कायरहरुको मारमा पत्रकारको कलम

हरिप्रसाद पोखरेल / नागोया, जापान 

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी, कुन्दन फौजदार जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा कार्यरत छन् । २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको हत्याको आरोपमा उनीहरुमाथि बारा प्रहरीमा मुद्धा चलिरहेको छ । तर हत्याका आरोपित कुन्दन फौजदार र हरेराम पटेल स्थानीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा समेत रहँदै आएका छन् । हत्याको पुष्टि भएपछि माओवादीको छानविन समितिले समेत उनीहरुलाई कारबाही गरिएको बताएको थियो ।

जनकपुरकि पत्रकार उमा सिंहको हत्यामा संलग्नमध्ये श्रवण यादव माओवादीका क्षेत्रिय सदस्य हुन् भने नेवलाल पासवान तराइ एकता परिषद्का कार्यकर्ता । उनीहरु पक्राउ परेपनि उनको मुद्धा फिर्ता लिन उमाकि आमालाई यतिखेर धम्कि आउन थालिसक्यो ।

पत्रकार महासंघका अनुसार माओवादी शान्तिप्रकृयामा आईसकेपछि पनि प्रकाश ठकुरी वेपत्ता र जेपी जोशिको हत्यामा समेत माओवादीको संलग्नताको पुष्टि भयो । गएको मंसिर १३ गते रुकुमकि पत्रकार टिका विष्टलाई समाचार लेखेकै कारण अक्षरहरु लेख्ने हातका पाचै औला व्लेडले चिरेर भीरबाट गुल्ट्याएको आज दुई हप्ता भन्दा बढि भईसक्यो । तर आक्रमणकारीको पहिचान गर्न नजिकै पुगेर पनि राज्यको गृहप्रशासन मौन छ, उनीहरुलाई कारवाहि गर्ने सवालमा । यतिसम्मकि शंका लागेर अनुसन्धान गर्नै नपाउने राजनीतिक दवाव छ प्रहरीलाई । पत्रकार टिका विष्टलाई पनि मार्ने नियतले माओवादीले नै आक्रमण गरेको पत्रकार महासंघको ठहरले पत्रकारहरु माओवादीबाट नै सुरक्षित छैनन् भन्ने कुराको बोध गराएको छ ।

हुन त पुष १० गते मेघबहादर श्रेष्ठको संयोजनमा माओवादीले जारी गरेको टीका विष्ट घटना प्रकरणसम्बन्धी अध्ययन-प्रतिवेदनमा पत्रकार महासंघद्धारा गठित मिडिया मिसनले तथ्य एकातिर निष्कर्ष अर्कोतिर निकाल्नु उहाँहरूको मर्यादा र इमान्दारीभन्दा राजनीतिक ‘प्रेसर’मा भएको आरोप लगाएकै छ । अनि माओवादीलाई बदनाम गराउन एमालेको मिलेमतोमा विष्ट आफैंले हातका औला चिरेर भीरबाट हाम फालेको भन्ने निष्कर्षपनि माओवादीको छ । तर प्रतिवेदन हेर्दा लाग्छ, पंचायतकालमा दुई चारजना बसेर आफ्नो पक्षमा मुचुल्का तयार पारेजस्तो ।

जनयुद्ध रोकेर शान्तिप्रकृयामा सामेल भईसकेपछि पनि माओवादीबाट माथि उल्लेखित पत्रकारको हत्या र आक्रमणका घटनाले नेपाली पत्रकारिता अझै असुरक्षित छ भन्ने देखाएको छ । नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ । तर दुःखको कुरा, कारवाहि भने कसैलाई भएकौ छैन । 

 माओवादी द्धन्द्धकालमा पत्रकार राज्य र माओवादी दुवैबाट पीडित थिए । शान्तिप्रकृयामा आईसकेपछि चाहि राज्यबाट पत्रकार पीडित हुने क्रम थोरै रोकिएपनि माओवादीबाट पत्रकार मारमा परिरहेको यथार्थतालाई नकार्न सकिदैन । वीरेन्द्र साह, जेपी जोशी र उमा सिंहको हत्या अनि प्रकाश ठकुरीको वैपत्ता र टिका विष्ट माथिको आक्रमण यसका उदाहरण हुन् । माओवादीबाट भएका यस्ता कार्य कुकृत्य हुन्, यसको जति निन्दा गरेपनि थोरै हुन्छ ।

पत्रकारमाथिको यस्तै खाले आक्रमणले माओवादीको प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता खोक्रो सावित बन्दै गएको छ । माओवादीको राष्ट्रिय हैसियत र चर्चाका पछाडि नेपाली प्रेसको विशेष भूमिका छ । नेपाली प्रेसले माओवादीलाई एउटा राजनीतिक शक्तिको सम्मान दिईरहैको छ । तर कार्यकर्ताका गतिविधिका कारण किन माओवादीलाई आतंककारी बन्न मन लाग्छ ? अहिले माओवादी ठुलो संसदीय दल हो । निश्चय नै उसका कार्यकता र र्समर्थक अरु दलका भन्दा बढि छन् । तर ती कार्यकर्तालाई नियमको परिधिभित्र राख्न सक्नुपथ्र्यो । उनीहरुलाई अनुशासित बनाउन नसक्नु त नेतृत्वको कमजोरी नै हो । यसो गर्न सकेको भए कार्यकर्ताको गल्तीबाट नेतृत्व र पार्टी आलोचित हुनुपर्ने अवस्था आउने थिएन ।

हुन त नेपालका कुनैपनि राजनीतिक दलको घोषणापत्रमा पत्रकारलाई आक्रमण गर्ने र मार्ने लेखिएको छैन । माओवादीको पनि यस्तो नीति र योजना छेन । तैपनि पत्रकार किन माओवादीको तारो बनिरहन्छन् ? अरु राजनीतिक दलसंग भन्दा माओवादीसंग अल्लि बढि डराएको जस्तो किन गर्छ नेपाली प्रेसले ?

जुनुसुकै राजनीतिक आस्था बोकेको किन नहोस्, पत्रकारमाथिको हत्या र आक्रमणको पीडा कुनै राजनीतिक दललाई भन्दा बढ्ता पत्रकारलाई नै दुख्छ । जताजतै श्रम गरेर ज्यालाको जिन्दगीमै काम गरि राष्ट्रमै परिचित बनिरहेको पत्रकारिता पेशाका दुश्मन धेरै हन्छन् । यो सबैले जानिराखेको कुरा हो । अनि यस्ता दुश्मनहरुलाई राजनीतिक संरक्षण दिईरहदा यो पेशा विस्तारै संकटमा पर्दै पनि गएको छ ।

पछिल्लो तीन वर्षो घटनाक्रमले के देखाउँछ भने पत्रकारलाई आक्रमण गर्ने र मार्नेलाई माओवादीले जोगाएको छ । माओवादीका लागि नेपालका कानुन मकैका खोस्टा हुन्- उसलाई कुनै नियमले छुनै सक्तैन । एमालेले पनि अखवारी प्रोपोगाण्डामा आफूलाई सीमित राखेको छ । अनि कांग्रेसले यौ विषयमा निरीहता देखाईरहेको छ । राजनीतिक दल त यस्तै भए भए, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको हालत पनि उस्तै छ । महासंघले कुनैपनि घटनालाई निष्कर्षमा पुर्याएर अपराधिलाई कारवाहिको दायरामा ल्याउन दवाव दिएको अभिलेख छैन । एउटा कुनै घटनालाई निष्कर्षमा पुर्‍याएर अपराधीलाई सजाय दिलाउन सकिए मात्र पछिल्ला दिनमा यस्ता घटना दोहोरिने थिएनन् । कारबाही भए मात्र अपराधीको मनोबल गिर्ने सम्भावना रहन्थ्यो ।

प्रेसलाई चिढ्याउनु भनेको पहाडसंग ठोक्किनु र अरिङ्गालको गोलामा हात हाल्नु सरह हो । अरु मुलुकका प्रेस ज्ञाताहरु यहि भन्छन् । मलेसियाका पूर्व प्रधानमन्त्री मोहमद महातिरले आफ्नो बारेमा या सरकारका विरुद्ध केहि लेखेको भेटे भने बेलुका आफै भेटेर उसको असन्तुष्टीको विषयमा बहस गर्थे रे । खै त नेपालमा यस्तो ? यो बहस हरेक राजनीतिक दलले गरे हुन्छ । कसैका लागि पत्रकार त विपक्षी हुनै सक्दैन । पत्रिकामा लेखेकै भरमा कसैलाई पनि ज्यानको धम्की दिनु अथवा यो वा त्यो नाममा शारीरिक आक्रमण गर्नु भनेको त, यो कलम देखि डराउने कायरहरूले मात्रै गर्ने काम हो । जुनसुकै बादको खोल ओढेर गरिने यस्ता कामको सबैतिरबाट निन्दा गरिनु आवश्यक छ, अनि यस्ता खाले प्रवृतिलाई निरुत्साहित गर्न कडा भन्दा कडा कारबाही गरिनु पनि उत्तिकै आवश्यक छ्र । तर नेपाली सन्दर्भमा पत्रकारले न्याय माग्यो भने ऊ आफै अरिंगालको गोलामा पर्न जाँदो रहेछ । यहि कुराले पनि नेपालमा दण्डहिनता घटेको होईन, मौलाएको संकेत गर्छ । यहि भएर नै नेपाली प्रेसको र्सवमान्य दायित्व अहिले आएर थला परेको छ । पत्रकार निरिह सावित हुन थालेका छन् ।

राजनीतिक दलको चरित्रमा सुधार नआईकन राज्य प्रणालीमा सुधार आउन सक्दैन । कलमको जवाफ कलमबाट नभई हतियारले दिने संस्कार मौलाउदै गएपछि दण्डहिनताको मारमा पत्रकार पर्दै गएका छन् । यद्दपि अन्तमा कलमकै जीत भएको त छ नि । पदम ठकुराठीको कलमलाई भाँच्न खोज्दा दरवारीया भूमिगत गिरोह छताछुल्ल भएको इतिहास पनि छ । अनि कृष्ण सेनको कलमलाई दोबार्दा दरवारै चट भएको यथार्थता पनि छ । यसैलै कलमसँग जिस्कने हुतिहाराको विजोग मारिएका पत्रकारले नदेखेपनि बाँचेकाले त एकदिन अवश्य देख्छन् ।

यसैले राजनीतिक दलको चरित्र जोगाउन आफ्नो चरित्रलाई बन्धक राख्ने र बेच्ने काम पत्रकारबाट गरिनु पनि हुँदैन । अहिले काखी च्यापे पनि पत्रकारिता पेशा छाडेको भोलिपल्ट राजनीतिक दलले पत्रकारलाई जुम्राले लास छाडेझै गरेर छाड्छन् । पछिल्लो समयमा ऋषि धमलाको चरित्र जोगाउन पत्रकार महासंघले आफ्नो चरित्र बेचेपछि पनि पत्रकारिता पेशालाई हेर्ने दृष्टिकोणसंगै पत्रकारका वर्ग दुश्मन बढ्दै गएका छन् । राजनीतिक दल पनि अब आफ्नो खोक्रो आदर्शबाट माथि उठ्न सक्नुपर्छ । पत्रकारमाथि वाइसियलले आक्रमण गर्यो भने माओवादीले बचाउने, युथ फोर्सले हत्या गर्यो भने एमालेले बचाउने र तरुण दलले मरणासन्न पार्यो भने कांग्रेसले बचाईराख्ने हो भने कसरी हुन्छ प्रेस स्वतन्त्रता ? पत्रकार सबैका साझा हुन् भनेर एकपटक सबै राजनीतिक दलले सोच्नुपर्ने भएको छ, विशेष गरेर माओवादीले ।

 (लेखक नेपाल पत्रकार महासंघ, चितवनका केन्द्रीय पार्षद तथा अभिमतपत्र साप्ताहिकका  

सम्पादक/प्रकाशक हुन् । )

तपाइँको प्रतिक्रिया