राजसस्थाको अन्त्य, राजतन्त्र यथावत
-रमेश मानन्धर, अष्ट्रेलिया
अस्ति जेठ १५ बाट राजतन्त्र अन्त्यको घोषणा त गरियो। ज्ञानेन्द्र शाहले नरायणहिटीपनि छोड्ने भए । राजा महाप्रमाधिपति पनि अब हुने छैनन सेनाको। दरबारका कर्मचारीपनि बिदा होलान। राजाको केहि सम्पत्तिपनि राष्ट्रियकरण होला। तर राजतन्त्र अन्त्यको घोषणाले के साच्चिनै राजतन्त्र अन्त्य हुन्छ ? मलाई लाग्छ राजतन्त्र हत्तपत्त अन्त्य हुदैन। भएको छैन। किनभने राजतन्त्र भनेको जनतामाथि राज्य गर्ने एउटा पारिवारिक समूह वा प्रतिनिधी मात्रै होइन। त्यो एउटा सस्कार, परिपाटी र चिन्तनपनि हो । राजतन्त्रको त्यो हैकम, सस्कार र चिन्तन हाम्रो समाजमा जरा गाडेर बसेको छ। हागा लमतन्न पारेर फैलिएको छ। समाजमा त्यसले निश्चित वर्ग र तहका मानिसबिच सानो र ठुलो भनेर सिमा कोरेको छ । उच र निचको खाडल कोरेको छ। ठुलाहरुले भनेको सानाले खुरुखुरु मान्नुपर्छ भन्ने सामान्ति सस्कार त्यसैले कोरेको छ । सानालाई ऐन र ठुलालाई चैन भन्ने सस्कारको विकास नेपालको राजतन्त्रकै एक अभिन्न परिपाटी हो । कर्मको फल भन्दा इश्वरिय भक्ति, नातावाद, क्रिपावाद, चाकरि, चाप्लुसी नेपालको राजतन्त्रका विशेषता हुन । जन विश्वाश, जनताको सदभाव भन्दा बल, पैसा र राज्यशक्ति को दुरुपयोग गर्ने परिपाटी छ।
गाउगाउमा त्यो सोच चिन्तन र सस्कारलाई राजसस्थाले गाडेको छ। राजसस्थाको चिन्तन, सस्कार र उ वरिपरिको ब्रित्त हेर्दापनि त्यो प्रष्ट हुन्छ। जिवनभर राजतन्त्रको खाबो थामेका पशुपति शमशेर राणाले कसरि अन्तिम क्षणमा आएर गणतन्त्रलाई अब कसैले रोक्न सक्दैन भन्ने अभिव्यक्ति दिए। सूर्यबहादुर थापा जस्ता राजतन्त्र टिकाउन जनताका निर्दोष छोराछोरीको हत्या गर्नेहरु अब राजतन्त्र टिक्दैन भन्ने भएपछि गणतन्त्रमा हो का हो मिलाए। राजतन्त्रले सयौ वर्षदेखि यस्तै स्वार्थी, बेअडानको, षडयन्त्रकारी र हत्यारा सस्क्रितिलाई मलजल गरिरहेको छ।
भइराखेको र चलिरहेको मौलिक भाषामा केहि अभिभाज्य जात र वर्गका लागि आफु भिन्न र महान देखाउन आइसियोस र गइसियोस प्रचलनमा ल्याइएको छ। खाना, भात नभनेर भुजा र खानु लाई ज्युनारन जस्ता शब्दावलिहरु भित्र्याउने काम राजसस्थाकै हो । त्यो नेपालमा राज घरानाहरुबाट शुरु भएको हो । यि सामान्ति सस्कारका आडम्बर र शब्दावलीहरु शभ्य, शालिन, र उच्च वर्ग भनाउदाहरुले प्रयोग गर्छन । आफुलाई आम नागरिकबाट अलग देखाउन वा अरुलाई हेपेर आफु महान देखिनकालागि रचिएका हुन। यो सस्कार नेपाली समाजमा झन बिस्तार हुदै गएको देखिन्छ।
२१ औ शताब्दीको यस्तो युगमापनि आफ्नै पत्नीलाई खुट्टा ढोग्न लगाउने, जनताका छोराछोरीलाई पाउमा टेकाउने ज्ञानेन्द्र शाह मात्रै होइनन, त्यो राजतन्त्रको सस्कार हो । त्यो नासो उनले आफ्नै हजुरबुवा त्रिभुवन भन्दामाथिबाटै लिएका थिए।
नेपाली समाजमा मुलत कोइराला, बिष्ट, थापा, राणा, बस्नेत र शाह परिवारकोको सधै हालिमुहाली हुने गरेको छ। राज्यको प्रशासन, सेना र राजनितिमा अहिलेसम्मपनि यहि वर्गको वर्चस्व देखिन्छ । यि वर्गका मानिसहरु प्राय राजतन्त्रकै सेरोफेरोमा देखिन्छन। यिनिहरु आफुलाई आम नेपालीभन्दा अलग राखेर हेर्छन । जबसम्म देशमा यहि वर्गको वर्चस्व रहिरहन्छ तब सम्म राजतन्त्र समाप्त भएको मान्न सकिन्न। राजतन्त्रका यि अवशेष, चिन्तन र सस्कारमा हुर्किएको समाज हुनाले हाम्रा प्रशासक, नेता र राजनितिक दलहरुमापनि त्यहि सस्कार देखिन्छ।
अर्को कुरा अहिलेसम्मपनि देशका अधिकाश उच्च ओहदामा राजतन्त्रकै प्रभावछ । अर्थात राजतन्त्रकै कार्य प्रणाली, आशिर्वाद, प्रभाव र सदभावबाट आएकाहरु छन। २०४६ साल पछाडीका सरकारहरुको प्रशासनलाई कमजोर पार्ने काम यिनिहरुबाटै भएको हो । अबपनि यो वर्ग र प्रशासनले गणतन्त्रलाई असफल गराउने प्रयास नगर्ला भन्न सकिन्न। मुलत, राजतन्त्रको यस्तो सस्कारमा हुर्किएका राजनितिक नेता र जनता स्वयमलेपनि पुराना बिचार, मान्यता र सस्कार नमिल्काएसम्म राजतन्त्र समाप्त हुने छैन। आफुलाई त्यसरि परिमार्जन जति ढिलो गरिन्छ त्यति ढिलोसम्म राजतन्त्रपनि टिकिरहन्छ यद्दपि त्यो जनतामाथि सिधा शासन गर्ने आधारमा नभएपनि।
(पाठक प्रतिक्रियाकारुपमा प्राप्त उनको यो लेख सम्पादन गरेर राखिएको हो-नेपालप्लस)।




