उसलाई प्रम नगरौं भन्ने सोच्दा झन दोब्बर
बेलुकाको ६ बजि सक्यो । अघिसम्म १० तारिकमा झापा फर्किने भनेर म कति खुशि भएको थिएँ । तर अफिस फोन गरेर बुझ्दा त भोली गाडी लिन आउन नसक्ने भनेपछि त म रुन मात्र नसकेको । एकछिन सुमित्रालाई पनि बेहोसी भई गाली गरें । उनी अफिसका कर्मचारीलाई चाहिएको समयमा गाडीको व्यवस्था मिलाउने गर्छिन । उनले भोलि मात्र गाडि कहिले आउँछ भन्न सक्ने बताईन् ।
यो भन्दा अगाडि पनि यसरी फिल्ड नआएको भने पक्कै होइन । तर किन किन यस पाली त आउने मन नै थिएन । सायद उ सँग टाढा भइन्छ भन्ने डरले हो कि किन हो आज त यो गाँउमा कस्तो एक्लो लाग्दै छ । म बसेको यो सानो होटल एउटा सानो खोलाको आडमा छ र खोला ओहो आफ्नै धुनले आफ्नो अस्तित्व दर्शाउन ठूलो ठूलो स्वरले कराएर निरन्तर धारा प्रवाह बगिरहेको छ ।
पारी साना साना खेत नि देखिन्छन् । तर खेत भन्दा बढि ढुंगा छन् । उराठ लाग्दा नांगा पहाड जहाँ गन्ति गर्दा १० भन्दा बढि घरधुरी छैनन् । सँगै जोडिएको गारेटे बाटो जहाँ मानिसहरु एकदमै हतारमा हिँडिरहेका छन् । सम्मभवत : टाढा जानु होला र समयमा आफ्नो गन्तव्यमा पुग्न चाहन्छन् । म नदिको किनारमा यसरी एक्लै टोलाएर एक टकले नदीतिर हेरेकि छु । कुनै कुनै बेला यसो कापि समातेर उर्लेका भावनाहरु व्यक्त गर्न कापि र कलम नि समातेको देख्दा होटेलमा चिया खान आउने प्रायका आँखा म माथि अडिन्थे । प्रश्न उनीहरुको अनुहारमा प्रष्ट देखिन्छ, के गर्दै छे यो केटी ? तर पनि म उनिहरुलाई कुनै उत्तर दिन नचाहने सोचले फेरी खोला तिर वा कापीमा आँखा गाड्न पुग्छु ।
साँच्चै भनौं भने कहिले उसलाई सम्झीदा, उ सँग एकछिन फोनमा कुरा गर्न पाउँदा प्रत्येक कुरा कति भव्य लाग्थ्यो । मेरो जीवनको यो पहिलो खुशी जुन मैले उसको प्रेममा पाएको थिएँ । हृदयमा यतिकै सजीव र प्रवल बनिरहोस भन्ने लाग्छ । कहिले यो आनन्द कम त हुने होइन भन्ने डरले आफ्नो आनन्दलाई पिजरामा बन्द गर्ने नकाम प्रयास गर्ने विचार पनि मनमा नआएको होइन ।
आज उ सँग कुरा गर्ने कत्रो मन हुँदापनि परिस्थीतिले भने साथ दिएन । कोसौं टाढा भएको साथीलाई सम्झँदा प्रत्येक यो क्षण बोझ लाग्दैछ अहिले । अफिसको कामले आएको मान्छे जति बेला नि उसैलाई सम्झीने । आँखा अगाडी केबल उसैको हँसिलो अनुहार देखापर्ने । मस्तिष्कलाई थाहा छ, दुरी उ र म बिच धेरै छ । तर यो मनलाई जति बुझाएनि एकहोरो जिद्धि गर्ने । उ त्यो पाखाबाट अहिले नै हाँस्दै आएर, के छ मेरो प्यारी ? भन्छ होला झैं पो हुने । हो मेरो अँध्यारो जीवनको प्रकाश । मेरो खाली जीवनको एक मात्र आशा । अब उ मात्र हो । उसले मलाई प्रेम नगर्ने होइन । सम्भवत उसको मनमा नि ठूलो आधिबेरी चलेको छ । तर त्यो भावना परिस्थितीले गर्दा न त अहिले उसले नै व्यक्त गर्न सकेको छ । न मैले नै ।
कति विवश । कति लाचार हुने यो प्रेममा । आफ्नो शरीरमा आफ्नै अधिकार नहुने रहेछ । हुनत अफिस फर्केपछि उ सँग भेट हुने त होइन । तर पनि आधुनिक इमेल इन्टरनेटले भावना आदान प्रदान गर्न हाम्रो मद्दत गर्दै आईरहेको छ । तर यो आधुनिकता पनि यो गाँउबाट अझ धेरै सताब्दी टाढा । साँच्चै सारै आत्तीँदै छु हिजो आज । हिजो आज त्यो मेरो अदृश्य प्रेमलाई हिनहुँजसो सपनामा देख्दै छु ।
कसैलाई भेट्ने प्रतिक्षा गर्दा जीवन कति लामो र एक्लो लाग्ने भरखर मात्र बुझें । अहिलेसम्म हाम्रो भेट भएको छैन भन्दा र सोच्दा नि अच्चम लाग्छ । छोटो समयमा हामीले लामो दुरी तय गरी हिँडिसकेका छम् । मैले उसको प्रेम प्रत्यक्ष महसुस गरेकी छु । उसले यो भोगी शरीरलाई नछोएको भएपनि मेरो आत्मा जुन पवित्र मानिन्छ त्यसका लागि उ अपरिचित छैन ।
कति कति बेला उसलाई प्रेम नगरम जस्तो नि लाग्ने । समस्याले भरिएको जीवन परिस्थिती कति कति फरक र जटील । प्रयास नगरेको पनि त होइन । तर सबै प्रयास असफल भए । उल्टा आफैंलाई बढि पीडा हुने रहेछ । र सम्झना नी दोब्बर हुने । कहिले बिहान उठ्दा उठ्दै भो आजबाट अब फोन नि गर्दिन । र सकभर सम्झिन्नँ भन्ने निर्णय गरें । तर ती त एकछिन मै त्यो बिहान गरेको निर्णयको त होशै नहुने । मैले बिर्सिएकि रहिछु यसरी बिहानै उठ्ने बित्तिकै उसलाई बिर्सिने निर्णय गरेको त वास्तवमा उसलाई नै सम्झेर हो नी ।
कहिलेकाहिँ आफैंलाई प्रश्न गर्न मन लाग्छ- के वास्तवमा नै मैले उसलाई प्रेम गरेको हो त ? म जस्तो महिला जसले प्रेमलाई कहिले पनि वास्तविकता ठानेन । सधै टाढा नै रहें । साथीभाईले प्रेमको कुरा गरे पनि उल्टै खिल्ली उडाउने । अहिले त आफैं यो अदृश्य प्रेम प्रति कति लगनशील, इमान्दार र भावुक भइछु । ओहो ! आफैंलाई पत्तो छैन ।
२-४ महिनामा हाम्रो भेट हुने भन्ने आशा छ । दिन गन्दै बसिरहेकी छु । उसको अपार प्रेममा डुबी सकेकी छु । जसरी मीरा कृष्णको प्रेममा डुबेकी थिन् । प्रेमले त मानिसलाई आध्यत्मा र भौतीक जीवनको आन्नद दिने रहेछ । पवित्र मनले गरेको प्रेम कुनै पूजा भन्दा कम हुने रहेनछ ।
सयौं जुनी पछि पाईने मानिसको जुनी । त्यसमापनि आधुनिक समाजमा जता हेर्दा नि स्वार्थ बाहेक अरु केही कहिँ पाइँदैन । यस्तो बेला कसैका लागि यदि यस्तो भावना जगृत हुन्छ भने र यो नै प्रेम हो भने मलाई खुशी र गर्व छ । मेरो मनमा उसको लागि यो भावना जागिरहेको छ ।
मिति : ८ मे, २००९
समय : बेलुकी ६ बजे ।
(लेखिकाको आग्रहमा नम गोप्य राखिएको) ।





