साघम्सी भयो । एउटा ढोका लगाएर जोगिन खोज्ने र अर्को ढोका फोरेर आफूलाई हात हालेको रिस फेर्न ढोका तानातान गर्ने क्रममा ढोकाको सिसा नै फुट्यो ।
स्रोतका अनुसार सो घटनाको भोलिपल्ट राजदूत शर्मा आफैँले लन्डन प्रहरीलाई फोन गरी बोलाएपछि प्रहरीले राजदूतावासभित्रै रहेका लम्साललाई निकालेको थियो । सो झगडा दूतावासभित्रको आन्तरिक समस्या थियो । राजदूतजस्तो व्यक्तिबाट सो घटनालाई मिलाउनुको सट्टा प्रहरीसम्म पुर्याएर देशकै बेइज्जत गरेको टिप्पणी परराष्ट्रका उच्च अधिकारीहरूले गरेका छन् । दूतावासबाट निकालिएका शर्मा पहिलोपटक राजदूत भएका व्यक्ति होइनन् । यसअघि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा नेपालका लागि स्थायी प्रतिनिधि थिए भने त्यसअघि परराष्ट्र सचिव थिए । हिजो बुधबार २५ असार २०६५ को जनआस्थाबाट





